बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय

नासाको अन्तरिक्ष यानले खिच्यो ‘मुस्कुराइरहेको’ सूर्यको तस्बिर

शनिबार, १२ कात्तिक २०७९, १६ : ५६
शनिबार, १२ कात्तिक २०७९

नासाको एक भूउपग्रहले यो हप्ताको सुरुमा हाँसिरहेको अनुहारजस्तो देखिने सूर्यको तस्बिर खिच्यो । उक्त अमेरिकी अन्तरिक्ष एजेन्सीले त्यस तस्बिरलाई ‘मुस्कुराइरहेको’ सूर्य भनेको छ ।

नासाले बुधबार ट्विटरमा उक्त तस्बिर सार्वजनिक गर्दै लेखेको छः ‘आज नासाको सोलार डाइनामिक्स अब्जर्भेटरीले ‘मुस्कुराउँदै’ गरेको सूर्यको तस्बिर खिच्यो । पराबैंगनी(अल्ट्राभ्वाईलेट) प्रकाशमा देखिएका यी कालो धब्बाहरूलाई कोरोनल होल(प्वाल) भनिन्छ, जुन ती क्षेत्रमा बन्छन् जहाँ तीव्र गतिमा सौर्य आँधी अन्तरिक्षतर्फ बाहिर निस्कन्छन् ।’

नासाको ‘सोलार डाइनामिक्स अब्जर्भेटरी’ सौर्य गतिविधि कसरी सिर्जना हुन्छ र तिनले अन्तरिक्ष मौसमलाई कसरी प्रभावित बनाउँछ भन्ने अनुसन्धान गर्ने अन्तरिक्ष यान हो । सन् २०१० फेब्रुअरी ११ मा पहिलो पटक प्रक्षेपण गरिएको यस पर्यवेक्षक अन्तरिक्ष यानले सूर्यको भित्री भाग, वायुमण्डल, चुम्बकीय क्षेत्र र ऊर्जा उत्पादनको मापन गर्दछ । 

नयाँ सूर्यको तस्बिर सार्वजनिक भएलगतै अनलाइनमा धेरै रमाइला प्रतिक्रियाहरू आइरहेको छ । कयौंले तस्बिरलाई अमेरिकामा लोकप्रिय रहेको पर्व हेलोवीनमा फर्सीलाई खोपेर बनाइने आकार वा हँसिलो सिंह वा बालबालिकाको शो टेलिटुबीजमा देखाइने सूर्यसँग तुलना गरेका छन् ।

एक समाजिक संजाल प्रयोगकर्ताले नासाको सूर्यलाई ‘बीएन मिनी चकलेट बिस्कुट’सँग तुलना गरेका छन् । हसिलो अनुहारजस्तो देखिए पनि विज्ञहरूले सूर्यको यस्तो कोरोनल होलको कारण शनिबार पृथ्वीलाई सौर्य आँधी आउने बताएका छन् । स्पेसवेदर डट कमले यसबारे लेख्दै भनेको छ,‘ यो हंसमुख आकृतिले पृथ्वीतर्फ तीन गुणा बढी सौर्य आँधी पठाउनेछ ।’

सौर्य आँधीहरू सौर्य सतहमा पिण्ड र ऊर्जाको विस्फोटबाट आउने आँधी हो । त्यो पृथ्वीसम्म आइपुग्दा त्यसले यस ग्रहको चुम्बकीय क्षेत्रलाई प्रभावित बनाउँछ । ठूला सौर्य आँधीहरूबाट मुख्यत भूउपग्रहका सिग्नलहरु प्रभावित हुन्छन् । यसले उत्तरी र दक्षिणी गोलार्धहरूमा ध्रुव प्रकाशको सम्पर्कमा आउँदा तिनलाई थप चहकिलो बनाएर आकर्षक ‘अरोरा’ बनाउँछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप