बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी घोषणापत्रमा नेकपा समाजवादीले जनायो ५४ प्रतिवद्धता

सोमबार, १४ कात्तिक २०७९, १३ : ५५
सोमबार, १४ कात्तिक २०७९

नेकपा एकीकृत समाजवादीले मदन भण्डारी र मनमोहन अधिकारीलाई स्मरण गर्दै दुवै नेताका पालामा भएगरेका कामलाई अपनत्व लिएको छ ।  आसन्न मंसिरमा हुने चुनावी घोषणापत्रमा सो पार्टीले ‘आफ्नो गाउँ आफैं बनाउ’ जस्ता कार्यक्रम आफु सरकारमा हुँदा ल्याएको भन्दै बृद्धभत्ता, एकल महिला र अपाङ्गता भएका व्यक्तिका लागि भत्तालगायत सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम, ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’, भूमिहीन सुकुमबासीलाई जग्गाको लालपुर्जा वितरणजस्ता जनमुखी कार्यक्रम कार्यान्वयनमा ल्याइएको स्मरण गरेको छ । 

नेकपा समाजवादीले मुख्य ८ वटा नीतिगत प्रतिवद्धता र ५४ वटा कार्यक्रमिक प्रतिवद्धतासहितको घोषणापत्र ल्याएको हो ।  आठ नीतिगत प्रतिवद्धतामा प्राप्त उपलव्धिको रक्षा र विस्तार, लोकतन्त्रको सुदृढिकरण र विकास, निर्वाचन प्रणालीमा सुधार,सुशासन र पारदर्शिता,आत्मनिर्भर अर्थतन्त्रमा जोड, आर्थिकसामाजिक रुपान्तरण : सामाजवादका आधार निर्माण र  योजना प्रणालीमा आमुल परिवर्तन रहेका छन् । 

त्यसैगरी नेकपा समाजवादीले ५४ कार्यक्रमिक प्रतिवद्धतामा आधुनिक कृषि र सम्पन्न किसान पहिलो प्राथमिकतामा राखेको छ । ‘किसानलाई सम्पन्न बनाउने कृषि उत्पादकत्वमा वृद्धि गरेर नै हो । कृषि पूर्वाधारमा ठुलो मात्रामा लगानी गरी कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायिकरण तथा कृषि यन्त्र, मल, बिउ,प्रविधिको सहज उपलब्धता र कृषि उत्पादकत्व वृद्धिमा हाम्रो जोड रहने छ । सम्पूर्ण कृषिभूमिमा सुपर जोन, जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्महरूको विकास गरी माटो अनुकूल एउटै बाली उत्पादनमा जोड रहने छ’, समाजवादीले भनेको छ ।

त्यसैगरी संरक्षित कृषि बजार, किसानको जीवनमा बहार, भूमिको वैज्ञानिक व्यवस्थापन, सिञ्चाईमा लगानी–कृषियोग्य जमिनमा पानी, राष्ट्रको पहिचान पर्यटन विकास र संस्कृति संवर्द्धन, घरेलु, ग्रामीण, साना तथा मझौला उद्योग : आत्मनिर्भरताको प्रयोग, एकीकृत योजनाबद्ध भौतिक पूर्वाधार र यातायात, सहरी तथा एकीकृत वस्ती विकास, समृद्ध नेपालको आधार, ऊर्जा उत्पादनमा वृद्धि : राष्ट्रको आर्थिक समृद्धि, सडक पूर्वाधार : आर्थिक समृद्धिको आधार,गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार : राष्ट्र निर्माणको आधार,निःशुल्क स्वास्थ्य उपचार : जनताको मौलिक अधिकार, निःशुल्क खानेपानी : सुखी जिन्दगानी, स्वस्थ जीवनको आधार : खेलकुदका पूर्वाधार, विज्ञान–प्रविधि र आविष्कार : आर्थिक–सामाजिक रूपान्तरणको मूल आधार, हवाई तथा जलमार्ग लगायत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप