२० वर्षपछि पहिलो पटक विश्वमा क्षयरोग संक्रमितको संख्या बढ्यो
क्षयरोग (टीबी) बाट संक्रमित व्यक्तिको संख्या झण्डै २० वर्षपछि पहिलो पटक विश्वव्यापी रूपमा बढेको पाइएको छ । योसँगै गरिबहरुलाई बढी असर गर्ने यो रोगप्रति विश्वले आवश्यक ध्यान नदिएको आरोप लागेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार २०२१ मा १ करोड ६ लाख मानिसलाई क्षयरोग भएको पत्ता लागेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४.५ प्रतिशतले बढी हो । सन् २००० देखि २०२१ अघिसम्म नयाँ संक्रमितको संख्या औसतमा २ प्रतिशतले घटेको थियो । सन् २०२१ मा क्षयरोगबाट हुने मृत्युको संख्या लगातार दोस्रो वर्ष १६ लाख पुगेको पनि डब्लुएचओले हिजो जनाएको छ । कोभिडविरुद्ध विश्वभर लकडाउन हुँदा धेरै संक्रमित रोगको उपचार गर्न असमर्थ भएका थिए ।
स्टप टीबी पार्टनरसिपका कार्यकारी निर्देशक डा लुसिका डिटिउले भनिन् ,‘ क्षयरोगको मृत्युदर र संक्रमण दर बढिरहँदा सन् २०२० र २०२१ मा क्षयरोगविरुद्ध लड्ने कोष दयनिय रुपमा न्युन थियो । टीबीविरुद्धको लडाईमा यति थोरै रकम किन ? के क्षयरोगले मुख्यतया गरिब देशका गरिब मानिसलाई असर गर्ने भएकाले यस्तो बेवास्ता गर्न सहज भएको हो ?’ टीबी एलाईन्सका अध्यक्ष मेल स्पिगेलम्यानका अनुसार कोभिडको समयमा क्षयरोग कार्यक्रमका लागि छुट्याइएको रकम कोभिडतर्फ सारिएको थियो । यसले खोपलगायत टीबीवरुद्धको लडाईमा नयाँ उपकरणहरूको विकासमा न्युन स्रोत मात्र बाँकी रहेको उनले बताए ।
क्षयरोगले प्रायः फोक्सोमा आक्रमण गर्छ र यो थुक, खकारका काणहरुबाट सर्छ । रोगको किटाणुले स्वास्थ्य समस्याहरू देखाउनुअघि धेरै वर्षसम्म शरिरमा अव्यक्त रहन सक्छ । सिड्नी विश्वविद्यालयका क्षयरोग अनुसन्धानकर्ता प्रोफेसर जेमी ट्रिकासका अनुसार हाल टीबीको नियन्त्रण कठिन हुनुमा यसविरुद्ध प्रयोगमा रहेको बीसीजी खोप १०० वर्षभन्दा पुरानो हो र यो वयस्कहरूमा सीमित प्रभावकारिता पाइएको छ । ट्रिकासका अनुसार केही सम्भावित खोपहरु परिक्षणको अन्तिम चरणतिर छन् तर तिनलाई विकास गर्न आवश्यक लगानी भेटिरहेको छैन ।
ट्रीटमेन्ट एक्शन ग्रुप र स्टप टीबी पार्टनरसिपको डिसेम्बर २०२१ को रिपोर्ट अनुसार, सन् २०२० मा क्षयरोग अनुसन्धानका लागि विश्वव्यापी कोष रकम ९१.५ करोड डलर थियो, जुन सन् २०१८ मा संयुक्त राष्ट्र संघले तोकेको २ अर्ब डलर लक्ष्यभन्दा धेरै कम थियो । जबकि विश्वले कोभिड खोप विकास गर्न अर्बौं डलर लगानी भएको थियो । ‘सम्भवतः यो गरिबलाई लाग्ने रोग कसरी बेवास्तामा पर्छ भन्ने कुराको उत्कृष्ट उदाहरण हो । टीबीको खोपविरुद्ध विश्वका सम्पन्न भागलाई प्रभावित बनाउने रोगको जस्तो राजनीतिक दबाब र आर्थिक प्रोत्साहन छैन,’ स्पिगेलम्यानले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले उत्तर कोरियालाई दियो १० लाख ब्यारेल तेल
-
सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल