बेङ्लोरको पहिचान : भारतको सिलिकन भ्याली, हरियो ‘स्पेस सिटी’
विज्ञान प्रविधिको विकासमा आफूलाई अग्रपंतिमा उभ्याउँदै लगेको भारत अहिले विश्वको पाँचौँ ठुलो अर्थतन्त्र भएको देश हो । जनसङ्ख्या, भूगोल सूचकमा विश्वको ठुलो देशमध्ये पर्ने भारतीय सहरहरू अब स्मार्ट सिटीका रूपमा पनि विश्वमा अग्रणी सहरहरूमा पर्न थालेका छन् ।
भारतका यस्तै प्रमुख सहरमध्येमा पर्ने एक बेङ्लोर पछिल्लो समय हर क्षेत्रमा आफूलाई अग्रणी बनाउँदै लाँदैछ । अघिल्लो साता भारत भ्रमणमा रहेको नेपाली पत्रकारको एक टोलीलाई दिइएको जानकारी अनुसार स्पेस, सूचना प्रविधि (आइटी), स्टार्टअप जस्ता क्षेत्रमा बेङ्लोरले आफूलाई कसरी अब्बल बनाउँदै लगेको छ भन्ने बारेमा धेरथोर जानकारी हासिल गर्ने मौका मिलेको थियो ।
भारतको कर्णाटक राज्यमा पर्ने बेङ्लोरलाई स्मार्ट सिटी बनाउन सरकारी तवरमा परियोजना पनि सञ्चालन गरिएको छ । बेङ्लोर भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको तेस्रो ठुलो सहर हो । यस सहरको जनसङ्ख्या सन् २०११ मा ८.४४ मिलियन थियो भने अहिले १३.१९ मिलियन भएको अनुमान गरिएको छ । भारतले ८ सय स्क्वायर किलोमिटर क्षेत्रफलमा बेङ्लोरलाई स्मार्ट सिटी बनाउँदै छ ।
भारतको छिटो विकास भइरहेकोमध्ये दोस्रो सहर हो, बेङ्लोर । यो सहर भारतको चौथो धेरै जीडीपी सहर पनि हो । गत वर्ष यस सहरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ११० बिलियन अमेरिकी डलर बराबर रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बेङ्लोर सहरको सबैभन्दा प्रशंसायोग्य विषय त्यहाँको हरियाली पनि हो । बेङ्लोर एयरपोर्टमा झर्नुअघि जहाजबाटै यो सहर असाध्यै हरियालीपूर्ण छ भन्ने प्रस्ट देखिन्थ्यो । भारत आफैँले पनि बेङ्लोरलाई गार्डेन सिटी मान्दो रहेछ । यो सहर भारतमा सबैभन्दा बढी हरियाली भएको तेस्रो सहर पनि हो ।
बेङ्लोर सहर भन्नेबित्तिकै बिर्सन नहुने अर्को परिचय सूचना प्रविधि क्षेत्रको विकासको विषय हो । भारतीयहरू पनि सो सहरलाई ‘सिलिकन भ्याली अफ इन्डिया’, आईटी क्यापिटल आदि नामले परिचय दिन चाहन्छन् । संसारभरका सूचना प्रविधि क्षेत्रका काम बेङ्लोर सहरका अग्ला भवनभित्र भइरहेका छन् ।
बहुपहिचान बोकेको बेङ्लोर सहरको अर्को परिचय स्टार्टअप सहरको रूपमा पनि छ । सरकारी तहबाट सञ्चालन भएका परियोजनामा स्टार्टअप पनि एक हो । अहिले बेङ्लोर अमेरिका र चीनपछिको विश्वको तेस्रो ठुलो स्टार्टअप सहरको रूपमा स्थापित छ । खास गरी सूचना प्रविधिको प्रयोग गरेर सर्वसाधारण समेतको जीवनस्तर कसरी सुधार्न सकिन्छ भन्ने विषयमा बेङ्लोरका स्टार्टअपहरूले गरेको कार्य साँच्चै अनुकरणीय रहेको पाइयो ।
बेङ्लोरको अर्को पहिचान स्पेस सिटी हो । अन्तरिक्षमा रकेट पठाउनेदेखि स्याटलाइट पठाएर अन्तरिक्षको अध्ययन र अनुसन्धान गर्ने निकाय आइएसआरओको केन्द्रीय कार्यालय बेङ्लोरमै छ । बेङ्लोरलाई भारतीयहरू अहिले साइन्स सिटीको रूपमा पनि परिचित गराउन चाहन्छन् ।
बेङ्लोर स्मार्ट सिटीका लागि अवधारणा, सोच र पैसा सबैको प्रबन्ध गरिएको रहेछ । स्मार्ट सिटी परियोजनाले दिएको जानकारी अनुसार बेङ्लोरलाई स्मार्ट सिटी बनाउन कुल ५० परियोजना सञ्चालनमा रहेछन् । ती परियोजना निर्माण गर्न कुल अनुमानित लागत १० अर्ब २१ करोड ८३ लाख भारु चाहिने आकलन गरिएको रहेछ ।
बेङ्लोर स्मार्ट सिटी बनाउन सञ्चालन गरिएका ५० परियोजनामध्ये १३ वटा परियोजना सम्पन्न भइसकेको जानकारी दिइयो । निर्माण सम्पन्न भएका परियोजनाको लागत १०८.४९ करोड भारतीय रुपैयाँ छ । यस्तै, ३७ परियोजनाको काम द्रुत गतिमा भइरहेको छ । यी परियोजनाको अनुमानित लागत ९१३.३५ करोड भारु रहेको अधिकारीले जानकारी दिएका छन् ।
बेङ्लोर स्मार्ट सिटी बनाउन सडकसँग सम्बन्धित ४३६ करोडका १२ परियोजना सञ्चालनमा छन् । यी सडक परियोजनामा साइकल लेन बनाउने, एकीकृत सार्वजनिक यातायात सञ्चालन गर्ने लगायत कार्य पनि परेका छन् । सार्वजनिक भवन निर्माण (सपिङ मल, बसपार्क आदि) सँग सम्बन्धित १४७.४३ करोडका ८ परियोजना बेङ्लोर स्मार्ट सिटी परियोजनाले कार्यान्वयन गरिरहेको छ । यस्तै, ४० करोड भारुको लगानीमा दुइटा पार्क पनि निर्माण हुँदैछ ।
नेपाली पत्रकारको एक टोलीलाई बेङ्लोर स्मार्ट सिटी परियोजनाले दिएको जानकारी अनुसार, १३५ करोड भारुका ४ वटा आईटी प्रोजेक्ट पनि सञ्चालन गरिएको छ । यस्तै, ११.६७ करोडका शिक्षासँग सम्बन्धित परियोजना, ८०.४८ करोड भारु लगानी हुने हेल्थ केयरसँग सम्बन्धित १० परियोजना, ६७ करोड लागतका २ वटा इ–मोबिलिटी परियोजना र १२.५० करोडका अन्य ६ परियोजना निर्माणको चरणमा छन् । सन् २०२१ सम्म बेङ्लोरलाई स्मार्ट सिटी बनाउन ६७१.४५ करोड भारु खर्च भइसकेको बेङ्लोर स्मार्ट सिटी परियोजनाले जानकारी दियो ।
(बेङ्लोरबाट फर्केपछि)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको म्याद थपबारेको बहस सकियो
-
रास्वपाको प्रदर्शनका क्रममा एक जना पक्राउ
-
एमालेको आन्दोलनका क्रममा नगर प्रहरीको गुप्ताङ्गमा प्रहार, अस्पताल लगियो
-
प्रहरीले खोस्यो रास्वपाको आन्दोलनमा माइकिङ गर्ने गाडीको चाबी
-
रक्सी पिएपछि किन ‘ब्ल्याकआउट’ हुन्छ मानिस, मस्तिष्कमा कस्तो असर गर्छ ?
-
चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद