आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तिहारमा फुल र माला पाउनै मुस्किल

बिहीबार, १० कात्तिक २०७९, ०७ : ०४
बिहीबार, १० कात्तिक २०७९

कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा दर्जनौँ नागरिकले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको हो । 

टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए । “घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उनले भने, “डेढ विघाहमा खेती गरेको छु । उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्किए ।” ४ वर्षअघि १० कठ्ठा जमीनबाट यो पेशा थालेका सितारामले व्यवसाय विस्तार गर्दै लैजानुभएको छ । सिताराम जस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यवसायिक खेती गरेका छन् । तिहारमा बजारमा फुलका माला तिहारको दुई दिनमै सकिएका व्यापारीहरुले बताउँछन् । 

जानकी गाउँपालिका ४ कि समिरा धामी माला किन्न बुधबार टीकापुर बजार आइन् । मखमली फुलका माला किन्न आएकी समिरा माला नपाएपछि रित्तो हात फर्किन् । “मखमली फुलका माला लगाउने हाम्रो चलन, बजारमा तयार पाइन्छन् भनेर ढुक्क भए, यहाँ त सकिएका रहेछन्”, उनले भनिन्, “फुलका माला नपाएपछि प्लाष्टिकका माला लिएर जाँदैछु । के गर्नु प्लाष्टिकका माला कहिल्यै प्रयोग गरेका थिएनौँ ।” टीकापुर ३ कि रमिता विकले पनि बजारमा माला पाइनन् । उनी पनि माला किन्न बजारसम्म पुगेकी थिइन् । “माला नपाएपछि गाउँमै फुल खोज्न थालेकी छु”, उनले भनिन्, “विगतमा गाउँमा फालाफाल फुल हुन्थे, घरघरमा फुल रोपेका हुन्थे, पछिल्ला केही वर्ष गाउँमा फुल पाउन कठिन छ ।”

कैलालीमा फुल खेतीका लागि जग्गा अभाव छैन । हरेक नागरिकका घरमा २÷४ कठ्ठा जमीनमा छन् । एक कठ्ठा जग्गा नभएका निकै कम छन् । यसरी घर वरिपरि जग्गा हुँदा पनि मानिस २ बोट फुल रोप्दैनन् । घरमै फुल रोपेको भए आज फुल र माला अभाव नहुने जेष्ठ नागरिक धौली न्यौपानेले बताइन् । “हाम्रा पालामा घर वरिपरि फुलैफुल हुन्थे, कहिल्यै माला, फुल खोज्न, किन्न परेन”, उनले भनिन्, “हामी फुलबारीले घर सजाउँथ्यौँ, अचेल त घरभित्र सजाउने, चाडपर्वमा आवश्यक फुल बजार गएर किन्छन् । मानिस कति अल्छी भएका हुन् ।”

तिहार सौन्दर्यताको पर्व पनि हो । तिहारमा झिलिमिली बनाउने, घर आँगन रंगाउने, पूजाआजा गर्ने गरिन्छ । यसबेला अन्य समयभन्दा बढी फुल प्रयोग गरिन्छ । बजारमा माला र फुल अभाव भएपछि प्लाष्टिकका मालाको व्यापार पनि राम्रो भएको छ । व्यापारी शिव चौधरीले फुलका माला नपाएपछि धेरै मानिस प्लाष्टिकका माला किन्न आएका बताए । संस्कृतिप्रेमी पवनदेवी तिमिल्सिनाले हरेक मानिसले घरघरमै फुलबारी बनाउन आवश्यक रहेको बताइन् । “घरमा थोरै भए पनि फुलबारी चाहिन्छ, फुलबारी मासेर विभिन्न संरचना बनाएका घर धेरै छन्”, उनले भनिन्, “घरघरमै २/४ बोट फुल लगाएका भए अहिले अभाव हुने थिएन । वरिपरि जग्गा भएर पनि फुल किन्ने हामी नेपालीको बानी अनौँठो छ । यहाँको फुल सकिएपछि भारतबाट आएको फुल बिक्री भएको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप