शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

४९ वर्ष पुरा भइन् ऐश्वर्या राय : उनको जीवनका केही उपलब्धि र किस्सा

मङ्गलबार, १५ कात्तिक २०७९, १६ : १३
मङ्गलबार, १५ कात्तिक २०७९

विश्वकै चौथो सुन्दर अभिनेत्री भनिने ऐश्वर्या राय आज ४९ वर्ष पूरा भएकी छिन् । यती सुन्दर कि नेदरल्याण्डमा ट्युलिप फूलको एक प्रकारको नाम ऐश्वर्याको नाममा राखिएको छ । सन् १९९४ मा मिस वर्ल्डको उपाधि जितेपछि ऐश्वर्याले सन् १९९७ मा तमिल फिल्म इरुवरबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन् । ऐश्वर्याले अहिलेसम्म तमिल, तेलुगु, बंगाली, अंग्रेजी र हिन्दी भाषाका करिब ५० फिल्ममा अभिनय गरिसकेकी छिन् । ऐश्वर्याले आफ्नो सर्तमा जीवन बाँचिरहेकी छिन् । कहिले उनले मिस इन्डिया बन्नका लागि आमिर खानजस्ता स्टारको राजा हिन्दुस्तानी फिल्म अस्वीकार गरिन् भने कहिले सानो विवाद पछि उनले शाहरुखजस्ता स्टारसँगको फिल्म छोडिन् । उनको जीवनका अधिकांश निर्णयहरू सही साबित भए ।

ऐश्वर्यालाई स्टार बनाउने फिल्म सन् १९९९ को ‘हम दिल दे चुके सनम’ थियो, यो फिल्म ऐश्वर्या फिल्ममा देखा परेको दुई वर्षपछि रिलिज भएको थियो, तर उनले यो फिल्म अडिसनबाट नभई संयोगले पाएकी थिइन् । आज जन्मदिनको विशेष अवसरमा ऐश्वर्याका केही उपलब्धि र उनीसँग सम्बन्धित केही किस्साबारे जानकारी लिऔँ ।

९ कक्षामा पाइन् पहिलो मोडलिङ प्रोजेक्टः

वाइल्ड फिल्म्स इन्डियालाई दिएको एक अन्तर्वार्तामा ऐश्वर्याले निलो आँखा र खैरो कपालका कारण बाल्यकालदेखि नै आकर्षणको केन्द्र भएको बताएकी थिइन् । उनकी एक अंग्रेजी प्राध्यापक म्यागजिनमा फोटो पत्रकारको रूपमा काम गर्थिन् । उनलाई एउटा प्रोजेक्टका लागि मोडल चाहिएको थियो, प्रोजेक्टको म्याद नजिकिँदै गर्दा प्रोफेसरले ऐश्वर्यालाई मोडलिङ गर्न आग्रह गरिन्  । ऐश्वर्या सहमत भइन् र यसरी ९ कक्षामा पहिलो मोडलिङ प्रोजेक्ट पूरा गरिन् ।

यो क्यामलिन परीक्षा पेन्सिलको लागि विज्ञापन थियो । ऐश्वर्या यसरी नै मोडलिङ गरिरहिन् र उनले ठूला कम्पनीबाट विज्ञापन फिल्मको अफर पाउन थालिन् । सन् १९९३ मा ऐश्वर्या आमिर खान र महिमा चौधरीसँग पेप्सीको विज्ञापनमा देखिएकी थिइन्, जसमा उनलाई निकै रुचाइएको थियो । पछि उनले फुजी र कोक कम्पनीको विज्ञापनमा पनि काम गरिन्  । ऐश्वर्या भारतकी एक मात्र अभिनेत्री हुन् जसले पेप्सी र कोक दुवै कम्पनीको विज्ञापन गरेकी छिन् ।

ऐश्वर्या राय मिस वर्ल्ड बन्ने दोस्रो भारतीय

सन् १९९३ मा भएको मिस इन्डिया सौन्दर्य प्रतियोगितामा सुस्मिता विजेता भइन् भने ऐश्वर्या रायले दोस्रो स्थान हासिल गरिन् । ऐश्वर्या राय सन् १९९४ मा मिस वर्ल्ड बनिन् । सन् १९६६ मा रीता फारियापछि २८ वर्षपछि मिस वर्ल्डको उपाधि जित्ने उनी दोस्रो भारतीय थिइन् ।

मिस वर्ल्डका लागि राजा हिन्दुस्तानी फिल्मको प्रस्ताव अस्वीकार

वोग म्यागजिनलाई दिएको अन्तरवार्तामा ऐश्वर्या रायले मिस इन्डियामा भाग लिनुअघि नै आफूलाई ४ वटा फिल्मको अफर आएको तर सौन्दर्य प्रतियोगितामा सहभागी हुनका लागि उनले सबै अफर अस्वीकार गरेको बताएकी थिइन् । अस्वीकार गरिएका फिल्महरूमा ब्लकबस्टर हिट राजा हिन्दुस्तानी (१९९६) समावेश थियो ।

तमिल फिल्मबाट फिल्ममा डेब्यु

ऐश्वर्याले मणिरत्नमको इरुवर (१९९७) बाट अभिनयमा डेब्यू गरेकी थिइन् । त्यसपछि ऐश्वर्या ‘और प्यारा हो गया’ फिल्मबाट बलिउडमा आइन् । यो असफल भयो । सन् १९९८ मा ऐश्वर्या तमिल फिल्म ‘जीन्स’ मा देखिइन् तर त्यो पनि फ्लप भयो । सन् १९९९ मा ऐश्वर्याको अर्को फ्लप फिल्म ‘आ अब लौट चलेँ’ रिलिज भयो र उनको पहिलो ब्लकबस्टर हिट फिल्म ‘हम दिल दे चुके सनम’ त्यही वर्ष रिलिज भयो । यस फिल्मबाट ऐश्वर्या बलिउडकी शीर्ष नायिकाको सुचीमा आइन् तर यो फिल्म उनले संयोगवश पाएकी थिइन् ।

ऐश्वर्या सञ्जय लीला भन्सालीको पहिलो रोजाइ थिइनन्

सञ्जय लीला भन्साली आफ्नो फिल्म ‘हम दिल दे चुके सनम’ मा करीना कपूरलाई कास्ट गर्न चाहन्थे तर करीना अन्य फिल्ममा व्यस्त थिइन् । जब करीनाले फिल्म अस्वीकार गरिन्, भन्सालीले मनिषा कोइरालालाई प्रस्ताव गरे, जो उनको अघिल्लो हिट फिल्म खामोशीकी नायिका थिइन् । मनिषाले पनि यो फिल्म गर्न अस्वीकार गरिन् ।

आमिरले भनेपछि ऐश्वर्या राजा हिन्दुस्तानीको प्रिमियरमा पुगेकी थिइन्

राजा हिन्दुस्तानीको प्रिमियरमा आमिर खानले ऐश्वर्यालाई बोलाए । आमिर रिसाउने हो कि भनेर उनले प्रस्ताव स्वीकार गरिन् । उनले राजा हिन्दुस्तानी फिल्ममा अभिनय गर्न अस्वीकार गरेकी थिइन् । प्रिमियरमा ऐश्वर्या राय सञ्जय लीला भन्साली भएठाउँ गएर भनिन्, ‘नमस्ते, मेरो नाम ऐश्वर्या, मलाई तपाईंको फिल्म खामोशी असाध्यै मनपर्यो ।’ भन्सालीले ऐश्वर्याको आवाज र आँखा यति धेरै मन पराए कि उनले तुरुन्तै उनको अर्को फिल्म ‘हम दिल दे चुके सनम’मा कास्ट गर्ने मन बनाए ।

यो किस्सालाई उद्धृत गर्दै सञ्जय लीला भन्सालीले फिल्मफेयर म्यागजिनसँगको अन्तर्वार्तामा भनेका थिए, ‘मैले उनको आँखामा आगो देखेँ । मैले त्यसपछि आफैँसँग भनेँ ‘यही त मेरी नन्दिनी हुन् ।’’

हम दिल दे चुके सनम ऐश्वर्याको करियरको टर्निङ प्वाइन्ट साबित भयो, जसको लागि उनले सर्वश्रेष्ठ अभिनेत्रीको लागि पहिलो फिल्मफेयर पुरस्कार प्राप्त गरिन् । ५१ करोड कमाएको यो फिल्म सन् १९९९ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो ।

सलमानसँगको सम्बन्ध र दूरी

‘हम दिल दे चुके सनम’ पछि सलमान र ऐश्वर्या सम्बन्धमा रहे । ऐश्वर्याका लागि सलमान निकै पोजेसिव थिए । कयौँ पटक सलमानले ऐश्वर्याको फिल्मको सेटमा हंगामा पनि गरेका थिए । इमेज बिग्रने डरले ऐश्वर्या सलमानसँग टाढिइन् । केही समयपछि विवेक ओबेरोयसँग ऐश्वर्याको नाम जोडिएपछि सलमानले विवेकलाई फोन गरेर मार्ने धम्की समेत दिएका थिए । यसको खुलासा विवेक ओबेरोयले पत्रकार सम्मेलनमा गरेका थिए ।

शाहरुखले व्यक्तिगत जीवनमा हस्तक्षेप गरे र धेरै फिल्मबाट निकाले

ऐश्वर्या राय र शाहरुख खान जोश, मोहब्बतें र देवदास जस्ता ब्लकबस्टर हिट फिल्महरूमा सँगै देखिए । सँगै काम गर्दा दुवै राम्रो साथी बनेका थिए तर पछि दुवैले एकअर्कासँग काम गर्न छोडे । वास्तवमा शाहरुख खान ऐश्वर्या रायको व्यक्तिगत जीवनमा हस्तक्षेप गरिरहेका थिए जुन ऐश्वर्यालाई मन परेन । यी दुईबीच यस्तो विवाद भयो कि शाहरुखले उनलाई धेरै फिल्मबाट निकालिदिए । जसमा ऐश्वर्या रायका लागि विशेष गरी लेखिएको वीर–जारा पनि समावेश थियो ।

सिमी ग्रेवालको शोमा शाहरुख खानले ऐश्वर्या आफ्नो मनपर्ने सह–कलाकार भएको तर उनीहरुको मित्रता टुटेको बताए । जब ऐश्वर्या सिमी ग्रेवाल शोको हिस्सा बनिन्, शाहरुखले फिल्मबाट निकाल्दा उनलाई कस्तो लाग्यो भनेर सोधिएको थियो । यसबारे अभिनेत्रीले आफूसँग यसको कुनै जवाफ नभएको बताएकी थिइन् । शाहरुखको यस्तो व्यवहारबाट उनी निकै दुखी भएकी थिइन् । ऐश्वर्याले भनिन्, ‘कसैलाई गएर तिमीले किन यस्तो गरेको भनेर सोध्ने मेरो बानी छैन । ’ स्मरण रहोस्, वर्षौँपछि यी दुई सन् २०१६ को फिल्म ‘ऐ दिल हे मुश्किल’ मा देखिएका थिए । यद्यपि, यो फिल्ममा शाहरुख क्यामियो रोलमा थिए ।

आफ्नै मृत्युको खबर पढेर ऐश्वर्या राय भइन् स्तब्ध

आफ्नै मृत्युको खबर पढ्नु ऐश्वर्या रायका लागि निकै भयानक अनुभव थियो । यस्तो खबर आएपछि ऐश्वर्या रायको वेबसाइट क्र्याश भएको थियो । प्रशंसक उनको मृत्युमा शोक जताइरहेका थिए । धेरै मानिसहरुले उनको मृत्युको खबर पुष्टि गर्नका लागि लगातार फोन गरिरहेको थिए । यो घटनाले आफू एकदम दुखी भएको ऐश्वर्याले बताएकी थिइन् ।

सन् २०१८ मा रिलिज भएको ‘फन्ने खां’ को तीन वर्षपछि ऐश्वर्या रायले मणिरत्नमको फिल्म पोन्नियन सेल्वन पार्ट–१ बाट कमब्याक गरेकी छिन् । ऐश्वर्याले पहिलो फिल्म पनि मणिरत्नमसँगै गरेकी थिइन् । पोन्नियन सेल्वन तलिम भाषाको फिल्म हो जसलाई थुप्रै भाषामा रिलिज गरिएको थियो । त्यसपछि ऐश्वर्या यसको अर्को पार्टमा पनि देखिनेछिन् जुन २०२३ मा रिलिज हुनेछ ।

ऐश्वर्याबारे थप जानकारी

ऐश्वर्याको जन्म १ नोभेम्बर सन् १९७३ मा कर्नाटकमा भएको थियो ।

उनका पिता कृष्णराज सेनामा बायोलोजिस्ट थिए जसको १८ मार्च सन् २०१७ मा निधन भइसकेको छ । उनकी आमा वृन्दा गृहिणी हुन् । ऐश्वर्याका भाइ आदित्य राय मर्चेन्च नेवीमा इन्जिनियर हुन् ।

कर्नाटकमा केही समय बसेपछि ऐश्वर्या आफ्नो पूरा परिवारसँग मुम्बई सरिन् ।

ऐश्वर्या राय दोस्रो भारतीय नायिका हुन् जसको फोटो टाइम म्यागजिनको पहिलो पानामा छापिएको थियो । पहिलो परवीन बबी थिइन् ।

सन् २००४ मा ऐश्वर्या पहिलो भारतीय नायिका बनिन् जसको वाक्स स्ट्याचु लण्डनस्थित म्याडम तुसाद म्युजियममा छ ।

सन् २००९ मा चर्चित ओप्रा विनफ्रे शोमा जाने पहिलो भारतीय नायिका ऐश्वर्या राय नै हुन् ।

कान्स फिल्म फेस्टिबलमा ऐश्वर्या राय बच्चा यस्तो पहिलो भारतीय नायिका हुन् जसलाई त्यहाँ ज्युरी मेम्बर्समा समावेश गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप