शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के बिहान खाली पेटमा कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक छ ? जान्नुहोस् विज्ञको राय

बिहीबार, १७ कात्तिक २०७९, १० : १५
बिहीबार, १७ कात्तिक २०७९

बिहान कफी पिउनु हामी मध्ये धेरैलाई मनपर्छ । चिया वा कफीबाट दिनको सुरुवात गर्ने बानी पनि धेरैको हुन्छ । यदि कफी सीमित मात्रामा र सही तरिकाले पिउने हो भने यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले टाउको दुखाइबाट राहत प्रदान गर्दछ र यो मेटाबोलिजम बूस्टर हो र पाचन सुधार गर्न पनि मद्दत गर्दछ । यस्तै, कफी तौल घटाउन खोज्ने मानिसहरूका लागि पनि उत्कृष्ट पेय हो । तर केही व्यक्तिहरू बिहान खाली पेटमा कफी पिउने गर्छन्, विशेष गरी फिटनेस प्रेमीहरूले कालो कफीलाई कसरत गर्नुअघि पिउन रुचाउँछन्, किनकि यसले तत्काल ऊर्जा प्रदान गर्दछ र क्यालोरीहरू छिटो जलाउन मद्दत गर्दछ । तर के यो गर्नु सही कुरा हो ?

के बिहान खाली पेटमा कफी पिउनु स्वस्थकर हुन्छ ? के बिहान खाली पेटमा कफी पिउनु साँच्चै फाइदाजनक छ ? के मैले बिहान खाली पेटमा कफी पिउनुपर्छ ? कफीसँग सम्बन्धित यस्ता धेरै प्रश्नहरूको जवाफ जान्न भारतीय सञ्चार माध्यम ओन्ली माई हेल्थले क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलसँग कुरा गरेको छ । बिहान खाली पेटमा कफी पिउनु कत्तिको स्वस्थकर हुन्छ त ? यसबारे जानकारी लिऔँ ।

के बिहान खाली पेट पिउनु फाइदाजनक छ ?

आहारविज्ञ गरिमाका अनुसार कफी स्वास्थ्यका लागि निकै फाइदाजनक हुनेमा कुनै शंका छैन तर बिहान खाली पेटमा कफी पिउनु कत्ति पनि ठीक होइन । यसो गर्दा तपाईंको स्वास्थ्यलाई राम्रो भन्दा बढी हानी हुनसक्छ । यसकारण पेट सम्बन्धी समस्याहरु जस्तै ग्यास, कब्जियत, अपच, पेट फुल्ने जस्ता समस्याहरु देखा पर्छन् ।

यसमा क्याफिन हुन्छ, जसले एसिडिटी बढाउँछ । साथै, यसले कोर्टिसोल हार्मोनको स्तर पनि बढाउँछ, जसलाई तनाव हार्मोन भनिन्छ । यो हर्मोनले चिन्ता, तनाव जस्ता मानसिक अवस्था निम्त्याउँछ । यसबाहेक खाली पेटमा कफी पिउनाले सतर्कता र नर्भसनेस जस्ता समस्या देखिने गर्छ । कतिपयलाई कफी पिएपछि दिसा गर्न मन लागेको जस्तो हुन्छ । यसले पेटमा घाउसमेत बनाउन सक्छ ।

कफी पिउने सही समय के हो ?

आहारविद् गरिमाका अनुसार बिहान उठेपछि सबैभन्दा पहिले केही स्वस्थकर खानेकुरा खानुपर्छ । बिहानको सुरुवात अंकुरित चना, भिजेको चना, भिजाइएको ड्राई फ्रुट्स र नट्स आदिबाट गर्नु राम्रो हुन्छ । यस्ता खानेकुरा खाएको कम्तिमा ४५ मिनेट पछि तपाईंले कफी पिउन सक्नुहुन्छ । तर यसको उत्तम समय बिहानको खाजा पछि हो । बिहानको खाजाको आधा घण्टापछि कफी पिउनाले स्वास्थ्यलाई हानी गर्दैन, तर यसको सेवन सीमित मात्रामा गर्नुपर्छ भन्ने कुरामा ध्यान दिनुहोस् । तपाईं दिनमा २–३ कप कफी पिउन सक्नुहुन्छ । यसले तपाईको स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप