रुकुम पश्चिममा जनार्दनको ‘जनभेटघाट’ : नाचगान गर्छन्, रमाउँछन्
‘लौ हिँड साथी हो नयाँ बाटो जाउँ
समाजवादी यात्रामा उठौँ अब गाउँ’
जनताले चाहेजस्तो हुन्छ गणतन्त्र
अब पालो आर्थिक क्रान्ति यही हो मूलमन्त्र’
उल्लिखित गीत यतिबेला रुकुम पश्चिमका गाउँघरमा गुञ्जयमान छ । तिहार मनाउन एक सातादेखि गृह जिल्ला रहेका सरकारका अर्थमन्त्री एवं रुकुम पश्चिमबाट प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्मा ‘प्रभाकर’ यतिखेर घरदैलोमा छन् । चुनावका बेला उम्मेदवार जनताको घरदैलोमा पुग्दा भोट माग्छन्, तर शर्माले ‘मलाई भोट दिनुहोस्, म यो काम गरौँला त्यो गरौँला’ भनेनन्, जनतालाई सपना देखाउने भाषण गरेनन् ।
तिहारको समय भएर होला, शर्मा जहाँ पुग्थे त्यहाँ सिङ्गारु, मयुरनाच तथा प्रगतिशील गीतसंगीतमा नाचगान चल्थ्यो । उनी स्थानीयसँग नाचगानमा रमाउँथे । उनका लागि यही नै चुनावी अभियान थियो । यद्यपि यसलाई चुनावी अभियान नभनेर उनले ‘जनभेटघाट’ कार्यक्रम भन्ने गर्छन् ।
मंगलबार र बुधबार शर्मालाई पछ्याउँदा यस्तो आभास भयो– उनी चुनावी अभियानमा होइन, सांस्कृतिक अभियानमा केन्द्रित छन् ।
उनको जनभेटघाटमा प्रस्तुत गीतसंगीत र रुकुमको परिवेशले ठ्याक्कै जनयुद्धको झल्को दिन्थ्यो । आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका लागि नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा जुन अभियान थालनी गरेको छ, त्यो अन्त देखिँदैन ।
मंगलबार बिहान ७ बजे पश्चिममा पर्ने चौरजहारी पुगेका शर्माले माओवादीकै भ्रातृ संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको प्रगतिशील ‘समाजवादी देउसी–भैलो’ कार्यक्रममा सहभागिता जनाए । त्यहाँ मयुरनाच र सिङ्गारु नाच प्रस्तुत गरिएको थियो । शर्मा भन्छन्, ‘यस्ता अभियानले संस्कृतिको जगेर्ना गर्ने मात्र नभई रुकुमको आर्थिक विकास र परिवर्तनका ठूलो टेवा पुर्याउँछ ।’
मयुरनाच रुकुमको सांस्कृतिक चिनारीमध्येको एक महत्त्वपूर्ण नाच हो, जुन दसैँ–तिहार तथा विशेष भेटघाट कार्यक्रममा प्रदर्शन गरिन्छ । सिङ्गारु नाच रुकुमको संस्कृति नै हो, जुन बाँसुरी लगायत बाजामा हातखुट्टाको हावभावसँगै पैतालाको ताल मिलाएर नाचिन्छ । योसँगै समाजवादी प्रगतिशील गीतसंगीत र नाच पनि प्रस्तुत भएका थिए । यस्ता गीतसंगीतले आर्थिक क्रान्ति गरी समाजवादतर्फ अग्रसर हुनुपर्नेतर्फ सन्देश दिइरहेको बुझिन्थ्यो ।
चौरजहारीमा अधिकांश समय नाचगानमा बिताएका शर्माले छोटो अन्तर्क्रिया पनि गरे । उनले निष्कर्षमा भनेका थिए, ‘अबको लक्ष्य भनेको रोजगारी र आर्थिक समृद्धि नै हो ।’ त्यसपछि कोटजहारीमा जनभेटघाट गर्दै उनी जुम्लेपोखरी, जोगिनेटा हुँदै साँझ ६ बजे सानोभेरी गाउँपालिका–१० घनठाना पुगे । अधिकांश जनभेटघाटमा उनले स्थानीयबाट प्रस्तुत नाचगान र समाजवादी देउसीभैलो कार्यक्रम छुटाएनन् । त्यहाँ जनताको पक्षबाट वडाध्यक्ष विष्णु खड्काले सडकको स्तरोन्नति, रोजगार र विद्यालय सुधारको विषयमा शर्मासमक्ष कुरा राखे । जवाफमा शर्माले भने, ‘यी काम प्रक्रियामै छन् ।’
बुधबार बिहान ८ बजे शर्मा सहिद भवनको अवलोकनमा निस्किए । सोही भवनमा उनले जिल्लाका सुरक्षा निकायका अधिकारीसँग जिल्लाको सुरक्षा अवस्थाबारे छलफल गरे । यस औपचारिक छलफलमा प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लाको सुरक्षा व्यवस्थाबारे शर्मालाई जानकारी गराएका थिए ।
दिउँसो कर्णाली सरकारका पूर्वमन्त्रीद्वय विमला केसी र गोपाल शर्मा, माओवादीका जिल्ला संयोजक गोविन्द रोका ‘सचिन’, सचिव ध्रुवविक्रम बुढाथोकी, प्रदेशसभा (क)का उम्मेदवार महेन्द्र केसी ‘पारसमणि’ र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खाना खाए । मुसिकोट नगरपालिका–५ शेरीगाउँस्थित आफ्नो पुख्र्यौली घर नजिकै शर्माले भैँसीपालन व्यवसाय गर्दै आएका छन्, जसलाई शर्माले गोठ भन्ने गर्छन्, जहाँ खानाको व्यवस्था गरिएको थियो ।
खानापछि आफ्नो पुख्र्यौली घरमा आइपुगेको देउसीभैलोसँग झन्डै आधा घन्टा बिताएर शर्मा मुसिकोट–५ मा पर्ने शोलाबाङ बजार पुगे । त्यहाँ उनलाई अर्को देउसीभैलोको समूहले पर्खिरहेको थियो । त्यहाँ पनि देउसीकै सदस्य जसरी उनी नाचगानमा सहभागी भए । उनी मात्रै होइन, उनको साथमा हिँडेका नेता तथा कार्यकर्ता समेत देउसीमा रमाउँथे ।
शर्मा जहाँ पुग्थे, सन्चो–बिसन्चो सोध्थे, स्थानीयबाट आशीर्वाद लिन्थे । तर भोट र चुनावका सम्बन्धमा कुरै गर्दैनथे ।
विकासको अवस्था
चौरजहारी नगरपालिका–१३ का स्थानीय अमरसिंह घर्ती जिप चालक हुन् । लामो समय विदेश बसेर फर्केका उनीसँग यात्राका क्रममा हामीले जिज्ञासा राख्यौँ, ‘यहाँ त माओवादीका उम्मेदवारले भोटै माग्दैनन्, नाचगान मात्रै गर्छन्, किन होला ?’ उनको जवाफ थियो, ‘यहाँ भोट माग्नुपर्ने अवस्था नै छैन, जनार्दन शर्मासँग प्रतिस्पर्धा गर्ने अन्य नेतै छैनन् यहाँ ।’
शर्माको अगुवाइमा रुकुममा जुन खालको संस्कृतिको विकास र परिवर्तन भइरहेको छ, त्यो अन्त नभएको उनको दाबी थियो । ‘यहाँ हुनुपर्ने विकासका कामहरू निरन्तर भइरहेका छन्, नेताहरूले आफूले गरे–नगरेका काम प्रस्टसँग जनतालाई भनिदिन्छन्, ढाँट्दैनन्,’ जिप चालक घर्तीले भने, ‘त्यसैले जनतासँग भोट मागिरहनुपर्ने अवस्था यहाँ छैन ।’
अर्थमन्त्री शर्मा जनतालाई झूटो आश्वासन दिन नहुने बताउँछन् । ‘जनादेशलाई जिम्मेवारी ठान्ने हाम्रो परम्परा छ । मैले ठुला आश्वासन दिन्नँ, जे गर्न सकिन्छ त्यही काम मात्र गर्छु,’ उनले भने, ‘रुकुमको हकमा अब युवाहरूको रोजगारी र आर्थिक समृद्धि नै प्रमुख प्राथमिकताको विषय छ । आर्थिक समृद्धिका लागि जिल्लामा महत्त्वपूर्ण काम सुरुवात भएका छन् । पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र नयाँ उद्योगको सम्भावनामाथि आधार तयार गर्दै छौँ ।’
अबको १० वर्षमा रुकुम पश्चिमका जनताले रोजगारी पाउने र खाद्यान्नमा आत्मनिर्भर बन्ने शर्माले दाबी गरे ।
मुसिकोट– १ का स्थानीय डम्बर थापाले जिल्लामा अहिले प्रमुख समस्या उत्पादित वस्तुको बजारीकरणका लागि चिस्यान केन्द्रको अभाव रहेको शर्मालाई सुनाएका थिए । यो समस्याको समाधान एक वर्षभित्रै हुने शर्माको जवाफ थियो ।
०६४ अघिसम्म यहाँको जिल्ला सदरमुकामसम्म सडक खुलेको मात्रै थियो । माओवादीको अगुवाइपछि १५ वर्षको अवधिमा जिल्लाभर झन्डै १२ सय किलोमिटर सडक विस्तार भएको छ ।
शर्माका अनुसार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१ बाहेकका सम्पूर्ण वडामा सडक विस्तार भइसकेको छ । ‘समाजवादको आधार सडक हामीले तय गरिसकेका छौँ,’ उनी भन्छन्, ‘दूध र मासुमा आत्मनिर्भर भएका छौँ भने आर्थिक समृद्धिका आधार तयार गर्न किबी, ड्रागन लगायत फलफूल खेतीको विस्तार र परम्परागत सामन्तवादी खेती प्रणालीको अन्त्य गर्न अग्रसर छौँ । साथै उद्योगहरूको विकास भइरहेको छ ।’
विद्युतीकरणमा पश्चिम कर्णालीका अन्य जिल्लाभन्दा रुकुम अगाडि छ । अब ३५ प्रतिशत जति भूभागमा मात्रै विद्युतीकरण हुन बाँकी रहेको र यही वर्षभित्रै विद्युतीकरण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
मत विश्लेषण
शर्मा रुकुम पश्चिमका बलिया उम्मेदवार हुन् । पहिलोपटक ०४८ सालमा जनमोर्चाबाट चुनाव लडेका शर्मा रुकुम पश्चिम– २ बाट कांग्रेसका गोपालजी जङ्ग शाहसँग पराजित भएका थिए । त्यो बेला रुकुम पश्चिम दुईवटा निर्वाचन क्षेत्रमा विभाजित थियो ।
०५२ देखि माओवादीले सुरु गरेको सशस्त्र युद्धमा शर्माको परिवार सहभागी भयो । माओवादी सेनाका डेपुटी कमान्डरमध्येका एक शर्माको शान्ति प्रक्रियापछि रुकुममा प्रभाव बढ्न थाल्यो । पहिलो संविधानसभा निर्वाचनमा २२ हजार पाँच सय ७५ (५७.११ प्रतिशत) मत र दोस्रो संविधानसभाको निर्वाचनमा ३० हजार दुई सय ७० (६३.२५ प्रतिशत) मत पाएर उनी विजयी भए । यस्तै, ०७४ को प्रतिनिधिसभामा ३४ हजार ४०२ (६६.२७ प्रतिशत) मतसहित उनले ह्याट्रिक गरे ।
ऊर्जा, गृह हुँदै अर्थमन्त्री भइसकेका शर्माको प्रतिस्पर्धीका रूपमा यतिखेर एमालेका जिल्ला अध्यक्ष नन्दलाल देवकोटा छन् । यही वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडामा प्राप्त मतका आधारमा माओवादीले ३७ हजार १ सय २ मत र कांग्रेसले २६ हजार ६ सय २० पाएको थियो भने एमालेले ६ हजार १ सय २४ मत मात्रै पाएको थियो । यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवारले १ सय ३० मत प्राप्त गरेका थिए । यस आधारमा एमालेभन्दा गठबन्धनसँग झन्डै ५७ हजार बढी मत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा