बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई गोर्खाली युवा डाक्टरको खुल्ला पत्र

बिहीबार, १७ कात्तिक २०७९, १२ : १०
बिहीबार, १७ कात्तिक २०७९

लगातार ३२ वर्ष पार्टीको प्रमुख पदमा आसिन, १५ वर्ष भूमिगत जीवन अनि १० वर्ष जनयुद्ध लडेर राजनीतिक परिवर्तन गर्न सक्ने, दुई पटक प्रधानमन्त्री बनिसकेको अद्भुत क्षमता भएको नाम हो तपाई प्रचण्ड । २०६३ सालदेखि आजसम्म संसद्को पहिलो ठुलो दल भए पनि, तेस्रो दल भए पनि नेपालको राजनीति तपाईंको औंलामा घुमिरहेको छ ।

माओवादीले जनयुद्ध सुरू गर्दा बोकेको संघीयता, धर्म निरपेक्षता, गणतन्त्र, छुवाछूतको अन्त्य, जनयुद्ध र जनआन्दोलनको घाइतेलाई सहीद घोषणालगायत विभिन्न मुद्दालाई आज हरेक पार्टीले जस लिन प्रतिस्पर्धा  नै चलेको देखिन्छ । तर त्यसको श्रेय तपाईंलाई नै जान्छ ।

प्रिय प्रचण्ड, प्रतिक्रियावादीले अझै जालझेल गर्दैछन्,  अनेक भेष बदलेर तिम्रै वरपर चापलुसी गर्दैछन् । अझै १०-१५ वर्ष देशलाई तिम्रो खाँचो छ । समृद्धि र समाजवादलाई मूर्त रूप दिन तिम्रो विकल्प छैन । त्यसैले यो निर्वाचन जित्नुको विकल्प छैन, हार्दिक शुभकामना । तपाई हाम्रो निर्वाचन क्षेत्रबाट उठेर सम्पूर्ण गोर्खालीलाई भावी प्रधानमन्त्रीको रूपमा भोट हाल्न अवसर दिनु भएकोमा सम्पूर्ण गोर्खाबासीको तर्फबाट आभार प्रकट गर्न चाहन्छु । 

म नेपाल सरकारको  छात्रबृत्तिमा एमबीबीएस सकेँ । त्यसपछि मैले प्राथमिक स्वास्थ्य केन्द्रदेखि जिल्ला अस्पतालमा प्रमुखको काम गर्दा मन्त्री र सचिवको फिक्का आदेश र वास्तविक स्वास्थ्य सेवा प्रवाहमा कति फरक छ भन्ने मूल्याङ्कन गर्न पाएँ । मेरो विषय स्वस्थ्य भएकाले त्यसबाहेक अन्य क्षेत्रमा म जान  चाहिनँ । मेरो यस पत्रको उद्देश्य स्वास्थ्यमा समाजवादको सुरुवात गोरखा जिल्लाबाट तपाई ​ प्रचण्डको नेतृत्वमा सुरु गर्न सके, भविष्यमा यो नीति देशभर नै लागू गर्न सकिन्छ कि भन्ने अभिप्राय मात्र हो । 

तपाईं गोरखामा पहिलो पटक चुनाव लड्न आउनु थाल्नु भएकाले थाहा नहुन सक्छ कि गोरखा जिल्लामा गोरखा,आँपपिपल र पालुङटार गरी ३ ओटा अस्पताल छ । त्यस्तै, ३ ओटा प्राथमिक स्वास्थ्य केन्द्र र ६६ ओटा स्वास्थ्य चौकी छ । तर आज पनि कुनै गम्भीर रोग लागेमा काठमाडौं, चितवन जानुको विकल्प छैन ।

प्रिय प्रचण्ड, आगामी मंसिर ४ पछि तिम्रो योपाँच बर्ष कार्यकाल सकिँदा कुनै गोर्खालीको उपचार नपाएर, खर्च नपुगेर ज्यान नजाओस् । अधिकांश  जटिल रोगको उपचार गोरखा  अस्पतालमै होस्, आँपपिपल अस्पताललाई पुरानै विरासतमा फर्काइयोस्, अनि बल्ल हामीलाई स्वास्थ्यमा समाजवादको अनुभूति हुनेछ ।

स्वस्थ्य व्यवस्थापनलाई सम्बोधन गर्ने मुख्य साधन भनेको स्वस्थ्य बीमा नै हो, तर अहिले यसमा भएको भ्रष्टाचार र कमिसन खोरले यसको भविष्य उपर नै प्रश्न चिन्ह खडा गरेको छ । पहिलो कुरा बीमाको रकम १ लाख रुपिया उपचारको लागि पर्याप्त छैन, यसलाई तुरुन्त बढाउनु पर्छ । अर्को कुरा बीमितले अस्पतालबाट अन्य सेवा पाउन त्यति धेरै समस्या छैन, जति औषधिमा छ, सर्वसुलभ ढंगमा सजिलै औषधि मात्र दिन सकियो भने, पक्कै पनि गुम्दै गएको बीमाको साख फर्काउन सकिन्छ । भविष्यमा जिल्लाभित्रै डेडिकेटेड बीमा अस्पताल नै घोषणा गरेर सेवा दिन सकिन्छ । यसो हुँदा पूँजीपतिहरु चर्को पैसा तिरेर निजी अस्पतालमा सेवा लिई रहँदा, गरीब निमुखाहरु पनि त्यही गुणस्तरीय सेवा निशुल्क रुपमा बीमा अस्पतालबाट लिन सक्छन् ।

स्वास्थ्यसंग सम्बन्धित भएको नाताले मैले यहाँको स्वास्थ्य समस्या र यसको व्यस्थापन बारेमा थोरै सुझाव पेस गरेको छु, जुन स्थानीय निर्वाचनको नतिजापछि पनि चर्चा भएको कुरा हो ।हाललाई यी रणनीति अपनाउन सकिन्छः
१) गोरखा अस्पतालको स्तरोन्नति गरी २ सय बेडको बनाउने ।

२) आँपपिपल अस्पताललाई पुरानो विरासतमा कायम गराउने ।

३) स्वास्थ्यबीमाको कभरेज सतप्रतिशत बनाई नमुना जिल्ला बनाउने ।

४) आधारभूत  स्वास्थ्य सेवा निःशुल्क रुपमा उपलब्ध गराउने ।

५) खोप, पोषण, सुरक्षित मातृत्वलगायत कार्यक्रमहरुमा राष्ट्रिय लक्ष्य पुरा गर्ने ।

६) प्रत्येक गर्भवतीको घरपहिचान गरी झण्डा राख्ने ।

७) विश्व स्वास्थ्य संगठनको  प्रोटोकोल अनुसार प्रत्येक गर्भवती महिलाको परीक्षण गर्न व्यवस्था गर्ने, हरेक महिना स्त्रीरोग विशेषज्ञद्वारा परीक्षण गर्ने ।

८) भक्चेक बजार, जौबारी, बारपाक, आरुचनौटेमा १५ बेड अस्पतालको स्थापना गर्ने ।

९) प्रत्येक महिनाको अन्तिम शनिबार बिरामीसँग जनप्रतिनिधि र डाक्टर भन्ने घरदैलो कार्यक्रम सुरु गर्ने । वडासदस्यले एकदिन अघि नै आफ्नो गाउँको बिरामी को तथ्याङ्क केन्द्रमा बुझाएर सहजीकरण गर्ने ।

१०) अत्यन्त गम्भीर बिरामीलाई रेफेरल सिस्टममा सहजीकरण गर्न मुख्य अस्पतालहरु गोरखा अस्पताल, भरतपुर अस्पताल,  वीर अस्पताल र टिचिङ अस्पतालमा सम्पर्क ब्यक्तिको व्यवस्था गर्ने ।

११) मोबाइल हेल्थ र टेलि मेडिसिनको विकास गर्ने ।

१२) आँखाको उपचारलाई आधारभूत स्वास्थ्य सेवामा समावेश गराउने ।

१३) विद्यालय स्वास्थ्य कार्यक्रमको विकास गर्ने, एक विद्यालय एक स्वास्थ्यकर्मीको व्यवस्था गर्ने ।

१४) सामाजिक न्यायको सिद्धान्तमा आधारित रही विपन्न र लक्षित वर्गलाई विशेष कोर्सको स्थापना गर्ने र उपचारको व्यवस्था गर्ने ।
१५) प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स रे र भिडियो एक्स रे को व्यवस्थापन गर्ने ।

१६)  एम्बुलेन्स सेवाको निश्चित मापदण्ड बनाएर सञ्चालनमा ल्याउने । जेष्ठ नागरिक र शारीरिक असक्त व्यक्ति बिरामी भएमा निःशुल्क तथा सशुल्क  रुपमा एम्बुलेन्स सेवा दिने ।

१७) हरेक विद्यालयमा निःशुल्क रुपमा स्यानिटरी प्याडको  वितरणको व्यवस्था गर्ने ।

१८)  घरमा हुने डेलीभरीलाई शुन्यमा झारेर स्किल बर्थद्वारा शतप्रतिशतहस्पिटल डेलिभरीको विकास गर्ने ।

१९) आङ खस्ने समस्या, परिवार नियोजनलगायत  महिला स्वास्थ्यसम्बन्धि स्वास्थ्य शिविर हरेक ३-३  महिनामा सञ्चालनमा ल्याउने ।
प्रचण्डज्यू,गोरखाकेन्द्रित छुट्टै बुँदासँगै बाँकी स्वास्थ्य सेवादेशका सबै क्षेत्रमा दिन सकिए हामीलाई स्वास्थ्यमा समाजवादको अनुभूति अवश्य हुनेछ ।

अजिरकोट–५ गोरखा, हाल : त्रिवि शिक्षण अस्पताल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप