सानो लगानीले फेरिएको सुदूर पहाडी गाउँ
कार्य सम्पादनमा कमजोर र सुस्त भनेर सुदूरपश्चिम सरकारको आलोचना हुन्छ । तर प्रदेश सरकारका कतिपय लगानी भने साँच्चिकै अन्धकारमा दीपकको प्रकाशझै भएको उदाहरण पनि पाइन्छ । प्रदेश सरकारकै लगानीका कारण तराईका फाँटदेखि पहाडका बञ्जर पाखा गुल्जार र हरिया छन् । परम्परागत खेती प्रविधिमय छन् । कुनैबेला काममा घिन र लाज मान्ने हातहरु अचेल प्रदेशकै उत्कृष्ट कृषक कहलिएका छन् ।
प्रदेश सरकारको सानो लगानीले गुल्जार भएको एक पहाडी बस्ती हो बाँफी । तीन वर्षअघिसम्म डोटीको दुर्गम बाँफी गाउँवासीले जेनतेन उत्पादन हुने धान, गहुँ र कोदो बालीमा मात्रै भर पर्र्थे । वर्षभरि खान, लाउन नपुगेपछि अन्य ठाउँमा ज्याला मजदुरी गरी जीविकोपार्जन गर्नुपर्ने बाध्यता स्थानीयलाई थियो ।
दीपायल–सिलगढी नगरपालिका–३, स्थित सो गाउँ अधिक गर्मी र सुक्खा भएकैले निर्वाहमुखी खेतीमा मात्रै स्थानीय सीमित थिए । तर पछिल्लो तीन वर्षको अवधिमा भने सो दुर्गम गाउँको मुहार फेरिएको छ । केही वर्ष अघिसम्म हिउँदमा उजाड देखिने फाँट अचेल हरियो देखिन्छ । स्थानीयको आर्थिक स्तर पनि क्रमिक रुपमा सुधार हुँदै गएको छ ।
गाउँको मुहार फेरिनुको पछाडि सामूहिक व्यावसायिक तरकारी खेती हो । कोदो र गहुँ रोपिने खेतमा अब तरकारी खेती हुन्छ । स्थानीयहरु मौसमी तथा बेमौसमी रुपमा तरकारी उत्पादन गर्छन् । आलु, टमाटर, काउली, सिमी, करेला, बोडी, काँक्रोलगायत तरकारी वर्षौभरि उत्पादन गर्न थालेका छन् । आफूले उत्पादन गरेका तरकारी उनीहरु नजिकैको दीपायल पिपल्ला बजारसम्म बिक्री गर्छन्् । तरकारी खेतीले यसरी गाउँको मुहार फेरिन थालेको हो ।
भागेश्वर कृषक समूहका अध्यक्ष झलकबहादुर साउद भन्छन्, ‘धेरै समय भएको छैन । तीन वर्ष अगाडिसम्म चारैतिर पहाडको बीच भागमा रहेको यो समथर ठाउँमा धान, कोदो, गहुँमात्रै हुन्थ्यो । बाली तयार नहुन्जेलसम्म यहाँका मानिसहरु निकै फुर्सदिला थिए । कतिपय पुरुष फुर्सदिला भएपछि जाँड खाएरै समय बिताउँथे, कि तास खेल्थे । तर आजभोलि सबै व्यस्त भइसके । कसैसँग खाली समय छैन । आफ्नै काममा सबै व्यस्त हुन्छन् ।’
कसरी भयो सम्भव ?
बजार तथा सडक सञ्जालसँग जोडिएको बस्ती हो बाँफी । यो बस्ती सुदूरपश्चिम कृषि विकास निर्देशनालय नजिकै छ । तर खेतबारीमा सिँचाइ सुविधाको अभाव र स्थानीयमा सचेतनाको कमीले व्यावसायिकता हासिल हुन सकेको थिएन । कृषि प्राविधिक तथा बाँफीका स्थानीयसमेत रहेका हिक्मत साउदले आफ्नो खेतबारीमा सबैभन्दा पहिले आधुनिक तरकारी सुरु गरेका थिए । तर स्थानीयमा अझै व्यावसायिकताको चेत आउन बाँकी नै थियो ।
समूहका अध्यक्ष साउद भन्छन्, ‘गाउँमा कृषि पढेको हिक्मत साउद नै हुन् । उहाँ गाउँमा समूह बनाऔँ भन्नुहुन्थ्यो । धान, गहुँ खेतीले केही हुँदैन, व्यावसायिक तरकारी खेती थाल्नुपर्छ भन्नु हुन्थ्यो । तर कसरी अगाडि बढ्ने भन्नेबारे चुनौती नै थियो । हाम्रो गाउँमा पनि सम्भावना छ है भनेर उहाँले नै देखाउनु भयो ।’ हिक्मत साउद दीपायल–सिलगढी नगरपालिकाका कृषि शाखा प्रमुख पनि हुन् ।
जब सुदूरपश्चिम प्रदेश सरकार मातहतको कृषि विकास निर्देशनालय डोटीको निर्देशक भइ यज्ञराज जोशी पुगे, तब बाँफीका जमिनमा सम्भावनाको लहर चल्न थालेको हो । निर्देशक जोशीले आफूले स्थानीयलाई तरकारी खेतीप्रति अभिप्रेरित गर्ने अभियान नै सुरु गरेको सुनाउँछन् । उनी भन्छन्, ‘सुरुमा काम गर्न गाह्रो थियो । मुख्य कुरो स्थानीयमा नयाँ मानसिकताको विकास गर्न जरुरी थियो । मैले बस्तीमा गएर भनिदिएँ, तपाईहरु गहुँ रोप्ने खेतमा आलु खेती गर्नुस्, यदि आलु फलेन भने गहुँ बराबरको क्षतिपूर्ति म आफै दिन्छु । अनि स्थानीयहरु अग्रसर भए ।’
स्थानीयहरु भागेश्वर कृषक समूहनै गठन गरेर सक्रिय भए । त्यसपछि प्रदेश सरकार, कृषि विकास निर्देशनालयले सो बस्तीमा बृहत उत्पादन केन्द्र कार्यक्रमनै लागु ग¥यो । सिँचाइको लागि सेती नदीको पानी सोलार पम्प तथा लिफ्टमार्फत खेतबारीसम्म पुर्‍याइयो । खेतमै ६० घनमिटरको पानी ट्यांकी निर्माण भयो । निर्देशनालयले विभिन्न कृषि उपकरण, बिउ बिजनसहित प्राविधिक सहयोग गरेपछि स्थानीयहरु निकै हौसिएका हुन् ।
कृषि विकास निर्देशनालयका सूचना अधिकारी केशव पाण्डेले भने, ‘बाँफी बस्ती नमूना बस्तीको रुपमा विकास हुँदैछ । बाँझो रहने खेतबारी तरकारीले भरिएका छन् । व्यवासायको लागि कृषकहरु आझै अग्रसर छन् । सबै व्यस्त छन् । यो नै सुखद प्रयास हो ।’
सिजनमा ४० हजारदेखि डेढ लाखसम्म आम्दानी
सूचना अधिकारी पाण्डेका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा निर्देशनालयले सो समूहमार्फत् ५० क्वीन्टल आलुको बिउ ५० प्रतिशत अनुदानमा दिएको थियो । त्यसयता स्थानीयहरु स्वस्फूर्त व्यावसायिकतातर्फ उन्मुख भएका निर्देशनालयका सूचना अधिकारी पाण्डे सुनाउँछन् । सुरुका वर्षमा ५० जना स्थानीय कृषकले आलु खेतीमात्रै गरेका थिए । तीन÷चार सय क्वीन्टलभन्दा बढी आलु फलाए । राम्रो आम्दानी गरे । जसले उनीहरुमा उत्साहको सीमा नै रहेन ।
समूहका अध्यक्ष साउदका अनुसार हाल व्यावसायिक तरकारी खेतीप्रति कृषकको संख्या बढ्दो छ भने उनीहरु प्रतिसिजन ४० हजारदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । बाँफीका स्थानीय सागर साउदले सुरु वर्षको उत्पादनले आफूहरुमा निकै हौसला बढाएको बताउँछन् । दुई वर्षको अवधिमा गाउँको स्वरुप नै परिवर्तन भएको अनुभूति उनको छ ।
निर्देशनालयले कृषकहरुको आयस्तरमा वृद्धि गर्न आलुसँगै अन्य तरकारी खेतीका लागि २५ वटा फलामको प्लाष्टिक घर निर्माण, यन्त्र उपकरण र बजारीकरणमा सहयोग दिँदै आएको छ । गड्यौलाबाट कम्पोष्ट मल बनाउने विधि र प्रविधि सिकाउने, विषादी प्रयोग, माटो परीक्षणलगायत प्रविधिक ज्ञान, सीप सहयोगसमेत दिँदै आएको निर्देशनालयका सूचना अधिकारी पाण्डे बताउँछन् । पाण्डेका अनुसार निर्देशनालयले हालसम्म बाँफीमा करिब ३५ लाख रुपैयाँसम्म लगानी गरिसकेको छ ।
चालु वर्ष स्थानीयले तीन सय रोपनीमा आलु खेती गरेका छन् । निरन्तरको बर्खा र हुस्सुले आलु खेती केही प्रभावित भए पनि कृषकहरुमा तरकारी खेतीप्रतिको आकर्षण बढ्दै गएको समूहका अध्यक्ष साउदको भनाइ छ । हाल विभिन्न तरकारीका बेर्ना राखेर उमार्ने काममा स्थानीय कृषक जुटेका छन् । चालु वर्ष तरकारी खेतीका लागि मात्रै ३५ वटा टनेल निर्माण गरेका छन् ।
कृषि विकास निर्देशक जोशी भन्छन्, ‘कृषकहरुको आम्दानी तत्काललाई धेरै हुन नसके पनि गाउँमा परिवर्तन आएको छ । हरेकका सोचाइमा परिवर्तन ल्याउन सफल भएका छौँ । प्रदेश सरकारको केही लगानीले दिएको यो नै ठूलो प्रतिफल हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना