दैलेख–१ मा पूर्व सहकर्मीबीच प्रतिस्पर्धा, कसको पल्ला भारी ?
आसन्न निर्वाचनमा दैलेख क्षेत्र नम्बर १ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । यहाँ एमाले, कांग्रेस, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेमकिपा लगायतका दलले उम्मेदवारी दिएका छन् । प्रदेशसभाका दुई वटै क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले प्रतिनिधिसभातर्फ भने नेकपा एकीकृत समाजवादीलाई साथ दिनुपर्ने छ ।
सदरमुकाम समेत रहेको यो क्षेत्रमा नेपाली कांग्रेस बलियो जनाधार रहेको पार्टी भए पनि ०७४ र ०७९ को निर्वाचनमा यहाँ कांग्रेसले उम्मेदवारी दिएको छैन । ०७४ मा वाम गठबन्धनको सामना गर्न कठिन हुने देखेर यहाँ राप्रपालाई साथ दिएको कांग्रेसले यो पटक नेकपा एकीकृत समाजवादीलाई साथ दिनुपर्ने बाध्यतामा छ । यहाँ प्रतिनिधिसभा र प्रदेशसभातर्फ माओवादीको भने उम्मेदवार छैनन् ।
०४८ साल यता लगातार चुनाव लड्दै आएका कांग्रेसका गणेश खड्का ०७० को चुनावमा पार्टीभित्रको गुटबन्दीका कारण पराजित भएपछि कांग्रेसको भविष्य ओरालो लागेको देखिन्छ । ०३३ देखि ०४८ सम्म कांग्रेस दैलेखको सभापति भएर काम गरेका उनी भौतिक योजना तथा निर्माण एवं यातायात मन्त्रीसमेत भएका थिए । उनकै पालामा यहाँ मोटर बाटो र बिजुली बत्ती पुगेको हो ।
यहाँ ०४८ यताका ६ वटा संसदीय चुनावमा ०४८, ०५१ र ०६४ मा कांग्रेसले जितेको छ । तीनै पटक खड्काले नै चुनाव जितेका थिए । यस्तै ०५६ मा नेमकिपा र ०७० र ०७४ मा एमालेले जितेको थियो ।
अम्मर र रवीन्द्रबीच प्रतिष्ठाको लडाइँ
यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि एमालेबाट जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा र गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा चुनावी मैदानमा छन् । थापा एमालेकै रहँदा पनि शर्मासँग उनको आन्तरिक प्रतिस्पर्धा थियो । पार्टी विभाजनपछि थापाले नेकपा एकीकृत समाजवादी रोजे र उनी प्रदेश अध्यक्षको भूमिकामा छन् ।
थापा–शर्मा झण्डै तीन दशक एउटै पार्टी कमिटीमा थिए । एमाले नेता शर्मा ०४८ र ०५२ को निर्वाचनमा कांग्रेसका गणेश खड्कासँग पराजित भएका थिए । त्यसपछि संसदीय चुनावमा भाग नलिएका उनले ०७४ मा प्रतिनिधिसभा चुनाव जितेका थिए ।
थापाले एमालेबाट ०६४ को संविधानसभा निर्वाचन र ०७० मा प्रतिनिधिसभा र ०७४ मा प्रदेशसभा चुनावमा भाग लिएका थिए । जसमध्ये ०६४ मा कांग्रेसका गणेश खड्कासँग पराजित भए भने ०७० मा खड्कालाई पराजित गरे ।
थापा तिनै व्यक्ति हुन् जसले १४ वर्ष एमाले दैलेखको नेतृत्व गरे । दैलेखमा एमालेको सांगठनिक अवस्थालाई विस्तारित गर्न ठुलो भूमिका खेलेका छन् । ०४८ यता पार्टीको नेतृत्वमा शर्मा रहँदा थापा सचिव र थापा नेतृत्वमा हुँदा शर्माले सचिव भएर सहकार्य गरेका थिए । यी दुई पूर्व सहकर्मीबीचको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।
०७४ मा थापा–शर्मा काँधमा काँध मिलाएर सँगै भोट मागेका थिए । प्रतिनिधिसभामा थापाले शर्मालाई भोट मागेका थिए भने प्रदेशसभातर्फ शर्माले थापालाई भोट मागेका थिए । शर्मा २३ हजार ७७३ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा थापा प्रदेशसभातर्फ १ (ख) बाट १२ हजार ५६७ मतसहित विजयी भएका थिए ।
जनाधारका हिसाबले समाजवादी कमजोर भए पनि थापा विगतदेखि नै चुनाव लड्दै आएका कारण उनको व्यक्तिगत भोट बढ्न सक्ने आकलन गरिएको छ । ०४८ सालमा स्वतन्त्र उम्मेदवारी दिएर पनि उनी जिल्ला विकास समितिमा विजयी भएका थिए ।
गत वैशाखमा ३० मा सम्पन्न स्थानीय तहको नतिजा अनुसार कांग्रेसले यस क्षेत्रमा पाएको मत २० हजार २८१ हो । यस्तै समाजवादीले ५ हजार ५१८ र माओवादीले १ हजार ७८४ मत पाएका छन् । एमालेले १८ हजार ९५८ मत प्राप्त गरेको छ ।
राप्रपासँग यहाँ जम्मा ९७६ मतमात्रै छ । यद्यपि राप्रपा महामन्त्री कुन्ती शाही पनि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छिन् । अनेरास्ववियुको राजनीतिबाट उदाएकी युवा नेतृ शाही पनि कमजोर भने होइनन् । स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने यहाँ गठबन्धनभित्रका तीन दलको मत २७ हजार ५८३ हुन्छ । त्यसैले एमालेका शर्मालाई यो पटक चुनाव जित्न हम्मे–हम्मे पर्ने देखिन्छ । तथापि शर्माको व्यक्तिगत प्रभाव राम्रै छ ।
७८ हजार २८२ मतदाता रहेको यो क्षेत्रमा नारायण नगरपालिका, महावु, भगवतीमाई, नौमुले, डुङ्गेश्वर र गुराँस गाउँपालिका पर्दछन् ।
१ (क) मा गठबन्धन नै भारी
दैलेखको पूर्वी र दक्षिण भेगमा पर्ने प्रदेशसभा १ (क) तर्फ एमालेबाट धर्मराज रेग्मी उम्मेदवार छन् । ०७४ मा माओवादीबाट चुनाव जितेका रेग्मी यो पटक एमालेबाट उम्मेदवार बनेका छन् । उनलाई गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले चुनौती दिइरहेका छन् ।
३५ हजार ४९९ मतदाता संख्या रहेको यो क्षेत्र अन्तर्गत गुराँस, डुङ्गेश्वर र भगवतीमाई गाउँपालिका पर्दछन् । स्थानीय तहको निर्वाचनमा वडामा पाएको मतका आधारमा हेर्ने हो भने यहाँ कांग्रेसको ९ हजार ५८९, समाजवादीको २ हजार ६८ र माओवादीको ८२३ मत छ । एमालेसँग ९ हजार १४८ मत छ ।
गठबन्धनका तीन दलको मत जोड्दा यहाँ एमाले कमजोर नै देखिन्छ । यो आधारमा रेग्मीलाई यो पटकको चुनाव ०७४ को जस्तो सजिलो भने छैन ।
१ (ख) मा गठबन्धनलाई बागी उम्मेदवारको चुनौती
जिल्ला सदरमुकाम समेत रहेको प्रदेशसभा १ (ख) मा सत्तारुढ गठबन्धन कायम हुन सकेन । यहाँ सत्तारुढ गठबन्धनका उम्मेदवारलाई गठबन्धनभित्र रहेकै दल नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वतन्त्र उम्मेदवारीले चुनौती दिएको छ ।
प्रदेशसभा सदस्य पदका लागि एमालेबाट निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापा र गठबन्धनबाट कांग्रेसका कृष्ण कुमार विसी प्रतिस्पर्धामा छन् । नेकपा एकीकृत समाजवादीका नेता टेकबहादुर खानले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
विसी ०७४ मा १ (क) बाट चुनाव लडेका थिए । माओवादीका धर्मराज रेग्मीसँग झण्डै २ हजार मतान्तरले पराजित विसीले आसन्न निर्वाचनका लागि भने आफ्नो क्षेत्र छाडेर (ख) बाट उम्मेदवारी दिएका हुन् । विसीले चुनाव जित्न स्थानीय निर्वाचनमा पाएको सबै मत संरक्षण गर्नुपर्ने छ । स्थानीय तह निर्वाचन परिणाम अनुसार कांग्रेससँग १० हजार ६९२ मत हुँदा माओवादीसँग ९६१ र नेकपा एकीकृत समाजवादीसँग ३ हजार ४५० मत छ । एमाले एक्लैसँग सँग ९ हजार ८१३ मत छ ।
४२ हजार ७८३ मतदाता रहेको यस क्षेत्र अन्तर्गत नारायण नगरपालिका, महावु र नौमुले गाउँपालिका पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार प्रतिवादी खोज्दा प्रहरीका बहालवाला इन्स्पेक्टर भेटिए
-
व्यक्तिगत इगो साध्न कारबाहीको सिफारिस गरे : सांसद चौधरी
-
अनुसन्धान केन्द्रबारे शिक्षामन्त्रीको चासो
-
अवैध पेस्तोलसहित एक युवा पक्राउ
-
आईपीएलको मेगा अक्सनमा बिक्री नभएका यी चर्चित क्रिकेटर !
-
कीर्तिपुरको मेयरबाट एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता, माओवादी केन्द्रलाई समर्थन