शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पौराणिक कथा : कर्मफल

बुधबार, १६ कात्तिक २०७९, १० : ०२
बुधबार, १६ कात्तिक २०७९

  नेपालीमा एउटा उखान छ– ‘जसले अङ्गार खान्छ उसैले कालो दिसा गर्छ ।’ यसलाई भाइ, बहिनीहरूले पनि सुनेको हुनुपर्छ । नसुनेका भए पनि मम्मी, बाबा, दाजु, दिदी तथा काका, काकीलाई सोधेर जान्न सक्छौ । यसको अर्थ हो जसले जस्तो कर्म गर्छ उसले त्यस्तै फल पाउँछ । यहाँ यस्तै एउटा कथा प्रस्तुत गरिएको छ, जसलाई पढेपछि तिमीहरू आफैँ प्रष्ट हुन सक्छौ । 

परापूर्वकालमा भारत वर्षमा यमदग्नि नामका ऋषि थिए । उनको प्रशंसा वेददेखि पुराणसम्मका सबै ग्रन्थले गरेका छन् । यस अर्थमा उनी वैदिक ऋषि पनि हुन् र पौराणिक ऋषि पनि हुन् । उनी सप्त ऋषिमा पनि पर्छन् । हालको कल्पलाई श्वेतवाराह कल्प भनिन्छ । यस कल्पको सप्त ऋषिमा उनको नाम पनि आएको छ ।

त्यस जमानामा उनले ठूलो गुरुकुल आश्रम चलाएका थिए । उनको आश्रममा १० हजारभन्दा बढी विद्यार्थीहरूलाई एकैसाथ खाने र बस्नेसहित अध्ययनको सुविधा प्राप्त थियो रे । यसको कारण थियो उनका साथमा एउटी निकै दुधालु गाई हुनु । यिनै गाईका दूधबाट उनको आश्रम चलेको थियो, चलाएका थिए ।

त्यतिबेला त्यस देशमा सहस्रार्जुन नामका राजा थिए । एक दिन उनी शिकार खेल्दै उनै यमदग्नि ऋषिको आश्रममा पुगे । आश्रममा पुग्नासाथ ऋषिले चतुरङ्गििणी सेना सहित राजाको भव्य स्वागत गरे । उनको आतिथ्य देखेर राजालाई आश्चर्य लाग्यो र विनम्रतापूर्व सोधे–

‘ऋषिवर ! हामी आएको धेरै भएको छैन । यति चाँडै त्यो पनि यति ठूलो आतिथ्य कसरी सम्भव भयो । वनवासी ऋषि हुनुहुन्छ, आश्रममा त्यति धेरै सम्पत्ति पनि देख्दिन । तैपनि यति ठूलो आतिथ्य देखेर छक्क परेँ । भन्नुस् यस्तो चमत्कार कसरी सम्भव भयो ? भिक्षाटनबाट मात्रै त पक्कै यस्तो भएको होइन होला ।’

राजाको कुरा सुनेर ऋषिले मुस्कुराउँदै भने–

‘ठीकै भन्नुभो महाराज ! आश्रम भिक्षाटनबाट चलेको छैन, चन्न पनि सक्दैन तर यहाँहरूका सद्भाव र भगवान्का कृपाले मलाई एउटी दुधालु गाई प्राप्त भएकी छन् । उनकै दूधबाट आश्रम चल्दै आएको छ । अहिलेको आतिथ्य पनि यसैबाट सम्भव भएको हो ।’

ऋषिको कुरा सुनेर राजा लोभिए । उनलाई लाग्यो यस्ती गाई त राजाको दरवारमा पो हुनुपर्छ । यी वनवासी जोगीलाई के काम ? यस्तैयस्तै सोच्दै उनले भने–

‘ऋषिवर ! यी गाई राजाको दरवारमा हुनुपर्छ जस्तो लाग्यो । आश्रम त जसरी तसरी चल्द नै तर दरवार चल्दैन । त्यसैले यी गाई मलाई दिनुस् । बरू सट्टामा हजारौँ अन्य गाई दिनेछु ।’

राजाको कुुरा ऋषिलाई मन परेन । उनको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै भने–

‘राजन् ! के कुरा गर्नुभएको यस्तो ? यी गाई त आश्रमका सम्पत्ति हुन् । यिनलाई दिएर कसरी आश्रम चलाउँला । माफी चाहन्छु मबाट यस्तो काम हुन सक्दैन ।’

ऋषिको कुरा सुनेर राजा रिसाए । उनी सेनालाई गाईलाई नियन्त्रणमा लिएर आउने आदेश दिँदै दरबारतिर लागे । विचरा सेनाहरूले के गरुन् राजाज्ञाको कुरा थियो । त्यसैले राज्य शक्ति लगाई गाई अपहरण गरेर लगे । 

यो कुरा तत्कालै उनका कान्छा छोरा प्रशुरामले थाहा पाए, जो भगवान्को छैटौँ अवतार भनेर चिनिन्थे । उनले त्यस कुकृत्यलाई सहजरूपमा लिन सकेनन् र तत्कालै सहस्रार्जुनको राजधानी माहिस्मति पुरमा पुगेर सिंहनाद गरे । यद्यपि सहस्रार्जुनले उनलाई रोक्ने प्रयास नगरेका होइनन् तर जति नै प्रयास गर्दा पनि केही लागेन । उनले क्षणभरमै सेनासहित सहस्रार्जुनलाई त्यहीँ सिध्याएर गाई फिर्ता गराए । राजाका छोराहरू र बचेका सेनाहरूले भने भागेर प्राण बचाए ।

पछि तिनै भागेका सहस्रारर्जुनका छोराहरूले प्रतिशोध लिने उद्देश्यले प्रशुराम नभएको मौका पारी आश्रममा आक्रमण गरेर ऋषि यमदग्निको हत्या गराए । बाबुको हत्या भएको खबर पाउनासाथ उनी आश्रममा आए । त्यतिबेला आमा रेणुका छाती पिटेर रोइरहेकी थिइन् । आमाको बेदना उनले सहन सकेनन् र तत्कालै दुष्ट राजाहरूलाई निर्मूल पार्छु भन्ने कसम खाई बञ्चरो लिएर निस्के ।

त्यसपछि उनले २१ पटकसम्म पृथिवी घुमेर दुष्ट राजाहरूको दमन गर्ने काम गरे । फलतः पृथिवीका प्रायः सबै दुष्ट शासकहरू समाप्त भए । बचेखुचेकाले पनि भागेर प्राण बचाए  । यसरी दुष्ट राजालाई दमन गरी आश्रममा आएर योगशक्तिले बाबुको प्राण बचाए । दुष्ट राजाहरूबाट छिनिएको राज्य गुरु कश्यपको नाममा दान दिएर पृथिवी भ्रमण गर्न थाले र रामावतार नहुञ्जेल यसै गरी पृथिवी भ्रमण गरिरहे । रामावतार भएपछि भने आफ्नो शक्ति राममा समर्पित गरी महेन्द्र पर्वतको गुफामा बसेर तपस्या गर्न लागे ।

भनिन्छ, अहिलेसम्म पनि उनी सोही गुफामा बसेर तपस्या गरिरहेका छन् । किनकि उनी चिरञ्जीवी थिए । असल काम गरेवापत उनलाई बाबु यमदग्निबाट चिरञ्जीवी हुने आशीर्वाद प्राप्त थियो । 

भागवतमा व्यासजीले भनेका यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर जसले जस्तो कर्म गर्छ उसले त्यस्तै फल पाउँछ भन्ने कुरा भने सत्य हो ।

सहस्रार्जुन आफैँ राजा थिए । राज्यकोषबाट सुविधा भोग गर्थे । राजा भएर दुनियाँको रक्षा गर्नुपर्नेमा उल्टै रक्षक नै भक्षक बनेर उनले जुन कुकृ्त्य गरे चाँडै नै त्यसैको फल पाए । उनका छोराहरूलाई पनि त्यस्तै भयो । प्रतिशोध लिने उदेश्यले उनीहरूले निर्दोष ऋषिको जीवन लिने जुन कुकृत्य गरे फलतः आफ्नै जीवनलाई सुरक्षित राख्न सकेनन् । उता प्रशुरामले भने अन्याय र अत्याचारको सामना गरेकाले अहिलेसम्म पनि चिरञ्जीवी बनेर दुनियाँको मन र मस्तिष्कमा जीवित रहने अवसर पाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप