आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मृत्युको हल्लाले साह्रै पीडा भयो

बुधबार, १६ कात्तिक २०७९, १२ : ३३
बुधबार, १६ कात्तिक २०७९

यो मेरो नयाँ जीवन हो । १२ दिन अस्पतालको बसाइँपछि मृत्युलाई जितेर म घर फर्किन सफल भएँ । घर फर्किएको ४ दिन भयो । अस्पतालमा रहँदा त मृत्युको मुखमा नै पुगेको फिल भएको थियो । बाँच्दिन कि भन्ने लाग्थ्यो । डिस्चार्ज भएपछि चाहिँ अब केही हुँदैन भन्ने आत्मबल बढेको छ ।

शुरुमा मलाई केही दिनदेखि नियमित सुख्खा खोकी लागेको थियो । घरमै त्यसको औषधी खाएर आराममा थिएँ । एकाएक १०४ डिग्री ज्वरो देखियो । तत्कालै अस्पताल गएँ । अस्पतालले डेंगु, निमोनिया लगायतको समस्या देखायो । अस्पताल बसाइँको सुरुका तीन दिन मेरो लागि शून्य भयो । मेरो होस केही थिएन रे । त्यो समय श्रीमतीलगायत आफन्त सबै अस्पतालमा सँगै थिए । केही दिन मेरो यस्तै हालत भयो । पाँचौँ दिनपछि भने स्वास्थ्यमा केही सुधार हुँदै आयो । यसरी १२ दिनसम्म अस्पतालमा नै बित्यो । अहिले लाग्छ, ‘मेरो मृत्यु टर्‍यो ।’

आफ्नै गल्तीले बिरामी 

यस अगाडि म बिरामी नभएको होइन । मलाई प्रेसर थियो । त्यसको नियमित औषधी खान्थे । पछि सुगर पनि देखियो । यो पटकको घटना भने मेरो जीवनको अकल्पनीय घटना हो । त्यो हुनुमा मेरो पनि अलिअलि गल्ती छ । नेत्र राउत भाइले ‘बा’ आउनु पर्‍यो भनेर सुटिङमा बोलाए । मैले अलि सन्चो छैन त भनेको थिएँ । तर उनले केही समय मात्रै हो भनी जिद्दी गरे । किनभने ज्यान अलि सन्चो नभएको आभास हुँदा हुँदै नाइँ भन्न नसकेर सुटिङमा गएँ । त्यहाँ चिसोपानीदेखि सुटिङको पिरो खाना पनि खाइयो । शरीरमा समस्या पहिल्यै थियो । त्यसले झन् समस्या थप्यो ।

आर्थिक समस्या परेन

म बाँचेर घर फर्किन सफल भएको डाक्टरको उपचार एउटा कारण होला, त्यो भन्दा ठुलो कारण दर्शकको माया र आशीर्वाद हो । अस्पतालमा रहँदा कुर्नेले मेरो फोन उठाएर भ्याएनन् । धेरैको चिन्ता र चासो देखियो ।  अस्पतालमै कलाकारिता क्षेत्रका साथीभाइ, आफन्तलगायत भेट्न आए । आईसीयूमा बसेको समयमा भने को–को आयो, मैले भेट्न पाइनँ । 

अस्पतालमा आर्थिक समस्या खासै परेन । छोराले सबै कुरो सम्हाल्यो । मलाई ‘आवश्यक परे सहयोग तयार छौँ’ भन्ने पनि धेरै थिए । कलाकार संघको कल्याणकारी कोषबाट पनि सहयोग आउने जानकारी दिएका थिए ।  मिडिया हबबाट पनि धेरैले हामी छौँ भनेका थिए । छोरासँग उनीहरूको सरसल्लाह भइरहेको थियो । त्यसैले आर्थिक अभावमा उपचार हुँदैन भन्ने चिन्ता थिएन । कलाकारिताको एउटा ठुलो आम्दानी त्यही रहेछ भन्ने लाग्यो ।

मृत्युको हल्लाले पीडा दियो

मेरो अस्पतालमा उपचार हुँदै गर्दा बाहिर मृत्युको हल्ला पनि फैलिएछ । देशका विभिन्न जिल्लाबाट मृत्युको खबर के हो भनेर तारन्तार फोन आयो । देश तथा विदेशमा रहेका मेरा प्रिय दर्शक, शुभचिन्तक र आफन्तले गहिरो पीडा खेप्नु पर्‍यो । 

धेरै पहिले अभिनय गरेको ‘रहर’ फिल्मको सिलसिलामा भेट भएका अरुण पहलले मृत्युको खबर सुनेपछि सिक्किमबाट फोन गर्नुभएको थियो । ठिक छ भन्दा नपत्याएर उहाँ छोरा, छोरी र श्रीमतीसहित आएर हिजो भेटेर जानुभयो । मेरो मृत्युको खबरले उहाँका छोरीहरूले खानै खान छोडेपछि केही भएको छैन भनेर देखाउन उहाँ आउनु भएको रहेछ ।

मेरो मृत्युको हल्ला राम्रै भएछ । नचाहिँदो हल्ला फैलिएको देख्दा नरमाइलो लाग्यो । त्यसले मेरो आयु पो बढ्यो, सबैको जय होस् भन्छु ।

कसैको पनि मृत्युको विषयमा बुझेर, संवेदनशील भएर हल्ला गर्न सबैमा अनुरोध गर्छु । मेरो मृत्युको हल्ला फैलिदा मलाई त खासै केही भएन । तर मेरो भगवानरुपी दर्शकलाई पीडा पुग्यो । त्यो सम्झिँदा अहिले पनि मन भारी हुन्छ ।

अझै अभिनयको भोक

अहिले म ६८ पुरा भएर ६९ वर्षमा हिँडिरहेको छु । धेरैले अब अभिनय नगर्न सुझाएका पनि छन् । तर जीवनको अन्तिम क्षणसम्म पनि मेरो अभिनय गर्ने सोच छ । मेरो कर्म, पेसा, व्यवसाय जे भने पनि अभिनय हो । शरीरले साथ दिएसम्म अभिनय गर्छु ।

बुढेसकालमा पनि किन सकी नसकी अभिनय ? कतिपयले भन्छन् । तर निर्माता निर्देशकले पत्याउञ्जेल, शरीरले साथ दिएसम्म अभिनय गर्ने हो । फरक–फरक भूमिका निर्वाह गर्ने भोक अहिले पनि मरेको छैन ।

२/३ वर्षका केटाकेटीदेखि वृद्धवृद्धासम्मले मलाई चिन्नुहुन्छ, माया गर्नुहुन्छ । कतिपयले काजीबुबा भन्छन् । यो सबै अभिनयकै देन हो । कलाकारितामा नलागेको भए सायद मेरो धेरै आर्थिक उन्नति हुन सक्थ्यो होला । तर पनि म अहिले सन्तुष्ट छु । पैसा भन्दा धेरै ठुलो उपलब्धि परिचय हो । देशको जुनै कुनामा गए पनि सबैले चिन्छन्, माया गर्छन्, मेरो लागि सब थोक यही हो । 

कुबेर गिरीले गरेको कुराकानीमा आधारित 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप