केही राजनीतिक दल संविधान च्यात्ने प्रपञ्चमा छन् : गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले केही राजनीतिक दलहरु संविधान च्यात्ने प्रपञ्चमा लागेको आरोप लगाएका छन् । मन्त्री खाँणले उनीहरु संविधान च्यात्ने प्रपञ्चमा लागिरहेको बताउँदै त्यस्ता षड्यन्त्रविरुद्ध सचेत हुनुुपर्ने बताए ।
सत्ता गठबन्धन रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले मंगलबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए ।
मुलुकबाट निर्मूल भइसकेको राजतन्त्रलाई बोकेर हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समेटेर नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्तारुढ दलहरूका विरुद्ध गठबन्धन बनाएको र त्यो तीन दलीय गठबन्धन संविधान च्यात्न र मुलुकलाई पश्चगमनतर्फ धकेल्न लागिरहेको उनको तर्क छ । जनप्रतिनिधिले बनाएको संविधान संसदमा दुई तिहाइ मतले संशोधन गर्न सकिने भएपनि जनआन्दोलनको मर्म र भावना विपरीत संविधान नै च्यात्न उद्धत हुनु प्रतिगमनलाई मलजल गर्नु र मुलुकलाई पुरानै अवस्थामा फर्काउनु भएको खाँणको भनाई थियो ।
‘यसबाट हामी सबै सचेत हुन र निर्वाचनमार्फत त्यस्तो रणनीतिमा लाग्ने शक्तिहरूलाई परास्त गर्न आम नागरिकलाई आग्रह गर्छु’ उनले भने । कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणले जुन दलले सरकार बनाउन सक्दैन त्यस्ता दललाई मत हालेर कुनै अर्थ नरहने बताए ।
‘निर्वाचनमा होमिएका केही दलहरूको संसदमा उपस्थिति नै नगण्य मात्रामा हुन्छ, ती दलबाट कसरी विकास र समृद्धिको जनताले आशा गर्ने ? कसरी विश्वास गर्ने ?’ उनले भने, ‘पाँच दलीय गठबन्धनको त अहिले पनि सरकार छ, भोलि निर्वाचन पछि पनि हुन्छ, यही गठबन्धनले विकास गर्छ, जनचाहनाअनुसार काम गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो