शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जनतासँग गरेका बाचा खेर जान दिँदैनौ : मन्त्री गहतराज

आइतबार, १३ कात्तिक २०७९, ०७ : २०
आइतबार, १३ कात्तिक २०७९

पाँच दलीय (वाम-लोकतान्त्रिक) गठबन्धनका तर्फबाट बाँके १ का उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गठबन्धनका उम्मेदवारहरू सक्षम, सालिन र परिपक्‍व भएकोले ढुक्कसँग जनतामा भोट माग्न जान आग्रह गरेका छन् । जनतासँग गठबन्धनका आम नेता कार्यकर्ताहरूले गरेका बाचा कुनैपनि हालतमा खेर जान नदिने बताउँदै उनले सिंहदरबार चिनेको नेतृत्व नै अहिलेको आवश्यकता भएको बताए ।

वाम-लोकतान्त्रिक गठबन्धन बाँके १ ‘ख’ अन्तर्गत वडा निर्वाचन परिचालन समितिका वडा संयोजक र सह-संयोजकको कोहलपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै मन्त्री गहतराजले सबै स्थानमा भोट माग्न जानका लागि समय अभाव हुन सक्ने भन्दै गठबन्धनका सबै नेता कार्यकर्तालाई आफैँ उम्मेदवारको रुपमा प्रस्तुत हुन समेत आग्रह गरे ।

कोहलपुरलाई आधुनिक शहरका रुपमा विकास गरेरै छाड्ने बताउँदै उनले सबैले गर्व गर्न लायक उदाहरणीय नेतृत्व आफूहरु बन्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारहरूले यस क्षेत्रको भु(राजनैतिक अवस्था बुझेकाले यहाँका जनताको भावना अनुसार विकासको नेतृत्व गर्न सक्षम रहेको बताए ।

उनले यस पटक संघ र प्रदेशमा समेत गठबन्धनको सरकार बन्ने भएकाले गठबन्धनका उम्मेदवार विजयी भए मात्रै कोहलपुरको विकासले काँचुली फेर्ने धारणा राखे ।

संयोजकहरुको भेलाले गठबन्धनका उम्मेदवारहरूलाई बिजय बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको निर्वाचन परिचालन समिती संयोजक बलराम शर्माले जानकारी दिए ।

बैठकले निर्वाचन परिचालन सम्बन्धी विभिन्न कार्यक्रमहरु निर्माण गरेको माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिती सदस्य तुलाराज बिष्टले जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिती सदस्य चिन्तामणी धिताल, कोहलपुर नगर अध्यक्ष बिरेन्द्र शाह, माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्का लगायतका नेता कार्यक्रर्ताको सहभागीता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप