फूल नपाएपछि निराश हुँदै रित्तो हात फर्किए ग्राहक
तिहारको अघिल्लो दिनमै फूल सकिएपछि ग्राहक निराश बनेका छन् । फूल खरिद गर्न बुधबार बिहानै रामपुर नगरपालिका–४ देवीस्थानको फूलबारीमा ग्राहकको ठूलो भीड देखिन्थ्यो ।
यहाँ उत्पादन भएका फूल सकिएपछि धेरै ग्राहक रित्तो हात घर फर्किएका छन् । टीकाको दिनलाई अघिल्लो दिनमै बन्दोबस्त गरेर राख्न फूलबारीमा पुग्दा रित्तो बोटमात्रै रहेको गीता पौडेल बताउँछिन् । “एक हप्ताअघि माग गरे पनि ग्राहकको भीड थेगिनसक्नु हुँदा खाली हात घर फर्कनुपरेको छ”, उनले भनिन्, “व्यावसायिक फूलखेतीमा लगानी गरेर यसलाई विस्तार गर्नुपर्नेछ, रामपुरमा फूलखेतीको प्रवद्र्धन गर्नुपर्ने देखिएको छ ।”
बिहान करिब ७ बजे नै फूलबारीमा पुग्दा सबै बोटमा फूल सकिएको अवस्था रहेको दीपेन्द्र भट्टराईले बताए । फूलको महत्त्व तिहारमा ठूलो रहे पनि गाउँमा फूल अभावको समस्यालाई निराकरण गर्न उत्पादनमा जोड दिनुपर्ने उनी बताउँछन्।
“फूल लिन भनेर बिहानै उठ्ने बित्तिकै आइयो, एउटा माला पनि पाउन सकिएन, गाउँघरमा कतै पनि फूल छैन, हामी उपभोक्ता फूल अभावमा कृत्रिम माला खरिद गर्न बाध्य हुनुपरेको छ”, उनले भने । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि गलामा सयपत्री र मखमली फूलको माला लगाउने चलन रहेकाले फूलमालाको विशेष महत्त्व रहन्छ । फूल खरिद गर्न आएका ग्राहक आज बिहानमात्रै करिब तीन सय बढीलाई रित्तै पठाउनुपर्दा दुःख लागेको व्यवसायी दिलबहादुर थापा बताउँछन् ।
उनी भन्छन्, “बिहान म नउठ्दै ४ बजे नै स्थानीय ग्राहक आफैँले फूलबारीमा पसेर सबै फूल टिपेर उज्यालो नहुँदै सकियो, तौल लिन घरमा आउँदा म आफैं झस्किए, बगैँचामा सबै फूल सकिएका छन्, सयौँ ग्राहकलाई रित्तो हात फिर्ता गराउनुपर्दा नमज्जा लागिरहेको छ ।”
यहाँको बगैँचामा कोपिला लाग्दै गरेका फूल पनि ग्राहकले अभाव भएपछि टिपेर लगेका छन् । गाउँघरमा यस वर्ष कतै फूल फुलेको देखिँदैन । स्थानीय फूलको जात लोप भएकाले पनि अहिले अभाव छ । “देउसीभैलो, विभिन्न सङ्घसंस्थाको आयोजनामा गरिएको दीपावली पूजामा फूल खरिद गर्ने यसपटक धेरै बढे, गाउँमा व्यावसायिक उत्पादन गर्ने कोही छैनन्, तिहारको अघिल्लो दिनमै सबै फूल सकियो”, थापाले भने ।
तिहार सुरु भएदेखि आजसम्म थापाले करिब रु एक लाख ५० हजारको फूलमाला बिक्री गरेका छन् । तीन वर्षदेखि यस व्यवसाय थालनी गरे पनि यसपटक धेरै ग्राहकलाई फूलमालाबिना फर्काउनु परेकामा दुःख मनाउ गर्दै अर्कोपटक उत्पादन बढाउने थापाको भनाइ छ ।
दसैँ–तिहार, विभिन्न महत्त्वपूर्ण कार्यक्रम सन्दर्भ पारेर फूलखेती गर्छन् । आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनलाई लक्षित गरी फूल विस्तारै तयार हुँदैछन् । स्थानीय तहको निर्वाचनको समयमा मात्रै रु एक लाख ५० हजार बराबरको फूलमाला बिक्री गर्न सफल भएका छन् ।
नेपालगञ्ज, बुटवल, तानसेन, पोखरालगायत विभिन्न ठाउँबाट माग धेरै आए पनि स्थानीयवासीलाई पहिलो प्राथमिकता दिएर व्यापार गरिरहेका छन् । प्रतिमाला रु एक सय, प्रतिकिलो फूल रु पाँच सयमा धमाधम घरबाटै बिक्री हुँदा व्यवसायमा उत्साह थपिएको उनकी श्रीमती सुकमाया थापा बताउँछिन् ।
फूल खेती सुरु गरेपछि उनको पहिचान नै फेरिएको छ । करिब एक दशक विदेश बसेर गाउँ फर्केलगत्तै फूल खेती गरेपछि समाजमा नाम र दाम दुवै पाउँदा व्यवसायबाट उनी सन्तुष्ट छिन् । हाइब्रिड जातका फूल आउन थालेपछि घरका आँगन, डिल, करेसाबारीमा फुल्ने फूल हिजोआज खासै देखिँदैन ।
यहाँ ढकमक्क फुलेका फूलले सबैको मन लोभ्याएको हुन्छ । टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न बालबालिकादेखि युवायुवती, वयस्क उमेरसम्मका पुग्ने गर्दछन् । करिब १५ मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ ।
फूलखेतीबाट आफू मात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उहाँको सपना छ । एक वर्षमा तीन पटकसम्म यसको खेती गर्न सकिन्छ । गत भदौमा धुलिखेलमा दुई दिन र तीन वर्षअघि बुटवलमा एकहप्ते पुष्प व्यवसायसम्बन्धी तालिम लिएका छन् । सो तालिमले व्यवसायमा धेरै सहज भएको दिलबहादुर बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे