शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कैलाली–५ : नारदमुनि र डिल्लीराज बीचको भिडन्तमा मिसिए थारु गाउँका भलमन्सा

बुधबार, १६ कात्तिक २०७९, ०७ : ४९
बुधबार, १६ कात्तिक २०७९

प्रतिनिधिसभाको आसन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ लाई पनि धेरैले चासोका साथ हेरेका छन् । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पराजित गरेका नारदमुनि राना यस पटक पनि यसै क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका छन् ।

रानाविरुद्ध आरजु नै उम्मेदवार बन्ने चर्चा भए पनि उनी अन्तिम समयमा समानुपातिकमा बसिन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका डिल्लीराज पन्तले रानासँग प्रतिस्पर्धा गर्दैछन् ।

पन्त २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । आरजुको ठाउँमा कांग्रेसले पन्तलाई मैदानमा उतारेको हो । पन्त र रानाबीचको प्रतिस्पर्धाले मात्रै होइन, यहाँ प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवारहरु पनि प्रभावशाली रहेका कारण यो क्षेत्रप्रति धेरैको चासो बढेको छ ।

कांग्रेसको विद्रोही नेताको रुपमा चिनिएका पुष्करनाथ ओझाका साथै नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएको जगदीश चौधरी पनि चुनावी मैदानमा स्वतन्त्र उम्मेदवारका रुपमा उत्रिएका छन् ।

२०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन कैलाली निर्वाचन क्षेत्र नं. ६ छोडेपछि भएको उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा विजयी भएका थिए । तर २०७४ को निर्वाचनमा टिकट नपाएपछि आरजुलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले ओझालाई कारवाही गरेपछि उनले यस पटक स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मत आकलन

यस निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाको पूरै (१९ वडा) र कैलारी गाउँपालिकाको ६ र ९ गरी २ वडा समेटिएको छ । यो क्षेत्रमा एक लाख पाँच हजार ७९३ जना मतदाता छन् ।स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई आधार मान्ने हो भने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मिलाएर यहाँ सत्तारुढ गठबन्धनसँग ३२ हजार ६१९ मत देखिन्छ । नेकपा एमाले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार बनेका राना २७ हजार २०२ मतसहित विजयी हुँदा आरजु राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।

१७ वर्षमै जेल बसेका थिए डिल्लीराज पन्त ?

कांग्रेसका नेता समेत रहेका बुबा चेतराज पन्त र आमा हरिप्रिया देवी पन्तको कोखबाट २०१२ फागुन १२ गते डिल्लीराज पन्तको जन्म कैलालीमा भएको हो ।

‘मेरो बुबाले २००६ सालमा मातृका प्रसाद कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिनुभएको थियो । २००७ सालको क्रान्तिमा मेरो बुबाले कैलाली, बेलौरी र ब्रह्मदेवको क्रान्तिसँगसँगै डोटीको पनि नेतृत्व लिनुभयो । राणा शासन ढल्यो,’ बुबाको राजनीतिक योगदानबारे चर्चा गर्दै डिल्लीराजले भने, ‘२०४६ सालको आन्दोलन सफल भएपछि धनगढीमा ठूलो आमसभा भयो । त्यसको सभापतित्व मेरो बुबाले गर्नुभएको थियो ।’

डिल्लीराजको राजनीतिक जीवन भने २०२९ देखि सुरु भएको हो । उनमा सानैदेखि पञ्चायती व्यवस्थाप्रति वितृष्णा थियो । धनगढीको पञ्चोदय विद्यालयमा कक्षा १० मा अध्ययनरत रहँदै पञ्चायती शासनविरुद्ध काम गरेको भन्दै आफूले ६ महिना जेल जीवन भोग्नु परेको उनी सुनाउँछन् ।

जेलबाट छुटेपछि धनगढीमा क्याम्पस नभएकाले उनी अध्ययनको क्रममा भारतको देहरादुन गए । त्यहाँबाटै बीएसम्म अध्ययन गरे ।​ अध्ययनताका नै उनी कांग्रेसका विभिन्न गतिविधिमा संलग्न थिए । पञ्चायती व्यवस्थाको विरुद्धमा अभियान चलाउँथे ।

देहरादुनमै उनले शेरबहादुर देउवासँग भेट गर्ने मौका पाएका थिए । त्यसपछि उनी नेविसंघको राजनीतिमा सक्रियतापूर्वक लागे ।

‘कांग्रेसभित्रै पीडित व्यक्ति हुँ’

पन्त कांग्रेसको राजनीतिक जीवनमा क्रियाशील भए पनि मुख्य जिम्मेवारीबाट वञ्चित हुँदै आएको सुनाउँछन् । ‘जतिखेर कांग्रेस विभाजन भयो । म संस्थापन पक्षबाट कैलाली जिल्ला समिति सदस्य भएँ । मैले पद लिएको त्यही हो,’ उनले भने, ‘त्यसपछि २०७४ सालसम्म पार्टीको कुनै जिम्मेवारीको पदमा म थिइनँ ।’

२०७४ को निर्वाचनमा प्रदेशसभामा कांग्रेसले उम्मेदवारीको अवसर दिएको र जनताले पनि आफूलाई जिताएको उनको भनाइ छ ।

‘५ वर्षमा मैले गरेको काम देखेर, मेरो व्यवहार देखेर र आरजु भाउजुको स्वास्थ्य अवस्थाले नदिएपछि मलाई यो पटक पार्टीले संघको जिम्मेवारी दिएको हो,’ उनले भने, ‘पाँच दलीय गठबन्धनको साझा उम्मेदवार छु ।’

मल करखाना खोल्ने योजना

पन्त आफ्नो संघर्ष, पृष्ठभूमि र आफू खान्दानी कांग्रेस हुनुलाई चुनाव जित्ने प्रमुख आधार रहेको जिकिर गर्छन् । साथै यस क्षेत्रको सामाजिक क्षेत्रमा गरेको कामले पनि जनतामा राम्रो छाप परेको उनको भनाइ छ ।

उनले भने ‘यहाँ सबैसँग परिचित छु । मेरो आफ्नै सामाजिक जीवन छ । ६ वर्ष त्रिनगर माविको अध्यक्ष भएँ । प्लस टुसम्म सञ्चालन गराइयो । आफ्नो जग्गा धितो राखेर विद्यालयको आयस्रोत बढाउन सपिङ कमप्लेक्स बनाएँ । ८ वर्ष रेडक्रस कैलालीको कोषाध्यक्ष भएँ ।’

आफ्नो व्यक्तित्वको प्रभावका अतिरिक्त कांग्रेस देशकै सशक्त पार्टी भएको र त्यसको उम्मेदवार भएकाले पनि आफू विजयी हुने उनको भनाइ छ ।

उनले गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने, गौरीफन्टा नाकाको स्तरोन्नति गर्ने, रासायनिक मलको करखाना स्थापना गर्ने एजेण्डा अघि सारेका छन् ।

 कांग्रेसको विरासत भत्काउने नारदमुनि

२०७४ को निर्वाचन अघि कैलाली निर्वाचन क्षेत्र नं. ५ कांग्रेसको बलियो आधार ईलाका मानिन्थ्यो । २०४८ सालमा कांग्रेसका नेता टेकबहादुर चोख्याल यसै क्षेत्रबाट निर्वाचित भएका थिए । तर २०५२ को मध्यावधि निर्वाचनमा भने एमालेका महेश्वर पाठकले चुनाव जिते । २०५६ को आमनिर्वाचनमा कांग्रेसले फेरि इतिहास दोहो-यायो ।

२०६४ को संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादीकी उम्मेदवार लिला भण्डारीले जिते पनि २०७० को संविधानसभा सदस्य निर्वाचनमा वर्तमान प्रधानमन्त्री देउवा झण्डै दोब्बर मतान्तरले यसै क्षेत्रबाट निर्वाचित भए ।

२०७४ को स्थानीय निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयर दुवै कांग्रेसकै पोल्टामा गयो । तर त्यही विरासतलाई नारदमुनि रानाले संसदीय निर्वाचनमा नराम्ररी भत्काए ।

२७ हजार २०२ मत ल्याएका रानाले आफ्नो निकटतम प्रतिद्वन्द्वी आरजु राणा देउवालाई चार हजार ८८० को फराकिलो मतान्तरले पराजित गरे । त्यसअघिसम्म राष्ट्रिय राजनीतिमा नचिनिएका राना एकाएक सबैको ध्यान तान्न सफल भए ।

को हुन् नारदमुनि ?

२०२९ साल बैशाख १९ गते बुबा रतिराम रानाथारु र आमा सुदामा देवी रानाथारुको कोखबाट धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको मध्यमवर्गीय परिवारमा जन्मेका राना बाल्यकालदेखि नै लगनशील, क्रान्तिकारी स्वभावका हुन् ।

स्कूले शिक्षा धनगढी माध्यमिक विद्यालयबाट लिएका रानाले कैलाली बहमुखी क्याम्पस धनगढीबाट राजनीतिशास्त्रमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

विद्यार्थीकालमै थुनामा

युवा अवस्थादेखि विभिन्न रचनात्मक गतिविधि तथा वैचारिक कार्यक्रममा बस्न रुचाउने राना क्याम्पस अध्ययनकै क्रममा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय थिए । फलतः २०४५ सालमा तत्कालीन अखिल छैठौंबाट विद्यार्थी राजनीति सुरु गरे ।

२०४८ सालदेखि नेकपा एमाले निकट विद्यार्थी संगठन हुँदै टोल कमिटी, नगर कमिटी, जिल्ला कमिटी, केन्द्रीय कमिटीमा आएका उनी नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज छन् ।

उनी २०४६ सालको जनआन्दोलनमा थुनामा समेत परेका थिए । क्याम्पस अध्ययनताका मुलधारको राजनीतिमा होमिइसकेका उनले २०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दिए । उक्त निर्वाचनमा उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मनिराम देवललाई भारी मतान्तरले पराजित गरे ।

एमालेबाट २०६४ सालमा समानुपातिकतर्फ संविधानसभा सदस्य बनेका राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । सेती अञ्चल अस्पताल व्यवस्थापन समितिको अध्यक्षसमेत रहिसकेका राना शिवनगर खानेपानी आयोजनाको संस्थापक अध्यक्षका साथै निरन्तर १० वर्षसम्म अध्यक्ष भई आयोजनाको काम पूरा गरेर पनि प्रशंसनीय बनेका छन् ।

रानाको पुनः दोहोरिने दाउ

अहिले प्रतिनिधिसभातर्फ कैलाली–५ मा गठबन्धनको उम्मेदवार बनेका पन्त र कांग्रेस पृष्ठभूमिका स्वतन्त्र उम्मेदवार ओझाबीचको प्रतिस्पर्धाको फाइदा उठाउँदै राना फेरि दोहोरिने दाउमा छन् । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा गठबन्धनको उम्मेदवार शान्ति अधिकारी पराजित हुनुमा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी मुख्य कारक रहेको चर्चा छ ।

धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमै गठबन्धनको उम्मेदवार पराजित भएजस्तै अहिले पनि प्रतिनिधिसभामा गठबन्धनको उम्मेदवारलाई त्यति सहज छैन । ‘स्वतन्त्र उम्मेदवारी दिएका ओझाका कारण गठबन्धनका उम्मेदवार पन्तलाई निकै सकस छ । गठबन्धन कमजोर भएकै कारण आरजु ब्याक भएको हल्ला उत्तिकै छ,’ कांग्रेसका स्थानीय एक नेताले भने ।

राना भने आफूले गरेको कामबाट जनता प्रभावित भएको र त्यही नै जितको आधार भएको दाबी गर्छन् ।

गरेका कामको लिस्ट बाँड्दै

५ वर्षे कार्यकालमा धनगढी सिटीलाई मेगा सिटीको रुपमा विकास गर्न आफूले फाउण्डेसनको काम गरेको राना बताउँछन् । आफूलाई यस पटक जिताए समृद्ध मेगा सिटीको रुपमा विकास गर्ने उनको भनाइ छ । उनले राना थारु समुदायलाई आदिवासीमा सूचीकृत गराउन पनि आफूले भूमिका खेलेको बताए ।

उम्मेदवारका बक्रदृष्टि थारु समुदायमा

यस निर्वाचन क्षेत्रको जनसंख्यामा मुख्य गरी सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट बसाइ सरेर आएका, यहाँका रैथाने थारु र रानाथारु जातिको जनसंख्याले भूमिका खेल्दछ ।

करिब ५० प्रतिशत जनसंख्याको प्रतिनिधित्व यिनै समुदायको छ । यी भित्र करिब २३ हजार बढी मतदाता थारु समुदायका, करिब ८ हजार बढी मतदाता रानाथारु समुदायको रहेको आकलन छ ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा धनगढीको मेयरमा संगठनबिहीन रहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले गठबन्धन र एमालेका उम्मेदवार रणबहादुर चन्दलाई पराजित गरेका थिए । हमालको जितमा मुख्य भूमिका तिनै मतदाताको रहेको स्थानीयस्तरमा चर्चा छ ।

धनगढीमा केही चालायमान मतदाता छन् । जो पार्टीभन्दा व्यक्ति केन्द्रित हुन्छन् । ती चलायमान मतदातासँगै थारु र रानाथारुको मत जसले तान्न सक्यो, उसैको जित सुनिश्चित हुने गर्दछ ।

हाल उम्मेदवारको बक्रदृष्टि ती रैथाने समुदाय र चलायमान मतदातामा केन्द्रित छ । ती मत दलीय संगठनबाट भन्दा पनि उम्मेदवारको भूमिकाबाट अभिप्रेरित र प्रभावित हुने र एकै ठाउँमा जान सक्ने आकलन विगतदेखि गरिँदै आएको छ ।

थरुहट नेता लक्ष्मण थारु भन्छन्, ‘यहाँको मजदुर, किसान, रैथानेको मत नै चलायमान मत हो । यो मत नै निर्णायक हो । यो मत न्यायको लागिमात्रै हो । हामीले यसपालिको नतिजा स्पष्ट देखिरहेका छौं । यद्यपि औपचारिकताका लागि पर्खनै पर्छ ।’

टीकापुर घटनामा मुछिएका नेता थारुले यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका थिए । तर उनको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारी दिएका जगदीश चौधरीलाई समर्थन जनाएको छ ।

को हुन् जगदीश चौधरी ?

जगदीश चौधरी धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका स्थानीय हुन् । १० वर्ष नेपाल आयल निगममा कार्यरत उनी पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।

उनी उत्तरबेहडीस्थित १७७ घरधुरीका भलमन्सा तथा गाउँ प्रमुख हुन् । उनले आफ्नो उम्मेदवारी न्याय र विकासको लागि भएको बताए ।

आफ्नो उम्मेदवारीपछि धेरैले राजनीतिक पृष्ठभूमि बिना किन उम्मेदवारी दिएको भन्दै फिर्ता लिन आग्रह गरेको उनले सुनाए । आफ्नो उम्मेदवारी सामाजिक न्याय, विकास र समृद्धिका लागि भएकाले त्यस्ता प्रस्ताव र आग्रहलाई आफूले बेवास्ता गरेको उनको भनाइ छ ।

उनले भने, ‘थरुहट नेता लक्ष्मण थारुको उम्मेदवारी खारेज हुन सक्ने सम्भावनाको आधारमा मैलै उहाँको विकल्पको रुपमा स्वतन्त्र उम्मेदवारी दिएको हुँ । जुन न्याय र विकासको लागि हो । जहाँसम्म मेरो राजनीतिक पृष्ठभूमिको कुरा गर्छन्, माछाको बच्चालाई पौडी खेल्न नसिकाउनु भन्ने नै मेरो उनीहरुलाई जवाफ हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप