शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की-१ मा जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

मङ्गलबार, १५ कात्तिक २०७९, ०९ : ५५
मङ्गलबार, १५ कात्तिक २०७९

कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा एमाले जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार रहेका छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ ।

कास्की–१ मा कांग्रेस र एमाले जिल्ला प्रमुखहरूको प्रतिस्पर्धा हुने भएकाले बराल र गुरुङमध्ये कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । कांग्रेस जिल्ला सभापति बराल गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका छन् भने एमालेले जिल्ला अध्यक्ष गुरुङलाई उम्मेदवार बनाएको छ ।

यसअघि विसं २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा यो क्षेत्रबाट एमालेका खगराज अधिकारी विजयी भएका थिए । तत्कालीन समयमा अधिकारीले ३९ हजार दुई सय ४२ मत ल्याएर कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका थिए । थापाले २५ हजार आठ सय २६ मत ल्याउँदा १३ हजार चार सय १६ मतले हार ब्यहोरेका थिए ।

अधिकारी प्रदेश सभा सदस्यमा उम्मेदवार भएपछि प्रदेश सदस्य गुरुङलाई प्रतिनिधिसभामा उम्मेदवार बन्ने बाटो खुलेको हो । अघिल्लो निर्वाचनमा जितेकाले एमाले आफ्नो विरासत जोगाउन लागिपरेको छ । तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन उक्त विरासत भत्काउने लक्ष्यका साथ चुनावी गतिविधिलाई सक्रिय बनाएको छ । 

यसपटक जित्ने गरी तयारीमा जुटेको गठबन्धनबाट कांग्रेसका उम्मेदवार बरालले बताए । स्थानीय तहको परिणाम र गठबन्धनमा रहेका दलको साथका कारण कास्की–१ मा आफूले जित्नेमा उनी ढुक्क छन् । “मूल प्रसार–प्रसारको काम भइरहेको छ । प्रत्येक वडामा सम्पर्क कार्यालय खोलिरहेका छौँ”, उनले भने, “जित्ने भन्ने त पक्का नै छ तर कति मतान्तरले जितिन्छ भन्ने कुरामा जोड दिएका छौँ ।”

एमाले पनि अघिल्लो निर्वाचनको शाख जोगाउन लागिपरिरहेको छ । कास्की क्षेत्र नं १ का जनताको सुख, दुःखमा साथमा रहेकाले आफ्नो विजयी सुनिश्चित रहेको एमालेका उम्मेदवार गुरुङले बताए । “कास्कीमा मेरो सङ्गठन बलियो पनि छ । मेरो क्षेत्रको जनताले मलाई चिनिसकेको छ”, उनले भने, “मेरो काम र क्रियाशीलताले मैले जित्छु भन्नेमा ढुक्क छु ।”

यस निर्वाचन क्षेत्रमा मादी  र रुपा गाउँपालिकासहित पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ गरी ११ वटा वडा पर्दछन् । यीमध्ये वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मादी गाउँपालिका कांग्रेस र रुपा गाउँपालिका एमालेले जितेको हो भने पोखरा महानगरको ११ वटा वडामध्ये एउटा वडा एमालेले १० वटा वडा कांग्रेसले वडाध्यक्ष जितेको थियो । 

 क्षेत्र नं १ मा स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले कांग्रेस ठूलो दल देखिन्छ । गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रसमेतको मत जोड्दा कांग्रेसलाई सहज देखिन्छ । स्थानीय निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले कुल ३३ हजार आठ सय ३७ मत प्राप्त गर्दा यस क्षेत्रमा एमालेका वडाध्यक्षले ३० हजार एक सय ९६ मत ल्याएको हो । यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले तीन हजार दुई सय ७८ पाएका थिए ।

सो क्षेत्रमा कुल एक लाख १० हजार सात सय १५ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । यस क्षेत्रमा प्रदेशसभा (क)मा ५८ हजार चार सय ४५ र प्रदेशसभा (ख)मा ५२ हजार दुई सय ७० मतदाता छन् । सूचना अधिकारी न्यौपानेअनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क)मा आठ र (ख) मा सात जना चुनावी प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप