मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एसको चुनावी घोषणापत्र : यस्ता छन् औद्योगिक नीति

सोमबार, १४ कात्तिक २०७९, १६ : ३७
सोमबार, १४ कात्तिक २०७९

नेकपा समाजवादी पार्टी (एस)ले चुनावी घोषणा पत्र सार्वजनिक गर्दै आफ्नो औद्योगिक नीति सार्वजनिक गरेको छ । समाजवादीले घरेलु, ग्रामीण, साना तथा मझौला उद्योग – आत्मनिर्भरताको प्रयोग भन्ने नारासहित औद्योगिक नीति सार्वजनिक गरेको हो ।

समाजवादीले देशको आन्तरिक उत्पादन विना आत्मनिर्भर अर्थतन्त्रको विकास सम्भव नभएको निष्कर्ष निकाल्दै हाम्रो देशमा तत्काल उत्पादन बढाएर आयात रोक्न सकिने वस्तु कृषि उत्पादनपछि स्थानीय साधन(स्रोत प्रयोग गरेर सुरु गर्न सकिने बताएको छ । यसका लागि घरेलु, साना तथा ग्रामीण उद्योगहरू खोलेर मात्रै नहुने भएकाले उत्पादित वस्तुहरू विक्रीको प्रत्याभूति पनि हुनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

‘एक पालिका, एक उद्योग ग्राम’को व्यवस्था गरी स्थानीय सम्भाव्यताका आधारमा घरेलु, ग्रामीण, साना तथा मझौला उद्योगहरूको स्थापना गरी सञ्चालन गर्नका लागि स्थानीय उद्यमीहरूलाई प्रोत्साहित गर्ने समेत समाजवादीले घोषणा गरेको छ । पराल र उखुका खोइला, थाकल, बाँस, हात्तिबार (केतुकी), अल्लो,  गहुँको छ्वालीजस्ता विविध स्थानीय कच्चा वस्तुमा आधारित लत्ताकपडा, कागज, खेलौना, फर्निचर, उपहारका सामान आदि उत्पादन गर्ने उद्योगहरू स्थापना गरी आयात प्रतिस्थापन तथा निर्यात वृद्धिमा सहयोग पुर्‍याउने वाचा समेत समाजवादीको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजामती कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मी, शिक्षक र विद्यार्थीले प्रयोग गर्ने लत्ताकपडा स्वदेशमै उत्पादन गर्ने र उत्पादन गर्दा सकेसम्म स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने, सम्पूर्ण नेपाली जनतालाई स्वदेशमै उत्पादित वस्तुको प्रयोग गर्न प्रोत्साहित गर्ने विषयलाई समाजवादीले प्राथमिकतामा राखेको छ । नेपाललाई आवश्यक पर्ने आधारभूत ओषधी स्वदेशमै उत्पादन गर्ने, आयुर्वेदिक औषधी उत्पादनलाई प्राथमिकता दिँदै जडीबुटी सङ्कलन, उत्पादन तथा प्रशोधनका लागि आवश्यक व्यवस्था गरिने समेत घोषणापत्रमा उल्लेख छ । 

स्थानीय सिप, प्रविधि र कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न राज्यले विशेष नीति लिने छ । औद्योगिक तथा व्यावसायिक क्षेत्रमा उत्पादकत्व वृद्धि गरी आगामी पाँच वर्षमा धेरैजसो उपभोग्य वस्तु तथा सेवाहरूमा आत्मनिर्भरता कायम गर्न पहल गरिने, विदेशी सहायतामाथिको निर्भरता क्रमशः घटाउँदै लाने र आफ्नै स्रोतसाधनहरूको प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्र विकास गर्न पहल गरिने समेत समाजवादीले घोषणा गरेको छ ।

युवाहरूलाई स्वरोजगार बन्ने वातावरण उपलब्ध गराउनका लागि उद्यमशीलता विकासका लागि प्रभावकारी विशेष योजना अगाडि बढाइने छ । युवा उद्यमीहरूलाई प्रोत्साहन स्वरूप राज्यको तर्फबाट बिउ पुँजी प्रदान गर्ने तथा विना धितो राज्यको जमानीमा सहुलियत ऋणको व्यवस्था गर्न पहल गरिने समेत समाजवादीले घोषणा गरेको छ । नागरिकहरूलाई कर तिर्ने बानी बसाल्न व्यापक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ, कर नतिर्ने, कर छल्ने तथा अधिविजकीकरण र न्यून विजकीरण गर्नेमाथि कडा कानुनी कारबाही गर्ने घोषणापत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप