सेती नदीमा पक्की पुल निर्माण गरिँदै

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ र ३ जोड्ने गरी रातोपानीस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । सो स्थानमा पुल नहुँदा वडा नं २ सार्दिखोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ ।
लामो समयको प्रतिक्षापछि अहिले पुल निर्माणको काम अघि बढेपछि स्थानीय उत्साहित छन् । सेतीमा पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेर मोटरसाइकल वारपार भए पनि ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदैआएको छ । माछापुच्छ्रे–२ सार्दिखोलाका पुष्पराज गौतमले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पुल निर्माणको काम भइरहेको बताए ।
उनले भने, “पुल नहुँदा हामीलाई धेरै सास्ती थियो, गाउँपालिका मुकाम जानसमेत पोखरा भएर जानुपर्ने बाध्यता छ । अहिले पुल निर्माणको काम सुरु हुँदा खुशी छौँ । यसै वर्षभित्र पुलको काम सकिए अर्को बर्खायामा सहज हुन्थ्यो ।” गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको पहलमा पुल निर्माण थालिएको हो । उनले नै पुलको शिलान्यास गरेका थिए ।
माछापुच्छ्रे–२ सार्दिखोला र वडा नं ३ घाचोक जोड्ने गरी प्रदेश सरकारको रु १० करोड ४३ लाख ५७ हजार लागतमा पुल निर्माण गर्न हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौंसँग ठेक्का सम्झौता भएको छ । पूर्वाधार विकास कार्यालय कास्कीका अनुसार सो पुल आगामी २०८० साउनसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । पुलको लम्बाइ ७० मिटर छ ।
गण्डकी प्रदेश सरकारले पाँच वर्षको अवधिमा माछापुच्छ्रे दुई पक्की मोटरेवल पुल निर्माण गरेको छ भने तीनवटाको काम भइरहेको छ । माछापुच्छ्रे–६ इदीखोलामा भिँडाबारी र डाँडागाउँ जोड्ने गरी पक्की पुल बनेपछि सञ्चालनमा आएको छ ।
यसैगरी वडा नं ५ रिभानस्थित खहरेखोलामा समेत मोटरेवल पुल निर्माण गरिएको छ । वडा नं ६ र ४ लाहाचोक जोड्ने पक्की पुलका लागि गण्डकी प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा रु पाँच करोड ५० लाख विनियोजन गरिएको छ । यसैगरी वडा नं १ को धिप्राङ खोलामा मोटरेवल पुल निर्माण गर्न रु ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यालेक्सीसँग हार्यो संस्कृति इन्टरनेशनल
-
बीसीसीआईद्वारा आईपीएलका बाँकी सबै खेल रद्द
-
पाकिस्तानसँगको तनावबिच इन्डियन आयल कर्पोरेसनको अपिल
-
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
-
प्रदीप नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल
-
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन, तस्बिरहरू