बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इन्दिरा गान्धी मारिएको ३१ अक्टोबर १९८४ को त्यो कालरात्रि

सोमबार, १४ कात्तिक २०७९, ११ : ४५
सोमबार, १४ कात्तिक २०७९

अक्टोबरको महिना हिन्दू धर्मावलम्बीहरूका लागि पावन महिना मानिन्छ । किनभने विजयादशमीको राष्ट्रिय पर्व सकिएको केही दिनपछि नै ज्योतिपर्वको दीपमालिकाले वातावरणलाई आलोकित गरिरहेको हुन्छ । पारिजातको सुवास वातावरणबाट विलुप्त भइसकेको हुँदैन । सयपत्री र मखमली फुलहरूले ढाकेका फुलोद्यानहरूबाट सुवास फैलिरहेको हुन्छ । मौसम पनि मनोहर, न जाडो, न गर्मी । वातावरणमा सर्वत्र चाडको उल्लास देखा पर्दछ । 

तर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा हुने कुनै घटनाले यस महिनाको पावनता र तारिख विशेषमाथि यस्तो दाग लगाउँदछ कि मानिस किंकर्तव्यविमूढ हुन्छ । वातावरणमा सर्वत्र खिन्नता, विरक्ति, उदासी र शोक व्याप्त हुन्छ । मनमस्तिष्क खलबलिन्छ र इतिहासका पानाहरूमा त्यस दिनलाई एउटा ‘कालो दिन’को रूपमा समेत अङ्कित गरिन्छ ।

३१ अक्टोबर सन् १९८४ को दिन बिहान भारतको राजधानी दिल्लीमा घटेको यस्तै एउटा दुःखद घटनाले त्यस दिनलाई कलङ्कित गरेको थियो । त्यसले अनेक मानिसहरूका जीवनलाई स्वाहा मात्र गरेन, समस्त देशलाई शोकको सागरमा डुबायो, सयकडौँ परिवारलाई शोकसन्तप्त पार्‍यो र  विश्वभरिका देशहरूलाई समेत स्तब्ध पार्‍यो ।

म एक रेडियोकर्मी । सिफ्ट ड्युटीको दिन भएकोले दिउँसो १ बजेपछि अफिस पुग्नुपर्ने थियो । यसो हुँदा बार्दलीमै बसी केही लेखपढ गर्दै थिएँ । बिहान ७ बजे स्कुल पुर्‍याएर आएको छोरी १ बजेपछि मात्र फर्किने हुँदा श्रीमतीलाई ‘तिमी छोरीलाई लिन जानु है’ भनेको थिएँ । तर १ बजेपछि फर्किने छोरी त्यस दिन बिहान १० बजेतिरै फर्किन् रातो मुख र गम्भीर अनुहार लिँदै । 

‘के भो छोरी, किन यति चाँडै ?’ प्रश्न गरेँ । मेरो कुरा सुनेर भान्सामा काम गरिरहेकी श्रीमती पनि निस्किन् । आमालाई देख्नासाथ उनीसित टाँस्सिँदै र रुँदै छोरी भन्न थालिन्–‘इन्दिरा गान्धीको किसी ने गोली मार दिया मम्मी । इसलिए जल्दी छुट्टी हो गयी ।’  

छिमेकका हिन्दीभाषी केटाकेटी र स्कुलमा आफ्ना सहपाठीहरूसँगको निकट सम्पर्कले गर्दा हिन्दी जानेका छोरा–छोरीहरू आफ्नी आमासित पनि हिन्दीमै कुरा गर्दथे भने मेरी पत्नी पनि हिन्दी सिक्ने रहरले गर्दा छोराछोरीहरूसँग हिन्दीमै कुरा गर्थिन् । तर आज छोरी नयाँ भेषमा एकजना न्युज रिपोर्टरसरह ब्रेकिङ न्युज लिएर आएकी थिइन्, म रेडियो पत्रकारको निम्ति । छोरीको मुखबाट यो समाचार सुनेर म स्तब्ध भएँ  र सोध्न थालेँ– ‘कसरी पायौ बा तिमीले यो खबर ?’

मसित नेपालीमा बोल्ने छोरीले भनिन्–‘म्यामले भन्नुभा । अब अहिले तिमीहरूलाई बिदा भो । स्कुल बसमा जाने केटीहरू बसको लाइनमा उभिन जाओ, नजिक घर हुनेहरू घर फर्के भो । तर हल्ला नगर्नु भन्नु भाछ ।’ छोरी पढ्ने स्कुल निवास स्थलदेखि नजिकै हिँडेर पुग्ने ठाउँमा भएकोले उनलाई घर फर्किन गाह्रो भएन ।

खबर सुनेर अनि छोरीको मनोदशा हेरेर म स्तब्ध भएँ । हाम्रो बसाइँ कस्तुरबा गान्धी मार्गस्थित अल इण्डिया रेडियोको विभागीय होस्टेलमा थियो । यस्तो अवस्थामा एकजना पत्रकार घरमा बसिराख्नु उपयुक्त हुँदैन भन्ठानी मैले श्रीमतीलाई भनेँ– ‘खाना पाकिसकेको छैन भने मेरो निम्ति रोटी सेकी देऊ । दाल, तरकारीको चक्करमा नपर । दहीसित रोटी खाएर अफिस गई हाल्छु ।’ 

कोठाभित्र पसेर रेडियो खोलेँ । भजन आइरहेको थियो । एउटा सकिएपछि अर्को भजन, त्यो सकिएको लगत्तै अर्को, त्यसपछि अर्को । यो शृङ्खला अटूट पाउँदा लुगा फेर्नपट्टि लागेँ । 

घरमा टेलिफोन, टेलिभिजन केही थिएन । सरकारको तर्फबाट व्यक्तिगत रूपमा कसैलाई पनि टेलिफोन उपलब्ध नगराई रिसेप्सन रुममा एउटा सार्वजनिक टेलिफोनको व्यवस्था गरिएको थियो, जसमा पैसा खसालेर कुरा गर्नुपर्ने हुन्थ्यो । त्यहाँ गएर आफ्नो एकांशको फोन नम्बर मिलाएँ । कोठामा फोन उठाउने कोही छैन । अनि ड्यूटी रुममा फोन मिलाएँ । एकजना अधिकारीले भने– हाँ, सुना तो मैने भी यही है । पर डिटेल कुछ मिल नही रहा है ।’ यति भन्दै उनले कुरा छोट्ट्याए । औडाहा बढेको बढिराखेकै छ ।

आफिस पुगेँ । सबैतिर हलचल छ । तर मुख खोल्न कोही तयार छैन । कसैलाई सोध्यो ‘पता नही है’ भन्छ, कसैले ‘डिटेल की प्रतीक्षा हो रही है’ भन्छ । एकजना साथी भेटिए । उनले बिस्तारै कानमा भने– ‘हमारा रेडियो तो कुछ नही बता रहा है, पर बीबीसीवाले कह रहे हैं कि उनकी मौत हो गयी है । इसके आगे मुझे कुछ पता नही । पर हाँ,... किसी से यह मत कहना कि यह बात मैने बताई ।’  

त्यहाँबाट म आफ्नो डाइरेक्टरको कोठामा पसें । उहाँले गम्भीर मुद्रामा बस्न इसारा गर्दै भन्नुभयो–‘अच्छा किया आ गए । और लोग कहाँ हैं ?’ मैले भनेँ – ‘उनीहरू टाढा बस्छन् । आउँदै होलान् ।’

‘अच्छा इन्तजार करो, थोडी देर में बताते हैं ।’ भन्दै उनी फोनमा कसैलाई सम्पर्क गर्न थाले । केही बेरपछि सहकर्मीहरू पनि आए । बिहानी सिफ्टमा आएका सहकर्मी दिउँसोको कार्यक्रम प्रस्तुत गर्न स्टुडियोतर्फ लागे । हामी पनि निर्देशनानुसार विशेष कार्यक्रम बनाउन भनी निस्क्यौं ।

यो दुःखद घटना बिहान साढे आठ बजेतिर त्यति बेला घटेको थियो, जब इन्दिरा गान्धी कुनै विदेशी पत्रकारसितको भेटवार्ताको निम्ति आफ्नो निवासबाट निस्केर अतिथि कक्षतर्फ जाँदै थिइन् । र, उनीमाथि उनकै सुरक्षाकर्मीहरूले गोली चलाएका थिए, जो उनका विश्वासपात्र मानिन्थे । 

उनीहरूले किन गोली चलाए, यस सम्बन्धमा विस्तारमा नगई यति भन्न सकिन्छ कि अल इण्डिया रेडियोबाट इन्दिरा गान्धीको देहावसानको समाचार बेलुकी ६ बजेतिर प्रसारण गरियो । र, केही समयको अन्तरालपछि उनका छोरा राजीव गान्धीलाई तत्कालीन राष्ट्रपति ज्ञानी जैल सिंहले प्रधानमन्त्री पदको सपथ दिलाएको समाचार प्रसारण गरियो ।

आफिसमा पुनः हलचलको लहर उत्पन्न भयो । कार्यक्रम बनाउनेहरू सबै रेकर्डिङ स्टुडियोतर्फ लागे । हामी पनि पुग्यौँ । तर रेकर्डिङ मेसिन र डबिङ रुममा कि त हिन्दी, कि अङ्ग्रेजी कि समाचार दर्शन एकांशका कार्यक्रम निर्माताहरूको कब्जा भइसकेको रहेछ । कार्यक्रम बनाउने त कसरी ? मेरा अग्रज सहकर्मी गणेश नरसिंह राणाले भन्नुभयो– हतार नगरौँ । पहिले न्युज रुमबाट समाचार सङ्कलन गरौँ । आलेख तयार पारौँ । रा मेटेरियलको व्यवस्था मिलाएपछि अरू डिटेल हालौँला ।’

उहाँको सल्लाह मन पर्‍यो । त्यसैअनुसार गरियो । आठ बजेपछि समाचार दर्शन एकांशका साथीहरूले रा मेटेरियल अर्थात् विभिन्न नेताहरूका शोक सन्देश र श्रद्धाञ्जलीहरूको टेप दिए । आलेखलाई पूर्णता दिँदै आवाज रेकर्ड गरियो र कार्यक्रम तयार पारियो । निवासस्थल पुग्दा राति बाह्र बजिसकेको थियो । निवासस्थल फर्कँदै गर्दा ड्राइभरले भने– ‘बाहर तो साहब आग लग रही है ।’ मैले उनको कुरा बुझिनँ । निवासस्थल नजिकिँदै थियो । केही मिनेटभित्रै होस्टेल आइपुग्यो । सुत्दै गर्दा १ बज्यो ।  

भोलिपल्ट अखबार खोलेर हेर्छु त ड्राइभरले भनेको कुरा सम्झेँ । इन्दिरा गान्धीको हत्या गरिएको आक्रोशमा हुल्याहा एवम् अराजक तत्त्वहरूको समूहले हत्यामा संलग्न हुने सुरक्षाकर्मीहरूका समुदाय विशेषका मानिसहरूमाथि अमानवीय एवम् क्रूरतापूर्ण व्यवहार मात्र गरेनन्, तिनीहरूका घरहरूमा आगो पनि लगाएछन् । अनेक मानिसहरू मारिएका र तिनीहरूका पसलहरूसमेत लुटिएका खबरबाट समाचारपत्र भरिएको थियो । 

मातृ शोकमा डुबेका प्रधानमन्त्री राजीव गान्धीले टेलिभिजनबाट सबैसित शान्तिका लागि अपिल गरे पनि यो ताण्डव दुई दिनसम्म चल्यो । अन्ततः सेनाले सडकमा फ्लैग मार्च गर्नु पर्‍यो । हिंस्रक भीड एवम् अराजक तत्त्वहरूको अमानवीय एवम् निर्मम घटनाबाट जोगिनको निम्ति अनेक फेटावालहरूले फेटा फाल्नु, केश कटाउनु र दाह्री खौराउनु नै उपयुक्त ठाने । 

यसरी ३१ अक्टोबर सन् १९८४ को कालरात्रिको अन्धकारमय वातावरणमा दिल्लीवासी र समुदाय विशेषका मानिसहरूको जीवन त्रासपूर्ण र कहालीलाग्दो भयो । आफ्ना प्रियजनहरूको वियोगमा शोकाकुल परिवारको आर्तस्वरबाट छरछिमेकको वातावरणसमेत विषादमय भयो । उनीहरू दीर्घकालसम्म पीडा, दुःख र त्रासमय जीवन बिताउन विवश भए । शोक सन्तप्त जीवन बिताउँदै विलाप गर्दै बस्नु उनीहरूको नियति भयो ।

३१ अक्टोबर १९८४ को घटना र त्यसपछिका ती डरलाग्दा वातावरणमा काम गर्नु परेको अनुभूतिका कारण जहिले पनि ३१ अक्टोबरको तारिख आउँदछ, त्यति बेलाका दिनहरू स्मृति पटलमा आउन थाल्दछन् । त्यो सम्झेर अहिले पनि आङ सिरिङ्ग गर्दछ र मनभित्र प्रार्थनाका स्वर गुञ्ज्दछन् – त्यस्तो कालरात्रिको दृश्य फेरि कतै नदोहोरियोस् भगवान् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाशप्रसाद उपाध्याय
प्रकाशप्रसाद उपाध्याय
लेखकबाट थप