शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दलहरूको प्राथमिकतामा परेन खेलकुद

बिहीबार, १७ कात्तिक २०७९, ०९ : २४
बिहीबार, १७ कात्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।  सार्वजनिक घोषणा पत्रमा मुख्य दलहरूले नै खेलकुदलाई कम प्राथमिकतामा राखेका छन् । कम प्राथमिकतामा मात्र होइन नेपाली काँग्रेस र माओवादी केन्द्रले एक लाइनमा मात्र घोषणा पत्रमा खेलकुदलाई समेटेका छन् । 

यस्तै एमालेले १३ औं सागमा नेपालले जितेको स्वर्ण र खेलाडीलाई दिएको पुरस्कारको जस समेत लिन भ्याएको छ । मुख्य दलहरूले नै खेलकुदलाई कम प्राथमिकतामा राख्दा खेल र खेलाडीहरू प्रति दलहरू त्यति चिन्तित नभएको देखिन्छ । 

उसो त नेपाली राजनीतिमा खेलकुद दलहरूको प्राथमिकतामा कहिले पनि पर्न सकेन । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव रमेश कुमार सिलवालले दलहरूले खेलकुदलाई प्राथमिकतामा राख्न नसकेको बताए । घोषणा पत्रमा पनि प्राथमिकतामा पर्न नसकेको खेलकुद चुनावपछि झनै उपेक्षा हुने उनले बताए । 

खेलकुदलाई जीवनको महत्त्वपूर्ण अंगको रूपमा पार्टीहरूले जोड्न नसकेको उनले बताए । ‘खेलकुद कुनै समयमा पनि प्राथमिकतामा परेन । अहिलेको दलहरूको घोषणा पत्रमा पनि केही देखिएन । राजनीतिक दलहरूले खेलकुदलाई जीवनको महत्त्वपूर्ण अंगका रूपमा हेर्न सकेका छैनन्,’ सिलवालले भने । 

राजनीतिक दलहरूले खेलकुदलाई घोषणा पत्रमा राखे पनि कार्यान्वयनको पक्षमा पनि खेलकुदलाई उपेक्षा गर्ने चलन चली आएको सिलवालले बताए । उनले पार्टीहरूले खेलकुद महत्त्व नबुझ्दा र बढी बुझ्दा यस्तो हुने बताए । 

‘राजनीतिक दलहरूले खेलकुदको आवश्यकता कम बुझ्दा र बढी बुझ्दा खेलकुद महत्त्वमा पर्दैन । खेलकुदलाई मर्यादित व्यवस्थित बनाइने छ भनेर एक लाइनमा सिमित गर्नु विडम्बना हो,’ सिलवालले भने । 
दुई ठुला दल नेपाली काँग्रेस र माओवादी केन्द्रले मात्र एक लाइनमा खेलकुदलाई समेटेका छन् । काँग्रेसको घोषणा पत्रमा लेखिएको छ, ‘कांग्रेसले खेलकुद विकासका लागि पूर्वाधार निर्माण तथा उचित संवर्द्धन गर्नुका साथै संरचनालाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम सुधार गरी खेलाडीहरूको भविष्य सुनिश्चित गर्दै खेल, प्रशिक्षक, खेल पदाधिकारी, खेलकर्मी र खेल पत्रकारितालाई उच्च प्राथमिकतामा राखिनेछ ।’ 

यसरी काँग्रेसले एक लाइनमा समेट्दा माओवादी केन्द्रले पनि एक लाइनमा खेलकुदलाई समेटेको छ ।  ‘खेलकुद क्षेत्रमा संलग्न युवाको जीविकोपार्जनका लागि मापदण्ड बनाई आवश्यक आर्थिक सहयोगको प्रबन्ध मिलाइनेछ । खेलकुद परिषद्को क्षमता विकासमार्फत खेलकुद क्षेत्रको विकास गरिने छ,’ माओवादी केन्द्रको घोषणा पत्रमा लेखिएको छ । 

राखेपका पूर्व सदस्य–सचिव केशव कुमार विष्टले खेलकुदलाई घोषणा पत्र मात्र होइन राज्य र पार्टीहरूले हेर्न दृष्टिकोण नै कमजोर भएको बताए ।  राजनीतिक दलहरूले खेलकुदलाई भाषणमा पेपर हेरेर बोल्ने कुरा मात्र जानेको र त्यो भन्दा धेरै खेलकुदको महत्त्व नबुझेका कारण नै खेलकुद सधैँ उपेक्षामा परेको बताए । 

‘खेलकुदको कार्यक्रममा जाँदा पेपर हेरेर बोल्ने कुरा बाहेक राजनीतिक दलका नेताहरूलाई खेलकुदको महत्त्व थाहा छैन । खेलकुद प्रति कुनै दलका नेताहरू गम्भीर छैनन्,’ विष्टले भने ।  विष्टले आफू सदस्य–सचिव हुँदा पनि धेरै पटक मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिकोमा धेरै पटक खेलकुदलाई बजेट माग गर्न जाँदा पनि सबैले बेवास्ता गरेको बताए । 

‘म सदस्य–सचिव हुँदा कयौँ पटक सरकाका मन्त्रीहरूसँग खेलकुदलाई बजेटको लागि माग गर्न गए तर, कसैले वास्ता पनि गरेनन् । त्यसैले मलाई खेलकुदमा घोषणा पत्र अनि कार्यान्वयन पक्ष नै कमजोर लाग्छ,’ उनले भने । 

घोषणा पत्रमा नै एमालेले १३ औं सागमा खेलाडीहरूले जितेको स्वर्णको क्रेडिट लिन खोजेको छ । एमालेको घोषणा पत्रमा नै आफ्नो सरकार हुँदा खेलाडीहरूले घेरै स्वर्ण जितेको उल्लेख गरेको छ । 
त्यस्तै एमालेले अर्को सागमा र ओलम्पिक खेलकुदमा खेलाडीहरूलाई स्वर्ण जित्ने गरेर तयार गर्ने बताएको छ । 

‘बाह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा तीन वटा मात्र स्वर्ण पदक जितेको नेपालले हाम्रो नेतृत्वको सरकारको समयमा भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ५१ वटा स्वर्ण पदक जितेर कीर्तिमान कायम गर्न सफल भयो । अब एसियाली र ओलम्पिक खेलकुदमा समेत पदक जित्ने गरी खेलाडीहरूलाई सक्षम बनाइने छ,’ एमालेको घोषणा पत्रमा उल्लेख छ । 

एमालेले राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण खेलाडी बन्न सक्ने सम्भावना भएका युवाको खोजी गरिने र क्षमता विकासका प्रशिक्षण र तालिम दिने बताएको छ । यता समाजवादीले पनि खेलकुदलाई सामान्य रूपमा समेटेको छ । स्वस्थ जीवनको आधार खेलकुदका पूर्वाधार भन्ने शीर्षमा उल्लेख घोषणा पत्रमा  राष्ट्रको पहिचान, सम्मान र गरिमा अभिवृद्धि गर्ने गरी खेल क्षेत्रको विकासमा जोड दिइने उल्लेख गरेको छ । 

खेलाडीहरूलाई पुरस्कारको विषयलाई पनि समेटेको छ । यसरी खेलकुदलाई राजनीतिक दलहरूले गरेको उपेक्षालाई हेर्दा खेलकुदको महत्त्व राजनीति दलहरूले नबुझेको र प्राथमिकतामा राख्न नसकेको मान्न सकिन्छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप