आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले र जसपा प्रतिगमन पक्षधर हुन्: चित्रलेखा यादव

‘जसपाले एक–दुईवटा सिटका लागि आठ लाख नेपालीलाई नागरिकताविहीन बनाउने काम गर्‍यो’
शनिबार, १२ कात्तिक २०७९, ११ : ०६
शनिबार, १२ कात्तिक २०७९

नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव सत्ता गठबन्धनको तर्फबाट सिरहा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छन् । उनका प्रतिस्पर्धीका रूपमा जसपा–एमाले गठबन्धनबाट जसपाका नेता राजकिशोर यादव उम्मेदवार छन् ।

कांग्रेस नेतृ यादव अहिले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकता भएको बताउँछिन् । उनी संविधान विपरीत प्रतिनिधिसभा विघटन गर्ने एमालेलाई पछिल्लो समय जसपाले साथ दिएको भन्दै यी दुवै दल देशमा राजनीतिक स्थिरता र संविधान रक्षाका दृष्टिले बाधक बनेको टिप्पणी गर्छिन् ।

आसन्न निर्वाचन, गठबन्धनको औचित्य लगायतका समसामयिक विषयमा केन्द्रित रहेर रातोपाटीले कांग्रेस नेतृ चित्रलेखा यादवसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

तपाईं सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ, यो चुनावमा सत्ता गठबन्धनको एजेण्डा के हो ?

–गठबन्धनको वृहत् उद्देश्य छ । यो गठबन्धनको गठन नै संविधान रक्षाका लागि भएको हो । संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि यो गठबन्धन गठन भएको हो । जब यो देशमा संविधानलाई उल्लङ्घन गर्दै संसद् विघटन गर्ने काम भयो, त्यसको विरुद्ध गठबन्धन बनेको थियो । लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई संस्थागत गर्दै जनताको अधिकार सुनिश्चित गर्नका लागि यो गठबन्धन बनेको हो । राष्ट्रलाई समृद्ध बनाउने मुख्य एजेण्डाका साथ हामी चुनावमा होमिएका छौँ ।

राष्ट्रलाई समृद्ध बनाउन विकास चाहिन्छ, विकासका योजना कस्तो छ ?

–मैले यो क्षेत्रका लागि शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा थुप्रै काम गरेको छु । शिक्षा मन्त्री भएको बेला यो क्षेत्रका अधिकांश स्कुलमा बजेट दिएको छु । स्वास्थ्य चौकीहरू निर्माण गराएको छु । विभिन्न ठाउँमा सडक तथा पुल निर्माणसमेत गरेको छु । म मन्त्री भएको बेलामात्र होइन, मन्त्री नहुँदा पनि यो क्षेत्रका जनताका लागि सदैव काम गर्न तयार हुन्थेँ । विकास निर्माण कार्यमा सहयोग पुर्‍याउँथेँ । तराई मधेसमा शिक्षा र स्वास्थ्यमा निकै समस्या छ । शिक्षा र स्वास्थ्य सुधार भयो भने सबैतिरको विकासको ढोका खुल्छ । त्यसैले मेरो प्राथमिकतामा शिक्षा र स्वास्थ्यलाई नै सुधार गर्न केन्द्रित छ ।

यस क्षेत्रमा तपाईंको आफ्नै पहिचान छ, तैपनि चुनाव लड्नका लागि गठबन्धनको आवश्यकता तपाईंलाई किन पर्‍यो ?

–पहिलो कुरा त यो गठबन्धन निर्माण किन भयो भनेर बुझ्नु पर्‍यो । जब यो देशमा सार्वभौम संसद्लाई बिना कारण विघटन गरियो, त्यो बेलामा विघटित संसद्लाई पुनर्स्थापना गर्न तथा राजनीतिक स्थायित्वकाका निम्ति यो गठबन्धन निर्माण भएको हो । जबसम्म देशमा स्थायित्व हुँदैन, तबसम्म यो देश समृद्ध हुन सक्दैन । समृद्ध देश निर्माणका लागि देशमा राजनीतिक स्थायित्व आवश्यक छ । त्यसैले यो गठबन्धनको उद्देश्य वृहत् छ ।

यो गठबन्धन क्षणिक प्रयोजनका लागि गठन भएको होइन । यो गठबन्धन देशका लागि आवश्यक छ । गठबन्धनभित्रको एउटा पार्टीको कार्यकर्ता भएको हुनाले गठबन्धनको निर्णयअनुसार साझा उम्मेदवार बनेको हुँ । सबै दलले सहमतिका आधारमा आ–आफ्नो तर्फबाट उम्मेदवारी दिलाउन सक्नु नै देशका निम्ति एउटा साझा सङ्कल्प हो । यो देश कोही एक्लैले निर्माण गर्न सक्दैन, त्यसमा सबैको साझा सहमति चाहिन्छ र, सोही सहमतिका आधारमा मैले पनि उम्मेदवारी दिएको हुँ ।

सत्ता गठबन्धनको सभा सम्मेलनमा सत्ता गठबन्धनका नेताहरूले अधिकांश समय एमाले–जसपा गठबन्धनको विरोध गरिरहेको पाइन्छ, सत्ता गठबन्धन एमाले–जसपा गठबन्धनबाट किन यति भयभीत देखिएको हो ?

–हामी भयभीत छैनौँ । तर देशमा प्रतिगमनका लागि जुन कदम चालिएको थियो, त्यसको बारेमा जनतालाई जानकारी गराउन आवश्यक छ । जनताले पनि थाहा पाउनु पर्‍यो कि एमालेले संसद् विघटन गरी कसरी जनताको अधिकार खोस्ने प्रयास गरेको थियो । एमाले सुरुदेखि नै जनतालाई अधिकारबाट वञ्चित गर्न कस्ता कस्ता गतिविधि गर्‍यो भन्ने कुराको जानकारी जनतालाई हुन आवश्यक छ । नत्र नेपाली जनताले पाँच वर्ष फेरि दुःख पाउन सक्छन् । जसपा पनि एमालेको मतियार बनेको छ । त्यो मतियार किन बन्यो भन्ने बारेमा पनि जनता जानकार हुनुपर्छ ।

आठ लाखभन्दा बढी नेपाली जनता नागरिकताबाट वञ्चित छन् । जनताले नागरिकता नपाउनुको मुख्य दोषी एमाले नै हो । कांग्रेस र माओवादी केन्द्रले पटकपटक प्रयास गरे पनि एमालेले कहिल्यै नागरिकता विधेयकलाई समर्थन जनाएन । नागरिकतालगायत मधेसी जनताले पाउने हरेक अधिकारको विरोधमा एमाले लागेको थियो र पछिल्लो समय त्यसमा साथ दिने काम जसपाले गरेको थियो । त्यसैले एमालेजस्तै जसपा पनि प्रतिगमनकारी पक्षधर हो । जसको बारेमा जनता पनि जानकार हुनुपर्छ । जसले दुईदुई पटक संसद् विघटन गर्‍यो, त्यही दल अहिले संसद्का लागि मत मागिरहेको छ । मत माग्ने अधिकार एमालेसँग छैन । जसपाले पनि एक दुईवटा सिटका लागि आठ लाखभन्दा बढी नेपालीलाई नागरिकता विहीन बनाउने काम गर्‍यो । नागरिकतासँग कुर्सी साट्ने काम जसपाले गरेको छ । त्यसैले यी कुराको जानकारी गराउने उपयुक्त समय यही नै हो । एमाले र जसपाबाट हामी भयभीत हुने कुनै कारण नै छैन ।

एउटा मञ्चमा त तपाईं र राजकिशोर यादवको बीचमा झण्डै हात हालाहाल नै भयो, यो अवस्था कसरी सिर्जना भयो ?

–त्यहाँ के के भयो भन्नेबारे सबै कुरा लाइभ नै थियो । सबैले थाहा पाइसकेको कुरा हो । राजकिशोरजीलाई प्रश्न एउटा गरिएको छ, जवाफ अर्को दिनुभयो । कुनै पार्टीको इतिहासको कुरा भनिरहेको छ भने तथ्यपरक भन्नु पर्‍यो । कुनै पार्टीको तथ्य बङ्ग्याएर जथाभाबी बोल्न छुट कसैलाई छैन । तथ्यको आधारमा कुनै पार्टीको बारेमा कमेन्ट गर्दा राम्रो हो । त्यही कुरा मैले उहाँलाई सम्झाउन खोजेको थिएँ ।

कांग्रेस पार्टी आफैमा एउटा ऐतिहासिक पार्टी हो । यसको आफ्नै इतिहास छ, आफ्नै दस्तावेज छ । त्यसको बारेमा जानकारी नै नलिइकन जथाभाबी बोल्नु हुँदैन । पहिला अध्ययन गर्नुपर्छ, अनिमात्र कसैको बारेमा टिप्पणी गर्नुपर्छ । उहाँले झुटो बोलिरहँदा मैले झुटो बोल्न पाइँदैन भनेँ । कुरा अलि चर्को भएको मात्र हो ।

 सिरहा–२ मा तपाईं र राजकिशोर यादवबीच नै मुख्य प्रतिस्पर्धा हो ?

–छैन, उहाँसँग मेरो कुनै प्रतिस्पर्धा छैन । जनताले नै भनिरहेका छन् कि चित्रलेखा यादवको तुलना कसैसँग गर्न सकिँदैन । चित्रलेखा यादवको जन्मभूमि र कर्मभूमि यहीँ हो । चित्रलेखा यादवले यहीँका जनतासँग आफ्नो दुःखसुख बाँडेको छ । कोही बाहिरबाट आएका छन् भने ऊसँग कसरी टक्कर हुन्छ ? टक्कर त बराबरसँग हुन्छ तर राजकिशोर र चित्रलेखा यादवको कुनै तुलना नै गर्न सकिँदैन भन्ने कुरा जनता स्वयंले भनिरहेका छन् ।

जनताले चित्रलेखा यादवलाई एक पटक जिताएर पठाउँदा उसले सडक संसद्को सभामुखजस्तो गरिमामय भूमिका निर्वाह गरेर इतिहास कायम गरेको उदाहरण जनताले नै दिइरहेका छन् । त्यसैले राजकिशोर वा कसैसँग चित्रलेखाको कुनै प्रतिस्पर्धा नै छैन भनेर यहाँका जनताले भनिरहेका छन् ।

तपाईं एक पटक प्रत्यक्ष र दुईपटक समानुपातिक सांसद बन्नुभयो तर सांसद बनेर गएपछि क्षेत्रमा कहिल्यै फर्केर आउनु भएन भन्ने आरोप पनि लागिरहेको छ नि ?

–यो आरोप प्रतिपक्षीहरूको होला । तर म जनताको साथमा कसरी छु, कहाँ छु, त्यो कुरा यहाँका जनतालाई मात्र थाहा छ । कोही व्यक्तिले आरोप लगाएर हुँदैन, त्यसको पुष्टि गर्नुपर्छ । जनताको मुखबाट, मतदाताको मुखबाट मैले कहिल्यै पनि यस्तो कुरा सुनेको छैन । यहाँको जनताको हरेक दुःखसुखमा म सदैव सँगै छु । जनतालाई कुनै समस्या पर्दा त्यसको समाधानका लागि पहल गरेको छु । विकास निर्माणमा मैले गर्नुपर्ने पहल सबै गरेको छु । त्यसैले यो आरोपमा कुनै दम छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप