मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सल्यानमा प्रकाश ज्वालालाई गठबन्धनको भरमात्र होइन, डर पनि !

एमालेका रायको दाबी– बालेन र हर्कले जसरी चुनाव जित्छु
बुधबार, १६ कात्तिक २०७९, १२ : ०३
बुधबार, १६ कात्तिक २०७९

धेरैको आकलन थियो कि नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इन्चार्ज प्रकाश ज्वाला कर्णाली प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा प्रदेशसभा सदस्यतर्फ नै उम्मेदवार बन्नेछन् । तर उनी सल्यानबाट प्रतिनिधिसभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रुपमा मैदानमा उत्रिए ।

एमालेमा हुँदा पार्टीभित्रका प्रतिस्पर्धी मानिएका यामलाल कँडेल र गुलाबजंग शाहले फेरि पनि प्रदेशसभा नै रोज्दा ज्वाला भने प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेर यतिबेला गृह जिल्लामा घरदैलो अभियानमा छन् ।

उनको प्रतिस्पर्धी एमालेबाट राजेन्द्रवीर राय छन् । राय मनोनयन दर्ता गर्ने दिनभन्दा अघिसम्म कमल थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष थिए । गुलाबजंग शाहले प्रदेश नै रोजेपछि प्रतिनिधिसभामा ज्वालाको प्रतिस्पर्धीको रुपमा एमालेले रायको हातमा टिकट थमाएको हो ।

रायको राजनीतिक यात्रा अस्थिर छ । ०६४ मा एमालेको सदस्यता लिएका उनी तमलोपाबाट ०७० मा बाँके–१ बाट उम्मेदवार बनेका थिए । सो निर्वाचनमा पराजित भएपछि राप्रपामा प्रवेश गरेका उनी यस पटक उम्मेदवारी मनोनयन दर्ता अघिमात्र एमालेमा प्रवेश गरेका हुन् । उनले ०७४ मा सल्यान प्रदेशसभा (ख) मा राप्रपाको उम्मेदवार बनेर ज्वालासँगै प्रतिस्पर्धा गरेका थिए ।

ज्वाला १९ हजार ८३६ मतसहित विजयी हुँदा रायले तेस्रो नम्बरमा ६ हजार ५४ मत प्राप्त गरेका थिए । दोस्रोमा कांग्रेस थियो । अघिल्लो निर्वाचनको तुलनामा दुवै जना अहिले फरक दलबाट प्रतिस्पर्धी बनेका छन् । तथापि रायसँगको प्रतिस्पर्धालाई ज्वाला ‘सामान्य’ मान्छन् ।

प्रदेश सरकारको अर्थमन्त्री भइसकेका ज्वाला ०५१ सालमै प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए भने एमालेबाटै ०५६ को आम निर्वाचनमा विजयी भएका थिए । १० वर्ष एमाले सल्यानको सचिव भएर काम गरेका ज्वालाको व्यक्तिगत प्रभाव पनि जिल्लामा राम्रै मानिन्छ ।

एमाले विभाजन भएर ज्वाला नेकपा एकीकृत समाजवादीमा लाग्दा सल्यानमा एमालेको सांगठनिक अवस्था कमजोर भएको छ । ज्वालाकै पार्टी नेकपा एकीकृत समाजवादी पहिलो पटक संसदीय निर्वाचनमा ‘डेब्यु’ गर्दैछ । तर गठबन्धनको साथ पाएकाले ज्वाला बलियो प्रतिस्पर्धी मानिएका छन् ।

ज्वाला–राय बाहेक सल्यानबाट प्रतिनिधिसभा सदस्य पदका लागि राप्रपाबाट नेत्रलाल श्रेष्ठ, नेकपा मालेबाट भिमबहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवनराज देवकोटा, स्वतन्त्रबाट राजेन्द्रबहादुर शाह र जुद्धबहादुर सिंह पनि चुनावी मैदानमै छन् । 

स्वतन्त्र उम्मेदवार शाह ०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादीका टेकबहादुर बस्नेतसँग ११ हजार १३० मतान्तरले पराजित भएका थिए । उनको उम्मेदवारीले ज्वालालाई घाटा भने पक्कै लाग्ने छ । तर उनलाई मनाउने प्रयास भने गठबन्धनभित्र भइरहेको कांग्रेस स्रोत बताउँछ ।

मत विश्लेषण

गत वैशाख ३० मा वडामा प्राप्त मत अनुसार कांग्रेसले ३३ हजार ६१६, माओवादीले २६ हजार ७१३, नेकपा एकीकृत समाजवादीले ९ हजार ४६७ मत पाएको छ भने एमालेसँग २६ हजार ६२८ मत छ ।

यस्तै राप्रपासँग २ हजार ११७ र राप्रपा नेपालसँग १३६ मत छ । गठबन्धनभित्रका तीन दलको मत जोड्दा ६९ हजार ७९६ हुन्छ भने गठबन्धनको तुलनामा एमालेको मत ४३ हजार १६८ ले कम देखिन्छ ।

यस आधारमा गठबन्धनबाट इमानदारीपूर्वक सहयोग मिलेमा ज्वालाले सहजै चुनाव जित्न सक्छन् । यद्यपि स्वतन्त्र उम्मेदवार शाहले भने कांग्रेसको भोट काट्न सक्ने देखिन्छ, जसले गर्दा ज्वालालाई धक्का लाग्न पनि सक्छ ।

ज्वालाको दाबी– चुनाव जितिसकेँ, औपचारिक घोषणा हुनमात्रै बाँकी

नेकपाको अन्तरसंघर्ष ताका तपाईहरुकै कारण नेतृत्वमा माओवादी र कांग्रेसले प्रदेशको नेतृत्व गर्ने अवसर पाए, दुवै दलले चुनावमा सहयोग गर्नेमा विश्वस्त हुनुहुन्छ ?

—  दलले इमानदारिता देखाउनै पर्छ । यद्यपि म गठबन्धनसँग रहेको भन्दा बढी नै मत पाउने दाबी गर्दछु ।

तपाईले चुनाव जित्ने आधारचाँहि के ?

—  सल्यानको विकास र परिवर्तनका लागि महत्वपूर्ण काम गरेको छु । संघ र प्रदेशबाट गरी अर्बौँ बजेट जिल्लाको विकासका ल्याउने काम हामीले गरेका छौँ ।

म जनताकैबीचमा छु र गठबन्धनको साझा उम्मेदवार हुँ । अर्कोतर्फ मेरो प्रतिस्पर्धी रायजी निकै कमजोर हुनुहुन्छ । उहाँ खासै जिल्लामा पनि नबस्ने, सबैले उहाँलाई चिन्दा पनि चिन्नुहुन्न । मेरो प्रतिस्पर्धी नै नभएको जस्तो मलाई भान भइरहेको छ । 

०७४ मा एमालेबाट प्रदेशको चुनाव जित्नुभयो तर बीचमै सांसद पद खोसियो, ‘फ्लोर क्रस’ गर्नुभयो, अहिले फरक पार्टीबाट चुनावी मैदानमा जाँदा मतदाताले के भनिरहेका छन् ?

— मैले गरेको विद्रोहले सकारात्मक प्रभाव परेको छ । संविधान र संघीयता बचाउने कुरामा हामी लागेको हो । म सांसद, मन्त्री भए पनि नभए पनि जिल्लाकै विकास र सेवामा समर्पित छु नि !

उसो भए चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ हैन त ?

—  सुनिश्चित छ, हामीले एक किसिमले जितिसकेका छौँ, औपचारिक घोषणा गर्न मात्रै बाँकी छ ।

रायको दाबी– बालेन र हर्कले जसरी चुनाव जित्छु

राप्रपा नेपालको व्यक्ति एकाएक एमालेबाट टिकट पाउनुभयो, तपाईले मागेको हो कि एमालेले दिएको हो ?

—  माग्न र लिन दुवै तयार भएर हो । सल्यानी जनताको सेवामा समर्पित हुने कुरामा अग्रसर हुन साना दलबाट सम्भव नहुने देखेपछि म एमालेबाट चुनाव लड्न तयार भएको हो ।

म राष्ट्रवादी मान्छे, एमालेको विचारधारा मन प¥यो, उहाँहरुले लड्ने भए टिकट दिन्छौँ भन्नुभयो, अनि म मैदानमा होमिएको हो ।

प्रकाश ज्वालाले तपाई त प्रतिस्पर्धी नै होइन भन्नुहुन्छ नि ?

—  गणितको हिसाब काम लाग्दैन, म चुनाव जित्छु नै ।

चुनाव जित्ने आधारचाँहि केहो ?

— उहाँ (ज्वाला)लाई जनताले लामो समयसम्म मौका दिए पनि केही गर्न सक्नुभएन । जनताले परिवर्तन चाहन्छन्, यही मेरो आधार हो । अर्को कुरा, मैले व्यक्तिगत हिसाबले धेरैलाई रोजगारी दिएको छु । मसँग व्यक्तिगत स्वार्थ कुनै छैन ।

गठबन्धनभन्दा एमालेको मत झण्डै ४३ हजार कम छ नि  ?

— त्यो मलाई थाहा छ । उदाहरणका लागि बालेन शाह र हर्क साम्पाङ्लाई लिनुहोस् न ! हेर्दै जानुस्, समयले देखाउँछ ।

ज्वालाले मैले चुनाव जितिसकेँ औपाचारिक घोषणामात्र हुन बाँकी छ भन्नुभएको छ नि ?

—उसो भए उहाँ आराम गरेर बसे भइगो नि..! गाउँगाउँ डुलिरहेको देखेको छु । त्यो झुट कुरा हो । उहाँमा ‘कन्फिडेन्स’ छैन ।

तपाईलाई मतदाताले के भनिरहेका छन् ?

—  सल्यानको समृद्धिका लागि बिना स्वार्थ काम गर्ने कुरा मैले जनताहरुलाई भनिरहेको छु । मैले चुनाव जितेको खण्डमा भ्रष्टाचार नगर्ने संकल्प राखेको छु । जनताले पनि त्यस्तै नेताको अपेक्षा गरिरहनुभएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप