मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास हुन्छ : मन्त्री चौधरी

सोमबार, १४ कात्तिक २०७९, १६ : ३६
सोमबार, १४ कात्तिक २०७९

खानेपानी मन्त्री तथा बारा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार उमाकान्त चौधरीले चुनावपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास हुने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा बोल्दै मन्त्री चौधरीले निर्वाचन अघि नै प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय  विमानस्थल शिलान्यास गर्ने तयारी भएपनि आचारसंहिता लागु भएकोले निर्वाचन लगत्तै शिलान्यास हुने जनाएका हुन् । 

अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धमा मन्त्रीपरिषद्बाट निर्णय भइसकेकाले सो क्षेत्रमा रहेका टाँगियावस्ती र काँटगाँउलाई तत्कालै व्यवस्थापनको काम अगाडि बढाइने मन्त्री चौधरीले बताए । ‘अहिले जिल्लामा सबैभन्दा ठुलो समस्या भनेको छोटी भन्सार हो, निजगढ–तामागढी सडक खण्डको सिम्रौनगढ छोटी भन्सारलाई अपग्रेट गरेर भन्सारकै रूपमा परिणत गर्ने तयारी भइरहेको छ,’ उनले भने  । नेपाल भारत सिमाका  छोटी भन्सारलाई व्यवस्थित गरेर सञ्चालन गर्नसके स्थानीय नागरिकलाई वीरगन्ज र गौर जानुपर्ने उनले बताए ।  

बारामा स्रिमौनगढ र कलैया उपमहानगरको मर्टिहवा गरी २ वटा छोटी भन्सार रहेका छन् । यहाँका स्थानियहरुले घरायसी प्रयोजनका लागि ल्याइएका सामानमा सुरक्षाकर्मीले छाडेपनि ठुलो परिणाममा सामान ल्याउन वीरगन्ज भन्सार प्रयोग  गर्नुपर्ने बाध्यता छ । छोटी भन्सारलाई भन्सारको रूपमा अपग्रेट गर्दा चोरी तस्करी नियन्त्रण र राजस्व समेत संकलन हुने चौधरीले बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकको लागि मात्रै होइन भन्सार खुल्यो भने बाराको आर्थिक समृद्धिको बाटो खुल्छ, यसबाट आम नागरिक लाभान्वित हुनसक्छन्’ मन्त्री चौधरीले भने । 

बारा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका चौधरीले अधुरा योजनाहरू पुरा गर्न पुनः उम्मेदवारी दिएको बताएका छन् । ‘फास्ट ट्र्याक, क्षेत्रीय सडक, स्मार्ट सिटी  निर्माणको काम पुरा गर्न मेरो उम्मेदवारी हो’ मन्त्री चौधरीले भने । मन्त्री चौधरीले चालु आर्थिक वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी योजनामा ३१ करोड बजेट विनियोजन गरेको पनि बताए ।  चौधरीले तामागढी–सिम्रौनगढ हुलाकी सडक खण्ड आफ्नो पहलमा निर्माण भएपनि  एमालेले जस लिन खोजेको भन्दै आपत्ति जनाए । 

आस्रन मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमाले केन्द्रीय सदस्य अच्युत मैनालीसँग चौधरीको पुनः प्रतिष्पर्धा हुने भएको छ । २०७४ को निर्वाचनमा पनि चौधरीले एमाले उम्मेदवार मैनालीलाई २ हजार ४२० मतले पछि पार्दै विजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप