मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोनाको पराजय

बिहीबार, १० कात्तिक २०७९, ०९ : १९
बिहीबार, १० कात्तिक २०७९

सबैतिर छ लकडाउन । पसल, गाडी, स्कुल, कलेज, कलकारखाना सबै सटडाउन छ । कसरी आयो यत्रो हाहाकार मच्याउने आँधीबेरी । धेरैजसो मानिसहरू घरभित्र बन्दी हुन बाध्य छन् । घर नहुनेहरू वा अस्थायी जागिर हुनेहरू आफ्नो घर फर्कन सडकमा लामबद्ध भएर भोकै र प्यासै हिँडिरहेका छन् ।

कोरोना कहर जताततै छ । गाउँदेखि सहरसम्म, देशदेखि महादेशसम्म यसले आफ्नो विध्वंसकारी चरित्र देखाइरहेको छ । लकडाउन भएको झण्डै डेढ महिना  नाँघिसकेको छ ।  अब केही हल्का होला भन्दा भन्दै नेपालमा कोरोनाबाट सुत्केरीको मृत्यु भएपछि अझ त्रास बढ्दै गएको छ ।

मन अशान्त छ, छटपटी छ, वेचैन छ । किन हो, मास्तिष्कले के सोचिरहेछ, थाहै पाउँदिनँ । कहिल्यै त्यसै रिसाउन मन लाग्छ । कहिले कहाँ जाउँ, कहाँ जाउँ हुन्छ । आजकल त बिहान तीन बजे निन्द्रा टुट्छ । बिहान केही समय योगा गरेर चिया नास्ता खाएर फेरि खाना पकाउन सुरु गरिहाल्छु । 

जेठो छोरा आइपुग्छ, किचनमा ल्यापटप बोकेर ।

ऊ भन्छ, ‘मम्मी चिया खाऊँ न ।’

मलाई झनक्क रिस उठ्छ । म भन्छु, ‘म अब सक्दिनँ, आफै पकाएर खा । त्यही एउटा ठाँडोमा झुन्डिएको छ, झुन्डिएको छ । बुहारी लिएर आइज । घरधन्दा हेर्छे भनेको नि सुन्नु छैन ।’

छोरा नम्र भएर भन्छ, ‘उसलाई अहिले बिहे गर्नु छैन रे मम्मी । उसको करिअर बिग्रन्छ रे । जागिर छ, फेरि पढदै पनि छे ।’

‘हो उसको करिअर बिग्रन्छ । म बूढो हड्डी खियाइ रहुँ ? यो घरधन्दा भन्ने कुरा सानो हो ? दिनभरी यही भान्सामा बित्छ मेरो । अझ लकडाउन भएदेखि त यो घरको भान्से बज्यै जस्तै भा छु म ।  त्यत्रो फेसन डिजाइनर मान्छे, यो घरको सुसेधन्दाले समय खान्छ ।

फेरि यो कोरोना असत्तिले त्यत्रो व्यापार डामाडोल हुने भो । पसलको भाडा कसरी तिर्ने होला ? ती बुटिकका फेशनदार लुगा किन्न को आउला ? विहेको सिजन थियो, कति कमाइ हुन्थ्यो । सब हावामा उडेर गयो । अब कसले किन्छ, त्यत्रा महँगा लुगाहरू ? मान्छेलाई खानु र बाँच्न नै धौ धौ हुने भयो ।’ 

यस्तो गनगन छोरालाई भन्न मन थियो तर भन्न सकिनँ । यी वाक्य भित्रभित्रै दविएँ । तर मुखबाट चाहिँ अर्कै वाक्य निस्कियो ।

‘तिमीहरू बाउ–छोरा दिनभर तास खेलेर, लुडो खेलेर, टिभी हेरेर मात्रै बस्छौ । मलाई काम सघाए पनि हुने नि ।’

प्रायः शान्त रहने म अलिक रिसाएर बोलेको सुनेर छोरो नम्र हुँदै भन्न थाल्छ ।

‘मम्मी हजुर किन रिसाउनु भएको । काम गर्ने फूलमाया छँदै छे नि । ऊ सबै काम गर्छे त ।’

 किन हो मलाई निकै रिस उठिरहेको थियो । म अलिक चर्को स्वरमा बोल्छु ।

‘हो तिमेरु काम गर्ने छ भनेर सोच्छौ, हैन ? उसलाई पनि त अह्राउन पर्यो । फेरि उसको घरमा केटाकेटी स्कुल जाँदैनन् ।  घर छिट्टै पुग्न परो । अनि यो घरमा कति काम हुन्छ, तिमीहरूले हिसाब गरेका छौ ? बरु नीतालाई  खुरुक्क बुहारी बनाएर लिएर आइ हाल । मलाई कामको बोझ कम हुन्छ । कति रिलेशनसिपमा बस्छौ ?’

‘मम्मी रिल्याक्स । अरू दुई वर्ष हेरौं न, उसको प्रमोशन हुन्छ, अनि विहे गरुँला । प्राइवेट बैंकमा काममा कति खटाउँछ । म त अहिले घरव्यवहार हेर्न सक्दिन भन्छे ।’

‘अहिलेका केटीहरू हामी जस्ता हुन् र ? हाम्लाई त मारे पाप पाले पुण्य भनेर तील, जौ समाएर क्रिया सारेर दिएका हुन् । काँचो माटोजस्तो थियो दिमाग जे सिकाए नि सिक्ने । विरोध कहिल्यै गर्न नहुने । जे भने पनि ज्यू, हजुर हवस् बाहेक केही बोल्यो घरका सबैका आँखा पोल्ने, मन पोल्ने ।

कताबाट आफूले अनेकौ दुःख हण्डर खाएर फेशन डिजाइनर सिकियो । नत्र त उही हो उनीहरूको सम्पत्ति खान परेको भए आज कुन हालत भइसक्थ्यो । अहिलेका केटीहरू हामीजस्ता हुन् र ? कति धेरै कुरा सोच्ने भइसके । कति परिपक्व भइसके । रोमान्स गर्ने केटो पाएकै छ । घरमा बाउआमाले सबै कुरा ठीक्क पारदिएकै छन् । आफँ स्ववालम्बी बनेका छन् । आफै निर्णय गर्न सक्ने भएका छन् । यस्तो पो जिन्दगी त । हाम्रो जस्तो अभागी जिन्दगी हो र ?

हामी माथिका पुस्ता बाउआमाका सारा आदर्श र संस्कार बोकेर हिँडिदिनु पर्ने अनि व्यवहारमा पनि उतार्नु पर्ने । कतै दायाँबायाँ गर्न नहुने ।  यति गर्दा पनि कहिल्यै सासूससुरा, बाउआमालाई खुसी पार्न सकिएन । हामी मुनिका पुस्ता आफ्ना छोराछोरीको पनि कुरा सुनिदिनुपर्ने । उनीहरूको साइकोलोजी बुझेर व्यवहार गर्नुपर्ने । उनीहरू भने खालि आधुनिकतामा रमाउन चाहने । हाम्रा भावना, विचार र आर्दशका कुरा पटक्कै नसुन्ने ।

यी दुई पुस्ताका बीचका हामी कति धेरै चेपुवामा परेर निसास्एिका हुन्छाँै । हामी माथिका पुस्तालाई पनि सधैँ खुसी बनाउनमा नै हाम्रो जिन्दगी बित्यो अनि मुनिका सन्तानका मनोभावना विचार र धारणामा आफूलाई ढाल्दै बित्यो । कति अभागी हाम्रो पुस्ता त ?’

मनमा यिनै कुरा खेलिरह्यो । छोरालाई भन्छु भन्छु भनेर सोच्दा सोच्दै मुखबाट त अर्कै कुरा पो निस्कियो । आजकल किन हो मलाई यस्तै हुन्छ । चित्त नबुझेको एउटा कुरा भन्छु भन्यो, मुखबाट अर्कै कुरा निस्किन्छ । यो बुढेसकालको लक्षण हो कि कतै कोरोनाको असर पो हो कि ! एउटा कुरा भन्छु भनेर सोच्छु दिमाग अन्तै मोडिएको हुन्छ ।

‘खै भाइ के गर्दैछ ? उठेको छैन ? खाजा पकायो त्यसै हुन्छ । खाना पकायो त्यसै हुन्छ । खाने होइन । के भा छ, त्यसलाई हिजो आज ?’

‘मम्मी खै त्यसलाई लभ टे«जडी पर्यो रे । सलिनासँग ब्रेकअप भयो रे । सिरियस छ । खान मन लाग्दैन भन्छ । बेलुका पनि म एक्लै खाएर सुत्न गएँ, हजुर सम्झाउनु है त्यसलाई ।’

‘यत्रो तन्नेरी छोरालाई कसरी सम्झाउनु ? यस्ता लुगा फेरेजस्तो केटाले केटी फेर्ने, केटीले केटा फेर्नेलाई पनि केको लभ टे«जडी पर्छ । किन सिरियस हुनु ? अहिले बेला नै यस्तै छ । सबैलाई टेन्सन छ । बुझनु पर्दैन ?’

म अलिक झर्कोफर्को गरेको मेरो श्रीमान्ले सुनिराख्नु भएको थियो । उहाँले हामी भए ठाउँमा आएर भन्नुभयो, ‘आज अलिक घाम लाग्ला जस्तो छ । काठमाडौंमा पानी नपरेको धेरै भयो । गर्मी बढ्ला जस्तो छ ।’ बाउछोरा आँखा आँखाले इशारा गर्दै हाँस्न थाले ।

छोराले भन्यो, ‘हो बुवा आज त अठ्तीस डिग्री होला जस्तै छ, चौतीस त पक्कै हुन्छ होला ।’

उनीहरूको कुरामा मेरो ध्यान मोडिएको बहाना गर्दै बाहिर हेर्छु ।  मेरो ध्यान मोडिन्छ । प्रायः घरमा यस्तो डिस्कस हुँदा मेरो ध्यान अन्तै मोड्न मेरो श्रीमान् यस्तै चलाखी गर्नु हुन्छ । म पनि बुझेर पनि नबुझेझँै गर्छु । बुझलाई राम्रोसँग चबाएर निलिदिन्छु अनि अबुझ उग्राइदिन्छु । मेरो अबुझार्ई उग्राइ देखेर आफ्नो मिशन सफल भएकोमा उहाँ खुसी मान्नुहुन्छ । यो बुझाइ र अबुझाइको भ्र्रममा हाम्रो जीवनको घामछाँया वर्षौदेखि चलिआएको छ । यही घामछाँयाले मेरो जीवनमा लागेको इन्द्रेणी रंगलाई खुसी सम्झेर बाँच्नु नै सिमोन द वुभरको दोस्रो दर्जाको नागरिकको नियति बनेको छ ।

मलाई दिक्क लाग्छ । हेर्छु बाहिर घाम मजाले लागेको छ । ओहो ! भिटामिन डि कम भएको मान्छेले बिहानको घाममा बस्दा राम्रो हुन्छ भनेको सम्झन्छु । फेरि भिटामिन डि कम हुनेलाई कोरोनाले अलिक सिरियस पारेको छ रे भन्ने विदेशको समाचार सम्झन्छु । बरु घाममा बसेर बोडी केलाउनु पर्यो  । बिनासित्तिको छोरासँगको विवादलाई बिट मार्दै म घाममा बस्छु ।

 त्यही बेला श्रीमान् आउनुहुन्छ अनि भन्नुहुन्छ, ‘आमाको कल थियो मेसेन्जरमा ।‘

‘ए ऽ अनि काटिदिनु भयो ?’

‘काटिदिएको होइन, आउँदा आउँदा यहाँ नेट नै टिपेन, आफै काटियो ।‘

‘भैगो म खाना पकाएपछि कल गरुँला ।’

म विगतमा आमासँग भएको यात्राको घामपानीमा रुझ्न पुग्छु ।

आमा भन्ने गर्नुहुन्थ्यो, ‘जेठीबाठी छोरी होस् तँ । तैँले नगरे कसले गर्छ । तेरो भाइबहिनी सानै छन्, बाउ पनि काम गर्न नसक्ने भए । जोरीपारीको अघि के गर्छस्, बाउ रोगी भए । यसो औषधि उपचार गरेर पठाइ दे छोरी । काठमाडौंमा राम्रा डाक्टर छन् भन्छन् । हस्पिटल पनि पनि राम्रो छ रे ।‘

यो मेरो जीवनको बर्खे झरी थियो, मैले कमाउन थालेपछिको । आर्थिक अभाव र अन्य समस्याले जति चुटे पनि मैले यो बर्खे झरी खेप्तै बाउलाई उपचार गरेर पठाइदिएँ ।

केही समय पछि आमाको फेरि फोन आयो यसरी, ‘छोरी के गर्छस्, भाइलाई क्याम्पस पढाउन सकिएन । आम्दानी केही छैन । यता विग्रन्छ कि भन्ने डर उस्तै छ । उसका साथी संगत राम्रो छैन । उतै लगेर पढाइदिइस् भने तँलाई ठूलो धर्म हुन्छ । तँ छोरी हैन, छोरो भएर जन्मेको रहेछस् । सकेसम्म जुवाइसँग सल्लाह गरेर यति गरिदे छोरी । बाउआमाको भारबाट मुक्त हुन्छस् ।’

यो मेरो लागि हिउँदे झरी थियो । काठमाडौंको महँगी र अभावमा मेरो जीवन  हिउँदको चिसोे सिरेटोले झैँ कठयाङ्याग्रिए पनि सहनै पर्ने थियो । त्यसमाथि भाइको सम्पूर्ण लालनपालन र पढाइ खर्च ब्योर्होनु पर्र्दा हिउँदको चिसोमा झरी परेर  इन्तु न चिन्तु बनेको  थियो मेरो जीवन । यो झरीमा रुझ्दै मैले भाइलाई डिप्लोसम्मको सिढी उक्लाइदिए ।

पढाइ सकेपछि भाइले अमेरिका जाने इच्छा गरयो । उसको इच्छालाई मार्ने वा बदल्ने कुनै अस्त्र नै हामीले पाउन सकेनौ । अन्तमा काठमाडौंमा साह्रै दुःख गरेर जोडेको सानो घडेरी बेचेर भए नि मैले भाइलाई अमेरिका पठाउने विचार गरेँ । नभन्दै यो योजना सफल भयो । आमा बुवा भाइहरू साह्रै खुसी भए । म भने मेरो मुटुको टुक्राझैं कति दुःख गरेर जोडेको जमिन बेच्न परेकोमो दुःखी थिएँ ।

मेरा दुई छोरा नि हुर्किदै थिए । म काठमाडौंमा चिटिक्क परेको सानो सुन्दर घरको सपना देख्न थालेकी थिएँ । मेरा सपना दिनमा देखिने सपना नभइ रातमा मात्र देखिने सपनामा सीमित हुन थाल्यो । भाइले अमेरिका गएर पैसा पठाउला अनि घर बनाउँला भनेर रातमा पनि नसुती नसुती देखेको सपना दिनपर दिन टुक्रिदै र छरिदै जान थाल्यो । म तिनलाई समेटन र बटुल्न नसक्ने अवस्थामा थिएँ । त्यो सपना साकार हुने सपना नभएर सुत्न नदिने सपना भएर निस्कियो ।

मेरो भावना र चाहना बुझेर मेरी आमा मेरो आत्मालाई मर्म हुने गरी लक्ष्यभेदी वाण हान्दै भन्नुहुन्थ्यो, ‘भाइ अमेरिका गएको छ । पैसा पठाइहाल्छ नि, अनि एउटा घर बनाउनु । तिमीहरूले धेरै गर्यौ माइतका लागि । तँ छोरी हैन, छोरा भएर जन्मेको रहिछस् । बाउआमाको जन्म दिएको भार तिरिस् छोरी तैँले । तेरा दाजुहरू मरेजस्ता भए । उनीहरू खेती किसानी मान्छे खासै पैसा हुँदैन । भए गर्थे होलान् । भाइलाई पढाइबढाइ गरेर विदेश पठाइस् । तिमीहरू नै बाउआमा हौ । मैले भाइलाई पनि भनेको छु हामीलाई केही गर्न पर्दैन । खान लाउन छँदै छ । दिदी भेनाजुलाई गर्नु । उनीहरूले कति दुःख गरेर हुर्काएका छन् ।

आमाको यो लक्ष्यभेदी वाण अर्जुनको कहिल्यै हुन सकेन । त्यो वाणले कहिल्यै लक्ष्य पुरा गर्न सकेन । म मनमनै भन्थे, ‘भोलि छोरीले दःुख पाउछे अनि नाति नातिनासहित स्याहार गर्नुपर्छ भनेर  मारे पाप पाले पुण्य भनेर क्रिया सारेर दिने हाम्रो हिन्दू संस्कृतिमा छोरीको कमाइ खाने बेलामा चाँहि त नै छोरा होस् भन्दै छोरीको आश गर्छन् बाउआमा । कस्तो संस्कार हो ! पैसाको लागि त संस्कारको अर्थ जता लाँदा नि हुने रहेछ नि । छोरीलाई नि छोरासरह हुर्काए भैहाल्यो, किन क्रिया सार्नु परयो र ? छोरा र छोरी एउटै हो भनेर संस्कारमा रहेको कुरीति सच्याउन मिल्दैन र ?

 हिन्दू धर्ममा भएका यस्ता कति कुप्रथा कुरीतिहरू समयअुनसार सच्चिदै गएका नै हुन् त ? त्यसो छोरीलाई नै छोरा सरह अंश दिने र क्रिया गर्ने अधिकार किन दिँदैन हाम्रो संस्कारले ? म यस्तै कुराले विचलित हुने गर्दथे ।

एक वर्ष दुइ वर्ष गर्दै भाइ अमेरिका गएको पाँच वर्ष भयो । तर उसले पैसा पठाउन सकेन । म नराम्ररी विचलित बनें । भाइ अमेरिका जाँदा बेचेको जमिनको भाउ दस गुनाले बढेको थियो । अब त मैले किन्न सक्ने अवस्थै थिएन । एक दिन त भाइले पैसा पठाउला भन्ने झिनो आशा लिएर बाँचेकी थिएँ र बाँचिरहेकी छु ।

एकछिन पछि जेठो छोरा ं‘मम्मी  मम्मी’ भन्दै चिच्याउँदै आयो ।

‘किन के भयो ?’ मेरो प्रश्न थियो ।

‘आमाले फोन गर्नुभएको छ, मेरो मोबाइलमा । अघि मेसेन्जरमा लागेन भनेर भन्दै हुनुहुन्थ्यो ।’ (ऊ मेरो आमालाई आमा नै भन्दथ्यो)

‘ये खै ले कुरा गर्छु । अघि पनि गर्नुभएको थियो रे ।‘

‘हेलो...आमा  दर्शन..हजुर ऽ अँ ऽ  हजुर ऽ’

‘के रे ? फोन लागेन रे ? ये ल..ल म गर्छु ।  अनि तपाईंलाई गरुँला । पीर नमान्नुस् ।’

यति भनेर मैले फोन राखिदिएँ । मेरो आँखाभरि आँसु भरियो । श्रीमान्ले सोध्नुभयो, ‘के भयो ?‘

‘विपिनको फोन लागेन रे आमाले भन्नुभएको, अब के गर्ने होला ?’

‘अनि तिमी किन रोएकी त ?’

‘न रोएर के गर्नु ? हेर यो कस्तो आपत आइपर्यो । मेरो बूढीआमालाई कत्रो चिन्ता पर्यो । विपिनलाई ज्वरो आएको छ भन्थ्यो रे । अमेरिकामा मान्छे मरेको मरै छ । यो ट्रम्प पनि कस्तो मान्छे रहेछ । उसको अर्थव्यवस्था बिग्रन्छ भनेर जति मान्छे मरे नि मरोस् भन्छ । उसका लागि त मान्छेको जीवनको कुनै मूल्य रहेनछ । सुरुमा उसैलाई कोरोना लागे पनि हुने अनि थाहा पाउँथ्यो, मान्छेको ज्यानको महत्व कति हुन्छ भनेर । विपिनलाई केही भइहाल्यो भने के गर्ने होला ? लौन तपाईंका एनआरएनका कोही चिनेका मानिस छन् भने हारगुहार गर्न पर्यो ।’

मेरो कुराले मेरो श्रीमान्लाई अलिकति पनि छोएको थिएन ।

‘हैन तपाईंलाई केही हुँदैन ? जस्तै भा नि आफूले बाउआमासरह हुर्काएर पढाएर बढाएको साला हो । साला हरामी नै त होइन नि । अलिकति माया त हुनुपर्ने हो । कुनै चिन्ता पीर देख्दिनँ ।’

‘मलाई त तिमीलाई देख्दा पो ताज्जुव लाग्छ । हिजोसम्म मैले यति गरे, उति गरे, उसले मलाई केही गरेन । केही हेरेन । मेरो गुण सम्झेन भन्थ्यौ । अहिले फेरि यो चिन्ता कहाँबाट आयो ?’

मैले भनेँ, ‘हो हामी महिला र तपाईंहरू पुरुषमा यही कुराको फरक छ । तपाईंहरू जे कुरा पनि मनमा राख्ने अनि गुन्ने । केही नभन्ने अनि, जे कुरालाई पनि जहिले पनि पैसामा तौलिने । यस्ता दुःखले हामीलाई मात्र पिरोल्ने । सारा दुःखको ठेक्का लिइदिने हामी त हौ नि ?

तीजमा भोकभोकै बसेर तपाईंहरूको आयु लामो पारिदिने हामी । भाइटीकामा दाजुभाइको पूजा गरेर आयु र सुस्वास्थ्यको कामना गरिदिने हामी नै त हौँ नि । अनि तपाईंहरूलाई किन पीर लिन पर्यो र, हैन ?

जे भए नि भाइ हो । मैले छोराजस्तै गरी हुर्काएको हुँ । पैसा पठाएन त के भो ? मेरो मायालाई पैसासँग त तौलिन  सक्दिनँ नि म । पैसाले उसको मायालाई विस्थापित गर्न त सक्दिन नि । त्यो माया राख्ने मेरो हृदयमा अर्कै कुना छ । जहाँ समवेदनाको पर्खाल लगाइएको छ, अनि मीठामीठा भावनाले लिपपोत गरिएको छ । तपाईंहरू व्यापारिक लेनदेनमात्र सोच्नुहुन्छ । त्यसलाई पगारेर माया, प्रेम, संवेदनामा कहिले बदल्न सक्नु हुन्न ?’

मेरो कुरा सुनेर मेरो श्रीमान् चुप लाग्नुभयो । किनकि म मेरो भाइको मायामा निसास्निे गरी डुबेकी थिएँ । यो कुरा उहाँले थाहा पाइसक्नु भएको थियो ।

भाइको मायाले मलाई भित्रसम्म दुखाउँछ । खान मन लाग्दैन । अमेरिकामा कोरोनाले मान्छेहरू कोठामा सुतेको ठाउँमा नै मरिराखेका छन् । कतिपय कागजपत्र नभएको अवस्थामा लुकेर बस्नेलाई झन् गाह्रो छ रे । मानिसको लाशसम्म गाड्न नभ्याएको टिभीको दृश्यले मेरो मनमा दश रेक्टरको भुकम्प जान्छ । के गरौँ ? कसो गरौँ हुन्छ । हे भगवान् ! यो कस्तो अवस्था आयो ?

संसारलाई नै आफ्नो शक्तिले थरथर कमाउने अमेरिका अहिले सानो जीवाणुसँग आफै कामिरहेको छ । विज्ञानमा यस्तो गरियो, उस्तो गरियो भन्छन् विकसित देशहरू, खै यसको औषधि पत्ता लगाउन सकेको ! एकजना कविले ‘हामी त नाथे मान्छे’ भन्दै कविता लेखेको देखेकी थिएँ, त्यस्तै भइसक्यो । कत्रा कत्रा विज्ञानको चमत्कारले अचम्म पार्ने कुराहरू गरेको थियो मान्छेले । कति घमण्ड गरेको थियो मान्छेले तर अहिले खै के गर्न सक्यो र ? अहिले त एउटा जाबो आँखाले नदेख्ने जीवाणुसँग डराएर घरमा लुकी बस्न ुपरेको छ । 

भाइलाई सम्पर्क गरें, हुन सकेन ।

आमाले भन्नुभएको थियो, ‘उसलाई ज्वरो आइराखेको छ रे । हस्पिटलमा पनि भर्ना लिन मानेन रे । साधारण ज्वरोको औषधि दिएर पठाएछ, छोरी के हुने हो ? खाली यति मानिस मरे, उति मरे भनेको मात्र सुन्छु । के कसरी हुन्छ, त्यहाँ कोही नेपाली छन् कि खोजखवर गर्नु पर्यो छोरी ।’

हो त साँच्चि आमाले भनेजस्तै त्यता कोही नेपाली पो छन् कि चिनेका ! मेरी एकजना साथी टेक्सासमा नै बस्छु भन्छे, त्यसलाई सोधीखोजी गर्न पर्यो । आखिर विदेशमा नेपालीको सहयोगी अरू को हुन्छ र ? आफ्नै नेपाली दाजुभाइ त हो नि । गरिराखेका पनि छन् । तर खै आफूलाई त उसको सम्पर्क ठेगाना पनि थाहा छैन । अब त पशुपतिनाथको भरोसा पर्नु सिवाय केही रहेन ।

म रातदिन भाइको सम्झनामा डुब्न थालेँ । मेरो घर बनाउने सपनालाई त भाइको मायाको सम्झनाले धुलीपीठी पारिदियो । मलाई मेरो भाइ बाँचेर आए अरू केही चाहिँदैन भनेजस्तै भयो । कतिपटक भाइसँग सम्पर्क गरेँ । अँह, सम्पर्क हुन सकेन ।

हप्ता दिनपछि भाइको मेल आयो । भाइको यो समाचारको पर्खाइ मलाई वर्षौ दिनझँै लागेको थियो । मेल यस प्रकारको थियोः

आदरणीय दिदी भेनाजु

नमस्कार

म भाइ विपिनको ढोग छ । दिदी धेरै दिनपछि सम्पर्क गरिरा’छु । मलाई माफ गरिदिनु होला । मैले तपार्इंहरूको मन दुखाएको छु । मलाई यति धेरै दुःख गरेर बुबाआमाले भन्दा नि धेरै माया गरेर हुर्काउन भयो । पढाइ लेखाइ गरेर अमेरिका पठाउन मनग्गे खर्च गर्नुभयो । मैले तपाईंहरूको गुणको बदला केही गर्न सकिनँ । म आउँदा लागेका खर्चसम्म तिर्न सकिनँ । मलाई माफ गर्नु होला ।

 म सोच्थे अमेरिका डलर फल्छ होला तर त्यति सजिलो हुँदैन रहेछ । यहाँ आएर यहाँको नियम, कानुन बुझनुपर्ने हुन्छ । केलजको फि बुझाउन, बस्न, खानको लागि अपार्टमेन्टको खर्च जुटाउँदा जुटाउँदै जीवनदेखि नै हरेश लागेर आउँदो रहेछ । मेरा कतिपय साथीहरूले यो टेन्शन खप्न नसकेर सुसाइड गरे । मैले जसोतसो आफूलाई सम्हाल्दै लगेँ । एकदिन त सफल हुन्छु र तपाईंहरुको सपनालाई साकार पार्छु भन्ने सोचको थिएँ र सोचिराखेको छु । म पढाइमा राम्रो हुन सकिनँ मैले राम्रो जागिर पनि पाउन सकिनँ ।

मैले भिसा थप्नको लागि पुनः कलेज एडमिशन गरेँ । खर्च बढ्दै गयो । काम पाउन पनि पहिलाको जस्तो सजिलो थिएन । म नेपाल फर्कन पनि सक्दिनथेँ । अब मैले अमेरिकामै बस्ने उपाय निकाल्न पर्यो । यसको लागि के गर्ने भनेर साथीभाइसँग सरसल्लाह लिएँ । उनीहरूले डिभी परेको केटीसँग विवाह गर्ने सल्लाह दिए । नभन्दै डिभी परेकी निशासँग मैले विवाह गरेँ । तर, यो कुरा गोप्य नै राखेँ ।

विवाह गर्न अघि हामीबिच एउटा सम्झौता भएको थियो, त्यो के भने मेरो कमाइमा उसको अधिकार हुने । नभन्दै मैले कमाएको जति सबै उसलाई बुझाउनु पर्दथ्यो । पहिला कलेजलाई खान, बस्नलाई ठीक्क हुन्थ्यो भने अब मैले सबै रकम निशाको हातमा दिनु पर्दथ्यो । मैले यो शर्त स्वीकार गरेको थिएँ । केही समयपछि आफँै सबै ठीक हुनेछ भन्ने सोचेर यो गरेको थिएँ ।

तपाईंहरूलाई खुसी दिन नसकेको पीडाले म भित्र भित्रै जल्दथेँ । यो कुरा म निशालाई सुनाउन धेरै चोटि प्रयास गरेँ तर सकिनँ । बिस्तारै सबै ठिक होला भन्ने लागेको थियो । अन्तिममा मैले एकदिन उसलाई यो कुरा सुनाएँ । उसले यसलाई सहज रुपमा लिन सकिनँ । पहिला किन नभनेको भनेर उल्टै झगडा गरी । त्यसपछि म तनावमा हुन थालेँ । म मनोरोगी बन्दै गएँ । बिस्तारै पबतिर रक्सी खाने लत बस्दै गयो । ममा अझै आशा थियो, एकदिन तपाईंको भारबाट म मुक्त हुन्छु भन्ने तर यो कोरोना महामारीले सबै तहस नहस पारिदियो ।

मलाई ज्वरो आएको सात दिन भइसकेको छ । डाक्टरहरूले घरमा नै बस् भनेका छन् । अनलाइनबाट सोधीखोजी गर्छन् । अस्पतालमा बेड छैन भन्छ । जीउ दुखेर खप्नु भएको छैन । श्रीमतीले ल्याएर राखिदिएको खाना अनि यहाँसम्म कि पानी पनि उठाएर खाने शक्ति ममा छैन । यो मेल पनि मैले मुश्किलले लेखि राछु । मन सधैँ नेपालमा हुन्छ । तपाईंले बिमारी हुँदा स्याहार गरेको सम्झना आउँछ ।

दिदी, तपाईंले भाइटीकामा पकाएको सेलरोटीको वासना हरहर आइरहन्छ । उडेर आफ्नै देश पुगुजस्तो हुन्छ । तर खै ? कसरी होला र ? अमेरिकाको वैभव, चमक धमकमा हामी धेरै युवा अन्धो भएर आयाँै, आफ्नो मातृभूमिको मायालाई बिर्सेर । तर अहिले हामीलाई भगवान्ले प्रायश्चित गर्ने मौका पनि नदेलान् कि भन्ने लागेको छ ।

म भगवान्सँग यही कामना गरिराछु कि मलाई नेपाल गएर प्रायश्चित गर्ने मौका देऊ भनेर । अनि मर्न परेपनि मेरै देशमा मरुँ भनेर कामना गरिरा छु । यदि भगवान्ले मेरो कामना सुने भने म नेपाल आउने छु दिदी, अनि तपाईंको सेवामा जुटनेछु । यदि म आउन सकिनँ भने मलाई माफ गरिदिनु दिदी । आइ एम भेरी सरी ।

उही तपाईको अभागी भाइ विपिन

भाइको यो मेलले मेरो हृदय भारी भएर आयो, अनि आँखाले हृदयको बोझ थाम्न नसकी तरल बनाइ पोखिन थाल्यो । मैले भेललाई थाम्न सकिनँ ।

‘उफ मेरो भाइ तिमीलाई केही हुनुहँुदैन र हुँदैन पनि । तिमीले कोरोनालाई जितेर आउनुपर्छ ।  भाइ तिमी आउनुपर्छ । कोरोनाको पराजय हुनैपर्छ ।’

म मेलका शब्द शब्दमा भक्कानिन्छु ।

 हृदयले भाइको मायालाई वेदनामा पोख्दै उच्छवास लिन थाल्यो । मैले भगवान्लाई मेरो भाइको चिरिन्जीवी आयुको लागि प्रार्थना गरेँ ।

भाइटीकामा भाइको लामो आयुको लागि यमराजबाट जोगाउन गरेको संस्कार मनमनै कल्पना गरेँ अनि प्रार्थना गरेँ, ‘हे यमराज तिमी कोरोनारूपी मृत्यु बोकेर आयौ भने मेरो भाइलाई केही गर्न सक्नेछैनौ । किनकि यो एउटी दिदीको भाइप्रतिको असीम प्रेमको शक्ति हो । त्यो शक्तिले तिमी कोरोनालाई कदापि विजयी हुन दिने छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप