छठका लागि रानीपोखरी उपलब्ध गराउन कामनपालाई समितिको पुनः आग्रह
महापर्व छठ समारोह समितिले छठ पर्व मनाउनका लागि यही कार्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पुनः आग्रह गरेको छ । समितिले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको हो ।
समितिले गत असोज ७ गते छठ पर्व मनाउनका लागि सो स्थान उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई निवेदन दिएको थियो । त्यसको सुनुवाइ नभएपछि आफूहरूले पत्रकार सम्मेलनमार्फत सो स्थान उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पुनः अनुरोध गर्नु परेको समितिका अध्यक्ष मदन साहले बताए । उनले असनलगायतका क्षेत्रमा बस्ने व्रतालुहरूलाई सहज होस् भनेर सो स्थानमा छठ पर्व मनाउनका लागि गरिएको आग्रहलाई काठमाडौँ महानगरपालिकाले बेवास्ता गरेको गुनासो समेत गरे । अध्यक्ष साहले भने, ‘हामीले छठ मनाउन पाउँ भनेर यो पत्रकार सम्मेलन राखेका हौँ । खोली दिए धेरै राम्रो हुन्थ्यो । असनमा बस्नेहरूलाई छठ मनाउन सजिलो हुने भएकाले हामीले महानगरपालिकालाई रानी पोखरी उपलब्ध गराउन फेरि पनि विनम्र अनुरोध गर्दछौँ ।’
रानीपोखरीमा २०६३ सालदेखि निरन्तर छठ पर्व मनाइँदै आएकोमा त्यसको भौतिक पूर्वाधार निर्माण कार्य भएकाले केही समय रोकिएको थियो । तर यस वर्ष भने भौतिक पूर्वाधारको सबै काम सकिएकाले यही कार्तिक १३ र १४ गते विभिन्न कार्यक्रमका साथ रानीपोखरीमा भव्य रूपमा छठ पर्व मनाउने तयारी गरिएको तर काठमाडौँ महानगरपालिकाले भने अझै सो स्थान उपलब्ध नगराएकोमा पनि हामी मर्माहत भएको समितिका अध्यक्ष साहले बताए । तराई–मधेसमा भव्य रूपमा मनाइँदै आएको छठ पर्व विगत केही वर्षयता काठमाडौँ उपत्यकामा पनि भव्य रूपमा मनाउने गरिएको छ । छठ पर्वले पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।