शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अछाम–२ मा कांग्रेसको २३ वर्षे भोक, एमाले ‘ह्याट्रिक’को दाउमा

दुवैलाई आफ्नैको भय
बिहीबार, १७ कात्तिक २०७९, ११ : ४१
बिहीबार, १७ कात्तिक २०७९

प्रतिनिधिसभातर्फ अछाम–२ मा सत्ता गठबन्धनबाट नेपाल कांग्रेसका पुष्प शाह र नेकपा एमालेका यज्ञबहादुर बोगटीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । अछामको मंगलसेन निवासी शाह र बोगटीबीच दोस्रो पटक भिडन्त हुन लागेको हो । यस क्षेत्रमा राप्रपाका मीनबहादुर शाही र नेमकिपाका झंकरबहादुर शाही पनि मैदानमा छन् । कांग्रेसका जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगानाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर कांग्रेस जिल्ला सभापति शाह र एमाले केन्द्रीय सदस्य बोगटीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

कात्तिक १ गतेदेखि मंगलसेन नगरपालिका–१४ कालागाउँबाट गठबन्धन संयुक्त घरदैलो अभियानमा छ । बुधबारसम्म गठबन्धनले ४९ वटा वडा मध्ये ३१ वटा वडामा घरदैलो कार्यक्रम सकेको छ । गठबन्धनको घरदैलो अभियान बुधबार कमलबजार नगरपालिकाको चाल्सामा थियो । अछाम–१ को प्रदेश (ख) भ्याएर प्रदेश (क)तिर अगाडि बढेको छ ।

गठबन्धनले विनायकमा बिहीबार चुनावी आमसभा गर्न लागेको उम्मेदवार शाहले बताए । ‘बिहीबारदेखि आमसभा, कोणसभा,  र्‍याली सुरु हुन्छ । बाँकी वडामा यसै क्रममा घरदैलो पनि गर्छौँ,’ उनले भने ।

यता एमाले पनि असोज २८ गतेदेखि घरदैलो अभियानमा छ । उसले घरदैलो अभियान बुधबारसम्म ३० वडामा सकेको छ । पञ्चदेवल विनायक–८ स्थित बारलाको घरदैलो अभियानकै बीचमा बोगटी रातोपाटीसँग कुराकानीमा जोडिएका थिए । अब बाँकी वडाको घरदैलो र आमसभा सँगसँगै हुने उनले बताए । ‘बिहीबारबाट हाम्रो सभा र आम सभा सुरु हुन्छ । अहिलेसम्म हामी जनतालाई भेटघाट गरेर मत माग्ने काम गरिरहेका छौँ,’ उनले भने ।

उमेरका हिसाबले समकालीन शाह र बोगटी पहाडी जिल्ला अछाममा घरदैलोका क्रममा उकाली–ओराली गर्न व्यस्त देखिन्छन् । उनीहरूको राजनीतिक दौड पनि उस्तै छ । शाह २०३६ सालमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीतिमा जोडिएका थिए । नेपाल ल क्याम्पस र कञ्चनपुरबाट नेविसंघको राजनीतिमा सक्रिय भए ।

२०४० सालमा काठमाडौँबाट अछाम फर्किएपछि वकालत पेसा थाले । सोही समयमा शाह जिल्ला बार इकाईको दुई कार्यकाल अध्यक्ष बने । २०४९ सालबाट शाह कांग्रेसको जिल्ला कार्यसमिति सदस्य भएर बनेर औपचारिक रूपमा पार्टी राजनीतिमा प्रवेश गरेका थिए ।

जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएपछि पार्टीले उनलाई कोषाध्यक्ष बनाएको थियो । २०५३ मा पार्टीको महाधिवेशन प्रतिनिधि र २०५४ मा जिल्ला सचिव भएर काम गरेका उनले त्यसयता निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित बने । २०६७ सालमा भएको कांग्रेसको बाह्रौँ महाधिवेशनका क्रममा उनी कांग्रेस अछामको सभापति निर्वाचित भए । ०७८ मा भएको चौधौं महाधिवेशनका क्रममा शाह पुनः सभापतिमा निर्वाचित भए ।

यता बोगटीले पनि अछाम बहुमुखी क्याम्पसमा एमालेका भ्रातृसंस्था अनेरास्ववियुबाटै राजनीति सुरु गरेका थिए । उनी २०४९ मा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य भएका उनी अनेरास्ववियुमा जिल्ला संयोजक, राष्ट्रिय परिषद् सदस्य र केन्द्रीय कमिटी सदस्य भए । त्यसपछि उनी पार्टीको जिल्ला कमिटीको सदस्य भए भने २०६५ बाट २०७४ सम्म उनी जिल्ला कमिटी सचिव बने । संसदीय राजनीतिमा ०७४ मा निर्वाचनमा पहिलो प्रयासमै सफल भए । हाल उनी एमाले केन्द्रीय कमिटी सदस्य छन् ।

हार जितको शृङ्खला

२०१५ सालका आम चुनावमा प्रतिनिधिसभाको ७२ नम्बरबाट कांग्रेसका दिलबहादुर बुढथापा र ७५ नम्बरबाट तत्कालीन गोरखा परिषद्का इन्द्रसिंह रावल निर्वाचित भएका थिए । त्यतिबेला अहिलेको अछाम जिल्ला अस्तित्वमा थिएन । दैलेख, बाजुरा र डोटीको केही भाग मिलेर ७२ र ७५ नम्बरका प्रतिनिधिसभा निर्वाचन क्षेत्र थिए ।

सोही भागपछि अछाम जिल्लाको बनेको थियो । २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा अछाम पनि छुट्टै जिल्लाका रूपमा अस्तित्वमा आएको थियो ।

त्यसपछि राष्ट्रिय पञ्चायतबाट २०१९, २०२४ मा नृपबहादुर स्वाँरले अछामको प्रतिनिधित्व गरेका थिए । २०३० मा टेकबहादुर रावल, २०३३ मा कृष्णबहादुर रावल, देवेन्द्र बहादुर शाह, २०३८ मा नैनबहादुर स्वाँर राष्ट्रिय पञ्चायतबाट निर्वाचित भएका थिए ।

यस्तै जनकबहादुर शाह माननीयमा मनोनीत भएका थिए । २०४३ मा अछाममा भएको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा जनकबहादुर शाह र विजयबहादुर स्वाँर विजयी भएका थिए । ०४६ मा बहुदल आएपछि २०४८ को आम निर्वाचनमा अछामका तीन वटा निर्वाचन क्षेत्रबाट कांग्रेसका बलबहादुर कँवर, गोविन्दबहादुर शाह र रामबहादुर विष्ट निर्वाचित भएका थिए ।

०५१ सालको मध्यावधि निर्वाचनमा अछामका तीन वटा निर्वाचन क्षेत्र २ मा झारियो । अछाम–२ मा तलको हात्तिबाँज, बिरपत, सेरा, बस्ती र माथिको रामारोशन, बाटुलासेन, मलातिकोट पर्दथ्यो । अछाममा २ वटा निर्वाचन कायम गर्दा रामारोशन, बाटुलासेन र मलातिकोटलाई क्षेत्र नम्बर १ मा गाभिएको थियो भने क्षेत्र नम्बर ३ मा हात्तिबाँज, बिरपत, सेरा र बस्ती मिसिएर २ नम्बर बनेको थियो । कैलालखोलाले छुट्याएको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका भीमबहादुर रावल र २ मा भीमबहादुर कडायत निर्वाचित भएका थिए ।

०५६ को चुनावमा कांग्रेसले अछाममा कमब्याक गर्‍यो । अछाम–१ मा गोविन्द्रबहादुर शाह र २ मा रामबहादुर विष्टले बाजी मारे । त्यसयता अछामका दुवै क्षेत्रमा कांग्रेस जित निकाल्न सकेको छैन ।

अछाम–१ मा एमाले निरन्तर जितिरहेको छ भने २ मा पहिलो संविधानसभा निर्वाचनमा माओवादीका शरदसिंह भण्डारी विजयी भएका थिए ।

०७० का एमालेका भरत साउद र ०७४ मा यज्ञबहादुर बोगटीले अछाम–२ मा बाजी मारेको थिए । वाम गठबन्धनका साथमा बोगटीले कांग्रेसका पुष्पबहादुर शाहलाई पराजित गरेका थिए । बोगटीले २१ हजार ९६५ मत पाउँदा शाहले १९ हजार १०६ मत पाएका थिए । कांग्रेसले १८ हजार आठ सय, एमालेले १७ हजार र माओवादी केन्द्रले आठ हजार दुई सय मत ल्याएका थिए । माओवादीको साथमा बोगटीले २ हजार ८५९ मतान्तरले बाजी मारेका थिए ।

 ​कांग्रेसलाई र एमालेलाई आफ्नैको डर

चुनाव जितेका एमालेका बोगटी अहिले एक्लै तालेमल गरेर चुनावी मैदानमा छन् । तर ०७४ को चुनावी सहयात्री माओवादी केन्द्र कांग्रेसको साथमा छ भने एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले पनि कांग्रेसलाई सहयोग गरेको अवस्था छ । कम्युनिस्टकै साथमा उनी २३ वर्षपछि कम्युनिस्टकै किल्ला बनेका अछाम २ मा कांग्रेसको झण्डा गाड्न तम्सिएका छन् । तर एमालेका बोगटी अछाम–२ मा एमालेलाई जितमा ह्याट्रिक दिलाउने रणनीतिमा छन् । अछाम–१ मा भीम रावलले टिकट नपाएपछि एमालेमा देखिएको असन्तुष्टि पनि बोगटीका लागि अर्को चुनौती हो ।

कांग्रेसका बागी उम्मेदवारले राहतको महसुस गरेको एमालेका लागि गठबन्धन र भीम रावल फ्याक्टर चुनौतीको पहाड बन्ने देखिन्छ । अछाममा भीम रावल विरोधी खेमाको नेतृत्व गरेका बोगटीलाई रावल समर्थकको साथ बिना चुनाव जित्न असम्भवजस्तै छ । भीम रावलको छत्रछायाँमा राजनीति गरेका बोगटी पछिल्लो समय विपक्ष कित्ताको नेतृत्व गर्न पुगेका छन् । रावललाई टिकट दिन नहुने अभियानमा बोगटीले पनि भूमिका खेलेको एमाले अछाममा चर्चा छ । ‘एमालेलाई भीम रावल चाहिँदैन भने हामीलाई एमाले पनि चाहिँदैन’ भन्ने अछाममा रावल समर्थकको स्वर सुनिन्छ ।

अछाम–२ मा गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले १९ हजार ३३९, एमालेले १७ हजार ९८७, माओवादीको ६ हजार ४४१ र एकीकृत समाजवादीको २ हजार १७५ मत छ । जसका आधारमा कांग्रेसका शाह बोगटीभन्दा ९ हजार ९९६८ मतले अघि देखिन्छन् । वडा अध्यक्ष भने कांग्रेसको भन्दा एमालेले बढी जितेको छ । ४९ वडामध्ये एमालेले २२ कांग्रेसले २१, माओवादी केन्द्रले २ र एकीकृत समाजवादीले ३ वडा र स्वतन्त्रले एक वडामा जितेका छन् ।

जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा प्रमुख र उपप्रमुखसहित १० वडा एमालेले जितेको छ भने कांग्रेसले ४ वडा जितेको छ । मंगलसैन निवासी कांग्रेस जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगानाकाे बागी उम्मेदवारीका कारण यहाँ एमालेले यहाँ लिड गर्ने देखिन्छ । स्थानीय निर्वाचनमा चुनावी तालमेलका बाबजुद मंगलसेनमा कमजोर देखिएको कांग्रेसका लागि ढुंगानाको विद्रोहले एमालेलाई राहत मिल्ने छ ।

पञ्चदेवल विनायकमा कांग्रेसले राम्रो मत प्राप्त गर्ने स्थानीय तह निर्वाचनको आँकडाले देखाउँछ । यहाँ कांग्रेसले मेयर/ उपमेयरसहित ६ वडा, एमालेले १, माओवादी केन्द्रले १ र समाजवादीले एक वडा जितेको छ । तर क्षेत्रमा माओवादीभित्रको टिकट वितरणले गठबन्धनमै असर पर्ने नेताहरूमा चिन्ता देखिन्छ । प्रदेशसभाको टिकट अक्कल रावललाई दिएपछि माओवादीका नेता शरदसिंह भण्डारी चुनावमा निष्क्रिय बनेको अवस्था छ । पूर्व सांसद भण्डारी गठबन्धनका पक्षमा खुलेर नलागेपछि विनायक क्षेत्रको माओवादी मत तलमाथि हुन सक्ने गठबन्धनभित्र आशंका बढेको छ ।

त्यस्तै कमलबजार नगरपालिकामा शाह र बोगटीबीच कडा टक्कर हुने छ । कमलबजारका १० वडामध्ये प्रमुखसहित कांग्रेसले २, उपप्रमुखसहित एमालेले ७ र १ वडामा स्वतन्त्र उम्मेदवारले बाजी मारेका थिए ।

ढकारी गाउँपालिकाबाट राम्रो मत प्राप्त गर्ने कांग्रेसको विश्वास छ । यहाँ कांग्रेससँगै एकीकृत समाजवादीको पनि निर्णायक मत छ । ढकारीमा अध्यक्ष र उपाध्यक्षसहित कांग्रेसले ४, एमालेले २, एकीकृत समाजवादीले २ वडा जितेको छ । तुर्माखाँद गाउँपालिकाका ८ वडामध्ये अध्यक्ष र उपाध्यक्षसहित एमालेले २ वडा जितेको छ । तुर्माखाँद गुमाएको कांग्रेसले ५ वडा र माओवादी केन्द्रले १ वडा जितेको छ । यहाँ पनि एमालेभन्दा कांग्रेस अगाडि हुने देखिन्छ ।

माओवादीको मतले कांग्रेसले फराकिलो लिड गर्न मद्दत पुग्ने देखिन्छ । यस पटक चुनाव जित्नेमा शाह पनि विश्वस्त देखिन्छन् । उनले भने, ‘गठबन्धनका साथीहरू चुनावी रणनीति बलियो बनाएर अगाडि बढिरहेका छौँ । यसपालि सफल हुन्छु ।’

तर गठबन्धनले चुनावी नजितामा आफूलाई अप्ठ्यारो नपार्ने बोगटीको विश्वास छ । ‘जनतासँग गठबन्धन भएको मलाई आभास भएको छैन । टाउकेहरुको बीचबाट गठबन्धन भएको हो,’ उनी भन्छन्, ‘जनता गठबन्धन भन्दा पनि विकास, समृद्धि, न्याय, सुशासनका पक्षमा रहेको मलाई आभास भएको छ । त्यसैले यो गठबन्धनले हामीलाई अप्ठ्यारो पर्छ कि भन्ने लागेको छैन ।’

आफूले सांसदका रूपमा पहल गरेर अछाम–२ भएका विकासकै कारण सहज चुनाव जित्ने उनको दाबी छ । ‘हाम्रो पहलमा मंगलसेन–जंगघाटको बाटो सञ्चालनको प्रक्रियामा छ । ०७४ मा मंगलसेनको ठूलासैनमा पोल ठड्याइएको थियो । आज ४ वटा पालिका विद्युतमा पुगेको छ । कर्णाली करिडोरको थालनी भएको छ,’ उनी भन्छन् ।

चार वटा पालिकामा १० बेडको अस्पताल निर्माण भइरहेको भन्दै जिल्ला अस्पतालमा ५० बेड बनाउने काम अगाडि बढाएको उनले बताए । आफ्नो पहलमा अछाममा बहुप्राविधिक विद्यालय सञ्चालनमा आएको बोगटीले बताए । उनले सडक, खानेपानी, बिजुली, कृषि र रोजगारीलाई एजेन्डाका रूपमा सुनाए ।

यता शाहका अनुसार गठबन्धनले समग्र अछाको विकास निर्माण, सुखी र शान्तिको विषयलाई मुख्य एजेण्डाका रूपमा अगाडि सारेको छ । सेती लोकमार्ग र मध्यपहाडी राजमार्ग, जंगलघाट–मंगलसेन बाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ कृषि सबै कुरालाई जोड दिएको शाहले बताए । ‘जिल्लामा अधुरा रहेका सबै काम परिपूर्ति गर्नका लागि हाम्रो जोड छ । दुर्गम बस्तीबाट विकास अभियान सुरु गर्नेछौँ भनेर जनताका बीचमा बोलेका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप