शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक–१ः काकाको विरासत जोगाउन माधव मैदानमा, जित्नै पर्ने दबाबमा सरेश

सोमबार, १४ कात्तिक २०७९, १८ : ०८
सोमबार, १४ कात्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।

२०७४ को निर्वाचनमा बाम गठबन्धन गरेर नेपाली कांग्रेसविरुद्ध चुनाव लडेको माओवादी केन्द्र र एमाले यस पटक भने आपसी प्रतिस्पर्धी बनेका छन् सत्ता गठबन्धनमा भागबण्डा हुँदा यस क्षेत्रमा काँग्रेसले माओवादी केन्द्रलाई सघाउन् परेका कारण यस क्षेत्रमा काँग्रेसले उम्मेदवारी नदिएको हो ।

अघिल्लो निर्वाचनमा बाम गठबन्धनमा रहेको एमाले यस पटक एक्लै चुनावी मैदानमा होमिएको छ । आगामी निर्वाचनमा दुवै दलका उम्मेदवारलाई आ–आफ्नो विरासत जोगाउनु पर्ने चुनौती रहेको छ । माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा ‘सुबोध’लाई काका अग्नि सापकोटाको विरासत जोगाउनु पर्ने बाध्यता रहेको छ भने एमालेका उम्मेदवार सरेश नेपाललाई पार्टीको परम्परागत विरासत जोगाउनु पर्ने चुनौती छ ।

सो क्षेत्रमा २०४८ सालदेखिको निर्वाचनमा एमालेले पनि जित्दै आएको थियो । २०६४ पछिको निर्वाचनमा भने सिन्धुपाल्चोकबाट पूर्व सभामुख अग्नि सापकोटाले चुनाव जित्दै आएका छन् । गत २०७४ को निर्वाचनमा यो क्षेत्रबाट सापकोटाले एमाले समेतको मतमा काँग्रेसका मोहनबहादुर १० हजारभन्दा बढी मतान्तरले बस्नेतलाई पराजित गरेका थिए ।

यता आगामी निर्वाचनमा प्रदेशसभा तर्फ सिन्धुपाल्चोक–१ (क) मा सत्ता गठबन्धनबाट कांग्रेसकी बागमती प्रदेश समिति सदस्य मनकुमारी खड्का र एमालेबाट युद्धविक्रम तामाङ प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा तर्फ सिन्धुपाल्चोक–१ (ख)मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सरल पौडेल ‘सहयात्री’ उम्मेदवार छन् भने एमालेबाट जुगल गाउँपालिका पूर्वअध्यक्ष होमनारायण श्रेष्ठ रहेका छन् ।

काकाको विरासत जोगाउन माधव मैदानमा

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेको माओवादी केन्द्रका माधव सापकोटा ‘सुबोध’ पूर्व सभामुख अग्निप्रसाद सापकोटाका भतिज हुन् । सापकोटाले आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेसँगै माधवले चुनाव लड्ने अवसर पाएका थिए । सो क्षेत्रमा चुनाव लड्न युवा पुस्तालाई अघि सार्ने अग्निको चाहना अनुसार ४० वर्षीय माधव पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् । माधव सत्ता गठबन्धन तर्फका उम्मेदवार एवम् माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत हुन् । यद्यपि आगामी निर्वाचनमा माधवलाई सो क्षेत्रमा केही सहज परिस्थिति भने देखिएको छ । एमाले विभाजित भएकाले पनि उनलाई आगामी निर्वाचनमा केही सहज हुने आंकलन गरिएको छ भने एमाले सिन्धुपाल्चोक भित्रको विवादले पनि सहजता थपिदिएको छ । 

जित्नै पर्ने दबाबमा सरेश

एमाले सिन्धुपाल्चोक अध्यक्ष हुँदै बागमती प्रदेशको मन्त्रीसमेत भइसकेका सरेश नेपाल माधवका प्रतिस्पर्धी बनेका छन् । एमालेले उनलाई बलियो उम्मेदवारको रूपमा अघि सारेको छ । एमाले नेता अमृतकुमार बोहोराले चुनाव जित्दै आएको सो क्षेत्रमा एमालेले यस पटक भने सरेशलाई अवसर दिएको हो । त्यसो त सो क्षेत्रमा चुनाव लड्न सरेका दाइ अरुण प्रसाद नेपाल पनि आकाङ्क्षी थिए । तर, एमाले विभाजन अघि माधव नेपा समूहको १० भाइ समूहमा रहेका कारण उनलाई उम्मेदवार बनाइएन । अरुणलाई टिकट नदिएर एमालेले यस पटक सरेशलाई अघि सारेको हो । सिन्धुपाल्चोक–१ मा एमाले पनि बलियो शक्तिको रूपमा रहेको छ ।  तर सरेशलाई पार्टीभित्र १० बुँदे पक्षधर नेता कार्यकर्ताले नसघाउने जोखिम कायमै रहेको देखिन्छ । 

सरेशको भूमिगतदेखि जेल जीवनसम्मको यात्रा

एमाले केन्द्रीय सदस्य सरेश गाविस अध्यक्ष हुँदै एक कार्यकाल तत्कालीन जिल्ला विकास समितिको सिन्धुपाल्चोकको उपसभापति र एक कार्यकाल जिल्ला सभापति भइसकेका छन् । २०७४ को निर्वाचनमा उनी प्रतिनिधिसभा–१ प्रदेशसभा ‘ख’ बाट विजयी भएका उनले ‘लोकप्रिय’ मतमा पाएका थिए । उनी गुठी जग्गा पीडितको पक्षमा वकालत गर्ने अगुवाको रूपमा चिनिन्छन् ।

२०४० सालमा त्रिपुरासुन्दरी गाउँपालिका वडा ४ पिस्कर गाउँमा पञ्चायती शासनविरुद्धको कम्युनिस्ट विद्रोहको चर्चित घटना पिस्कर हत्याकाण्डको विरोध गरेबापत उनले लामो समय भूमिगत जीवन बिताउनु परेको थियो । सोही क्रममा २०४० देखि ०४३ सालसम्म जेल जीवनसमेत बेहोरेका सरेस २०४८ सालमा जिल्ला विकास समिति सिन्धुपाल्चोकका उपसभापति र २०५३ मा जिल्ला विकास समितिको सभापति भए ।

२०६१ मा भूमि अधिकार मञ्च सरोकार समूहका अध्यक्ष र अगुवा बनेर कार्यरत रहेका उनी २०७४ मा भएको निर्वाचनमा सिन्धुपाल्चोक–१ (ख)बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

सोही कार्यकालमा २०७७ मा तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले पद त्याग पछि सोही पदमा २०७८ मा सरेश मन्त्री बने । सुकुम्बासी समस्या समाधान आयोगका पूर्वकेन्द्रीय सदस्य हुँदै बागमती प्रदेश अर्थ तथा विकास समितिका सदस्य र एमाले केन्द्रीय लेखा परीक्षण आयोग सदस्यसमेत भइसकेका छन् ।

यस्तो छ माधवको राजनीतिक पृष्ठभूमि

काका अग्नि सापकोटाको छत्र छायामा आफ्नो राजनीतिक जीवनको सुरुवात गरेका माधव १३ वर्षकै उमेरमा पार्टीको विद्यार्थी सङ्गठनमा लागेका थिए । २०५२ पछि भने उनी जनयुद्धमा भूमिगत भएका थिए ।

माधव २०५१ सालमा अखिल क्रान्तिकारी बाल इकाई समितिमा संगठित सदस्य हुन् । बाल इकाई समिति हुँदै क्षेत्रीय समिति सदस्य बनेका उनी २०५६ सालको माओवादी भूमिगत आन्दोलनमा सहभागी भएका थिए ।

माधव २०५८ मा जनमुक्ति सेनामा स्क्वाड कमान्डर बने, २०५९ मा प्लाटुन कमान्डर हुँदै कम्पनी सह–कमिसारको जिम्मेवारी पाएका उनले २०६१ मा कम्पनीका कमिसारको भूमिका निर्वाह गरेका थिए । २०६० मा उनी पार्टीको उपक्षेत्रीय ब्युरो सदस्य भएर खटेका थिए ।

२०६२ मा ११ औँ बटालियन कमान्डर बनेर उनले युद्धमोर्चा सम्हालेका थिए । उनकै कमाण्डमा २०६३ मा माओवादीले चौतारा आक्रमणका गरेका थिए । सो युद्धमा माधव गम्भीर घाइते पनि भएका थिए ।

२०५६ ताम्सालिङ राज्य समिति सचिवालय सदस्य एवं जिल्ला सह सेक्रेटरीको जिम्मेवारी पाएका माधवले २०७१ मा माओवादी केन्द्र सिन्धुपाल्चोक अध्यक्ष सम्हालेका थिए ।

२०७३ मा पार्टी केन्द्रीय समिति सदस्य, २०७५ मा पार्टी एकता हुँदा नेकपा केन्द्रीय समिति सदस्य तथा जिल्ला सह–इन्चार्जको जिम्मेवारी उनको पोल्टामा परेको थियो । २०७९ मा भने माधव माओवादी केन्द्रको सिन्धुपाल्चोक जिल्ला इन्चार्ज बने, हालै उनी पार्टीको पोलिटव्युरो सदस्य रहेका छन्

स्थानीय तहको अंक गणित

सिन्धुपाल्चोकको भोटेकोसी, त्रिपुरासुन्दरी, सुनकोसी, बलेफी, जुगल गाउँपालिका, बाह्रबिसे नगरपालिका र साँगा गढीचोक चौतारा नगरपालिकाको वडा नं. २,३,४, ९ र १० सिन्धुपाल्चोक–१ मा समेटिएका छन् । स्थानीय तहको मत परिणामअनुसार काँग्रेस पहिलो शक्ति हो ।

स्थानीय निर्वाचन ०७९ को मत परिणामअनुरुप हेर्दा यो क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ । यस क्षेत्रको ३ स्थानीय तहको प्रमुख, ६ उपप्रमुखसहित ३४ वडामा काँग्रेसले जितेको छ भने ३ स्थानीय तह प्रमुखसहित ५ वटा वडामा माओवादी केन्द्रले जितेको छ । एउटा पालिका उपप्रमुख र जिल्ला समन्वय समिति उपप्रमुख एकीकृत समाजवादीको भागमा रहेको छ ।

त्यस्तै एमालेले एउटा पालिकाको प्रमुख र १४ वडामा जितको छ ।  

२०७९ को स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत

सिन्धुपाल्चोक–१

कांग्रेस– ३४,९६१

एमाले– २६,५५९

माओवादी– १९,३३४

एकीकृत समाजवादी– २,३९१

राप्रपा– १,२११

सिन्धुपाल्चोक–१ (क)

कांग्रेस– १४,७५५

एमाले– १०,३६६

माओवादी– ४,७८९

एकीकृत समाजवादी– ८,९१

राप्रपा– ७,८९

सिन्धुपाल्चोक–१ (ख)

कांग्रेस– २०,२०६

एमाले– १६,१९३

माओवादी– १४,५५४

एकीकृत समाजवादी– १,५००

राप्रपा– ४,२२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप