बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

'खेलकुदमा बजेट पर्याप्त भएन, पूर्वाधार छैनन्'

मङ्गलबार, ०८ कात्तिक २०७९, १७ : १५
मङ्गलबार, ०८ कात्तिक २०७९

नेपाली खेलकुदको महाकुम्भ मेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भइसकेको छ । पहिलो पटक संघीय ढाँचामा सम्पन्न भएको प्रतियोगिता गण्डकीमा सम्पन्न हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन भएर पहिलो पटक बनाइएको रनिङ ट्रफीमा नाम लेखाउन सफल भयो । कोरोना महामारीका कारण तय भएको मितिमा हुन नसकेको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको नेतृत्वले सम्पन्न गरेको हो । यही सेरोफेरोमा रहेर न्युज एजेन्सी नेपालले सदस्यसचिव घिसिङसँगको कुराकानीका आधारमा नवौं राष्ट्रिय खेलकुदको समिक्षा गरेको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संघीय ढाँचा अनुसार पहिलो पटक गण्डकी प्रदेशमा सम्पन्न भयो, कोरोनाका कारण अन्योल भएको प्रतियोगिता सम्पन्न भइसकेको अवस्थामा समग्र प्रतियोगितालाई प्रदर्शनको हिसाबमा कसरी मूल्यांकन गर्नुभयो ?

लामो समयपछि राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न सफल भयौँ । कोभिडका कारण थलिएका अन्य प्रतियोगिता पनि हुन नसकेको अवस्था थियो । खेलाडीहरु लामो समयदेखि राष्ट्रिय प्रतियोगिताको प्रतिक्षामा थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले लामो समयदेखि कुरिरहेका खेलाडीको चाहना पूरा भएको छ । त्योभन्दा अगाडि नियमित खालका र श्रृंखलावद्ध तरिकाले आयोजना हुने प्रतियोगिता नभई राष्ट्रिय प्रतियोगिता हुन गयो, यसले खेलाडीहरुमा उत्साह नै रहेको छ । तर सँगसँगै विभिन्न अभ्यास प्रतियोगिताहरु नहुँदै एकैपटक राष्ट्रिय प्रतियोगितामा सहभागि हुन पर्दा खेलाडीले गरेको अपेक्षा अनुसार भएन । लामो समयपछि प्रतियोगितामा सहभागि हुनुपर्दा खेलाडीमा इन्जुरीको समस्य अलि बढी देखियो ।

यति ठूलो प्रतियोगिता आयोजना गर्दा व्यवस्थापनको पक्षलाई कसरी नियाल्नु भयो, यद्यपि कतै कतै व्यवस्थापकीय विषयमा केही प्रश्नहरु पनि उठेका छन् ?

प्रतियोगिता आयोजनाका लागि सार्वजनिक खरिद ऐन र नियमावलीभन्दा बाहिर गएर कार्य सम्पादन गर्न सम्भव थिएन । सोही अनुसार अगाडि बढ्नुपर्दा प्रक्रिया अलि लामो हुने गर्छ । यही पटक पनि खरिद प्रक्रियामा जाँदा ३० दिन, १५ दिन, ७ दिन क्रमशः पालना गर्दै अगाडि बढ्यौं । ऐन र नियमका सबै बुँदाहरुमा टेकेर प्रक्रियालाई सम्पन्न ग¥यौं । यद्यपि खेलकुदमा यो प्रक्रिया नसुहाउँदो र कठिन हुने रहेछ । किनभने खेलकुद गर्ने भनेको आकस्मिक जस्तै हुन्छ । हुन त दुई दुई वर्षमा आयोजना गर्ने नियम थियो तर अहिलेको अवस्थामा त्यो थिएन । हामीले प्रतियोगिता आयोजना गर्नु थियो । नवौंको नै सन्दर्भमा पहिलो हामीले जेठमा आयोजना गर्ने भनेका थियौं । त्यसपछि असोजको समय राख्यौं । असोज २८ देखि कार्तिक ३ गते सम्म आयोजना गरेर प्रतियोगिता सम्पन्न ग¥यौं । तर सरकारको खाता सञ्चालन सम्बन्धि प्रक्रिया, खरिद गर्ने प्रक्रिया निकै पेचिलो नै छ ।

नयाँ आर्थिक वर्षको सुरुवातको बीचबाट खरिद प्रक्रियालाई टुङ्ग्याउनु पर्नेछ । नयाँ आर्थिक वर्ष शुरु भएको झन्डै एक महिनापछि नै सरकारको खाता नै सञ्चालन हुँदैन । यस्तो चुनौतीपूर्ण अवस्थाबाट खेलाडीहरुलाई सहभागिता गराउने परिस्थिति निर्माण ग¥यौं । राष्ट्रिय खेलकुद प्रतियोगिता तय भएको मितिमा नै सञ्चालन गर्न सफल भयौं । आर्थिक विनियोजनका कारण तय भएको मितिमा प्रतियोगिता प्रभावित हुन पाएन । जसका कारण समयमा नै सफल आयोजना गर्न सफल भयौं । यद्यपि समय अभावका कारण भएको भन्दा अझै व्यवस्थित तरिकाले गर्न चुनौति रह्यो । नयाँ राष्ट्रिय खेलकुद ऐन आइसकेपछिको पहिलो खेलकुद हो । जिम्मेवारीहरु प्रदेश र सहभागि टिमहरुको काँधमा थियो । टिम छनोट गर्ने जिम्मा सम्बन्धित प्रदेशलाई थियो । यसका अलावा टिमलाई अभ्यास गराउने, तालिम दिने पनि प्रदेशको नै जिम्मेवारी थियो । यो बीचमा कुनै प्रदेशले टिम छिटो र कुनै प्रदेशले अन्तिम समयमा ग¥यो । जसले गर्दा बन्द प्रशिक्षण कतिपय टोलीको लामो समयसम्म रह्यो भने कतिपयले छोटो तयारीमा सहभागि हुनुप¥यो ।

यो बीचमा विभागीय टोलीको लामो समयदेखिको प्रशिक्षण रह्यो । यसले गर्दा प्रतियोगितामा अलि व्यवस्थित भएन कि भन्ने प्रश्न हो । जुन स्वभाविक हो । अब यसलाई निराकरण गर्न १० औंमा संघीय मर्म अनुसार र नयाँ खेलकुद विकास ऐन २०७७ अनुसार सहभागि हुने सबै टिमले तयारी गर्नुपर्छ । आयोजक टिमले सहभागीहरुलाई दिने सेवा सुविधा, खास गरी पुरस्कार राशिमा आउँदो दिनमा बढाउनुपर्छ भन्ने निस्कर्ष मेरो छ । 

प्रतियोगिताको दौरानमा खेलाडीहरु चोट बोक्न बाध्य भए, केही खेलमा मापदण्ड अनुसार खेल स्थल भएन भनेर टिका टिप्पणीहरू पनि आए, टिका टिप्पणी भएजस्तो पूर्वाधारमा कमजोरी हो र ?

हामीले प्रतियोगिता आयोजनका लागि खेल स्थल उपसमिति गठन गरेका थियौं । यो समिति व्यवस्थापकीय रुपमा सहकार्य र समन्वय गर्ने कमिटि मात्र थियो । टेक्निकल्ली फाइनलाइज गर्ने कमिटी भने थिएन । त्यसका कारण हरेक खेलको प्रमुख प्रशिक्षक, संघको अध्यक्ष र संघको प्रतिनिधि सहितको तीन सदस्यीय टोलीलाई हरेक खेलस्थलमा सम्बन्धित खेल आयोजना गर्न कति उपयुक्त छ, तपाईहरुले फाइनल रिपोर्ट दिनु भनेपछि प्राप्त रिपोर्टको आधारमा खेलस्थल तोकिएको थियो । सम्बन्धित खेलका पदाधिकारीले लिखित रुपमा दिएको रिपोर्टको आधारमा राखेपले खेल स्थल तोकेको हो । खेल स्थल उपसमितिले तोकेको खेल स्थलमा खेल स्थल तोकिएको होइन ।

यससँगै जोडिएको अर्को विषय खेलाडीमा इन्जुरी हो । यो स्तरको राष्ट्रिय प्रतियोगिता केही खेलको भएपनि हामीले समावेश गरेका प्रतियोगिता सबैको भएको थिएन । एकै पटक प्रतियोगिता हुँदा केही इन्जुरी प¥यो । तर यसको व्यवस्थापनको निमित्त राष्ट्रिय खेलकुद परिषद, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक समितिले पहिले नै सावधानी अपनाइसकेको छ । सम्पूर्ण खेलाडी र अफिसियल्सको बीमा गरिएको छ । नवौं राष्ट्रिय खेलकुदको दौरानमा हुने बिरामी, इन्जुरी सबैको बीमा गरिएको छ । प्रतियोगिताको दौरानमा भएका इन्जुरी र बिरामीलाई राखेपले अहिले पनि गरिरहेको छ । खेलाडीहरु पूर्ण रुपमा निको नहुने अवस्थासम्म सम्पूर्ण खर्च राखेपले व्यवस्थापन गर्छ ।

राखेपमा सदस्य सचिवको जिम्मेवारीमा आइसकेपछि राष्ट्रिय खेलकुद गर्ने र एशियन गेम्सका लागि खेलाडीलाई प्रशिक्षण गराउने प्रतिवद्धता जनाउनुभएको थियो, सो अनुसार राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ, अब एशियन गेम्सको तयारी खेलाडीले कहिलेबाट थाल्छन् त ?

राष्ट्रिय खेलकुद परिषदको दायित्व दुई विषयमा मूलत हुने गर्दछ । पहिलो भनेको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने । अहिलेको अवस्थामा राष्ट्रिय खेलकुद आयोजना गरेर एउटा संस्करण पार गरेका छौं । इतिहासमा पहिलो पटक अर्को संस्करण (१०औं) कहिले गर्ने मिति गते सबै टुङ्गाएका छौं । जुन इतिहासमा पहिलो पटक होला । यति वर्ष पछाडि होइन, साल होइन, महिना होइन, हामीले गतेसम्म तोकेका छौं ।

२०८१ साल मंसिर २ देखि ९ गते सम्मलाई घोषणा गरेका छौं । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने भनेका छौं । आगामी मंसिरको ८ गते परिषदको १ सय १६ औं बैठक तोकिएको छ । उक्त बैठक हामीले मुगुको रारामा गर्ने निर्णय पनि गरेका छौं । रारामा हामीले लोगो र मस्कट पनि सार्वजनिक गर्नेछौं । दशौंको तयारी सोही पश्चात शुरुवात गछौं । नवौंमा केही मूल्य र मान्यताहरु अगाडि सारिएको थियो । जस्तै रनिङ ट्रफी, राखेपको आफ्नै एप्लिकेशन, डेडिकेटेड वेबसाइट बनायौं । १ सय १६ बैठक पश्चात दशौं डेडिकेटेड वेभसाइट बनाउँछौं । खेलाडीहरुको दर्ता अनलाइनबाट गराएर अभिलेखिकरणलाई व्यवस्थित गर्नसकेका छौं । सम्पूर्ण खेलाडीहरुको अभिलेखिकरण हामीले सुरक्षित बनाएका छौं । जुन आगामी दिनमा कस्तो रणनीति बनाउन सहयोग पु¥याउँछ । पहिलो पटक हामीले डोपिङ टेस्ट गरेका छौं । अनुसन्धान उपसमिति बनाएर खेलाडीहरूको अध्ययन गर्ने काम हामीले यो सँस्करणबाट गरेका छौं ।  

यस सँगसँगै अर्को काम भनेको अन्तर्राष्ट्रिय सहभागिता हो । त्यो अन्तर्राष्ट्रिय सहभागिता भनेको नजिकिँदै गरेको १९औं एशियन गेम्स हो । जुन चीनमा आयोजना हुँदैछ । राष्ट्रिय खेलकुदबाट थुप्रै नयाँ अनुहारहरू उदाएका छन् । यो प्रतियोगिता चलिरहँदा उत्कृष्ट प्रदर्शन गरेकालाई व्यक्तिगत तरिकाले सम्पर्क गरेर बधाई र तयारी रहन भनेको छु । सम्बन्धित संघका पदाधिकार र तालिम तथा प्रशिक्षण विभागसँग छलफल गरेर तिहार लगत्तै एशियन गेम्सको तयारी थाल्नेछु । तयारी दुई खालको हुनेछ । एउटा आम सहभागिता र अर्को रणनीतिक सहभागिता हुनेछ । आम तयारी अन्तर्गत देशको सहभागिता र त्यसमा राम्रा खेलाडीको सहभागिता हुनेछ । रणनीतिक सहभागितामा भने पदकको अपेक्षा अनुसार  तयारी गरिनेछ । कुन खेलमा कुन खेलाडीबाट पदक ल्याउन सकिन्छ भनेर रणनीतिक तयारी गर्नेछौं । यो तयारी ढिलोमा गरी मंसिरको मध्यतिरबाट अगाडि बढ्नेछ ।

दशौं कर्णालीमा आयोजना गर्ने भन्दै गर्दा पूर्वाधारको विषय अगाडि सरेको छ, तोकिएको मितिमा कर्णाली प्रदेशमा दशौं सम्पन्न गर्न सकिन्छ ?

नेपाली खेलकुदका दुई विषयमा म सिधा कुरा गर्छु । पहिलो कुरा पूर्वाधार पर्याप्त छ भन्दा छैन, र बजेट पर्याप्त छभन्दा पनि छैन भन्छु म । जोडिएको विषय दशौं कर्णालीमा आयोजना हुन्छ त भन्ने हो । नवौं भन्दा दशौं चुनौती पूर्ण हो । सबैले देखेको पनि यही चुनौती हो । त्यसैले नवौं सकिएको लगत्तैबाट तयारी थाल्ने निर्णय नवौं सकिनुको अघिल्लो दिन निर्णय गरे समापनको दिन घोषणा गरेका हौं । त्यसरी घोषणा गर्दा सम्बन्धित प्रदेशको तयारीको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ ।

अहिले कर्णाली प्रदेशले बहुप्रतिक्षित र चर्चित स्टेडियम बनाउँदै छ । जुन सुर्खेतमा हुँदैछ । जहाँ १४ ओटा खेलको खेल स्थल समावेश छ । फुटबल मात्र होइन, स्विमिङ पुल, कभर्ड हलदेखि धेरैको खेल हुने स्थल बनाउने काम भइरहेको छ । उक्त योजना वि.सं. २०८१ साल जेठ १४ गते हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । अहिले सम्मको कार्यप्रगति ३० प्रतिशत भन्दा माथि रहेको छ । कर्णाली प्रदेश सरकार र त्यहाँको खेलकुद परिषदबाट त्यहाँको निर्माण व्यवसायीले दिएको प्रतिवद्धता अनुसार सकेसम्म ६ महिना अगाडि हस्तान्तरण गर्नेगरी काम भइरहेको उहाँहरुको प्रतिवद्धता भएको रिपोर्ट पाएको छु । अहिलेको अवस्थामा चुस्त तरिकाले काम अगाडि बढिरहेको छ ।

यससँगै क्रिकेट र रग्बीको स्टेडियम बनाउने काम पनि अगाडि बढेको छ । रुकुमको चौरजाहरी स्टेडियमको निमार्णका लागि भरखरै टेन्डर प्रक्रिया अगाडि बढेको छ । जुम्ला अर्को हाई अल्टीच्युड सम्भावना भएको खेल स्थल हुनसक्छ । त्यहाँको सम्भावनामा अध्ययन गरिरहेका छौं । अब दशौंका लागि राष्ट्रिय खेलकुद परिषद र केन्द्रीय सरकारले के गर्ने भन्ने विषयमा प्रदेश सरकारसँग तत्कालै टुङ्गाएर एउटा कामको जिम्मा केन्द्रिय सरकारले लिनुपर्छ भन्नेमा म छु । यही प्रस्ताव अनुसार युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारसँग आवश्यक सल्लाह र समन्वय गरेर अर्थ मन्त्रालयबाट थप बजेट विनियोजन गर्ने रहेको छ । दशौंका लागि बजेट त छँदै छ, त्यसको आकार बढ्ने गरी परामर्श गर्ने रहेको छ ।

नवौंमा पनि बजेट रातो किताबमा मात्र १० लाख थियो । तर सरकाले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट निकासा गर्दै भव्य प्रतियोगिता आयोजना गर्नसक्यौं । सोही कारण दशौंका लागि पूर्वाधार निमार्णका लागि आवश्यक पर्ने बजेट उपलब्ध हुनेमा म आशावादी छु । यो सरकारको निर्णय पनि हो । केन्द्रीय सरकार र प्रदेश सरकारको समग्र सहयोगमा दशौंको पूर्वाधार सम्पन्न गरेर आयोजना सफल पार्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप