बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानको मनोमानी : एअर इण्डियालाई हप्तामा १८ उडान, नेपाल एयरलाइन्सको कटौती !

व्यवसायी भन्छन्– क्यान कमिसनको चक्करमा
सोमबार, १४ कात्तिक २०७९, १४ : ४६
सोमबार, १४ कात्तिक २०७९

आइतबार काठमाडौंबाट नयाँ दिल्ली जान २५० जना यात्रु त्रिभुवन विमानस्थलमा पुगेका थिए । दिउँसो १ः४५ बजेका लागि तय भएको काडमाडौं–दिल्ली उडानको अनुमति नभएको भन्दै मध्यान्ह १२ बजे दिनुपर्ने बोर्डिङ पास अपराह्न ४ बजेसम्म दिइएन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एक साता अगाडि मात्रै पत्र काटेर नेपाल एयरलाइन्सको दिल्ली उडानमा कटौती गरिदिएको थियो । प्राधिकरणले यसअघि दिल्लीका लागि सातामा १४ उडान अर्थात् दैनिक दुईवटा उडान भर्दै आइरहेको नेपाल एयरलाइन्सको सातामा ४ वटा उडान कटौती गरेर १० वटामा झारिदिएको हो ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)की प्रवक्ता अर्चना खड्काका अनुसार प्राधिकरणले गत साता अर्थात् अक्टोबर २१ मा पत्र काटेर अक्टोबर ३० बाट भैरहवाबाट समेत अन्तर्राष्ट्रिय उडान भर्न दबाब दिएको थियो । तर एक सातामै ‘सेटअप’ नसकिने भन्दै डिसेम्बरबाट मात्रै भैरहवाबाट उडान भर्न सकिने पत्र पठाएको थियो । निगमले यसअघि नै यात्राका लागि टिकट काटिसकिएको भन्दै उडान स्थगित नगर्न आग्रहसमेत गरेको थियो ।

तर प्राधिकरणले त्यसको कुनै जवाफ नदिई आइतबार काठमाडौंबाट दिल्ली जान लागेका २५० यात्रुलाई विमानस्थलमै अलपत्र पारेको थियो । अपराह्न ४ बजेसम्म निगमसँग वार्ता गरे पनि प्राधिकरणले उडानको अनुमति दिन नसकिने अडान राखेपछि निगमले यात्रुसँग माफी माग्दै उडान रद्द गरेको थियो । निगमले आइतबारमात्रै करिब १ सय जनालाई अन्य निजी कम्पनीको विमानमार्फत् दिल्ली पठाएको थियो ।

भैरहवाबाट उडान भर्न क्यानको दबाब

नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अन्तर्राष्ट्रिय उडान भर्न वायुसेवा कम्पनीहरुलाई दबाब दिन थालेको छ । सुरुमा स्वदेशी विमान सेवा कम्पनीबाटै भैरहवाबाट उडान भर्न लगाउने नीति लिएको प्राधिकरणले पहिलोपटक राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको उडान कटौती गरेर दबाबको सुरुवात गरेको छ । प्राधिकरणले हिमालय एयरलाइन्सको पनि उडान कटौती गरेर दबाब दिन लागेको बताइएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि विमानस्थल घाटामा गएको छ । त्यही घाटा पूर्ति गर्न र काठमाडौंस्थित विमानस्थलको एअर ट्राफिक जामलाई कम गर्न भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न बाध्य पार्न लागिएको हो ।

एक सातामा सेटअप गर्न असम्भव : नेपाल एयरलाइन्स

यता नेपाल एयरलाइन्सले एक सातामै अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सेटअप गर्न असम्भव रहेको बताएको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले क्यानले पत्र काटेर एक साताभित्रै अर्थात् अक्टोबर ३० बाटै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न भने पनि एक सातामै सेटअप गर्न असम्भव रहेको बताइन् । उनले भनिन्, ‘अक्टोबर २१ मा पत्र काटेर अक्टोबर ३० बाट उडान भर्न भनिएको थियो । तर अक्टोबर ३० बाटै भैरहवाबाट उडान भर्न आवश्यक सेटअप गर्न असम्भव थियो । हामीले अहिले पनि त्यहाँ सेटअपको काम गरिरहेका छौँ । त्यो सेटअप सकिन कम्तीमा एक महिना लाग्छ । त्यही भएर हामीले डिसेम्बरबाट उडान भर्छौं भनेका थियौँ । तर प्राधिकरणले हाम्रो दुईवटा उडान कटौती गरिदिएको छ ।’

भारतीय विमान कम्पनीलाई मालामाल बनाउने योजना

यतिबेला काठमाडौं–दिल्ली–काठमाडौं उडानमा पर्याप्त यात्रु छन् भने त्यहाँको भाडा पनि अत्यधिक महँगो छ । अहिले काठमाडौं–दिल्लीको औसत भाडा एकतर्फी २० हजार रुपैयाँ हाराहारीमा छ । एअरबस ३३० मा एकपटकमा २७४ जना यात्रुलाई बोकेर हिँड्ने क्षमता छ भने एअरबस ३२० मा एकपटकमा १५८ जना यात्रु बोक्न सक्ने क्षमता रहेको नेपाल एयरलाइन्सले बताएको छ ।

विमान कम्पनीमा ६० प्रतिशत अकुपेन्सी हुँदा पनि नाफा हुन्छ भने भाडा महँगो भएको समयमा ७० प्रतिशतभन्दा बढी अकुपेन्सीमा उडान भर्न पाएमा राम्रै नाफा हुन्छ ।

अहिले काठमाडौं–दिल्ली उडानमा राम्रो अकुपेन्सी भएको र नाफा पनि राम्रो भएको कारण धेरै विमान कम्पनीको रोजाईमा काठमाडौं–दिल्ली–काठमाडौंको गन्तव्य पर्ने गरेको छ । तर नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको दिल्ली उडान कटौती गरेर एअर इण्डिया लगायतका वायुसेवा कम्पनीलाई मालामाल बन्ने बाटो खुला गरिदिएको छ ।

एअर इण्डियालाई सातामा १८ उडान !

नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको दिल्ली उडान कटौती गरे पनि भारतीय लगानीका एअर इण्डिया, भिस्तारा लगायतका एयरलाइन्सको उडानमा भने कटौती गरेको छैन । सबैभन्दा सस्तो मूल्यमा टिकट बेचिरहेको नेपाल एयरलाइन्सको उडान कटौती गरेर महङ्गो मूल्यको एअर इण्डिया र भिस्ताराको टिकट किन्न बाध्य बनाउने गरी क्यानले राष्ट्रिय ध्वजाबाहकको उडान कटौती गरेको छ ।

काठमाडौंबाट भारतीय निजी विमान कम्पनी एअर इण्डियाले सातामा १८ वटा उडान भरिरहेको छ । यसबाट भारतीय लगानीका विमान कम्पनीलाई प्रत्यक्ष फाइदा पुगेको छ भने सस्तो मूल्यमै टिकट बेचिरहेको नेपाल एयरलाइन्सका यात्रु मर्कामा परेका छन् ।

प्राधिकरण भन्छ– सबै विमान कम्पनीका लागि बाध्यकारी बनाउँछौँ

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भने दैनिक तीनवटा भन्दा बढी उडान भर्ने विमान कम्पनीले कम्तीमा एउटा उडान भैरहवाबाट पनि गर्नुपर्ने गरी बाध्यकारी नियम बनाइएको बताएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार स्वदेशी कम्पनीका लागि अक्टोबर ३० र विदेशी विमान कम्पनीका लागि डिसेम्बर १५ बाट कम्तीमा एउटा उडान भैरहवाबाट गर्ने गरी निर्देशन दिइएको छ ।

प्राधिकरणको निर्देशन नमान्ने विमान कम्पनीलाई सुरुमा उडान कटौती गर्ने र पछि उडानको अनुमति नै नदिनेसम्मको कारवाही गर्न सकिने निरौलाले बताए । उनले भने, ‘काठमाडौंको एअर ट्राफिक जाम हटाउन र भैरहवा विमानस्थललाई पनि पूर्णरुपमा सञ्चालनमा ल्याउन यो नीति ल्याइएको हो । अब नेपालमा दैनिक तीनभन्दा बढी उडान भर्ने विमान कम्पनीले कम्तीमा एउटा उडान भैरहवाबाट गर्नुपर्ने हुन्छ । विदेशी कम्पनीको हकमा डिसेम्बर १५ को समयसीमा दिएका छौँ । स्वदेशी कम्पनीले पहिले गर्नुपर्‍यो भनेर हामीले अक्टोबर ३० को मिति दिएका हौँ ।’

यो नीतिका कारण डिसेम्बर १५ पछि अन्य सबै विमान कम्पनी भैरहवा जाने उनको भनाइ छ ।

एअर इण्डियासँग कमिसन खान उडान कटौती गरेको व्यवसायीको आरोप

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको उडानमा कटौती गरेको विषयलाई ट्राभल व्यवसायीले भने ‘कमिसनको चक्कर’ का रुपमा व्याख्या गरेका छन् । दिल्लीमा टुर चलाइरहेका एक पर्यटन व्यवसायीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा कमिसनका लागि निगमको उडान कटौती गरिएको दावी गरे । ती व्यवसायीले भने, ‘अहिले नेपाल एयरलाइन्सको दिल्ली उडानमा एकतर्फी १३–१४ हजारमा टिकट पाइन्थ्यो । अब उडान कटौती भएपछि दिल्लीको टिकटका लागि कम्तीमा २० देखि ४५ हजारसम्म खर्च गर्नुपर्ने हुन्छ । एअर इण्डिया, भिस्तारा लगायतका एयरलाइन्सको टिकट महङ्गो छ । तर अन्य एयरलाइन्सलाई सीमित राखेपछि बाध्य भएर भारतीय कम्पनीको विमानमा महँगोमा टिकट किन्नुपर्छ ।’

यस्तो गर्नुको कारण भनेको एअर इण्डिया र भिस्तारासँग कमिसनको खेल नै रहेको ती व्यवसायीको भनाइ छ । ‘नेपाली विमान कम्पनीको उडान कटौती गरेर भारतीयलाई पोस्नु भनेको कमिसन बाहेक केही होइन,’ उनले भने, ‘एअर इण्डियाबाट प्राधिकरणले कमिसन खाएको छ ।’

प्राधिकरणका प्रवक्ता निरौलाले भने उक्त आरोपको खण्डन गर्दछन् । उनले भने, ‘कमिसनको कुरा आरोप मात्रै हो । पहिलो हामी आफैबाट सुरुवात गरौं भनेर नेपाल एयरलाइन्सको उडान कटौती गरेको हो । नेपाली एयरलाइन्स नै गएनन् भने त अरु पनि जाँदैनन् । त्यही भएर हामीले पहिले नेपाली एयरलाइन्सलाई पठाएका हौँ । अब बिस्तारै अन्य एयरलाइन्स पनि भैरहवामा जान्छन् ।’

काठमाडौं विमानस्थलबाट हाल तीन नेपालीसहित २६ विदेशी एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप