बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो

आइतबार, १३ कात्तिक २०७९, २० : ०२
आइतबार, १३ कात्तिक २०७९

तिहार र छठ पर्वको लामो बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुङ्गा र पैदल यात्रा गर्नेहरु अधिक भएका हुन् । 

निकुञ्जभित्रका सडकमा जीप बाक्लो देखिन्छन् भने जीप र हात्ती यात्रा गर्न पालो कुर्नुपर्ने अवस्था रहेको छ । तिहारको टीकाको भोलि पल्टबाट आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको हो । सङ्ख्यात्मक हिसाबले आन्तरिक पर्यटक धेरै छन् । पर्यटकीय गतिविधिमा समावेश भएर रात नबसी फर्किनेको सङ्ख्या ठूलो छ । सौराहा, पटिहानी, जगतपुर र मेघौलीका राम्रा पर्यटकीय होटल भरिएका छन् । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले निकुञ्जको सौराहाबाट ३२, कसराबाट १४, मेघौलीबाट ९ र माडीबाट एउटा जीपले दैनिक पर्यटक निकुञ्ज घुमाएका छन् । नेचर गाइडको सहयोगमा पैदल यात्रा गर्ने, डुङ्गामा घुम्नेको सङ्ख्या पनि निकै बढेको उनले बताए । उनका अनुसार दैनिक रु १० देखि १५ लाख राजस्व सङ्कलन भइरहेको छ । सौराहामा हात्ती सञ्चालन गर्दै आएको युनाइट हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले देशैभरबाट आन्तरिक पर्यटक आएको बताए  । उनले भने, “अहिले त कुरा गर्ने फुर्सद पनि छैन ।” सहकारीका ३२ वटा हात्तीले दैनिक चार पटक मध्यवर्ती सामुदायिक वन घुमाउँदा पनि धेरैलाई हात्ती चढाउन नसकिएको उनले बताए । तिवारीले आफ्नो होटलमा विराटनगरदेखिका आन्तरिक पर्यटक आएर भरिएको बताए । लामो बिदाका कारण पर्यटकको राम्रो उपस्थिति रहेको उनले बताए । आन्तरिक रुपमा पर्यटक घुमाउन सवारीसाधनको अभाव भएको तिवारीले जानकारी दिए । 

पर्यटक बढेसँगै रेष्टुरेण्ट भरिभराउ छन् । रेष्टुरेण्ट व्यवसायी दीपेन्द्र खतिवडाले चहलपहल निकै बढेको बताए । उनले भने, “आन्तरिक र बाह्य पर्यटकले रेष्टुरेण्ट भरिएका छन् । बजार क्षेत्रमा रहेका होटलमा कोठा नपाएको गुनासो गरेको रेष्टुरेण्ट एण्ड वार एशोसिएशन सौराहाका निवर्तमान अध्यक्षसमेत रहेका खतिवडाले जानकारी दिए । सौराहामा ८० हाराहारी रेष्टुरेण्ट छन् । उनले भने, “कोभिडपछिको धेरै पर्यटक अहिले सौराहा आएका हुन् ।” 

सौराहाको युनिक वाईल्ड रिसोर्टका सञ्चालक गुणराज थपलियाले युरोपियन पर्यटक पनि राम्रो रहेको बताए । उनले भने, “मेरो होटलका ३० वटा कोठा पूरै भरिएका छन् ।” स्वदेशीसँगै अष्ट्रेलियन, नेदरल्याण्डलगायत देशका पर्यटक रहेको उनले बताए । राप्ती नदी किनारमा रहेको होटल नेचर हेरिटेजका सञ्चालक दामोदर रेग्मीले आन्तरिक र बाह्य पर्यटकले होटल भरिएको बताए । उनले भने, “यो वर्षको तिहारको व्यापार धेरै राम्रो छ ।” आफ्नो होटलका ३५ वटा कोठा भरिएको उनले बताए । 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले तिहारमा पर्यटकको राम्रो उपस्थिति रहेको बताए । होटलका कोठाको तुलनामा अन्य पर्यटकीय गतिविधिमा पर्यटकको चाप बढिरहेको उनले बताए । उनले भने, “होटलमा बस्ने भन्दा घुम्ने र फर्किने धेरै छन् ।” जसले गर्दा हात्ती, जीप, डुङ्गा, सांस्कृतिक घरका गतिविधिमा धेरैले पालो पाउन नसकेको उनले बताए । 

पटिहानीमा रहेको जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलले पर्यटक निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याका बढेको बताए । राप्ती किनारमा पटिहानीदेखि मेघौलीसम्म रहेका नौ वटा ठूला होटलमा स्वदेशी र विदेशी पर्यटक धेरै रहेको उनले बताए । ती होटलमा कुनै दिन भरिने र कुनै दिन केही मात्र कोठा रहने गरेका छन् । कोभिडपछि यसरी पर्यटक आएको पहिलो भएको व्यवसायी बताउँछन् । 

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, भालु, घडियाल गोही, चरा लगायतका लागि प्रख्यात छ । विश्वका धेरै मुलुक र नेपाली पर्यटकको रोजाइमा यो निकुञ्ज पर्दछ । हात्तीमा मध्यवर्ती सामुदायिक वन घुम्न र जीप, पैदल डुङ्गा निकुञ्जमा सयर गर्न पर्यटक रुचाउँछन् । यससँगै थारु संस्कृति पर्यटकको रोजाइमा पर्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप