नेपाली काँग्रेसले गर्ने भनेको ‘पार्टी अडिट’ के हो ?

नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । सो घोषणापत्रमा उल्लेख गरिएका विषय कार्यान्वयनको अवस्थाका सन्दर्भमा काँग्रेसले हरेक आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्रमा ‘पार्टी अडिट’ गर्ने भनिएको छ ।
काँग्रेसले गर्न लागेको पार्टी अडिट कस्तो हो र यो कसरी गरिन्छ भनेर रातोपाटीले नेपाली काँग्रेसको घोषणापत्र तयारी समितिका सदस्य तथा अर्थशास्त्री प्राडा गोविन्दराज पोखरेललाई सोधेको छ । सो प्रश्नमा प्राडा पोखरेलले पार्टीहरुले चुनावी घोषणापत्रमा जे पनि लेखिदिने र पछि कार्यान्वयनको स्वामित्व नलिने प्रवृत्ति अन्त्य गर्न पार्टी अडिटको परिकल्पना गरिएको बताए ।
‘चुनावी घोषणापत्रमा राजनीतिक दलहरुले धेरै कुराहरु उल्लेख गरेका हुन्छन्, तीमध्ये केही विषय कार्यान्वयन नहुने प्रकारका पनि हुने गरेका जनगुनासो छ तर, नेपाली काँग्रेसले घोषणापत्रमा उल्लेख गरेका विषय सबै कार्यान्वयन हुने प्रकारका छन्, काँग्रेसले सबै विषय कार्यान्वयन गर्नेछ भनेर सर्वसाधारणलाई ढुक्क पार्न पनि पार्टी संयन्त्र बनाएर अडिट गर्ने प्रतिवद्धता पनि घोषणापत्रमै उल्लेख गरिएको प्राडा पोखरेलले भने ।
उनले यसका लागि पार्टीले एउटा संयन्त्र बनाउने र सोही संयन्त्रले हरेक आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्र अडिट गरिसक्ने परिपाटी स्थापित गर्न लागिएको जानकारी दिए । पार्टीले चुनावी घोषणापत्रमा उल्लेख गरे अनुसारका काम भए नभएको, जन अपेक्षा अनुसारका कामलाई प्राथमिकतामा राखिए नराखिएको जस्ता विषय सो अडिट कमिटीले अध्ययन गरेर सार्वजनिक गर्ने काँग्रेसको परिकल्पना छ ।
काँग्रेसले यसरी गर्ने पार्टी अडिट प्रतिवद्धता कार्यान्वयन हुँदैन कि भनेर शंका गर्न आवश्यक नरहेको प्राडा पोखरेलले बताए । ‘घोषणापत्र तयारी समितिको संयोजक नै पार्टी महामन्त्री हुनुहुन्छ, पार्टीले अपनत्व लिएर सार्वजनिक भएको घोषणापत्रमा उल्लेख भएको विषय कार्यान्वयन हुँदैन कि भनेर शंका गरिरहन जरुरी छैन,’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका अर्थशास्त्री प्राडा पोखरेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत