शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सा–१ मा त्रिपक्षीय भिडन्त, कसको पल्ला भारी ?

शुक्रबार, ११ कात्तिक २०७९, १३ : ०७
शुक्रबार, ११ कात्तिक २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर १ मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । यस क्षेत्रबाट सत्तारुढ गठबन्धन, एमाले–जसपा गठबन्धनलाई टक्कर दिन नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति अजय द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनबाट लोसपाका लक्ष्मणलाल कर्ण उम्मेदवार छन् । यस्तै, एमाले–जसपा गठबन्धनबाट प्रदीप यादवले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनबाट विद्रोह गर्दै कांग्रेस नेता द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका कारण यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कर्ण २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । उनी यस पटक निर्वाचन क्षेत्र परिवर्तन गरी पर्सा–१ बाट उम्मेदवार बनेका हुन् । यस क्षेत्रमा लोसपाको खासै प्रभाव नरहे पनि सत्तारुढ गठबन्धनभित्र भएको भागबण्डामा लोसपाले पर्सा–१ मा उम्मेदवारी दिने तय भएअनुसार उनले आफ्नो निर्वाचन क्षेत्र छाडेर नयाँ क्षेत्रमा उम्मेदवारी दिनु परेको हो ।

एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका यादव भने २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट विजयी भएका थिए । मधेसी मुद्दालाई चुनावी एजेण्डा बनाएर अघिल्लो निर्वाचन जितेका यादव अहिले स्थानीय तह निर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेको एमालेसँग गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रिएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जसपाका नेता यादवले एमालेबाट वीरगञ्ज महानगर प्रमुख पदमा उम्मेदवार बनेका विजय सरावगीलाई पराजित गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए । त्यसैले आसन्न निर्वाचनमा सरावगी पक्षले यादवलाई पूर्ण रुपमा सघाउनेमा आशंका देखिन्छ ।

‘जसपा र एमालेको स्थानीय तहको मत जोड्दा त एमाले–जसपा गठबन्धनका उम्मेदवारले निर्वाचन जितिसके भने हुन्छ तर, केन्द्रमा गठबन्धन भयो भन्दैमा तत्लो तहमा मतदाताले त्यसलाई पत्याएर पालना गर्ने आधार नभएकाले के हुन्छ, यसै भन्न सकिँदैन,’ सरावगीले भने, ‘यहाँ त दिनभर गठबन्धनका उम्मेदवारलाई भोट माग्ने र राति भएपछि स्वतन्त्र उम्मेदवारका लागि घरदैलोमा हिँड्नेसम्मको प्रवृत्ति देखियो । त्यसैले गठबन्धनभित्र इमानदारी देखिएको छैन ।’

२०७४ को निर्वाचनमा भारी मतले पर्सा–४ बाट विजयी भएका लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णलाई पनि यसपटक पर्सा—१ मा सहज देखिँदैन । उनले गठबन्धनभित्रको सबै मत सुरक्षित गर्न सकेमा मात्र जित सुनिश्चित हुन सक्छ । तर, कांग्रेस नेता द्विवेदीको स्वतन्त्र उम्मेदवारीले कांग्रेसको मत काट्ने भएकाले कर्णलाई गठबन्धनको सम्पूर्ण मत नजाने निश्चितजस्तै छ ।

वीरगञ्ज महानगरका उपप्रमुख तथा कांग्रेस नेता इम्तियाज आलम कांग्रेसभित्रको असन्तुष्ट पक्षले स्वतन्त्र उम्मेदवार द्विवेदीलाई मत दिन सक्ने सम्भावना औंल्याउँछन् । उनले कांग्रेसका कतिपय नेता–कार्यकर्ताले यस क्षेत्रमा कांग्रेसकै उम्मेदवारी चाहेको कारण पनि गठबन्धनका पक्षमा कांग्रेसबाट सम्पूर्ण मत जाने सम्भावना नदेखिएको बताए ।

२०७४ को स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरको प्रमुखमा द्विवेदीले १७ हजार १९७ ल्याएका थिए । त्यतिबेला मेयरका उम्मेदवार विजय सरावगीले १९ हजार ३५३ मत ल्याएर विजयी भएका थिए । उपप्रमुखमा कांग्रेस उम्मेदवार शान्ति कार्कीले सरावगीको भन्दा करिव ३ सय मत बढी ल्याएर जितेकी थिइन् ।

पर्सा–१ मा कसको मत कति ?

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पर्सा–१ अन्तर्गतका वडामा वडाअध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा जसपाको १५ हजार ७०६ र एमालेको १३ हजार ३३५ मत देखिन्छ ।

यहाँ नेपाली कांग्रेसको १२ हजार ९०२, माओवादीको ३ हजार ७४६, लोसपाको २ हजार ८६ र नेकपा एकीकृत समाजवादीको एक हजार ६०३ मत देखिन्छ ।

यस आधारमा एमाले–जसपा गठबन्धन तुलनात्मक रुपमा बलियो छ । तर यस क्षेत्रमा स्थानीय तह निर्वाचन अघि जसपा छाडेर एमालेमा गएका नेता विजयकुमार सरावगीको समेत व्यक्तिगत प्रभाव छ । सरावगी र प्रतिनिधिसभातर्फ एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका यादवबीच पछिल्लो समय राम्रो सम्बन्ध छैन । त्यसैले यो गठबन्धनले स्थानीय तह निर्वाचनमा पाएको दलगत मत जोगाउन सक्नेमा आशंका गर्ने ठाउँ देखिन्छ ।

अर्कोतिर सत्तारुढ गठबन्धन तुलनात्मक रुपमा एमाले–जसपा गठबन्धनभन्दा कमजोर नै देखिन्छ । त्यसमा पनि कांग्रेस नेता द्विवेदीको स्वतन्त्र उम्मेदवारीले कांग्रेसको केही मत काटिने निश्चित रहेका कारण सत्तारुढ गठबन्धनको अवस्था पनि नाजुक नै देखिन्छ ।

त्यसैले आसन्न निर्वाचनमा घात–अन्तरघातका कारण यो निर्वाचन क्षेत्रमा मतको समीकरण निकै फेरबदल हुन सक्ने अनुमान गरिएको छ । पर्सा क्षेत्र नम्बर १ मा वीरगञ्ज महानगरको १९ वटा वडा पर्दछन् । अधिकांश वडा सहरी क्षेत्र भएकाले मतदाताले पार्टी निर्णय भन्दा पनि निर्वाचनमा व्यक्तिगत विवेक प्रयोग गर्न सक्ने देखिन्छ ।

अधुरा काम पूरा गर्न मेरो उम्मेदवारी : यादव

एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका प्रदीप यादवले २०७४ को निर्वाचनमा यो क्षेत्रबाट २१ हजार १३२ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अनिलकुमार रुगंटाले १६ हजार ४८१ मत ल्याएका थिए ।

यादव आफ्ना अधुरा काम पूरा गर्नका लागि फेरि उम्मेदवार बनेको बताउँछन् । ‘हाम्रो मुल एजेण्डा विकास हो, विगतमा विकासको लहर ल्याएका पनि छौं, यसपटक केही अधुरा कामलाई पूरा गर्न मेरो उम्मेदवारी हो,’ यादवले भने, ‘मधेसका अधुरा मुद्दा अझै पनि पूरा भएका छैनन्, त्यसलाई पूरा गर्नु हाम्रो धर्म हो ।’

म पाँच पार्टीको संयुक्त उम्मेदवार : कर्ण

सत्ता गठबन्धनबाट पर्सा–१ मा उम्मेवारी दिएका लोसपाका कार्यकारिणी सदस्य लक्ष्मर्णलाल कर्णले ५ पार्टीका तर्फबाट आफ्नो संयुक्त उम्मेदवारी रहेको बताए । ‘मैले पर्सा–४ मा तयारी गरेको थिएँ तर १ नम्बर क्षेत्रबाट उम्मेदवारी दिनुपर्ने भयो, तै पनि यो क्षेत्रका लागि म कुनै नयाँ व्यक्ति होइन, यो क्षेत्रमा वरिष्ठ अधिवक्ता भएर ३० वर्ष मैले वकालत गरेको छु,’ कर्णले भने ।

यस पटक आफू ‘अन्तिम पटक’ का लागि उम्मेदवार भएको भन्दै उनले मतदाताले आफ्नो राजनीतिक योगदानको मूल्यांकन गर्ने विश्वास व्यक्त गरे । ‘अब अर्को निर्वाचनमा म उम्मेदवार बन्दिनँ, यो मेरो अन्तिम पटक हो,’ उनले भने ।

गठबन्धनबाट आफूले पूर्ण सहयोग प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उनले आफ्नो उम्मेदवारी सत्तारुढ गठबन्धनमा रहेका पाँच पार्टीको प्रतिष्ठासँग जोडिएको जिकिर गरे ।

कांग्रेस जोगाउन मेरो उम्मेदवारी : द्विवेदी

पर्सा–१ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले आफ्नो उम्मेदवारी कांग्रेसलाई जोगाउन केन्द्रित रहेको बताए । ‘जसपासँगको गठबन्धनमा मेयर पनि हामीले जिताइदिनुपर्ने, सांसद पनि अरु दललाई नै बनाइदिनुपर्ने, त्यो अवस्थामा यहाँको कांग्रेसको राजनीति कहाँ जान्थ्यो ?’ उनले भने, ‘म कांग्रेसकै साथीहरुको सल्लाहले उम्मेदवार बनेको छु, कांग्रेसका साथसाथै अन्य राजनीतिक दलका मान्छेहरुबाट आश गरेभन्दा बढी सहानुभूति मैले पाएको छु ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप