शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता सबैले पालना गरौँ : आयुक्त तुलाधर

मङ्गलबार, १५ कात्तिक २०७९, १७ : ४६
मङ्गलबार, १५ कात्तिक २०७९

निर्वाचन आयुक्त डा.जानकी तुलाधरले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेकी छन् । आचारसंहिता उल्लङ्घन गर्ने उमेदवारको उम्मेदवारीसमेत खारेजी हुनसक्ने भन्दै उनले आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्

राससको सहकार्यमा निर्वाचन आयोगले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा आयुक्त डा.तुलाधरले आगामी मङ्सिर ४ गते हुने निर्वाचन दुईवटा कुरामा केन्द्रित रहेको बताइन् ।
डा.तुलाधरले भनिन्, “पहिलो त निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता पालना गराउनु हो, अर्को मतदाता शिक्षालाई जोड दिएका छौँ ।” सञ्चार माध्यमले गत स्थानीय तहको निर्वाचनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि त्यतिकै भूमिकाको अपेक्षा गरिएको बताइन् ।

“सञ्चारमाध्यम भनेको महत्वपूर्ण कडी हो”, उनले भनिन्, “मतदाता शिक्षामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ, निष्पक्ष निर्वाचन बनाउन आयोग र सञ्चारमाध्यमको सहकार्य पनि उत्तिकै आवश्यक छ ।” आयोगले अहिले मतदाता शिक्षालाई जोड दिएको भन्दै आयुक्त तुलाधरले मतदाता शिक्षा र आचारसंहिता पालनामा सबै सरोकारवालाको दायित्वभित्र पर्ने बताइन् । मिथ्या सूचनालाई निस्तेज पार्न मिडियाको साथ आयोगलाई चाहिएको उनको भनाइ छ ।

राससका महाप्रबन्धक सिद्धराज राईले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि मिडियाको महत्वपूर्ण भूमिका रहने बताए । उनले निर्वाचनको समयमा पत्रकारले आचारसंहिता उल्लङ्घनका विषय उजागर गर्नुका साथै पत्रकार स्वयंले पनि आचारसंहिता पालनामा ध्यान दिनुपर्ने बताए । उनले निर्वाचनका बेलामा उम्मेदवारका गतिविधि र मतदाता शिक्षालाई विशेष जोड दिएर अगाडि बढ्न पत्रकारलाई आग्रह गरे ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले आचारसंहिता पालनाका विषयमा सबैलाई झक्झकाउन सञ्चारमाध्यमलाई आग्रह गरे । मिडियाले समेत तथ्यलाई तलमाथि पारेको हुनसक्ने भन्दै सूचनाप्रवाह गर्दा तथ्यपरक हुनुपर्ने बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका निमित्त सचिव आनन्द सारुले राज्य सञ्चालन प्रणालीलाई बलियो बनाउनका लागि निर्वाचनले ठूलो महत्त्व राख्ने बताए । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सबै राजनीतिक दलले कर्तव्यबोध गरेर निर्वाचन आयोगद्वारा जारी भएको आचारसंहितालाई पूर्णरूपमा कार्यान्वयन गरेको खण्डमा निर्वाचन सहज हुने बताए ।

कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचनको बेलामा मिथ्या सूचना, दुष्प्रचारलाई रोक्न पत्रकारले मुख्य भूमिका खेल्नुपर्ने औंल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप