शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सञ्चारमाध्यमले आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्छ : आयुक्त तुलाधर

शनिबार, १२ कात्तिक २०७९, ११ : ५३
शनिबार, १२ कात्तिक २०७९

निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने बताएकी छिन् । 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा आज निर्वाचन आयोग र राष्ट्रिय समाचार समितिको सहकार्यमा धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त तुलाधरले संविधान र कानुनले दिएको अधिकार र कार्य क्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको बताइन् । 

तुलाधरले सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्व दिइएको बताइन् । उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउने क्रममा आयोगको नेतृत्व र हामी सबैको दायित्व भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने बताइन्।

“निर्वाचनका क्रममा सही सूचनाको संवाहक पत्रकार नै हुन् । पत्रकारका सही सूचना हाम्रा लागि कोसेढुङ्गा हुनेछन्”, आयुक्त डा तुलाधरले भनिन्, “आम मतदाताले दिने हरेक मत बदर नहोस् भन्नेमा आयोग सचेत छ । त्यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ ।” उनले निर्वाचनको समयमा आयोग र सञ्चारमाध्यमको सम्बन्ध नङ र मासुजस्तै हुने गरेको बताइन्। 

आयोगले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र ढुवानीको काम करिब भइसकेको र पहिलो हुने निर्वाचन  प्रणालीतर्फको मतपत्र छपाइ कार्य जारी रहेको उनले जानकारी दिइन् । 

आयोगले सूचना प्रेस अफिस, कल सेन्टर, इ बुलेटिनजस्ता संयन्त्र सञ्चालन गरी सूचनाको सहज उपलब्धताका लागि काम गरिरहेको उनले बताइन् ।  आयुक्त तुलाधरले निर्वाचनका चरणमा पनि सञ्चार क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्दै मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर सन्तुलित र आधिकारिक सूचना दिन पत्रकारसमक्ष आग्रह गरिन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप