छठको छन्द : सूर्य नै सर्जक हो भन्ने अहं बोधको पर्व

person explore access_timeकात्तिक १४, २०७९ chat_bubble_outline0

एउटा वैदिक मन्त्र छ, ‘एकः सूर्यो विश्वमनु प्रभूतः ।’ अर्थात्, एउटै सूर्य विश्वका प्रभु हुन् । 


आइतबार (कार्तिक शुक्ल षष्ठीका दिन) अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर विशेष रूपमा छठ पर्व प्रारम्भ भएकाे थियो । आज सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य प्रदान गरिसकेपछि छठसम्बन्धी कथा सुन्ने–सुनाउने प्रचलन छ । योसँगै यस पर्व सकिन्छ, यस अन्तिम दिनलाई ‘पायगा’ भनिन्छ ।



यद्यपि, छठ पर्व चार दिन (कार्तिक शुक्ल चौथीदेखि सप्तमी)सम्म मनाइन्छ । तराई सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा ०६४ सालमा प्रकाशित ‘महापर्व छठ’ स्मारिकामा सम्मिलित डा. राजेन्द्र विमलको आलेख अनुसार, पहिलो दिन (चौथी)लाई ‘अरबाअरबाइन’ वा नहान–खान भनिन्छ । यो दिन व्रती (व्रतालु)ले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर आदि परित्याग गर्छन् । र, यसै दिनदेखि नङ काटी, नुहाइधुवाइ गरी सर्वाङ्ग शुद्ध भई व्रत बस्न थाल्छन् । 



दोस्रो दिन (पञ्चमी)लाई ‘खरना’ (संरक्षण एवं पापको क्षय) भनिन्छ । यस दिन व्रतीले दिनभरि निर्जल व्रत बस्छन् । राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन् । तेस्रो दिन (षष्ठी) कुनै नदी वा तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । अर्घ्यका लागि अपराह्नदेखि नै त्यस जलाशय, पोखरी वा नदीको किनारलाई पवित्र पारिन्छ । पूजा सामग्रीलाई पवित्र बनाउन जलाशय किनारमा परिवारका महिलाले पहिले नै तान्त्रिक पद्धति अनुकूल पिठार (अरबा चामलको पिठोलाई पानीमा मुछेर बनाइएको लेप)ले ‘अरिपन चित्र’ कोरेका हुन्छन्, (जुन चित्रलाई मिथिला लोककलाको एक आधार मान्न सकिन्छ) । सन्ध्याकालीन अर्घ्यमा पानीलाई प्रणाम गरी व्रती महिला पानीमा प्रवेश गर्छन् र डुबुल्की मार्छन् । यस्तो बेला महिलाले रातो किनारा भएको पहेँलो सारी लगाउने चलन छ ।

चौथो वा अन्तिम दिन (सप्तमी)लाई ‘पारन’ (पार्वण) भनिन्छ । यस दिन प्रातःकालीन सूर्यलाई अर्घ्य दिइन्छ । अर्घ्य सम्पन्न भएपछि परिक्रमा गर्ने र सूर्य पुराण श्रवण गर्ने चलन छ । त्यसपछि व्रतीले छठ पर्वको कथा सुन्छन्–सुनाउँछन् । 

छठ व्रतको कथा सकिएपछि व्रतीले त्यहाँ भएकालाई सिन्दुर लगाइदिन्छन् र पछ्यौरी (आँचल)मा प्रसाद हालिदिने गर्छिन् । प्रसाद वितरण गर्दै सबै घर फर्कन्छन् । छठ पर्वमा महिलाले निधारदेखि कपालसम्म लामो पारी सिन्दुर लगाउने प्रचलन छ ।

‘महापर्व छठ’ स्मारिकामा सम्मिलित डा. रेवतीरमण लालको आलेख अनुसार, मैथिल संस्कृतिमा छठ एउटा अत्यन्त महत्त्वपूर्ण एवं व्यापक रूपमा मनाइने पर्व हो । अस्ताउँदो सूर्यको पूजालाई ‘छठीमाई’को पूजा भनिन्छ भने प्रातःकालीन सूर्यको पूजालाई दिनकर दीनानाथको पूजा भनिन्छ । सूर्योपासनाका लागि भाकल गर्ने पुरुष र महिलाले अर्घ्य दानका बखत कम्मरभन्दा माथिसम्मको पानीमा सूर्यतिर फर्केर आराधना गर्ने परम्परा छ । केही समाजमा अस्ताउने सूर्यको पूजनलाई ‘न्योत’ अथवा निमन्त्रण भनिन्छ । अर्थात् बेलुकीपखको सूर्य देवतालाई निमन्त्रणा दिएर भोलिपल्ट सूर्य पूजन गरिन्छ । 

कथा र गीत

मैथिल संस्कृतिमा छठ एक महत्त्वपूर्ण एवं व्यापक रूपमा मनाइने पर्व हो । यो पर्व विशेषतः तराई क्षेत्र र भारतमा समेत मनाइन्छ । प्रज्ञा प्रतिष्ठानबाट ०६० सालमा प्रकाशित विष्णु सापकोटाको पुस्तक ‘नेपालको चाडपर्वमा छठ पर्व’का अनुसार, छठ पर्व नेपालको प्राचीन धार्मिक पर्व हो । यो पर्व पूर्वीतराई र त्यहाँका मूलवासी बसोबास भएको केन्द्रमा मनाइए पनि यसको मुख्य केन्द्रस्थल मध्यतराई हो । 

जनकपुर धाममा मनाइने विवाह पञ्चमीलाई विशेष रूपमा लिइन्छ, यसको कारण हो– राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजाका छोरा रामसित हुनु । बौद्ध साहित्यअनुरूप १६ प्राचीन महाजनपदमध्ये ‘वृजि’ या ‘वज्जि’ संघ अन्तर्गतको विदेह राज्यको राजधानी थियो, मिथिला । अर्कोतिर, कोशल महाजनपदको राजधानी (श्रावस्ती)पछिको दोस्रो ठूलो नगरी थियो, अयोध्या । यी र यस वरपरका भूगोलमा वैदिक र पौराणिक साहित्यको उत्थान भएको मानिन्छ । मिथिला क्षेत्रमा पूजा अनुष्ठानका अनेक पर्व विद्यमान छन् । 

छठ पर्व सम्बन्धमा अनेक पौराणिक र लोककथा पाइन्छ । एउटा कथा यस प्रकार छ : स्वयंभुव मुनिका पुत्र राजा प्रियव्रत योगी भएकाले विवाह गरेका थिएनन् । ब्रह्माको आदेशले उनले विवाह गरे तर विवाहको धेरै समय बितिसक्दा उनलाई सन्तान भएन । महर्षि कश्यपले भने बमोजिम उनले यज्ञ गर्छन् र उनकी पत्नी गर्भवती हुन्छिन् । 

गर्भधारण गरेको १२ वर्षपछि एउटा मृत पुत्रको जन्म हुन्छ । मृत पुत्रलाई लिएर राजा श्मशानमा रोइरहेका बखत मणियुक्त विमानमा आरुढ एउटी अति सौन्दर्यमयी देवीको अवतरण हुन्छ । देवीले राजालाई भनिन्, ‘म ब्रह्माकी मानसपुत्री देवसेना हुँ । स्वामी कात्तिकेयको साथमा मेरो विवाह भएको छ । प्रकृतिको छैटौँ अंंश फूलबाट उत्पन्न भएकाले म षष्ठी देवीको नाउँले प्रख्यात छु । म पुत्रहीन पुत्र, पत्नीहीनको पत्नी, निर्धनको धन र कर्मवानको तपस्याको फल दिन्छु । तिमी मेरो पूजा गर र अरुलाई पनि गर्न लगाऊ । तिमीले अत्यन्त पराक्रमी एवं क्षत्रीयहरूद्वारा पूजित पुत्र प्राप्त गर्नेछौ, जसको नाम सुव्रत हुनेछ । 

त्यसपछि देवी अन्तध्र्यान भइन् । राजाले देवीको आदेशबमोजिम गरे, उनलाई पुत्रलाभ भयो । त्यसैबेलादेखि षष्ठी व्रतको परम्परा आरम्भ भयो ।

मिथिला क्षेत्रमा छठसँग सम्बन्धित एउटा कथा छ : एकपटक एक दुष्ट राजालाई कुष्ट रोगले समात्यो । पीडामा बाँच्नुभन्दा मर्न उनले उत्तम सम्झे । यत्तिकैमा एउटा शास्त्रज्ञ, तेजस्वी ब्राह्मण त्यहाँ आइपुगे । राजाले ती ब्राह्मणको सत्कार गरे, अनि ब्राह्मणसँग सोधे, ‘म रोगले ग्रस्त छु । फलानोको सन्तान छैनन् । सन्तान नभएपछि फलानी आइमाईलाई पतिले त्याग गरिदिएको छ । यी सबै दुःखको निदान के हुन्छ ?’ ती ब्राह्मणले सबै दुःखको निदान सूर्योपासना भएको बताए । 

सप्तमीको दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सुनाइने कथामध्ये एउटा कथा कञ्जुस सासू र दानी बुहारीको कथा पनि आउँछ । बुहारीले माग्दा पनि एक कञ्जुस सासूले एक टुक्रा उखु दिन्नन् । फलस्वरूप उनलाई कुष्ठरोग भयो । पछि सबैलाई उखु बाँडेर खाएकाले बुहारीको घरभरि सुनै सुन भयो ।

छठ पर्वमा षष्ठी र सप्तमीका दिन भगवान् सूर्य र षष्ठी माताको गुणगान र कामनास्वरूप महिलाहरूद्वारा अत्यन्तै कारुणिक लोकगीत समेत गाइन्छ । 

बेरि–बेरि बरजू हे दीनानाथ,

तिरिया जनम जनि देहु ।

तिरिया जनम जँ तिय हे दीनानाथ

सौतिनक संग नजि देहु ।

अर्थात्, पटकपटक बिन्ती गर्छु, हे दीनानाथ (सूर्य देवता) ! अर्को जुनीमा मलाई स्वास्नी मानिस नबनाऊ । स्वास्नी मानिसको जुनी दिए पनि सौतासँग बस्नुपर्ने दुर्भाग्य नदेऊ । 

०००

सब पबनैती हे छठी मैया हंसैते घर जाए ।

बाँझी अभागलि हे छठीमैया कनैत घर जाए ।

सभक अंचरबा हे छठीमैया अधिआइते जाए

बाँझीके अंंचरबा हे कठी मैया बान्हल जाए ।

अर्थात्,

सबै बर्तालु हे छठी माई हाँस्दै घर जान्छन् ।

बाँझी अभागी हे छठी माई रुँदै घर जान्छन् ।

सबैको आँचल हे छठी माई खुलेकै हुन्छ ।

बाँझीको आँचल हे छठी माई बाँधिएकै हुन्छ ।

सूर्य र जलको दर्शन

प्रस्तुत कथा र गीतले संकेत गरे अनुसार, छठको व्रत विशेषतः सन्तान प्राप्तिका लागि गरिन्छ । यो पर्व र सूर्यपूजाको अन्योन्याश्रित सम्बन्ध छ । यो सूर्योपासनाको पर्व भएकाले सूर्यलाई अर्घ्य दिनका लागि नदी, तलाउ लगायत जलाशय आवश्यक हुन्छ । 

सामान्य अवस्थामा मानिसले छिटो महसुस गर्ने चिसो र तातो नै हो । आदिम मानिसले घामले पोल्दा छहारी र जाडो हुँदा घाम वा आगो खोज्थ्यो । ऋग्वेदमा त सूर्यलाई सृष्टिको आत्मा मानिएको छ, ‘सूर्य आत्मा जगतस्तस्थुषश्च ।’ 

विश्वका अन्य देशमा पनि प्राचीनकालदेखि सूर्यलाई देवता मानेका मिथकीय कथा पाइन्छन् । भारतमा प्राचीनकालदेखि सौर्य सम्प्रदाय (सूर्यको पूजाआराधना गर्नेहरू) थिए भन्ने संकेत पाइन्छ । काशीको राजघाटनजिक उत्खनन गर्दा भेटिएका गुप्तकालका मुद्राहरूले यही संकेत गरेका छन् ।

विष्णु सापकोटा आफ्नो ऐजन पुस्तकमा लेख्छन्, ‘मिथिला क्षेत्रमा नरसिंहदेवद्वारा इस्वी १४९२ मा स्थापित सूर्य मन्दिरमा प्राप्त अभिलेख अनुसार, उक्त क्षेत्रमा सूर्यपूजाको परम्परा व्यापक रूपमा चलेको बुझिन्छ । ११औँ शताब्दीमा भारतको मधुवनीमा पाइएको सूर्य मन्दिर मूर्तिकलाका दृष्टिले अति नै प्रसिद्ध छ । मध्ययुगमा आएर वैष्णव र शैव सम्प्रदायको विकास हुँदै गएपछि बिस्तारै सौर सम्प्रदायको लोकप्रियतामा ह्रास हुन थालेको हो ।’

हाम्रा पौराणिक ग्रन्थ र कथामा सूर्यसम्बन्धी अनेक कथा छन् । यसमध्ये महाभारतकी पात्र कुन्तीले सूर्यलाई बोलाएको कथा प्रचलित छ । कथा भन्छ:

हस्तिनापुर नरेश पाण्डुकी पत्नी कुन्तीले बिहेअघि नै दुर्वासा ऋषिबाट देवताहरूलाई बोलाउने मन्त्र पाएकी थिइन् । मन्त्र दिने ऋषिमाथि कुन्तीलाई सन्देह हुन्छ, मन्त्रको शक्ति जाँच्न उनले सूर्यदेवलाई बोलाउँछिन् । मन्त्र सत्य प्रमाणित हुन्छ, सूर्य उनको सामु आउँछन् र बोलाउनुको कारण सोध्छन् । कुन्तीले वास्तविकता बताई सूर्यलाई फर्कन आग्रह गर्छिन् । आफ्नो आगमनलाई व्यर्थ नबनाउने भन्दै कुमारी नै रहने सर्तमा सूर्यले कुन्तीलाई गर्भवती बनाएर जान्छन् । समय आएपछि कुन्तीले पुत्रलाई जन्म दिन्छिन् । अविवाहित कन्याले पुत्र (कर्ण)लाई जन्म दिएको समाजले राम्रो मान्दैनथ्यो, त्यही डरले उनले पुत्रलाई गंगामा बगाउँछिन् । उनलाई अधिरथले उद्धार गर्छन् । पछि उनी धनुर्धारी भएर कहलिन्छन् । 

यहाँनेर यो कथा वैज्ञानिक रूपमा प्रमाणित नहुने अलौकिक वा मिथकीय (मिथ्या) लाग्छ । मन्त्रले आकाशको सूर्यलाई बोलाउन सम्भव हुँदैन । समाजमा स्त्रीले विवाह नगरी बच्चा जन्माउन नहुने, विवाहका लागि कन्या रहनुपर्ने आदि सामाजिक मान्यताका कारण यो कथा रचिएको बुझिन्छ । यद्यपि, यस कथाले केही दर्शनतिर संकेत गरेको आभास हुन्छ । 

संसारका जीवजन्तु र बोटबिरुवा एक किसिमले सूर्यकै सन्तान हुन् । आदिम मानिसले चिन्तन गर्दा सृष्टिको मूल रूप सूर्यलाई पायो, त्यसपछि पानीलाई । सूर्यको किरणले भिजेका वस्तु सुकाउँछ । आदिम मानिसलाई लागेको हुनुपर्छ– प्राणीले जस्तै सूर्यले पनि पानी खान्छ, सूर्यका किरण र पानीको तादात्म्यपछि बोटबिरुवा उम्रन्छन् । 

चिन्तन गर्ने स्वभावका कारण आदिम मानिसले प्रकृतिसँग अनेक आशा, अपेक्षा र प्रार्थना गरिरहे । तिनै प्रकृतिप्रतिको अनेक प्रार्थनाले पछि दर्शन, साहित्य र संस्कृतिका रूप लिन पुगेका हुन् । जस्तो : ऋग्वेदको मण्डल १, सूक्त ३१ र मन्त्र ८ मा भनिएको छ– ‘हे अग्नि ! हामी तिम्रो स्तुति गर्छौं, तिमी हामीलाई धन एवं यश देऊ तथा यज्ञकर्म गर्ने पुत्र देऊ । तिमीद्वारा दिइएको पुत्रबाट हामी उन्नति गर्नेछौँ । हे धर्ती र आकाश ! तिमी अरु देवसँग मिलेर हाम्रो रक्षा गर ।’ 

आदिम मानिसले पृथ्वी, आकाश र आकाशका ग्रह तारा सम्बन्धमा चिन्तन र खोज अनुसन्धान गर्दै जाँदा सभ्यताको जग पात्रोको निर्माण गरेको हो । यस्ता चिन्तनको सम्बन्धमा आदिम मानिस निकै कल्पनाशील थियो । जस्तो : ग्रिसेली सृष्टिकथा अनुसार, गेया (पृथ्वीमाता)लाई पतिको आवश्यकता परेकाले युरेनस (आकाश) सृष्टि गरिन् । यहाँनेर बुझिन्छ, आकाशले पानी पार्छ, पृथ्वीमा बोटबिरुवा उम्रन्छन् र प्राणीलाई सहज हुन्छ भन्ने ज्ञान मानिसलाई थियो । आदिम मानिसले सारा उज्यालोको स्रोत सूर्य हो भन्ने महसुस त गर्दै आएकै थियो । तर, आकाश असीमित छ र अँध्यारो शाश्वस्त सत्य हो भन्ने ज्ञान पाउन सानो चिन्तनले पुग्दैनथ्यो । 

पानी परोस्, खेती होस् भन्नेदेखि युद्धमा विजय होस्, अकाल मृत्यु नहोस्, देवताले रक्षा गरून्, सन्तान होस्, सन्तानमा पनि छोरै होस् भन्नेसम्मको कामना र प्रार्थना गर्न आदिम मानिस पछि परेनन्, जो आज हामीबीच संस्कृतिको रूपमा अझै शेष छन् । यसै क्रममा मानिसले ग्रह–उपग्रह, आगो–पानी र प्राचीनकालका वीर वा शासक पुरुषलाई देवता बनाउन पुग्यो । विज्ञान नभएको अवस्थामा मानिस कल्पना गर्न स्वतन्त्र थियो । त्यसैले प्रकृतिको शक्ति र शासकका गाथालाई लिएर अनेक कथा कल्पन पुग्यो ।

छठ पर्वका कथाहरू भन्छन्– यो पर्वमा सन्तानको कामना पनि विशेष रूपमा गरिन्छ । माथि दिइएको एउटा कथामा सन्तान नहुँदा महिलाले पतिले छाडेको प्रसंग समेत आएको छ । उपरोक्त गीतमा महिलाले स्वास्नी भएर जन्मन नचाहेको, सौता खेप्न नचाहेको कामना र प्रार्थना आएको छ । यसले सन्तान नहुने महिलाहरूको पीडातर्फ संंकेत गर्छ । 

संस्कृति भनेकै विश्वासको खेती हो । आजको मनोविज्ञान भन्छ– विश्वास झूटो नै होस्, मानिसको गहिरो विश्वास यथार्थमा परिणत हुन्छ । जोसेफ मर्फीको पुस्तक ‘द पावर अफ योर सबकन्सियस माइन्ड’मा मानिसको विश्वासले कसरी काम गर्छ भन्ने सम्बन्धमा चर्चा गरिएको छ । 

गहिरो विश्वास लिई विधिपूर्वक गरिएको पूजाअर्चनाबाट मानिसलाई एक किसिमको मानसिक शक्ति पनि प्राप्त हुन्छ । यद्यपि आजको विज्ञानको युगमा प्रार्थना र कामनाले सन्तान हुँदैन । कतिपय अवस्थामा सन्तानका लागि दम्पतीमध्ये एउटाको उपचार गर्नुपर्ने हुन्छ । र, आजका मानिसले पूजाअर्चना गर्दा ‘सबैले उपचार पाउने, शिक्षा पाउने, रोजगारी पाउने’ जस्ता सर्वहितको प्रार्थना गर्नुपर्ने बेला आएको छ ।

काठमाडौंमा छठपूजा 

‘महापर्व छठ’ स्मारिकामा सम्मिलित दीपक कुमार गुप्ता (सचिव, महापर्व छठ महोत्सव ०६४, रानीपोखरी)को लेख अनुसार, राजधानी काठमाडौंमा विभिन्न सरकारी, गैरसकारी तथा निजी पेसा तथा व्यवसाय गरेर बस्ने तराइयनहरूको संख्या दिनानुदिन बढ्दो छ । ०३२/३३ सालतिर यहाँका छठ व्रतालुहरू कुनै पोखरी वा नदीको किनारमा जाँदैनथे । गुप्ता लेख्छन्, ‘आफ्नो आँगनमा अस्थायी पोखरी खनी यो पर्व मनाउने गरेको दृष्टान्त एक अवकाशप्राप्त सरकारी अधिकृतले मलाई सुनाएका थिए ।’

गुप्ताका अनुसार, समय क्रमसँगै पशुपतिको गौरीघाट, गुहेश्वरी मन्दिर नजिकको घाट, थापाथली घाट, कालीमाटी टंकेश्वरपुल नजिकको घाट लगायत राजधानीका विभिन्न ठाउँमा छठ पर्व धुमधामका साथ मनाउन थालियो । यहाँ पानी फोहोर हुन थालेपछि यसको विकल्प खोज्न थालियो । ०६० सालमा स्थापित ‘तराई सांस्कृतिक प्रतिष्ठान नेपाल’ले ०६१ सालमा ‘रानीपोखरीमा छठ पर्व मनाउन पाऊँ’ भनी सम्बन्धित निकायमा निवेदन दिएको थियो । 

‘तत्कालीन स्थानीय विकास मन्त्रीले तोक लगाएका पनि थिए । हामी पत्र लिएर सम्बन्धित अधिकारीकहाँ पुग्यौँ, दुई दिनको भाडा तिर्ने गरी भोलि आउन भनिएको थियो । भोलिपल्ट जाँदा छठ महोत्सवका लागि रानीपोखरी दिन मिल्दैन भनियो,’ गुप्ता लेख्छन्, ‘हामीले किन भनी सोध्दा भनियो– माथिको आदेश छ । यहाँ सम्झनुपर्ने कुरा के छ भने त्यो बेला राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन थियो ।’ 

०६२/६३ पछि बनेको लोकतान्त्रिक सरकारका मन्त्रीसमक्ष उनीहरू निवेदन लिएर पुगे । उनीहरूले विगतका तीतामीठा अनुभव पनि तत्कालीन स्थानीय विकासमन्त्री राजेन्द्र पाण्डेलाई सुनाएका थिए । 

मन्त्रीले भने, ‘म आफ्नो सारा शक्ति लगाई अहिलेसम्मको इतिहास तोडेर छठपर्वका लागि तपाईहरूलाई पोखरी उपलब्ध गराउन सक्दो प्रयास गर्नेछु ।’ फलस्वरूप ०६३ मा प्रथमपटक रानीपोखरीमा छठ पर्व मनाइयो । 

त्यसयता रानीपोखरीमा छठ पर्व मनाउँदै आइएको थियो । ०७२ को भूकम्पपछि पोखरीको भौतिक पूर्वाधार बिग्रिएकाले यहाँ छठ पर्व मनाउन पनि रोकियो । पुनर्निमाण प्राधिकरणबाट तेस्रो चरणमा निर्मित रानीपोखरीको भौतिक संरचना आफूहरूलाई हस्तान्तरण नभइसकेको भन्दै काठमाडौं महानगरले छठ पर्वका लागि स्थान उपलब्ध गराएन । 

एक महिना अगाडिदेखि निवेदन दिँदा पनि महानगरले छठ पर्वका लागि रानीपोखरीको स्थान उपलब्ध नगराएको सरोकारवालाको गुनासो छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।