सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

तुलसीपुरका कुमालको पीडा– जग्गा नेताले खोसेपछि उठिबास लाग्यो

बुधबार, १६ कात्तिक २०७९, १९ : ५५
बुधबार, १६ कात्तिक २०७९

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७, कुमाल गाउँको आफ्नै परिचय छ । कुमाल गाउँ भनेपछि बुढा–पुरानाहरुले त्यही पुुरानै ग्वार खोलाको छेउ सम्झन्छन् । तर अहिले त्यो ग्वार खोलाको पश्चिम छेउमा न कुमालगाउँ छ, न कुमाल नै भेटिन्छन् ।

तर अझै पनि ग्वार खोलाको पश्चिमी तिरलाई कुमाल गाउँ नै भन्ने गरिन्छ । खोला छेउको ऐलानी जग्गामा बसेको त्यो गाउँको अस्तित्व अहिले लोप भइसकेको छ ।

नेताले त्यहाँ कुमालहरु बसोबास गर्दै आएको ऐलानी जग्गा हडप्दा गाउँकै उठिबास लाग्यो । ६७ वर्षीय लुटन कुमाल भन्छन्, ‘हाम्रो घरबास, खेतबारी सबै नेताले खाए, हाम्रो उठिबास लगाए ।’

लुटनका बाजेको नाम गाठे कुमाल र बाबु गोपी कुुमाल । बाबुुबाजेले जोतभोग गर्दै आइरहेको जग्गाजमिन उनले पनि २०५०÷०५१ सालसम्म भोगचलन गर्दै आए । जब जिम्दारले जग्गा जोतभोग गर्न बन्देज लगाए, कुमालहरुले गाउँ छोड्नुु परेको पीडा उनी सुनाउँछन् ।

उनले थपे, ‘उनी नेता थिए त्यो बेला । हामी कुमालेहरु के बोल्न सक्थ्यौं ? उनले जे भने, त्यही चल्थ्यो । उठ् भने उठ्ने, बस् भने बस्नुपर्ने बेला थियो त्यो । हामीले त्यो जग्गा हाम्रो हो भनेर कसरी भन्न सक्थ्यौं ?’

लुटनका अनुुसार करिब ५ बिगाह ऐलानी जग्गामा ४५ घरपरिवार कुमालको बसोबास थियो । त्यही बस्ती छेउमा नेकपा एमालेका नेता शंकर पोखरेलका घरपरिवारको पनि केही जग्गा थियो ।

गाउँलेहरुले पोखरेल परिवारको जग्गा पनि अधियाँ जोतभोग गर्दै आइरहेका थिए । तर पोखरेल परिवारले विस्तारै ऐलानी जग्गामा रहेको कुमाल गाउँलाई पनि समेटेर नम्बरी बनाएपछि कुमालहरुको उठिबास लागेको उनको भनाइ छ ।

उनले भने, ‘अहिले यो कुरा कोट्याएर मन अमिलो पार्नुबाहेक केही हुने होइन । हामीले खोला उघारेर बनाएको ऐलानी बस्तीको पुर्जा अहिले सबैका हात हातमा छन् । उनले बस्ती उठाएर आफ्नो बनाए, किनबेच भयो । अहिलेका घर देख्दा त्यही हाम्रो बस्तीको झल्को आउँछ ।’

‘नेता जिम्दार थिए, हामी रैती’

बस्ती छोडेपछि आफूले अहिलेको घरबास १५ सय रुपैयाँ किनेको उनले सुनाए । ‘भोलिका दिनमा यो पनि हाम्रै हो भनेर लैजान्छन् कि भन्ने डरले शंकर पोखरेलका दाजुकहाँ गएँ,’ उनले भने, ‘मैले उनलाई सोधेँ– बस्ने बास किनेको छु, त्यो तपाईहरुको पर्छ कि नाई भनेर सोधेँ तर उनी हेर्न आएनन् ।’

लुटनका अनुसार उहिले आफूहरु बसोबास गर्दै आएको बस्तीको जग्गा अहिले नम्बरी बनिसकेको छ । ती जग्गा कित्ता काट हुँदै विभिन्न व्यक्तिले खरिद गरिसकेका छन् ।

उनले भने, ‘उतिबेला सो जग्गा शंकर पोखरेलकै आफन्तको नाममा नापी भयो, अझै पनि उनकै परिवारको नाममा धेरथोर जग्गा बाँकी छ भन्छन् ।’

मालपोत कार्यालय तुुलसीपुरमा रहेको नापीको फिल्ड साविक हलवार कित्ता नं. १ (ख) को ५ बिगाह ९ कट्ठा १६ धुर ऐलानी जग्गा २०२७ साल असार १९ गते टीकाराम उपाध्यायको नाममा नापी भएको देखिन्छ । उक्त जग्गा मिसिल नं. १३७० अनुसार २०५९ साल माघ ९ गते ध्रुव मजगैयाको नाममा श्रेस्ता कायम गरिएको छ ।

लुटनका अनुसार धु्रुव नेकपा एमालेका नेता शंकर पोखरेलकै कार्यकर्ता हुनका साथै छिमेकी पनि हुन् ।

‘बस्तीसँगै पार्टी छोड्यौँ’

गाउँकै नेता, राष्ट्रिय राजनीतिमा पनि प्रभाव भएको भनेर आफूहरु शंकर पोखरेलकै पछि लागेको तर आफूहरु बस्दै आएको गाउँकै उठिबास लगाएपछि कुमालहरुले बस्ती मात्रै होइन, उनको पार्टी नै छोडिदिएको सोही गाउँका आइतराम कुमालले बताए ।

‘२०५२÷०५३ सालपछि उनी (शंकर पोखरेल) राजनीतिमा अझ अघि बढ्दै गए । हामीले हाम्रो थातथलोका बारेमा चुुक्क बोल्न पाएनौं । उनी अरु गाउँमा जान्छन् तर यो कुमाल गाउँमा कहिल्यै आउँदैनन्,’ आइतरामले भने, ‘उनी कम्युनिस्ट पार्टीका नेता त हुन् तर हाम्रा लागि उनी कम्युनिस्ट कहिल्यै बनेनन् ।’

अचेल दुःखसुख आफूहरु गरिखान सक्षम भएको उनले बताए । उतिबेलाको पीडाले भने अझै झस्काइरहेको उनको भनाइ छ ।

‘अहिलेका नयाँ पुस्तालाई त यो कुरा राम्ररी थाहा पनि छैन, उतिबेलाका बुढा पुरानाको अब दुईचार जनामात्र छौँ । हाम्रो शेषपछि यी कुराको प्रमाण पनि हराउने छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप