शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

स्वार्थमा जेलिएको राजनीति

बुधबार, १६ कात्तिक २०७९, १५ : ५१
बुधबार, १६ कात्तिक २०७९

नेपाली राष्ट्रिय राजनीतिमा सिद्धान्त, विचार, दृष्टिकोण, एजेण्डा, मूल्य मान्यता, विधि र पद्धति नराम्ररी खस्किदै गएको छ । यो पार्टी, गुट, नेता वा व्यक्ति केन्द्रित स्वार्थको गोलचक्करमा रुम्मलिरहेको छ । यहाँ स्वार्थैस्वार्थको सञ्जाल, जन्जाल र भ्रमजालमा विवेक, मूल्य, विधि, प्रक्रिया र आम मान्यता जेलिएको छ ।

भनाइमा मात्र मुलुक र जनताको हित र गराइमा आफ्नै आत्मकेन्द्रीत स्वार्थ भन्दा बाहिर देखिँदैन राजनीतिको लगाम । सिंंगो समाज नै निकृष्ट स्वार्थको चौघेराबाट बाहिर आउन सकेको छैन । अझ राजनीति झनै विकृत, भ्रष्ट, आपराधिक र व्यक्तिवादी स्वार्थको चक्रव्यूहमा फस्दै गइरहेको छ । यसरी समाजको नेतृत्व गर्ने मुल राजनीति नै विकृति र असंगतिको चङ्गुलमा फस्दै गएपछि त्यसबाट निर्देशित वा नियन्त्रित अर्थराजनीतिक समाजको चरित्र विवेकशील बन्न सक्दैन ।

दृष्टिकोणहीन गठबन्धन

वस्तुतः कुनै पनि निश्चित विचार, सिद्धान्त, दृष्टिकोण र उद्देश्यसँगै आन्दोलनको प्रक्रियामै राजनैतिक दल जन्मने गर्दछ । यो सार्वभौम नियम हो । तर राजनैतिक परिदृष्यलाई नियाल्दा राजनैतिक दलहरुसँग निश्चित सिद्धान्त, दृष्टिकोण र उद्देश्य देखिदैन । उनीहरुमा जसरी पनि चुनाव जित्नुबाहेक अर्को मिशन छैन, जुन हाम्रो राजनीतिको दूर्भाग्य र विडम्वनापूर्ण पक्ष हो ।

यता जसरी पनि चुनाव जित्ने पछिल्लो हर्कत झनै अनौठो र अस्वाभाविक छ । उनीहरु विचार मिल्ने नमिल्ने सवैसँग न्युनतम् नैतिकता पनि कायम नगरी तालमेल र गठबन्धन गरेका छन् । यहाँसम्म कि, चुनाव जित्ने नाममा राजावादी र हिन्दूवादी तत्वहरुसँग पनि साँठगाँठ भएको छ । मूलतः गठवन्धन मुलुक र जनताको हितमा गर्ने हो । परिवर्तन, समानता, न्याय र उन्मुक्तिको लागि हो । साथै, उन्नत राजनैतिक शासन व्यवस्था स्थापनाको लागि हो ।

आधारभूत रुपमा वामपन्थी र दक्षिणपन्थीहरु बीचको गठबन्धन अप्राकृतिक हुन्छ । यद्यपि मुलुक र जनताको वृहत्तर हित र स्वार्थको विशिष्ट क्षणमा जो कोहीसँग पनि गर्न सकिन्छ । तर त्यस्ता मिलेमतो दलगत, समूहगत र व्यक्तिगत स्वार्थ भन्दा माथि हुनुपर्दछ । सामान्यतः पाँच दलीय गठवन्धन स्वभाविक छैन । तर मुलुक राजावादीहरुको पश्चगामी पोल्टातिर जाने विशिष्ट परिस्थितिमा भने यसलाई सही नै मान्नुपर्ने हुन्छ । यो ठोस र वाध्यात्मक  परिस्थितिको उपज हो ।

यता एमालेले राजावादी र हिन्दूवादी पार्टीहरुसँग चुनावी गठवन्धन गरेको छ । यो विल्कुलै अस्वभाविक र अप्राकृतिक छ । किनभने काँग्रेस हाम्रो लोकतान्त्रिक आन्दोलनको सहयात्री पार्टी हो । तर राप्रपाहरु लोकतान्त्रिक संघर्षको सहयात्री पार्टी होइनन् । यसकारण काँग्रेस र राप्रपासँग अस्थायी सहकार्य गर्ने सवाल प्राविधिक रुपमा उस्तै जस्तो देखिए पनि राजनैतिक रुपमा नितान्त भिन्न विषय हो  । त्यसैले दुवैलाई अमूर्त गोलमटोल गठवन्धन भन्नु वैचारिक दरिद्रता हुनेछ ।

यद्यपि नेपालमा जसरी पनि चुनाव जित्ने स्वार्थ भन्दा माथि उठेर गठबन्धन गरिएको छैन । यो दुःखद विडम्बना हो ।

दृष्टिकोणहीन मन्त्री, भागशान्ति

     तात्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले केपी ओली प्रधानमन्त्री भएको वेला आ–आफ्नो स्वार्थगत शक्ति सन्तुलन मिलाउँदा एकजना मन्त्री पद पनि मागेका थिए । नियमतः यस्तो अस्वभाविक प्रस्ताव स्वार्थी लेनादेनाको हिसाव मिलानमा हुने गर्दछ । मन्त्री पदमा दलाली गरेको विषयलाई स्वयं चोलेन्द्रले पनि स्विकार गरिसकेका छन् ।

न्यायलयको प्रमुखले मन्त्री भागशान्ति खोज्नु इतिहासकै अद्भुत परिघटना हो । विभिन्न स्वार्थ समूहहरुसँग गठजोड गर्नु न्यायलयको वेइज्जत मात्र होइन, सिंगो न्याय क्षेत्रलाई कलङ्कित गर्नु हो । यद्यपि यो तात्कालीन प्रधानमन्त्री र प्रधानन्यायाधीश बीचको असंगत, अस्वाभाविक र स्वार्थगत राजनैतिक दूराग्रहद्वारा निर्देशित प्रपञ्च हो ।

     पछिल्लो समय नेपाली राजनीतिक सत्तामा यो वा त्यो बहाना वा नाममा राजावादीहरु घुस्न थालेको स्पष्टै छ । चोलेन्द्रलाई सवैले राजावादी भनेर चिन्दछन्, जुन घाम जत्तिकै छर्लङ्ग छ । नेपालमा सही सिद्धान्त, मूल्य र नैतिकताको राजनीतिक संस्कार छैन । यहाँ जता पट्टी पल्ला भरिन्छ वा स्वार्थ सिद्ध हुन्छ, त्यतै लाग्ने आत्मकेन्द्रीत स्वार्थी प्रवृत्ति झाँगिएको छ । यो परिवर्तन, न्याय र मुक्ति चाहनेहरुको लागि अभिशाप हो ।

प्रधानन्यायाधीशलाई महाभियोग लगाइएको छ । सिद्धान्त, दृष्टिकोण र एजेण्डाको राजनीति नहुने समाजमा महाभियोगको पक्ष विपक्षको रस्साकस्सी पनि हचुवाकै भरमा चलिरहेको छ । नेपाली समाजलाई सिद्धान्त, दृष्टिकोण र मूल्यको राजनीतिले नेतृत्व गरिरहेको भए चोलेन्द्र प्रधानन्यायाधीश नै बन्ने थिएनन् । आज नेपाली समाजलाई सिद्धान्त, एजेण्डा र मूल्यहीन राजनीतिले कव्जा गरिरहेको छ । यसको ज्वलन्त उदाहरण हो, चोलेन्द्रलाई एमाले जस्तो प्रमुख वाम शक्तिले काखी च्याप्नु । यसको पछाडि सैद्धान्तिक–वैचारिक कारण छैन । यो केवल सत्ता, शक्ति र स्वार्थको वैशाखी टेक्नको लागि अपनाइएको निर–वैचारिक र प्राविधिक औसत साँठगाँठ मात्र हो । 

दृष्टिकोणहीन दल, अदल–वदल

     सिद्धान्त र विचारको राजनीति भएको भए आ–आपफूलाई मन परेको सिद्धान्त र विचारको पछि लाग्ने कुरा हन्थ्यो । कुन दलले वोकेको कार्यदिशा र उद्देश्य सही छ, त्यसैलाई अंगीकार गरिन्थ्यो । तर नेपालमा विचार र सिद्धान्तको कुरा शुन्य भन्दा तल छ । तब हामीले अंकमा परिणामको अपेक्षा राख्नु बनीबनाउ कल्पना मात्र हुन्छ । मूलभूत कडी विग्रिएको यहीनेर हो ।

आज नेता कार्यकताहरुले दल फेरवदल गर्दा विचार र सिद्धान्त हेर्दैनन् । उनीहरुले केवल आफू र आफ्नो समूहलाई विना परिश्रम र लगानी छिटो–मीठो तरिकाले लाभको पदमा पुर्‍याउने नजरबाट मात्र नापतौल गर्ने गलत प्रवृत्ति बढेको छ । अर्थात् जति नै पश्चगामी, राजावादी, हिन्दूवादी, भ्रष्ट, अपराधी र फटाहा नै भएपनि लपनछपनको सहारामा केही सिट हात लाग्ने समूह भए उनीहरुलाई काफी हुन्छ । मुद्दा मिल्नु पर्दैन, पद र प्रतिष्ठा मिले हुन्छ ।

मधेसमा अनुदार छवि वनाएको पार्टी एमालेमा मधेसकेन्द्रित दल जसपा प्रवेश गर्नु मुद्धाहरुको दृष्टिमा असंगत कुरा हो । तर उनीहरुले आफ्नो स्वार्थको खुटकिलो चढ्ने संभाव्य भर्‍याङ एमालेलाई ठानेपछि प्रवेश स्वाभाविक भइदिन्छ । 

दृष्टिकोणहीन स्वतन्त्र उम्मेदवारी

    सिद्धान्त, विचार, दृष्टिकोण, मुल्य र नैतिकताको राजनीति भएको भए सोहीअनुरुप ध्रुवीकरण हुनेथियो । जसलाई जे मन लाग्यो, त्यही गर्ने अनि जता मन लाग्यो, त्यतै जाँदा पनि स्वार्थको ढडिया थाप्न मिल्ने भएपछि सिद्धान्तद्वारा निर्देशित संघर्षको राजनीतिमा खडेरी लाग्नु स्वभाविक हुन्छ । आज दृष्टिकोण र मुल्यको राजनीतिमा ठूलो खडेरी लागेको छ । स्वार्थी चलखेल र आत्मकेन्द्रीत उठवस भने हराभरा भइरहेको छ ।

यस्तो वस्तुगत धरातलमा निश्चित विचार र सिद्धान्तमा नबाँधिएका, लामो जीवन–मरणको संघर्ष वा आन्दोलन नगरेका अनि राजनीतिलाई ऐतिहासिक आन्दोलनको निरन्तर प्रक्रियाको रुपमा नवुझ्नेहरु पनि सामाजिक अभियन्ता र स्वतन्त्रको रुपमा सोझो वाटोबाट चुनावी स्वार्थको आँगनमा पुग्न लालायित हुन्छन् । यद्यपि उनीहरुलाई पनि राजनैतिक आन्दोलनहरुले नै राजनीति हामी पनि गर्न सक्छौं भन्ने सोंच विकास गराएको तथ्य भुल्नै हुँदैन । उनीहरु भुँइफुट्टा होइनन् ।

     सामन्य अर्थमा यसलाई नागरिकको मौलिक अधिकार भनेर परिभाषित गर्न सकिन्छ । यो जो कसैको अधिकार पनि हो । तर राजनैतिक आन्दोलनको ऐतिहासिक प्रक्रियाको दृष्टिबाट हेर्ने हो भने यो सहज बाटोबाट वा विना लगानी चाँडै लाभको पदमा पुग्ने निरपेक्ष लोभीपापी मनोविज्ञानद्वारा निर्देशित चरम् स्वार्थगत हर्कत नै हो ।

यद्यपि स्वतन्त्रहरुलाई धेरै भन्नु केही छैन । वस्तुतः हाम्रो राष्ट्रिय राजनीतिमा सिद्धान्त, दृष्टिकोण, मूल्य र नैतिकता हराउँदै जानु नै स्वतन्त्र र सामाजिक अभियन्ताहरुमा एकाएक स्वार्थी वा लोभीपापी महत्वाकाङ्क्षा जाग्नु हो । यसमा उनीहरुलाई निरपेक्ष दोष दिनु मिल्दैन ।

राष्ट्रपतिको दृष्टिकोणहीन कदम 

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा वनेको अघिल्लो सरकारले अध्यादेश मार्फत यस्तै नागरिकता विधेयक पेश गरेको थियो । यसलाई १ मिनेट पनि ढिलो नगरी रातको १२ वजे राष्ट्रपतिले पारित गरेको दृष्टान्त ताजै छ । यही विधेयकलाई देउवा सरकारले पुनः प्रमाणीकरणको लागि पठायो । राष्ट्रपतिले पुनरविचारको लागि भन्दै फिर्ता पठाइन् । सरकारले दास्रो चोटी सवै संवैधानिक प्रक्रियाहरु पुर्‍याएर  पुनः प्रमाणिकरणको लागि पेश गर्‍यो । तर प्रमाणीकरण भएन । यसले संवैधानिक तथा संसदीय सर्वोच्चताको खिल्ली उडाउने काम भयो । राष्ट्रपतिले संविधानको सारभूत मर्म र भावनामाथि घात गरेको भन्दै चौतर्फी आलोचना भयो ।

यद्यपि राष्ट्रपतिलाई पनि सही र गलत छुट्याउने नागरिक अधिकार छ । तर संविधानको प्रावधानहरु पनि कागजको खोस्टा र कुनै अमूक पार्टी वा समुदाय विशेषको स्वार्थको दस्तावेज मात्र थिएन ।

गहिराईबाट हेर्दा राष्ट्रपतिको पछिल्लो कदममा मुलुक र आम जनताको स्वार्थ भन्दा कुनै अमूक पार्टी, समूह, नेता वा व्यक्तिको स्वार्थ प्रष्टै देखियो । यसो गर्नु भनेको सिद्धान्त, विचार, मुल्यमान्यता, विधि र संवैधानिक प्रक्रियालाई नजरअन्दाज गर्नु हो । आफ्नो निहीत स्वार्थ सिद्धीमा संविधान, कानुन र मूल्यमान्यतालाई कैद गर्नु हो । यसले कसैको स्वार्थमा इटा थपेपनि उन्नत राजनैतिक संस्कार, सँस्कृति र थितिमा भने दूरगामी नकरात्मक प्रभाव पुर्‍याउनेछ । अहिले सत्ता गठबन्धनले यही नागरिकता विधेयक पास नभएको प्रसंगलाई चुनावी मुद्दा बनाएको छ ।

निश्कर्ष

     त्यसैले, राजनीतिमा जति सिद्धान्त, दृष्टिकोण, मुल्य र नैतिकता ह्रास हुँदै जान्छ, त्यति नै भद्रगोल र अव्यवस्थाले घर गर्दछ । विचार र एजेण्डाहीनतासँगै संविधान, ऐन–कानुन, विधि, प्रक्रिया र आम स्थापित मूल्य–मान्यतामाथि अराजकताले नेतृत्व गर्दछ ।

तसर्थ अझै दृष्टिकोणको राजनीति नअपनाउने हो भने हाम्रो अर्थराजनीति झनै अस्तव्यस्त, अन्यौल, सङ्कटपूर्ण, वेथिति र असंगतपूर्ण हुनेछ । त्यतिखेर सिद्धान्त, दृष्टिकोण, मूल्य, नैतिकता, विधि र प्रक्रिया केही पनि जीवित रहनेछैन । हामीसँग केवल अराजकता, अन्यौलता र अस्तव्यस्तताद्वारा निर्देशित भिडभाड् मात्र वाँकी रहनेछ ।

यसले अग्रगमन–पश्चगमन, सही–गलत, न्याय–अन्याय, जनपक्षीय–जनविरोधी, नैतिक–अनैतिक अनि विवेक–अविवेकको लक्ष्मण रेखा देख्दैन । उल्टै सवै उस्तैको विभ्रम पैदा गरीदिन्छ, तब मुलुक महाभद्रगोल–गन्जागोल, महापतन र महाअसफलताको दुश्चक्रमा फस्नेछ । यसकारण दृष्टिकोणहीन संस्कृतिविरुद्ध सवै जाग्न जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप