शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपालका कम्युनिस्ट कमजोर छैनन्’

चिनियाँ कम्युनिस्ट पार्टी सबै कम्युनिस्टका लागि प्रेरणाको स्रोत हो : देव गुरुङ
सोमबार, १४ कात्तिक २०७९, ०६ : ३२
सोमबार, १४ कात्तिक २०७९

चिनियाँ कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई विश्वभरका कम्युनिस्टले प्रेरणाको रूपमा लिन्छन् । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन कात्तिक ५ गते सम्पन्न भएको छ । त्यसले विश्वभरका कम्युनिस्ट पार्टीहरूलाई उत्साहित बनाएको मात्र होइन, त्यो महाधिवेशनले विश्वकै ध्यान तानेको थियो । यो महाधिवेशनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका निम्ति अनुमोदन गरेको छ भने उनको नेतृत्वमा २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको सम्पन्न महाधिवेशनले नेपालका कम्युनिस्ट पार्टीलाई समेत उत्साहित बनाएको छ ।

नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन गइरहेको छ । केही कम्युनिस्ट पार्टीहरू चुनावमा छन् भने केहीले बहिष्कार गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव नेपालका कम्युनिस्ट पार्टीमाथि स्वाभाविक रूपमा पर्ने गरेको देखिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीलाई आफ्नो प्रेरणाको स्रोत भन्ने नेपालका कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई कसरी लिएको छ, चीन र नेपालबीचको सम्बन्ध कस्तो रहनेछ, लगायतका विषयमा रातोपाटीले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङसँग कुराकानी गरेको छ । प्रस्तुत छ, गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश: 

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन हालै सम्पन्न भएको छ, त्यो महाधिवेशनले नेपालको कम्युनिस्ट पार्टीलाई कस्तो प्रभाव पार्छ ?

–विश्वका हरेक कम्युनिस्ट पार्टी सर्वहारा सिद्धान्त र विचारबाट सञ्चालित भएका हुन्छन् । विश्वका हरेक कम्युनिस्टको बीच आपसमा सद्भाव हुन्छ । हरेक कम्युनिस्टले आ–आफ्नो देशमा सर्वहारा अन्तर्राष्ट्रवादको आधारमा काम गरिरहेका हुन्छन् । कम्युनिस्ट पार्टीहरूले आ–आफ्नो देशमा समाजवादी सिद्धान्तलाई अगाडि बढाइरहेका हुन्छन् र त्यसमा हरेक देशका कम्युनिस्ट पार्टीको एक आपसमा सद्भाव, समर्थन र सहयोग हुन्छ । 

त्यसरी नै चिनियाँ कम्युनिस्ट पार्टीले हालै सम्पन्न गरेको ऐतिहासिक महाधिवेशनले पक्कै पनि समाजवादी आन्दोलनलाई सघाउने विश्वास सबैले लिएका छन् । विश्वकै सबभन्दा ठुलो पार्टी चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो महाधिवेशन सम्पन्न गरेको छ । यो हरेक कम्युनिस्ट आन्दोलन, सर्वहारा वर्ग तथा समाजवादी आन्दोलनका अगुवाका लागि गर्वको कुरा हो । नेपालका कम्युनिस्ट पार्टीहरू पनि खुसी र उत्साहित छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद निर्माणको यात्रामा छ । चिनियाँ समाजमा समाजवाद निर्माण गर्न, बाँकी कार्यभार पूरा गर्न, चीनलाई विश्वकै विकसित राष्ट्र बनाउन यो महाधिवेशनले महत्त्वपूर्ण काम गर्ने विश्वास गर्न सकिन्छ । चीनको इतिहासमा यो महाधिवेशन एउटा महत्त्वपूर्ण कडीको रूपमा रहनेछ ।

यो महाधिवेशनबाट नेपालका कम्युनिस्ट पार्टीले के सिक्ने हो ?

–सर्वहारा अन्तर्राष्ट्रवाद, मार्क्सवाद–लेनिनवाद, माओवाद कम्युनिस्ट पार्टीका लागि अन्तर्राष्ट्रिय सिद्धान्त हो । त्यो सिद्धान्त र विचारलाई विभिन्न मुलुकमा गरेको अनुभवको आधारमा जुन शिक्षा प्राप्त भएको छ, त्यो सबै देशका कम्युनिस्टका लागि शिक्षाप्रद र सन्देशमूलक नै हुन्छ । विचार र सिद्धान्तको दृष्टिकोणले मार्क्सवाद–लेनिनवाद–माओवाद चिनियाँ कम्युनिस्ट पार्टीको मात्र सम्पत्ति नभएर विश्वभरका कम्युनिस्टको पनि वैचारिक सम्पत्ति र पुँजी हो । त्यो वैचारिक समृद्धिले सबै मुलुकलाई फाइदा पुर्‍याइरहेका हुन्छन् र त्यसले पक्कै पनि नेपालको कम्युनिस्ट पार्टीलाई सहयोग पुर्‍याएको छ । नेपाल कम्युनिस्ट पार्टीको सन्दर्भमा मात्र नभएर विश्वकै कम्युनिस्टका लागि चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन प्रेरणाको स्रोत बनेको छ । 

नेपालका कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीलाई प्रेरणाको रूपमा लिन्छन् तर आफैमा टुक्राटुक्रा भएर दिनदिनै कमजोर हुँदै गइरहेका छन्, किन यस्तो ?

–जुनसुकै कुराको विकास समान रूपले हुँदैन । चाहे कम्युनिस्ट पार्टी होस् या कुनै बुर्जुवा पार्टीको होस्, कसैको विकास एकनासले हुँदैन । विश्वका धेरै देशमा कम्युनिस्ट पार्टी छन् । सबैको अवस्था एकनासको छैन । आ–आफ्नो देशको वर्ग सङ्घर्ष, राजनीतिक अवस्था, शासन, प्रशासन, शासकीय स्वरूपको आधारमा कम्युनिस्ट पार्टीहरूको अवस्था देखिन्छ । आ–आफ्नो अनुकूलको आधारमा सबैले सङ्घर्ष गरिरहेका हुन्छन् । सबै देशका कम्युनिस्टको अवस्था एउटै होस्, सबै उस्तै होस् भन्ने हुँदैन । सङ्घर्ष हुने शैली, सरकार चलाउने शैली, विचार राख्ने शैली फरकफरक होला तर सबैको सिद्धान्त र विचार एउटै हुन्छ । वर्गीय मुक्तिका लागि सबैले आन्दोलन गरिरहेका हुन्छन् । मार्क्सवाद–लेनिनवाद–माओवाद विश्व मान्यता प्राप्त सिद्धान्त हो तर गणितीय रेखा जस्तो एकनासले बगेको हुँदैन । बाङ्गोटिङ्गो बक्र रेखा जस्तै अगाडि बढेका हुन्छन् । 

नेपालकै सन्दर्भमा सबै पालिका, सबै वडा, सबै प्रदेशमा समान ढङ्गले विकास हुन्छ त ? सैद्धान्तिक विकासको गति समान प्रकारले हुँदैन । तर नेपालको कम्युनिस्ट पार्टी कमजोर छ भन्ने बुझ्नु हुँदैन । नेपालको कम्युनिस्ट आन्दोलनले विश्वको ध्यान तानेको छ । नेपालका कम्युनिस्ट पार्टीले गरेको सङ्घर्ष, देशमा गरेको अन्य क्रियाकलापका कारण विश्वको नजरमा परेको छ । नेपालको कम्युनिस्ट कमजोर छैन । आन्तरिक सङ्घर्षका कारण टुटेर कोही अलग भएका छन्, त्यो बेग्लै कुरा हो । तर कम्युनिस्ट शक्ति कमजोर भएको छैन । विचार र सिद्धान्तका आधारमा सबै कम्युनिस्ट एक नै हुन् । समाजवाद र साम्यवादका लागि नेपाली कम्युनिस्टहरूले गरेको आन्दोलनकै पछाडि सबै दल लागेका छन् । नेपालका कम्युनिस्ट पार्टीले तय गरेको एजेण्डाका आधारमा देश अगाडि बढेको छ । 

नेपालका कम्युनिस्टहरू एकीकृत छैनन्, एक अर्कासँग राम्रो सम्बन्ध पनि छैन, यस अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको प्रभाव ती पार्टीहरूमा पर्छ कि पर्दैन ?

–मैले अघि पनि भनेको हुँ कि विश्वकै कम्युनिस्टहरूको बीचमा एउटा सद्भाव हुन्छ । वैचारिक रूपले सबै एक हुन्छन् तर आफ्नो देशमा आ–आफ्नो तरिका तथा नीति र कार्यक्रमको आधारमा अगाडि बढेका हुन्छन् । सद्भाव र वैचारिक सम्बन्ध राख्नु एउटा कुरा हो भने कुनै दलमाथि हस्ताक्षेप गर्नु अर्को कुरा हो । चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका कम्युनिस्ट पार्टीबीच वैचारिक सम्बन्ध छ तर एक अर्कामाथि कुनै हस्तक्षेप छैन । सल्लाह सुझाव दिन सक्छ तर यही गर भनेर कसैले कसैलाई भन्न सक्दैन । चिनियाँ कम्युनिस्ट पार्टीसँग वैचारिक सम्बन्ध भएको कारणले नेपालको कम्युनिस्ट पार्टी पनि बलियो होस् भन्ने चाहना स्वाभाविक हो । नेपालमा रहेका सबै कम्युनिस्टहरू वैचारिक रूपमा एउटै भए पनि विभिन्न आन्तरिक कारणले अलगअलग छन् । तर सबै कम्युनिस्ट एक हुने प्रयास भइरहेको छ । सबै कम्युनिस्ट एक हुनुको विकल्प पनि छैन ।

केही कम्युनिस्ट पार्टी चुनाव बहिस्कारमा छन्, केही कम्युनिस्ट पार्टी अलगअलग गठबन्धनमा रहेर चुनावमा छन् । गैर कम्युनिस्टहरूसँग तपाईंहरुको तालमेल हुने तर कम्युनिस्टहरूकै बीचमा तालमेल नहुनुको कारण के हो ?

–नेपालका सबै कम्युनिस्ट पार्टी सर्वहारा क्रान्तिका लागि सङ्घर्ष गरिरहेका छन् । सबैको दस्ताबेज हेर्नुभयो भने एउटै चाहना देखिन्छ– वर्गीय मुक्ति । विचारमा फरक परेर कुनै पनि कम्युनिस्ट पार्टी अलग भएका होइनन् । पार्टीभित्रको आन्तरिक सङ्घर्षका कारण अलग भएका हुन् । जबसम्म दुई लाइनको आन्तरिक सङ्घर्ष चलिरहन्छ, तबसम्म मिल्न र मिलाउन गाह्रो हुन्छ तर वर्गीय दुस्मनसँगको लडाइँमा सबै कम्युनिस्ट एक हुन्छन् । 

चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा सी जिनपिङ फेरि दोहोरिनुभएको छ । अब नेपालसँग उहाँको सम्बन्ध कस्तो रहन्छ ?

–सी जिनपिङले माया गर्ने देशहरूमध्ये एउटा नेपाल पनि हो । नेपालको समृद्धि र विकासप्रति उहाँको सधैँ सद्भाव हुन्छ । नेपालको हरेक दुःखसुखमा सीको साथ छ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिका रूपमा उहाँले नेपालको भ्रमण गर्नुभएको थियो । त्यो भ्रमणपछि नेपाल र चीनको सम्बन्ध अझ गाढा भयो । चीन र नेपालबीचको सम्बन्ध राज्यस्तरको सम्बन्ध हो, कूटनीतिक र भाइचाराको सम्बन्ध पनि हो । चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका कम्युनिस्ट पार्टी बीचको सम्बन्ध वैचारिक र सैद्धान्तिक सम्बन्ध पनि हो । राज्यको सम्बन्ध भनेको दुई वटा सरकारबीचको सम्बन्ध हो । पञ्चशील सिद्धान्तको आधारमा दुई मुलुकको बीचमा मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । नेपाल र चीनबीच ६० को दशकदेखि नै सम्बन्ध रहँदै आएको छ । र, त्यो झन् बलियो हुँदै जाने विश्वास लिइएको छ । 

परराष्ट्रको नजरले हेर्ने हो भने समस्यारहित सम्बन्धको रूपमा चीनलाई नै लिइएको छ । चीन र नेपालबीच कहीँ कतै कुनै सम्बन्ध खराब छैन । जनस्तरमा पनि सम्बन्ध बिग्रिएको छैन । अर्थात् कूटनीतिक सम्बन्ध पनि दुई देशको बीचमा राम्रै छ । नेपाल र चीन बीचको सम्बन्ध विश्वमै उदाहरणीय छ । नेपाल र चीनको सम्बन्ध समस्यारहित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप