बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिच्याएर वर माग्ने पाल्पाको अनौठो मेला कात्तिक १८ देखि

सोमबार, १४ कात्तिक २०७९, १७ : १९
सोमबार, १४ कात्तिक २०७९

-भुवन कार्की
राति चिच्याएर वर माग्ने पाल्पाको अनौठो धार्मिक मेला यस वर्ष लाग्ने भएको छ । केही वर्ष कोभिड–१९ को कारण रोकिएको मेला यो वर्ष लाग्ने र यसको तयारी पुरा भएको आयोजकले जनाकारी गराएका छन् ।  विगतमा ३ दिन लाग्ने मेला यो वर्ष राम्रो जोग परेकोले ५ दिन लाग्नेछ ।

पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–४ मा रहेको धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिङ्गो लिएर आवाज निकाल्ने गरी चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिक्रमा गरी परिसरको पोखरीमा लिंगो गाडेर पूजा गर्ने चलन छ । प्रायः रातिमा चिच्याएर वर माग्ने गरिए पनि अचेल दिउँसोमा पनि वर माग्ने गरिन्छ । 

यही कार्तिक १८ गते एकादशीबाट २२ गते पूर्णिमासम्म दर्शन गर्ने राम्रो योग परेको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए । यहाँ एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले मनोकाङ्क्षा मागेको, बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयहरू बताउँछन् । परापूर्व कालमा सत्यवती बजैले कुभिन्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिन्डो आकारकै बनेको किम्बदन्ती छ ।

धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकल अनुसार पूजा गर्न आउनेको घुइँचो लाग्दछ । पाल्पा जिल्ला सहित छिमेकी जिल्लाहरूका विभिन्न स्थान र भारतको सुनौली,नौतुना, गोरखपुर लगायतका क्षेत्रबाट भक्तजन आउने गर्दछन् । जिल्लाको गहनाका रूपमा स्थापित सत्यवती मन्दिरले देशभित्रमात्र नभई छिमेकी भारतमा समेत ख्याति कमाएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । 

यसवर्ष डेढ लाख दर्शनार्थी आउने र सो अवधिमा ६ लाख रुपैयाँ भेटी उठ्ने अनुमान गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष गाहाले बताए । मन्दिरमा करिब १ सय ५०  स्टलहरू राखिने तिनाउ वडा नं ४ का वडाध्यक्ष तुलबहादुर आलेले बताए । धार्मिक र ऐतिहासिक महत्त्व बोकेको जिल्लाकै एकमात्र स्थापित सत्यवती मन्दिर र तालको समग्र विकासमा सबैको सहकार्य आवश्यक रहेको समितिका सचिव लालबहादुर दर्लामीले बताए ।

झुम्सादेखि ९ किलोमिटरको दुरीमा रहेको यो सत्यवती बजैको मन्दिर पुग्न पैदल हिँडेर दुई घण्टा लाग्ने गर्दछ । धेरै भिड हुने र सवारी चापले बाटो अवरुद्ध हुने भएकाले विगतका मेलामा झुम्सामै गाडीहरू रोकेर तर्थलुहरुलाई पैदल हिँडालिन्थ्यो भने यो वर्ष एकतर्फ गाडी चलाएर यातायातको सुविधा मिलाइएको आयोजकले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप