आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छ : ओली

‘सत्ता गठबन्धनको सरकार अलच्छिना सरकार’
बुधबार, १६ कात्तिक २०७९, २३ : ०२
बुधबार, १६ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँ–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उनले यसपटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताएका हुन् । 

उनले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै जालीकिर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउनु नहुने जिकिर गरे ।

उनले भने, ‘यसपल्ट नेकपा एमाले बाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन । त्यो राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी छ । देशका लागि  राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी छ । अहिले राष्ट्रिय शक्ति बनाइएन भने एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ । दुर्भाग्य भोग्नुपर्छ । फेरि कथम् कदाचित यिनै मान्छेहरू, यिनीहरू अहिले जनताले छानेका होइनन्, संसद्ले छानेको होइन, यी परमादेश लिएर जाली किर्ते ढंगले, मुद्दा सबैभन्दा बढी जाली, किर्तेहरूले जित्ने हो नि । यी त जालीकिर्ते हुन् । सरकार बनाउने संसद्को कुरा अदालतमा लगेर मुद्दा जितेर ल्यायौँ, भनेर प्रधानमन्त्री अदालतले हटाउँछ । संसद्को के काम ? प्रधानमन्त्री अदालतले नियुक्त गर्छ । चुनावको के काम ? संसदको के काम ? नेपालको अदालतको हालत देख्दा अचम्म लाग्छ । त्यस दिनयता अदालत बेहाल अवस्थामा छ ।’

अध्यक्ष ओलीले विकासको मूल फुटाउने कामको नेतृत्व युवा र नेकपा एमालेले गर्ने भन्दै नेकपा एमालेको समर्थन गर्न आग्रह गरे । उनले अहिलेको सत्ता गठबन्धनको सरकारलाई अलच्छिना सरकारको संज्ञा दिए । उनले देश बिगार्न नदिनको लागि नेकपा एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउन नहुने बताए । 

उनले यतिबेला देशविरोधी तत्त्वहरू सक्रिय भइरहेको भन्दै आगामी निर्वाचनमा एमालेलाई बहुमतले जिताएर स्थायित्व कायम गर्न लाग्नुपर्ने बताए । उनले आफ्नो पार्टीको सरकारले भूकम्पपछिको सफल पुनर्निर्माण गरेको र  काठमाडौँमा पुनः निर्माण गरिएको धरहराले आफ्ना विरोधीहरुको मुटुमा सुइरो रोपिएको भन्दै कटाक्ष गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप