राष्ट्रिय जनमुक्तिका उम्मेदवारलाई गठबन्धनको समर्थनपछि विष्णु पौडेललाई कति चुनौती ?
प्रतिनिधिसभातर्फ रुपन्देही–२ मा नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेसँगै सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेको छ । यस क्षेत्रमा जनमुक्ति पार्टीबाट केशव बहादुर थापा उम्मेदवार छन् ।
यस क्षेत्रमा नेकपा एमालेका उपाध्यक्षसमेत रहेका विष्णु प्रसाद पौडेल पनि उम्मेदवार छन् । गत बुधबार सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने र जनमुक्ति पार्टीले अन्य क्षेत्रमा गठबन्धन दलका उम्मेदवारलाई समर्थन गर्ने शर्तमा भएको तालमेलले रुपन्देहीका अन्य क्षेत्रमा पनि चुनावी अंकगणितमा प्रभाव पार्ने देखिन्छ ।
यो क्षेत्रमा २०६४, २०७० र २०७४ को चुनावमा लगातार जितेर ह्याट्रिक गरेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका प्रतिस्पर्धी जनमुक्ति पार्टीको कार्यकारी अध्यक्ष थापासँग प्रतिस्पर्धा हुने भएको छ । बुटवल–८ का स्थायी बासिन्दा रहेका थापा पूर्व शिक्षकसमेत हुन् । जनमुक्ति पार्टीको चौथो र पाँचौँ महाधिवेशनबाट दुई कार्यकाल महासचिव भएका थापा २०७८ भदौमा कार्यकारी अध्यक्ष बनेका हुन् ।
यहाँ पौडेल र थापाका अतिरिक्त अन्य साना पार्टी र स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस बिपीकी नमादेवी गौतम जैसी, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल पनि यहाँ उम्मेदवार छन् । यस्तै रूपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवार छन् ।
अङ्क गणित यस्तो देखिन्छ
रुपन्देही–२ मा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन गरेपछि प्रतिस्पर्धा रोचक हुने देखिएको छ । २०७४ सालमा एमालेका विष्णु पौडेलले ४४हजार ९ मत ल्याउँदा नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४५ मत ल्याएका थिए । तर त्यतिबेला एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनेको थियो ।
विष्णु पौडेललाई टक्कर दिन आएका केशव को हुन् ? |
अहिले यहाँ राप्रपाले एमालेका विष्णु पौडेललाई समर्थन गरेको छ । यसरी राप्रपा, एमाले र जसपाको मत जोड्दा ३७,२९० मत हुन्छ । अर्कोतिर सत्ता गठबन्धनको मत ३९,५२९ देखिन्छ । यस आधारमा राष्ट्रिय जनमुक्ति पार्टीको मत बिना नै सत्तारुढ गठबन्धन दुई हजारभन्दा बढी मतले अगाडि देखिन्छ ।
स्थानीय तह निर्वाचनमा यस क्षेत्र अन्तर्गतका केही सीमित वडामा मात्र राष्ट्रिय जनमुक्ति पार्टीले उम्मेदवारी दिएको थियो, जसमा उसले दुई हजार ७० मत पाएको थियो । यो मतसमेत जोड्ने हो भने सत्तारुढ गठबन्धन एमालेका उम्मेदवारको तुलनामा निकै बलियो देखिन्छ ।
एमालेको दाबी
रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय चुनावको अङ्कगणितले खासै प्रभाव नपार्ने एमालेको दाबी छ । एमाले क्षेत्र नम्बर २ का संयोजक बाबुराम पन्थीले स्थानीय चुनावपछि यहाँ एमाले थप बलियो भएको दाबी गरे । उनले स्थानीय चुनावमा भएका त्रुटीलाई सच्याएर अघि बढेका कारण पार्टीको मत बढ्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान