शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

५ वर्षमा गोरखाको धुलो र ढुंगा सफा गरिन्छ : प्रचण्ड

आइतबार, १३ कात्तिक २०७९, १७ : ४८
आइतबार, १३ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी ५ वर्षभित्र गोरखाका सबै सडकमा रहेको धुलो र ढुंगाहरु सफा गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार गोरखाको पालुङटारमा भएको अनौपचारिक भेटघाटका क्रममा प्रचण्डले यस्तो प्रतिवद्धता गरेका हुन् ।

उनले आफु २०७४ सालमा चितवनबाट निर्वाचन लड्ने बेला त्यहाँका सडक पनि त्यस्तै धुलाम्मे रहेको र धुलो हटाएर पिच गर्ने भनेर आफुले गरेको प्रतिवद्धता पुरा भएको भन्दै गोरखामा पनि आगामी ५ वर्षमा सबै सडकमा धुलो र ढुंगा हटाएर पिच गर्ने बताएका हुन् । 

‘मैले २०७४ मा चितवनमा निर्वाचन लड्दा जता गयो धुलोमात्रै थियो । र, मैले कमिटमेन्ट गरेको थिएँ–५ वर्षभित्र चितवनको धुलो सबै पिचमा बदलिन्छ भनेर । अहिले त्यहाँ पिच भयो’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अहिले तपाईँहरुका अगाडि ५ वर्षभित्र गोरखाको धुलो र ढुंगा पनि सफा गरिन्छ ।’

प्रचण्डले आफ्ना लागि गोरखा जिल्ला परिचित रहेको भन्दै अहिले गोरखाबाट विकास र समृद्धिको यात्रा सुरु गर्छौ भन्न पाउँदा विशेष गर्वको महशुस भएको बताए ।  उनले मंसिर चारको निर्वाचन प्रतिगमन र अग्रगमकारी बीचको लडाइका रुपमा रहेको भन्दै धेरै लामो संघर्ष र धेरै लामो बलिदानपछि संविधान बनेको भन्दै यसलाई प्रतिगमनकारीहरु अझै उल्ट्याउन लागिरहेको बताए । ‘आउने मंसिर चारको निर्वाचनमा निर्वाचनमा फेरि लडाई वा संग्राम हुँदैछ । हामी सबै त्यसमा विजयी हुनुछ । यो राष्ट्रको निम्ती, जनताको विजयको निम्ती र विकास र समृद्धिको निम्ति यो गठबन्धन विजयी हुनुपर्दछ’, प्रचण्डको भनाइ छ । 

उनले जसरी राजनीतिक क्रान्ति गोरखाबाटै सुरु भएको थियो त्यसैगरी आर्थिक समृद्धिको अभियान र सुशासनको अभियान पनि गोरखाबाट सबै मिलेरै सुरु गर्नुपर्छ भन्ने निष्कर्षका साथ आफु गोरखामा निर्वाचन लड्न उपस्थित भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप