हावा कुरा
‘हावा कुरा’ को विषयमा घोरिँदा एउटा फकिर र एक सामान्य मान्छेको संवाद याद आउँछ । एउटा सर्वसाधारण मानिसले एक ज्ञानी फकिरलाई सोध्यो–
“संसारमा सबैभन्दा साह्रो चिज के हो ?”
“ढुङ्गा”
“ढुङ्गाभन्दा साह्रो के छ ?”
“फलाम”
“फलाम भन्दा साह्रो के छ ?”
“आगो”
“आगो भन्दा साह्रो के छ ?”
“पानी”
“पानी भन्दा साह्रो के छ ?”
झट्ट हेर्दा फकिरका कुरा “हावा कुरा” जस्तो लाग्छ । तर, त्यस्तो होइन, फकिर र साधारण मानिसको संवादलाई मिहीन रुपमा केलाउँदा फकिरले सही–सही कुरा बताएको छ ।
सबैभन्दा साह्रो ढुङ्गा । ढुङ्गाभन्दा पनि साह्रो फलाम । फलाम साह्रो भएकैले ढुङ्गालाई चाहेको बेला फुटाउने र धुलो पिठो बनाउने काम यसैले गर्छ । फेरि फलाम भन्दा साह्रो आगो । आगोले फलामलाई पगालेर झोल बनाइदिन्छ । फेरि आगो भन्दा साह्रो पानी । जति सुकै ठूलो आगो होस् त पानीले भस्याकभुसुक निभाइ दिन्छ । अनि पानी भन्दा साह्रो हावा । हावाले पानीलाई सुकाइदिन्छ । वाफ बनाएर आकाशमा उडाइदिन्छ ।
हावा जीवनको लागि कति महत्वपूर्ण छ । हावा बिना एक मिनेटपनि बाँच्न सकिन्न । मानिस मात्र होइन, सकल दुनियाँका प्राणी र वनस्पतिलाई पलपलमा हावा चाहिन्छ, सास फेर्नका निम्ति । हुन त यो प्रत्यक्ष देखिँदैन । अदृश्य तत्वको रुपमा हाम्रो चारैतिर छरिएर रहेको छ । तर, हावा निरन्तर प्रवाहशील अवस्थामा छ र हामी जीवित छौँ । हावालाई वायु, वतास, समिर, पवन अनेकौँ नाम उपनामबाट पुकार्दै आएका छौँ ।
हावा हाम्रा लागि जति प्रिय छ; ‘हावा कुरा’ चैँ त्यति प्रीतिकर लाग्दैन । हावाप्रति जति आस्था र आदर छ । हावा कुराप्रति त्यति नै अनास्था र अविश्वास जन्मेको हुन्छ मान्छेको चित्तमा । हावा कुराप्रति त्यो अविश्वास किन जन्मेको होला ? यसको चुरोमा हावाको स्वभाव र गुणले काम गरेको छ ।
विज्ञानले भन्छः पदार्थका तीन अवस्था छन्– ठोस, तरल, ग्याँस । ठोस वस्तु जमिनमा खुट्टा टेकेर उभिन्छ । चाहे त्यो सजीव होस्, चाहे त्यो निर्जिव होस्, जमिनमा निश्चित आकार, आयतन र ओजनका साथ आसन जमाउँछ । जसलाई प्रत्यक्ष छुन, छाम्न, हेर्न, देख्न सकिन्छ । तरल पदार्थलाई पनि बग्न अडिन जमिन चाहिन्छ । एक निश्चित धरातलमै बग्छ, जम्छ, प्रवाहशील हुन्छ ।
तर, ग्याँस अर्थात् हावालाई खुट्टा टेक्न जमिनको आवश्यकता पर्दैन । हावाका जमिनमा टेक्ने र अडिने खुट्टा हुन्नन् । जसरी ठोस् तरल पदार्थमा जमिनमा अडिने गुण हुन्छ । हावा जमिनमा आसन जमाएर एक ठाउँ स्थीर रहँदैन । यो आकाशमा विचरण गर्ने प्रवाहशील तत्व हो । यो शून्यमा अडिने त्वरित तत्व हो । यसले जमिनमा होइन, हमेशा शून्यतामा आसन जमाउँछ । यसभित्र आकाश मार्गमा उड्ने गुण विद्यमान छ ।
यथार्थको धरातलमा अर्थात् जमिनको तहमा नउभिएका कुरालाई मान्छेले त्यसैकारण हावा कुराको उपमा दिएका हुन् कि ? कुनै जमाना र समयमा हावा कुरा ठानेर उडाइएका कुराहरु आज विज्ञानका वरदान बनेका छन् । त्यस्ता वैज्ञानिक प्रतिभा हाल आएर पुजनीय बनेका छन् ।
आर्किमिडिज पानीको बाथटबबाट ‘युरेका युरेका’ भन्दै नाङ्गै बाहिर निस्कँदा उनलाई ‘हावा खुस्यो यसको’ भनी गिल्ला गरे । पछि फेरि तिनै आर्किमिडिजले उत्तोलक पत्ता लगाएर ‘मलाई दह्रोसित उभिने ठाउँ दिनुस्, म यो पृथ्वीलाई नै उठाइदिन सक्छु’ भन्दा हावा कुरा भनेर उडाए । तर, हजारौँ वर्षपछि पनि आर्किमिडिजको उत्तोलकले गह्रौँ भार उचाल्न कति ठूलो योगदान दिइरहेको छ, त्यसको महत्तालाई कुनै अङ्क–अक्षरमा नापतौल गर्नै सकिँदैन ।
कोपर्निकस भन्दा पहिले सूर्यले पृथ्वीलाई घुम्छ भन्ने धारणा परिव्याप्त थियो । त्यतिखेरको मान्यता थियो कि सौर्यमण्डलको केन्द्र पृथ्वी हो, पृथ्वीको वरिपरि सूर्यलगायत अन्य पिण्डहरुले परिक्रमा गर्छन् । कोपर्निकसले गहिरो खोज र अनुसन्धानबाट सूर्यले पृथ्वीलाई होइन, पृथ्वीले सूर्यलाई घुम्छ भने । सौर्यमण्डलको केन्द्र पृथ्वी होइन, सूर्य हो भने । उनले एउटै सूर्यभित्र दश लाख पृथ्वी अँट्छन् भनेर सूर्यको वास्तविक आकार ठम्याइदिए । तत्कालीन समयको समाजले यस्ता यी सबै कुरालाई हावा कुरा भनिदियो ।
आज आएर त्यही हावा कुरा सत्य सावित भएका छन् । पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने कोपर्निकसको मान्यतालाई समर्थन गरेको÷पछ्याएको आरोपमा जर्दानो ब्रुनोलाई त जिउँदै जलाएर मारियो । हावा कुराको पछि लाग्ने भनेर उनलाई दण्डित गरिएको थियो । ब्रुनो जल्न तयार भए, मर्न राजी भए, तर हावा कुरालाई एकरत्ति छोडेनन् । अरुले ठानेको हावा कुरा उनका निम्ति ध्रुब–सत्य कुरा थियो ।
अझ यही मतलाई अध्ययन र खोजबाट पुष्टि गर्दा ग्यालिलियो ग्यालिलीलाई रोमका पादरीहरुले हावा कुरा गर्यो भनेर चर्चबाट पूर्जी काटे । यसले हावा कुरा गरेर बाइबल उलङ्घन गर्यो सम्म भने । विचार फिर्ता लिन आदेश दिए । आविष्कार गरेको मत उल्ट्याउन निर्देश गरे । बूढा ग्यालिलियो आफ्नो मतमा अडिग रहे । उनलाई घरमै कैदी बन्दी बनाएर थुने । ग्यालिलियोलाई चर्चका आदेश भन्दा आफ्नै हावा कुरा प्यारो थियो । अन्ततः पछि उनी नै सत्य ठहरिए ।
मेन्डल महोदयले कठिन तपस्याबाट मानव शरीरमा पचास अरबदेखि दश निल अर्थात् खरब भन्दा बढी जीवकोष हुन्छन् भने । एक घण्टामा दुई अरब जीवकोष मर्ने र त्यति नै संख्यामा नयाँ जन्मिने कुरा गर्दा यसलाई पनि हावा कुरा ठाने । मेन्डलको यो खोज सत्य सावित भएपछि हावा कुरालाई साँचो कुरा ठान्न थाले ।
डार्विन बाजेले मान्छेको पूर्वज पूर्खा बाँदर हो भन्दा पनि हावा कुरा गर्यो भनेर लाउनसम्म लाञ्छना लाएका थिए । गर्नुसम्म वेइज्जत र अपमान गरेका थिए । तर, आज त्यही हावा कुराले संसारलाई सत्यको मार्ग देखाइरहेको छ ।
राइट दाजुभाइ (ओर्भिल राइट र विल्भर राइट)ले पहिलोचोटि उड्ने विमान बनाएर परीक्षण गर्दा मान्छेले हावा कुरा भनेर गिल्ला गरेका थिए । आज त्यही हावा कुराले यातायात क्षेत्रमा भयङ्कर ठूलो क्रान्ति ल्याइदिएको छ । हवाई यातायातको विकासले विश्वलाई एउटा गाउँको वल्लो छेउ र पल्लो छेउजस्तो बनाइदिएको छ । हामीले हावामा उड्ने यन्त्र बनाएका छौँ हेर्न आउनुस् भनेर निम्ता दिँदा पनि मान्छेहरु नाक चेप्र्याएर त्यो ठाउँमा आएका थिएनन् । त्यही हावा कुराले आज हामीलाई हवाइजहाज चढ्ने सौभाग्य दिएको छ ।
वैज्ञानिक दुनियाँमा आइन्स्टाइनले पहिलोचोटि घोषणा गरे– समय र स्पेस सापेक्ष हुन्छ । उनले पृथ्वीमा जन्मिएका दुईटा बच्चालाई तुलना गरेर हेरे, विश्लेषण गरे, निष्कर्ष निकाले कि सँगै जन्मिएका ती बच्चामध्ये एकजनालाई पृथ्वीमा हुर्काइयो र अर्कोलाई अन्तरिक्षमा लगेर हुर्काइयो भने यहाँ हुर्केको बच्चा पचहत्तर वर्षको बूढो भैसक्ता अन्तरिक्षमा हुर्केको बच्चा सानो शिशु अवस्थामा नै रहन्छ ।
यसको कारण पृथ्वीमा चौवीस घण्टाको एक दिन हुन्छ, तीनसय पैंसठ्ठी दिनको एक वर्ष हुन्छ । तर, अन्तरिक्षमा तीनसय पैंसठ्ठी दिन बराबर एक दिन हुन्छ । अर्थात् अन्तरिक्षमा दिन धेरै लामो हुन्छ । त्यसकारण पृथ्वीमा हुर्किएको बच्चा पचहत्तर वर्षको हुँदा अन्तरिक्षमा हुर्किएको बच्चा पचहत्तर दिनको मात्र हुन्छ ।
आइस्टाइनको यो निष्कर्षलाई पनि सुरुमा कतिले पत्याएनन्; हावा कुरा भनी गिल्ला गरे । तर अरुले हावा कुरा ठानेको विचारले नै अहिले आधिकारिक प्रमाणिकता पाइसकेको छ ।
वैज्ञानिक दुनियाँका शिखर–हस्तीहरुमात्र किन ? अन्य क्षेत्र र विधाका प्रतिभालाई पनि हावा कुरा गरेको आरोपमा अनेकन दण्ड सजाय तोकिएको छ । हावा कुरा गरेर समाजलाई दिग्भ्रान्त गर्यो भनेर अपमान, ताड्ना, यातना र मृत्युदण्डसम्मका सजायहरु तोकेको छ ।
महान् दार्शनिक सुकरातले मानिसलाई सत्यको परिपथ देखाउँदा यसले हावा कुरा गरेर युवा भड्कायो भनेर सत्तरी वर्षको उमेरमा विष पियाएर ज्यान लिए ।
मन्सुरले ‘अहम् ब्रह्मास्मी (अनलहक) हुँ’ भन्दा हावा कुरा गर्यो भनी तत्कालीन मुल्ला–मौलवीले हात, पाउ, टाउको गिँडेर मारे । हावा कुरो गर्यो भनेर येशुलाई क्रुसमा टाँगेका छन् । हावा कुरो गर्यो भनेर बुद्धलाई ढुङ्गो लडाइ मार्न खोजेका छन् । हावा कुरा गर्यो भनेरै महावीरको कानमा ठेडी ठोकेका छन् । हावा कुरो गर्यो भनेरै देवकोटालाई राँची लगेका छन् । हावा कुरो गर्यो भनेर बेलाबेलामा पञ्चायती सरकारले हाम्रा गम्भीरबहादुर बडाबालाई जेल हाल्ने गथ्र्यो ।
हुन त अहिलेपनि कसैले नपत्याउने कुरा गर्यो भने हावा कुरा गर्यो भनिन्छ । कसैले बकम्फुसे गफ लायो भने हावादारी गफ भनेर छेडखान गरिन्छ । कुरा हावादारी भएपनि कतिपय सन्दर्भमा हाम्रो यात्रा हावा विना एकरत्ति अघि बढ्दैन ।
एउटा निर्जीव गाडीलाई हेरौँ– ठोस, तरल, ग्यास तीनैवटा पदार्थको संयोजनले यो चल्दछ । एउटा चिजको अभाव भएमा पनि यो चल्दै चल्दैन । गाडीमा जडित् इन्जिन पार्टपूर्जा लगायतका चिजहरु ठोस पदार्थ हुन् भने तरल पदार्थमा यसभित्र हालिने डिजल, पेट्रोल, पानी जस्ता चिज पर्छन् । गाडीमा यस खालका तरल पदार्थपनि बेलाबेलामा दिइरहनु पर्छ, भरिरहनुपर्छ । तरल पदार्थ छैन भने गाडी नै गुड्दैन । अझ यसभन्दा महत्वपूर्ण कुरा हावा छ, यदि चक्काभित्र हावा भरिएन भने गाडी गुड्दैन । अलिकति हावा लुज भयो भनेपनि गाडीमा गतिरोध पैदा हुन्छ । हावा त बेलाबेलामा हालिरहनु पर्छ ।
यसरी मानव शरीरमा पनि भोजन, पानी र अक्सिजन तिनोटै चिजको सम्यक उपस्थिति हुनुपर्छ । त्यसैले हावालाई कम महत्व दिने र यसको भूमिकालाई कम आँक्ने सोच कदापि उचित होइन ।
हावा सबै खालका जीवजन्तु र वनस्पतिका लागि अति आवश्यक पर्ने प्राण–तत्व हो । प्रकृतिले यसै तत्वको लेपनमा पृथ्वीलाई वरिपरिबाट ढाकिदिएको छ । र, यो जीवनदायिनी ग्रहको रुपमा ब्रह्माण्डमा अस्तित्वान छ ।
पृथ्वीको वरिपरि हावाको तहले नढाकेको भएदेखि यहाँ जीवको अस्तित्व कल्पना गर्नपनि सकिँदैनथ्यो । हाम्रो आसपास वरिपरि हामीले खाली देखेको ठाउँ जहीँताहीँ हावाको उपस्थिति छ । शून्य र रित्तो ठाउँमा पनि हावा भरिएको छ । देख्ने दृष्टि नभएर हामी त्यो ठाउँलाई खाली भन्छौँ, तर कुनैपनि ठाउँ निख्लो खाली हुँदैन । खाली ठाउँमा पनि हावाको तह अदृश्य रुपमा विद्यमान हुन्छ ।
जसरी हावा खुस्केपछि गाडी गुड्दैन । टायरबाट हावा चुहेपछि गाडी अपाङ्ग बन्छ । त्यसरी नै मानिस पनि हावाकै बलमा सद्दे सारसौँदो रहन्छ । हावा खुस्के पछि मान्छे मान्छे रहँदैन । दिमागबाट मात्रै हावा खुस्क्यो भने मानिस पगला बन्छ, बहुला बन्छ । शरीरबाटै अर्थात् फोक्सोबाटै हावा खुस्क्यो भने मान्छे लाश बन्छ । जीवनको अवसान हुन्छ ।
मानिसको जीवनमा हावा एक अपरिहार्य प्राण–तत्व हो । मानिसलाई जिउँदो राख्न ऊर्जाको एक अतिरेक पुञ्ज जरुरी हुन्छ । विज्ञानले पनि भन्छ– जे जे चिज बल्छ, बालिन्छ, त्यहाँ अक्सिजन जलेको हुन्छ । त्यहाँ हावा नै ऊर्जा स्वरुपमा बलेको हुन्छ । अक्सिजनलाई ऊर्जाको अपार स्रोतै मानिन्छ ।
सर्वथा रित्तो गाग्रोमा हावा भरिएको हुन्छ । सर्वथा रित्तो भाँडोमा हावा भरिएको हुन्छ । भन्न त भन्छौँ गाग्रो रित्तो छ । भाँडो रित्तो छ । तर, हावा भरिएको दृश्य हाम्रा चर्मचक्षुले ठम्याउन सक्तैनन् ।
अत्यधिक गर्मी हुने खुँज र औल प्रदेशमा कतैकतै देखेको छु– हावाखौरी घर । हावा खान अग्ला अग्ला खाँबा गाडेर या दुईटा रुखका टुप्पामा टौवा बनाइएको हुन्छ । अचाक्ली गर्मी चढ्ने सिजनमा त्यस्ता हावाखोरीमा बसेर आँतलाई शितल पारेको दृश्य देख्ता मान्छेले हावा कुरा मन नपराएपनि हावाखोरीलाई मन पराउँदो रहेछ ।
अहिलेपनि हुनेखाने मान्छेले गर्मी विशेषमा हावा खानकै लागि हावा–घर बनाएका हुन्छन् । हावा खानुको सिधासिधी अर्थले हृदयमा जुन सौम्यता दिन्छ । जुन सौन्दर्यता प्रकट गर्छ । यसको प्रतीकात्मक अर्थले उल्टो र नकार भावपनि प्रेषण गरिरहेको छ, हावा–घर मन पर्छ हामीलाई तर हावा–मान्छे भने ठ्याक्कै मन पर्दैन ।
बेलुनमा हावा हालेरै हावामा उडाइन्छ । हावामै उडाउन किन हावा हाल्नु परेको होला । घरि घरि यस्ता प्रश्नले पनि चिमोट्ने गर्दछन् । हुन त बेलुनमा हावा हाल्नु नराम्रो कुरापनि होइन । किनभने बेलुन हावा हाल्नकै लागि बनाइएको चिज हो । यो हावा भरेर हावामा उडाउनकै लागि बनेको हुन्छ ।
तर, अहिले मान्छे बेलुन बनिरहेछ । बेलुन मान्छेभित्र हावा भर्नेपनि मान्छे नै छ । हावामा उडाउनेपनि मान्छे नै हो । जसरी बेलुनमा क्षमता भन्दा बढी हावा भर्‍यो भने त्यो प्याट्ट फुट्छ । फुटे पछि उड्ने कुरा हराउँछ । आकाश चुम्ने कुरा विलाउँछ । त्यसरी नै केही मान्छेहरु क्षमता भन्दा बढी हावा भरेर बेलुन टाइपका मान्छेलाई उडाउन खोज्छन् । सो घडी उड्नुको साटो हावाको चाप थेग्न नसकेर फुट्छन् ।
बेलुनमा हावा भर्ने सन्दर्भमा ठिकठिकै ढंगले हावा भर्दा राम्रै हुन्छ । बेलुनको आकार, आयतन र औकात भन्दा बढी हावा भरियो भने परिणाम नराम्रो पनि हुँदोरहेछ । त्यसैले मेरो विनित आग्रह छ– कसैको पनि दिमागकी बेलुनमा उसको औकात भन्दा बढी हावा नभरौँ । त्यस्तो अपच हावा हाल्ने कुरा नगरौँ । कथम्कदाचित् त्यसरी हावा भरियो या भर्ने कुराको पछाडि लागियो भने त्यो चाहिँ साँच्चिकै हावा कुराको पछि लागिएको हो भन्ने मेरो मत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल
-
चिकित्साबाट ग्ल्यामर क्षेत्रमा डेनिलाको छलाङ
-
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने