बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

छठको महिमा र यससँग जोडिएको अर्थतन्त्र

आइतबार, १३ कात्तिक २०७९, १२ : ५८
आइतबार, १३ कात्तिक २०७९

दसैं तिहारपछि मनाइने सबभन्दा ठूलो पर्व हो छठ । तराई मधेसका हिन्दू धर्मावलम्बीले मात्र मनाउने यो छठ पर्व अहिले हरेक समुदाय, हरेक जात, हरेक धर्मावलम्वीले मनाउन थालेका छन् । भारत, नेपालमा मात्र विशेष रुपमा मनाइने यो पर्व हाल अन्तराष्ट्रिय रुपमा मनाउन थालिएको छ । 

नेपाल र भारतका विभिन्न प्रदेशलगायत मरिसस, फिजी, अमेरिका, न्यूजील्यान्ड, बेलायत, दक्षिण अफ्रिका, ट्रिनिडाड, टोबागो, गुएना, जापान, सुरिनाम, जमैका, आयरल्यान्ड, अस्ट्रेलिया, मलेसिया, मकाउ, इन्डोनेसियालगायतका देशमा पनि छठ पर्व मनाउने गरिएको छ । मिथिला क्षेत्रबाट सुरु भएको छठ पर्व विश्वभर फैलिनुमा यसको लोकप्रियता रहेको संस्कृतिविद् डा रामदयाल राकेश बताउँछन् । 

यो पर्वमा सूर्यको पूजा हुन्छ । जसरी सूर्यले घामका लागि कसैमाथि भेदभाव गर्दैन, त्यस्तै छठमा कसैमाथि भेदभाव हुँदैन । यो सबैको साझा पर्व हो । यसको वैज्ञानिक, साँस्कृतिक, सामाजिक र धार्मिक महत्व रहेको हुनाले सबैले यो पर्व मनाउने गरेका छन् । 

घरपरिवारमा सुख शान्ति र ऐश्वर्यका लागि कामना गर्दै यो पर्व मनाउने गरिन्छ । र, धेरैको मनोकामना पनि पूरा भएको हुनाले यो पर्वको विस्तार दिनदिनै हुँदै गइरहेको छ । 

छठ पर्वको सन्दर्भ 

महाभारत कालमा सूर्यको पूजासम्बन्धि श्लोकमा द्रौपदीले छठ पर्वको व्रत लिएको सन्दर्भ उल्लेख छ । द्रौपदीले पाण्डवहरूलाई राज्य फिर्ता पाउन साधु धौम्याको सल्लाहमा यो व्रत बसेको मान्यता छ । 
यसै गरी रामायण कालमा पनि रामले लंका जितेपछि सीताले छठ पर्व गरेको धार्मिक ग्रन्थहरुमा पाइन्छ । सूर्य पुराणमा छठ पर्वको बारेमा उल्लेख गरिएको छ । नैमिषरण्यमा सर्वशास्त्रका ज्ञाता शौनक मुनिले सुतजीसँग मानिसहरूको दुःख कष्टको निवारणको उपायबारे सोध्दा छठ पर्व गर्न भनिएको उल्लेख छ ।

दलित समुदायले समेत मनाउन थालेकाले यो पर्व हिन्दूको मात्र नभई, जसलाई आस्था हुन्छ सबैले मनाउने गरेका छन् । छठ बिस्तारै मधेसबाट पहाड उक्लिन थालेको छ । गत वर्ष कोरोनाका कारण छठ पर्व प्रभावित भएको थियो । ब्रतालुहरुले खुल्ला रुपले छठ पर्व मनाउन सकेका थिएनन् । यसपटक भने देशैभर उत्साहका साथ पर्व मनाउन थालिएको हो ।  

छठ र आर्थिक अवस्था
छठ पर्व अर्थतन्त्रको ठूलो हिस्सा बन्न पुगेको छ । पहाडतिर दसैंतिहारमा व्यापार भएझैं छठमा तराई मधेशमा त्यतिकै व्यापार हुने गरेको सिरहा लहानका कपडा व्यापारी राकेश चौधरीले बताए । 
व्रत बस्ने प्रत्येक व्रतालुले एउटा न एउटा साडी अवश्य खरिद गर्छन् । कतिपयले त परिवारका हरेक सदस्यका लागि लुगा किन्ने गरेका छन् । एक अध्ययनअनुसार छठमा मात्र देशभर ५ अर्बभन्दा बढीको कारोवार हुने गरेको छ । अनुमानित ३० लाख भन्दा बढी घरपरिवारले यो पर्व मनाउने गरेका छन् । एउटा परिवारले दुई हजारदेखि १० हजार खर्च गरेका हुन्छन् । 

छठमा ६० भन्दा बढी प्रकारका सामग्री प्रसादका रुपमा तयार पारिन्छ । त्यसको मात्रै हिसाब गर्ने हो भने धेरै हुन जान्छ । त्यसैले आर्थिक कारोवार हुने पर्वको रुपमा छठलाई पनि लिइन्छ । 
छठ पर्वमा अर्थतन्त्रको चलायमनले विपन्न समुदायका लागि आम्दानीको स्रोत बन्नु राम्रो पक्ष हो । तर यसको दुर्बल पक्ष भनेको गरिबलाई ऋण गरी पर्व मनाउने बाध्यता पनि रहेको छ । 

छठ र कृषि
छठ पर्वमा कृषिको पनि निकै महत्व रहेको हुन्छ । यसमा पूजाका लागि संकलन गरिने सामग्री हेर्दा यो सहजै पुष्टि हुन्छ । यो पर्व मनाउन षष्ठी तिथिका दिन ६० वस्तुहरूको संख्या पु¥याउनुपर्ने विधान छ । यो संख्या पुग्यो वा पुगेन भने त्यसको ठाउँमा गम्हरी नामको चामल राखे पुग्ने पनि जनश्रुति विद्यमान छ । यसका आधारमा कुनै वस्तु कम भयो होला कि भनेर गम्हरीको चामल पनि राख्ने चलन छ । 

यो पर्वमा गहुँको पीठो, नरिवल, किसमिस, दाल चिनीजस्ता मसला, घीउ, चिनी, भेलीको समिश्रणबाट बनाइएको ठकुवा, खजुरी आदि बनाइन्छ । चामलको पीठोबाट भुसुवा बनाइन्छ । 
त्यस्तै, विभिन्न प्रकारका फलफूल, विभिन्न प्रकारका तरकारी, मूला, गाजर, हल्दी, अदुवा, ओल, कागती, उखुलगायतका वस्तु राखिन्छ । साना, ठूला मझ्यौला खालका माटाका भाँडाहरूमा यी वस्तुहरूलाई राखिन्छ । बाँसको ढकिया, कोनियाँ, नाङ्लो, चलनीमा पनि यी वस्तुहरू राखिन्छ । यसरी यस मौसममा प्राप्त हुने प्रायः सबैजसो कृषिका उपजहरु प्रयोग गरेको पाइन्छ ।

छठ पर्व कृषि संस्कृतिबाट प्रकट भएको हुनाले यो प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने तथा ग्रामीण अर्थतन्त्रमा आधारित पर्व मानिन्छ । विश्लेषक चन्द्रकिशोरका अनुसार नदी वा पोखरी किनारमा समुदायका सबै ब्यक्ति समान रूपमा उपस्थित भई गाउँघरमै अर्थात् आफ्नै खेतबारीबाट उपलब्ध हुने सामग्रीको संयोजन गरी प्रकृतिपुरूष सूर्यप्रति अर्घ दिइन्छ । अनुष्ठानभित्रको मूलतत्व प्रकृतिसमक्ष सबै जाति समान तथा आत्मस्वावलम्बनलाई प्रोत्साहन दिने लोकपर्व हो छठ । यसले स्थानीयताको उत्कृष्ट र मनोरम चाहना प्रस्तुत गरेको छ ।

कृषि कार्यका लागि सूर्य र जल अपरिहार्य हो । वरिपरिका उत्पादन जसले पोषण दिन्छ, जो श्रम र साधना गर्न सघाउँछ, स्वस्थ्य चिन्तन गर्न बल दिन्छ । यस अवसरमा सबैप्रति कृतज्ञता प्रकट गरिन्छ । कृतज्ञताको भाव जुन संस्कृतिमा हुन्छ, त्यो समाजलाई उच्च मानिन्छ ।

डा. राजेन्द्र विमलद्वारा लिखित मिथिलाको इतिहास, संस्कृति र कला परम्परा नामक् पुस्तकमा छठ पर्वलाई आर्यहरूको सूर्य उपासना परम्पराको एक अंग भनिएको छ । सो पुस्तकमा यो पर्व अत्रि मुनिकी पत्नी अनुसुयाले व्रत गरेको पनि उल्लेख छ ।

चार दिन मनाइने 

यो पर्व सम्पन्न गर्नका लागि विभिन्न समुदायको सहकार्य हुन्छ । चोखो हुने दिन हजामको परिवारले आआफ्ना यजमानको कपाल दाढी काट्ने, नंग काट्ने गर्छन् । अहिले त्यो मान्यता हराउँदै गइरहेको छ । त्यस्तै, मालीले फूल दिने गर्छन् । डोमहरूले बाँसका सामग्री अनि कुम्हालेले माटाका भाँडा दिने गर्छन् । यी सबैको साटो यजमानहरूबाट उनीहरूले धानजस्ता अन्नबाली वा नगद लिने गरेका छन् ।  

यो पर्व चार दिनसम्म मनाइन्छ । कातिक शुक्ल चौथी तिथिदेखि सप्तमी तिथिसम्म यो पर्व मनाउने गरिएको छ । चौथी तिथिमा व्रतालु महिला पुरूषले आफूलाई चोखो बनाई अरबा चामलबाट बनेको खाना खाई संकल्प लिने गर्छन् । 
पञ्चमी तिथिको सन्ध्याकालमा गुड भेलीमा पकाएको खीर र फलफूलको प्रसाद अर्पण गरी खरनाको उपवास भंग गर्ने गरिन्छ । पञ्चमी तिथिको बेलुका उपवास भंग गरेयता सप्तमी तिथिको प्रातःकालिन पूजा नसकेसम्म निर्जला उपवास बस्ने गरिन्छ । षष्ठी तिथिको सन्ध्याकाल अस्ताउँदो सूर्यको पूजा अर्चना गरिन्छ भने सप्तमी तिथिको प्रातःकाल उदाउँदो सूर्यको पूजा अर्चना गरी व्रत सम्पन्न गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप