बालनिबन्ध :  समस्या

person explore access_timeकात्तिक १३, २०७९ chat_bubble_outline0

गैह्रा घरे काकाको टाउको दुख्न थालेको धेरै भो । ऐय्या ऐय्या गर्थे, टाउको बाँधेर काममा जान्थे । यदाकदा हनहनी ज्वरो आएर केही दिन सुताउँथ्यो पनि । बिस्तारै पेट दुख्न थाल्यो, घाँटी सुन्नियो । मुटु, कलेजो, फोक्सो फुल्दै आयो, मृगौलाले काम गर्न छाड्यो । आँखाका पानी सुके, दाँत झरे, कानले काम गर्न छाड्यो । डाक्टर वैद्यलाई पनि देखाएकै हुन्, धामी, झाँक्री पनि बसाएकै हुन् । ग्रहदशा पनि हेराए, उल्का शान्ति पनि गराए । साडेसाती भगाए । पिचास फाल्न पनि भ्याए, भुतप्रेत मन्साउने काम पनि गरे । रुद्री पनि लगाए, चण्डी पनि पढाए ।


पाका वायुलाई मनाउने काम पनि भयो, काचो वायुलाई पकाउने काम पनि भयो । यसैका निम्ति वन सकियो, उपचार खोज्दाखोज्दै धन सकियो । भेडो दान पनि गरियो, भैँसी पूजा पनि गरियो, कालो बोको काटियो, रातो भाले ढालियो, पहेँलो अक्षता फालियो । तैपनि बेथा निको भएन, भएको छैन । उल्टै औषधी नै अजीर्ण बनेर सताउन थाल्यो । जुन चीज औषधी भनेर खाएका थिए तिनीहरू नै थप रोग बनेर दुःख दिन थाले । गैह्रा घरे काका उदाहरण हुन् । वास्तवमा हामी सबैको अवस्था यस्तै छ । के मात्र गरेका छैनौँ रोग भगाउनका लागि, शोक हटाउनका लागि । असपताल बनाएका छौँ, स्कूल खुलाएका छौँ, क्याम्पस चलाएका छौँ । त्यतिले मात्र पुगेन, विश्व विद्यालयहरू नै ठड्यायौँ, पाठ्यक्रम बनायौँ, पाठ्यपुस्तकहरू लेखायौँ । मन्दिर बनायौँ, मस्जिद बनायौँ, चर्च बनायौँ, गुम्बा बने, गिरिजाघर बने । जानेबुझे जति सबै गरियो तैपनि न रोग गएको छ, न भोक गएको छ, न शोक गएको छ । 



भाइबहिनीहरूलाई लाग्न सक्छ आखिर यस्तो किन ? अनि कहिलेसम्म ?  उत्तर टाडा छैन । अपितु हामीसँगै छ, हामीभित्रै छ । हामीले जीवन जिउन मात्र सिक्यौँ, जिउन मात्र जान्यौँ, जिउन मात्र खोज्यौँ । जिउने कला भने सिकेनौँ, सिक्न भ्याएनौँ, सिक्नै चाहेनौँ । जबसम्म सिक्दैनौँ, सिक्न चाहदैनौँ, सिक्न खोजेनौँ तबसम्म हुने यस्तै हो । यद्यपि सिकाउने मानिस नभका होनन्, नआएका होइनन् । थिए, धेरै नै थिए, सायद चाहिनेभन्दा बढी नै थिए । पृथिवी आफैँ गुरु हो, प्रकृति गुरु हो, हावा, पानी, माटो, गुरु हुन्, पशुपक्षी गुरु हुन्, वनस्पति गुरु हुन्, समाज गुरु हो, घरपरिवार गुरु हो, आफ्नै जीवन गुरु हो, समग्रमा हामी आफैँ गुरु हौैँ । वाह्य वातावरणले, आन्तरिक वातावरणले, आफ्नै सामाजले, आफ्नै जीवनले केही न केही सिकाएका छन्, सिकाउन चाहेका छन्, सिकाउन खोजेका छन् ।



परमहंस शिरोमणि दत्तात्रय महाराजका २४ वटा गुरु थिए रे । पृथिवीदेखि बालबालिका र भ्रमरोसम्मलाई गुरु बनाएका थिए, गुरु मानेर हिडेका थिए । यसको अर्थ तिनीहरू उनका लागि मात्र गुरु होइनन् । हामी सबैका गुरु हुन् । उनका लागि गुरु हुन्छन् भने हाम्रा निम्ति नहुने प्रश्नै छैन । सायद दार्शनिकहरूले ठीकै भनेका छन्– संसारमा गुरुको अभाव छैन, सबैले सबैलाई केही न केही शिक्षा दिएकै छन्, दिन खोजेकै छन् । अभाव छ भने तिनलाई ग्रहण गर्ने शिष्यकै अभाव छ, ग्रहण गर्ने मनकै अभाव छ, ग्रहण गर्ने सोचकै आभाव छ ।

यसबाट यही सिद्ध हुन्छ कि हामीलाई गुरु पनि भेटिए, केही न केही दिन पनि खोजे तर हामीले लिन चाहेनौँ, लिनै खोजेनौँ । होऽऽ गडबढी यहीँ छ, यहीँनेर छ र जतिबेलासम्म हाम्रो ध्यान त्यतातिर पुग्दैन, त्यतातिर ध्यान दिँदैनौँ त्यतिबेलासम्म हुने यस्तै हो । दिन बित्तै जालान्, पुस्ता बित्दै जालान्, पुराना पात झर्दै जालान्, नयाँ पात पलाउँदै जालान् तर अवस्था भने जस्ताकोतस्तै रहनेछ । 

आश्चर्य लाग्न सक्छ के कुरा हो यो ? यस्तो पनि हुन्छ ? जीवन जिउने काम सबैले गरेकै छन् नि । यो पनि दिइने र लिइने भन्ने कुरा हो र ? आफैँ हुने काम हो, स्वतः हुने काम हो यो । कसैले सिकाउनै पर्दैन । सबैले जन्मनासाथ गर्ने काम पनि यही हो, मर्ने बेलासम्म गर्ने काम पनि यही हो । निसन्देह सबैलार्ई लाग्ने त्यस्तै हो, सबैले सोच्ने यही हो, सबैले जन्मनासाथ गर्ने काम यही हो, आहार, निद्रा, भय र मैथुनलाई कसैले सिकाउनुपर्दैन, स्वतः सिक्ने कुरा हुन्, सिकिने कुरा हुन् तर यो आधा मात्र सत्य हो, पूर्ण सत्य होइनन् । पूर्ण सत्य त यही हो कि ती सबै काम हुन्, आफैँमा कला होइनन् । कलाका लागि कुन काम कहिले गर्ने भन्ने होस चाहिन्छ, कुन काम कसरी गर्ने भन्ने बोध चाहिन्छ, कुन चीजलाई कसरी प्रयोग गर्ने भन्ने सोच चाहिन्छ । अन्यथा काम त हुन्छ कला हुँदैन । जुन काम हामी गरिरहेका छौँ ती सबै काम हुन्, कला होइनन्, कला हुन सकेका छैनन् । त्यसैको नतीजा हामीले भोगिरहेका छौँ ।

एउटा दूधे बालक झोलुङ्गोमा रुँदै थियो । ऊ भोकले रोएको थिएन । रुनुको कारण अर्कै थियो तर आमाले नानी भोकले रोएको होला भन्ने ठानिन् र दूध चुसाउन थालिन्, बच्चा झन् रुन थाल्यो । आमालाई लाग्यो– बच्चा आज धेरै भोको छ, मेरो दूधले मात्र पुगेको छैन । त्यसैले गाई भैँसी वा बट्टाको दूध जे भेटिन्ट त्यसैलाई खुवाउन थालिन् । बालकको रुवाइ रोकिएन । किनकि यहाँ बच्चा भोकले रोएकै थिएन । पहिले खाएकै दूध अजीर्ण भएर रोएको थियो तर न बच्चाले भन्न सक्यो न आमाले चाल पाइन् । बच्चा पनि हैरान, आमा पनि हैरान । जहाँ पनि अबोधको अवस्था हुने यस्तै हो, अज्ञानको नतीजा हुने यस्तै हो । अहिलेसम्म जे भयो, भयो बिर्सिदिऊँ त्यसलाई, बिर्सिनुको विकल्प पनि छैन तर अवको यात्रा भने ज्ञानतिर हुनुपर्छ, बोधतिर हुनुपर्छ । होइन भने जहिले पनि हुने यस्तै हो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।