शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावपछि पनि देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ : राजेन्द्र केसी

‘देउवा र प्रचण्डबीच काठमाडौं–१० मा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको हो’
बुधबार, ०९ कात्तिक २०७९, ११ : ०१
बुधबार, ०९ कात्तिक २०७९

प्रतिनिधिसभा अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसी जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका केसीले ०७० र ०७४ को निर्वाचनमा जित हासिल गरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेपछि केसीको चर्चा चुलियो । ०७४ मा पनि वाम गठबन्धनका बाबजुद केसीले बाजी मारे ।

काठमाडौं–१० मा केसीसँगै १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र माओवादीबीच हुने देखिन्छ । देशव्यापी तालमेल गरेका कांग्रेस र माओवादीबीच काठमाडौं– १० मा मित्रवत् प्रतिस्पर्धा हुँदैछ । यिनै विषयमा केन्द्रित रहेर रातोपाटीले काठमाडौं–१० मा कांग्रेसबाट उम्मेदवार बनेका राजेन्द्रकुमार केसीसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

०७० र ०७४ को निर्वाचनमा तपाईले अप्रत्यासित जित हात पार्नु भएको थियो । यस पटकको चुनावी तयारी कस्तो छ ?

०६४, ०७० र ०७४ गरी तीन पटक चुनाव लडिसकेँ । यो पटक निर्वाचन आचारसंहिता कडा भएकाले अहिले नै धेरै तयारी भएको छैन । यद्यपि क्षेत्र, प्रदेश, नगर, इकाइ र टोलस्तरको प्रचार प्रसार समिति बनेको छ । कात्तिक १७ गतेदेखि प्रचारप्रसार औपचारिक रुपमा सुरु हुन्छ ।

कांग्रेसले माओवादीसहितका दलसँग देशव्यापी गठबन्धन गरेको छ । तर काठमाडौं–१० मा माओवादी नै तपाईको विरुद्धमा उभिने स्थिति कसरी भयो ?

गठबन्धन आफैमा जटिल र कठिन प्रक्रिया हो । सिद्धान्त, आस्था, निष्ठा र स्कुलिङ पनि नमिल्ने पार्टीसँग मुलुकमा स्थिर सरकार र समृद्धिका लागि गठबन्धनमा गएका हौं । ०७४ मा जसले जहाँ जितेको छ, त्यहाँ त्यही पार्टीलाई टिकट दिने गठबन्धनभित्र सहमति थियो । साथै ०७४ मा जितेको ठाउँमा पनि ०७९ सम्म जनमत अत्यन्त कमजोर भएको अवस्थामा वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनलाई आधार मान्ने सहमति नेताहरुबीच थियो । ०७४ मा काठमाडौं–१० को प्रतिनिधिसभा र प्रदेशसभा (क) मा कांग्रेसले जितेको थियो । प्रदेशसभा (ख) एमालेले जितेको थियो । अहिले एमालेबाट जितेका सांसद एकीकृत समाजवादीसँग भएका कारण उसैले उम्मेदवारी पायो ।

काठमाडौं–१० मा पर्ने दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बहुमतसहित कांग्रेसले जितेको र ०७४ मा प्रदेशसभा (क) पनि कांग्रेसले नै जितेका कारण माओवादीलाई छाड्न गाह्रो हुन्छ भनेर मैले नेताहरुलाई कन्भिन्स गरेँ । प्रदेश (क) माओवादी र प्रदेश (ख) समाजवादीलाई छाड्नुप¥यो भन्ने केन्द्रको कुरा थियो । तर म गठबन्धनको विरोधी होइन । स्थिर सरकारका लागि गठबन्धन आवश्यक छ । प्रदेश (क) विशेष गरी दक्षिणकाली र कीर्तिपुर नगरपालिकाभित्र पर्छ । कीर्तिपुरमा नेवार जातीको संस्कार, संस्कृति, परम्परा भएका कारण म प्रतिनिधिसभामा उठेपछि त्यहाँ नेवार समुदायको उम्मेदवार दिनुपर्छ भनेँ । हामीले समावेशी र समानुपातिक पनि भनेका छौं । प्रदेश (क) छाड्न सकिँदैन भनेपछि हाम्रो सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्ड बसेर मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको हो । त्यहाँ एकीकृत समाजवादीसँग गठबन्धन छ ।

माओवादीसँगको मित्रवत प्रतिस्पर्धा तपाईलाई महँगो पर्ला नि ?

जित–हार आदरणीय मतदाताको हातको कुरा हो । तर ०७४ साल र ०७९को स्थानीय निर्वाचनको आँकडा हेर्ने हो भने नेपाली कांग्रेसका पक्षमा जनमत छ ।

काठमाडौं १० मा तपाई तीन पटक चुनाव लड्नु भयो । दुई पटक जित्नु पनि भयो । मतदातामा लगातार तपाईलाई मात्रै किन जिताउने भन्ने पनि होला नि ?

म निष्कलङ्क, विकास प्रेमी र मतदाताको सुख, दुःखमा सहभागी हुने  भएकाले मलाई नै मत हालौँ भन्ने जनताको चाहना हो । ०७०, ०७४ र अहिले पनि पार्टीका तर्फबाट म एकल उम्मेदवार हुँ । अरु साथीहरु मेयर, उपमेयर भएर जानु भएको छ । मैले मतदातालाई असन्तुष्टि हुने काम केही गरेको छैन । मतदाताले पनि आफ्नो अमूल्य मत दिनु भएको छ । मैले त्यो मतको दुरुपयोग गरेको छैन । सार्वजनिक जीवनमा मतदाताको चित्त दुख्ने काम कहिल्यै पनि गरेको छैन, गर्ने पनि छैन ।

काठमाडौं–१० बाट तपाईले दुई पटक चुनाव जितेपछि त्यहाँका जनताले के पाए ?

०७० मा म संविधानसभा सदस्यमा निर्वाचित भएँ । त्यतिबेला कांग्रेस नेतृत्वको सरकारले नै संविधान बनायो । ०६४ मा माओवादीले जनमत प्राप्त गर्दा बन्न नसकेको संविधान बनाउने हाम्रो मुख्य लक्ष्य नै त्यही थियो । चार वर्षभित्र संविधान बनाउने जिम्मेवारी थियो । कांग्रेस नेतृत्वको सरकारले २ वर्षमै बनायो ।

०७४ मा हामी आर्थिक एजेण्डा लिएर चुनावमा गयौं । वाम गठबन्धनका कारण हाम्रो पक्षमा जनमत आएन । कांग्रेसले प्रत्यक्षतर्फ २३ सिटमात्र जित्यो । हामीले जनादेशलाई सम्मान गरेर प्रतिपक्षीका रुपमा आम जनतालाई दुःख दिने काम गरेनौं ।

संसदभित्र हामीले गुठी विधेयक, साइबर विधेयक, मानवअधिकार विधेयक लगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने ओली सरकारका गलत क्रियाकलापका विरुद्धमा आवाज उठायौँ । दक्षिण एसियामै उदाहरणीय प्रतिपक्षीको भूमिका हामीले निर्वाह गरौं । तर सत्तारुढ पार्टीभित्रको किचलोले फेरि चुनाव गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आयो । वैशाख ३० मा स्थानीय निर्वाचन सम्पन्न भएको छ, अब मंसिर ४ मा आम चुनाव पनि हुँदैछ । ०७४ मा वाम गठबन्धनलाई बहुमत दिँदा पनि जनादेशको अपमान गर्ने काम भएकाले यो पटक नेपाली कांग्रेसलाई जनताले नेतृत्वमा पठाउने अवस्था देखिएको छ ।

०७० मा प्रचण्डलाई पराजित गर्नु भयो । ०७४ मा वाम गठबन्धनका बाबजुद पनि चुनाव जित्नु भयो । चुनावताका तपाईको चर्चा चुलिएको थियो । त्यो चर्चा अनुसारको भूमिका संसदमा किन देखिएन ?

संसदमा मैले मुख्य विषयमा बोलेकै हुन्छु । राष्ट्रिय राजनीति र स्थानीय विकास निर्माणका सन्दर्भमा बोलेकै छु । गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा गएर संघर्ष आह्वान गरेको थिएँ ।

सार्वजनिक लेखा समितिको सदस्यका रुपमा पनि मैले सक्रिय भूमिका निर्वाह गरेँ । वाइडबडी प्रकरणको छानबिनमा म संयोजक थिएँ । २५ अर्बको जहाज किन्दा ४ अर्ब घोटाला भयो भनेर क्याटेगोरिकल्ली प्रतिवेदन तयार पारेको थिएँ । मैले जिम्मेवारी पाउँदा, देश र जनताका लागि निष्कलङ्क हिसाबले काम गरेको छु । संसद र समितिमा मेरो भूमिका अत्यन्त जिम्मेवार रहने गरेको छ ।

यो पटक तपाई जित्दा त्यहाँका जनताले के पाउँछन् र तपाई निर्वाचित नहुँदा के गुमाउँछन् ?

काठमाडौं–१० का तीन नगरपालिकामा आ–आफ्ना विशेषता छन् । दक्षिणकालीमा तरकारी खेतीका लागि पूर्वाधार निर्माण गर्छौं । दक्षिणकाली, शेषनारायण, गोपालेश्वर जस्ता आस्थाका केन्द्रहरु छन् । तिनको संरक्षण गर्छौँ । मैले जित्दै गर्दा रोजगारी, कृषि क्षेत्रका मेरा अधुरा काम पूरा गर्छु । कीर्तिपुर सांस्कृतिक सहरका रुपमा परिचित छ । त्यहाँ हामीले नेवार जातीको सम्पदालाई कसरी संरक्षण गर्नुपर्छ भनेर अभियान अगाडि बढाएका छौं । विश्व सम्पदा सूचीमा परेका बाघभैरव, टौदह लगायतका क्षेत्रको संरक्षण हाम्रो अभियान छ । टौदहका पोखरी संरक्षणका लागि मैले ४ करोडको योजना लिएको थिएँ । अहिले त्यहाँ होटल, रेष्टुरेन्ट गरी ४–५ सय मान्छेलाई रोजगारी उपलब्ध गराएको छु । हामीले पूर्वाधार निर्माण गरेर रोजगारी सिर्जना गर्ने हो । काठमाडौं–१० कृषि र पर्यटनका लागि ज्यादै सम्भावना भएको क्षेत्र हो । ०४८ सालदेखि ७० सालसम्म वामपन्थीले स्थानीय र प्रतिनिधिसभामा चुनाव जिते पनि त्यस क्षेत्रमा केही काम भएको थिएन ।

गत स्थानीय निर्वाचनपछि काठमाडौंमा स्वतन्त्र उम्मेदवारको हावा चलेको छ । काठमाडौं–१० मा यस पटक स्वतन्त्रको चुनौती कत्तिको छ ?

निर्वाचनमा उम्मेदवार हुन पाउने अधिकार छ । तर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्रले चुनाव जित्ने अवस्था देख्दिन म ।

काठमाडौं–१० मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । एमालेका उम्मेदवारसँगको प्रतिस्पर्धालाई कसरी लिनु भएको छ ?

०४८ पछि एमालेले यो क्षेत्रमा पटक पटक जितेको थियो । ०६४ मा माओवादीका अध्यक्ष प्रचण्डले जित्नुभयो । उहाँहरुले जितेको अवस्थामा यहाँ केही काम भएन । त्यसैले अहिले पनि मप्रति जनताको आकर्षण छ ।

त्यसो भए तपाई चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?

मतदातासँग हरेक दिनको सामिप्यता, मतको दुरुपयोग हुँदैन भन्ने विश्वास र अधुरा रहेका काम पूरा गर्न मेरो पक्षमा मत आउने छ । स्थानीय चुनावको आकलन गर्दा १०–१२ हजार मतान्तरले हामीले जित्ने देखिन्छ । मतदाताले त्यो मतान्तर अझ बढाइदिनुहुन्छ कि भन्ने आशा गरेको छु ।

अन्तिममा कांग्रेसबाट चुनावपछिको प्रधानमन्त्री को हो जस्तो लाग्छ ?

गठबन्धनको नेतृत्व पार्टी सभापतिज्यूले गरिराख्नु भएको छ । गठबन्धनको भिजनरी व्यक्तित्व पनि उहाँ नै भएकाले चुनावपछिको प्रधानमन्त्री पनि उहाँ नै हुने देख्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप