तिहार

यमपञ्चक अर्थात् तिहारका पाँच दिन

person explore access_timeकात्तिक ८, २०७९ chat_bubble_outline0

तिहार नेपालीहरुको महान चाड हो । हिन्दीमा ‘त्योहार’ शब्दबाट अपभ्रंश भई नेपालीमा तिहार भयो । नेपालका सबै चाडपर्वलाई तिहार भनिदैन । यमपञ्चकको पाँचौ दिनलाई तिहार भनिन्छ । यम भन्ने वित्तिकै हाम्रो मन मस्तिष्कमा उग्रमुखाकृत भएको क्रुर व्यक्तिको आकृति आउँछ । 


यम भनेको पातन्जली योगसुत्रको यम, नियम, आसन, धारण ध्यान भनिन्छ । यम भनेको नियम, आचार संहिता, धर्म हो । धर्म भनेको एउटा संहिता हो ।   यमपञ्चकको पाँच दिन भन्नाले सुरुमा काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र मान्छे तिहार अर्थात् भाइटीका हो । यम पञ्चकको पाँच दिनले मानव सभ्यता र संस्कृतिको विकासक्रम दर्साउँछ ।



यमपञ्चक अर्थात् तिहारको पाँच दिन 



यमपञ्चकको पहिलो दिन काग तिहार हो । काग भन्ने चरा देश देशान्तरमा डुल्ने पंक्षी हो । यसले सबै ठाउँको समाचार ल्याउँछ भन्ने मान्यता छ । हाम्रो घरको कटेरो, धुरी, फलफूलको बोट र आँगनको डिलमा बसेर कराउँछ । 

काग कराएपछि घरका पशु चौपायाको भाग्य हुने, बूढाबूढीले सुबोल सुबोल, भलो हुने समाचार ल्याएस् र ठाउँ सरी सरी बस् भन्छन् । किनभने कागले देश देशान्तरको राम्रो, नराम्रो दुबै खबर ल्याउँछ । 

काग ठाउँ सरी सरी बस्यो र उड्यो भने कता उड्यो भन्ने हेरिन्छ । पूर्वतिर उड्यो भने उन्नति प्रगतिको खबर, उत्तर दिशातिर उड्यो भने सिद्धि प्रसिद्धिको खबर, पश्चिमतिर उड्यो भने हानी नोक्सानीको खबर र  दक्षिणतिर उड्यो भने मृत्युको खबर ल्याउँछ भन्ने मान्यता छ । 

त्यसैले काग तिहारले मान्छेको घुमन्ते जीवनको अवस्थालाई दर्शाउँछ । त्यतिबेला मान्छेको स्थायी रुपमा बस्ने घरवासको व्यवस्था थिएन । रात पर्‍यो भने ढुंगाको ओडार र ठुलो रुखमुनि बस्थे । 

तिहारको दोस्रो दिन कुकुर तिहार हो । कुकुरलाई धर्म र इमान्दार पशुको रुपमा लिइन्छ । कुकुर तिहारले मानिसको शिकारी अवस्थालाई बुझाउँछ । शिकारी दुई थरीका हुन्छन् । एउटा चोर शिकारी, अर्को कुकुर लगाएर गरिने शिकारी हुन्छ । चोर शिकार बन्दुक लिएर लुकेर शिकार गरिन्छ । सार्वजनिक वनमा कुुकुर लगाएर मृग खोजेर गर्नेलाई पनि चोर शिकार भनिन्छ । 

पहिले कुकुर लगाएर शिकार गरेर मृग मारेर मासु खाने गरिन्थ्यो ।  शिकारी कुकुरलाई गाउँले भाषामा अहिरे कुकुर भन्छन् । कुकुर तिहारले मानिसको शिकारी जीवनको अवस्थालाई बताउँछ । 

तिहारको तेस्रो दिन गाई तिहारको दिनको रुपमा मनाइन्छ । गाई तिहारले पशु पालनको अवस्थालाई देखाउँछ । मानवक्रमसंगै पशुलाई जंगलबाट ल्याएर एक ठाउँमा पाल्नुपर्छ भन्ने थाहा पाए । 

यस्तै जंगलमा भएको अरु फलफूल टिपेर खान थाले । ओहो, यहाँ यस्तो अन्न फल्दो रहेछ । यस्तो फलफूल फल्दो रहेछ भन्ने भयो र त्यसलाई रोपेर खान थाले । 

गाईको अर्को महत्व यसको मलमुत्र पवित्र मान्न थालियो । हिन्दू धर्म मान्नेहरुले महत्व दिए । त्यो बेला नगद धन थिएन, विनिमयको प्रथा थियो । कसैलाई केही दिनु पर्‍यो भने गौदान दिने चलन थियो । विवाहलगायत पुण्य कर्ममा गाई दिन थालियो । त्यसपछि धन भनेको त्यहीँ गाई भयो । त्यो बेला नगद धन थिएन । त्यहीँ गौदानलाई लक्ष्मीको प्रतीक मानेर पूजा गरिन्छ । 

तिहारको चौथो दिन गोरु तिहार हो । गोरु तिहारले मान्छेको कृषि युगको अवस्थालाई जनाउँछ । पहिला मान्छेले हातैले खनी खोस्री गरे । कुटो कोदालोले खनजोत गर्न थाले, पछि गोरुलाई प्रयोग गरेर खेती गर्न थाले । त्यसपछि कृषि क्रान्ति भयो । कृषि क्रान्तिपछि मानव सभ्यताको अवस्था अर्कै अवस्थामा पुग्यो । 

अन्तिम दिन मान्छे तिहार (भाइटीका) आयो । पशुबाट मान्छे कसरी भयो ? पशु धर्म के हो ? मनिसको धर्म के हो ? धर्म भनेको नीति हो । पशुका आमाछोरा, बाउछोरी, दाजुबहिनीबीच भेद हुँदैन । जोसंग पनि यौन सम्बन्ध हुन्छ । तर मान्छेमा हुँदैन । नैतिकता भन्ने कुरा कोसंग यौन सम्बन्ध राख्ने, कोसंग नराख्ने भन्ने भयो । भाइटीकाले मान्छेमा एउटा आदर्शपूर्ण जीवनको नैतिकता दर्शायो । 

कार्तिक शुक्ल दुतियालाई यमदुतिया पनि भनिन्छ । यमदुतियाको दिन यमराज आफ्नो बहिनी यमुनालाई घरमा गएर टीका लगाउन गए । यमराजले बहिनी यमुनाबाट टीका लगाएकाले उनको भय भएन, मृत्यु भएन भन्ने भनाइ छ । त्यो पौराणिक कथा हो । वेद भनेको अघिल्लो, पुराण भनेको पछिल्लो हो । यता वैदिक कथा अर्कै छ ।

यता वैदिक कथाअनुसार ऋग्वेदको यम यमी कथामा यम र यमी सहोदर दाजु बहिनी हुन् । उमेर पुगेपछि बहिनी यमीले दाजु यमलाई हामी वैवाहिक सुत्रमा बाँधिऔ भन्ने प्रस्ताव राखिन् । 

त्यसपछि दाजु यमले बहिनी यमीलाई भने, हेर बहिनी हामी दाजु बहिनीबीच वैवाहिक सम्बन्ध हुनुहुँदैन । अर्थात् दाजु बहिनीबीच यौन सम्बन्ध हुनुहुँदैन । जसरी एउटा रुखलाई लहरोले लपेट्छ । त्यसरी परपुरुषलाई अंगालेर वैवाहिक जीवन व्यतित गरेर सुखसँग बस । यमले दाजु र बहिनीको आदर्शलाई उल्लेख गरे । त्यसैले बहिनीले दाजुलाई टीका लगाई दिइन् । यसरी यो भाइटीकाले आदर्श र मर्यादापूर्ण जीवन दर्शाएको छ ।

तिहारमा लगाउने टीका, माला र देउसी भैलो 

भाइटीकामा सप्तरंगी टीका लगाईन्छ । सप्तरंगी टीका किन लगाए ? टीका तेर्सो नलगाएर ठाडो किन लगाए ? त्रिनेत्रमा ज्ञानको नेत्र ठाडो हुन्छ । सप्तरंगी टीका भनेको सूर्यको सप्तरंगी हो । सोलर थेरापी सौर्य उर्जाबाट तिम्रो ज्ञानको नेत्र खुलोस् भन्ने हो । त्यसैले ठाडो गरेर सप्तरंगी टीका लगाउन थालियो । 

वैदिक आदर्शमा सय वटा सरद ऋतु बाँच्न पाउँ भन्ने हो । सय ऋतु भनेको एक सय वर्ष बाँच्न पाउँ भनेर कामना गरिन्छ । मैले सय ऋतु देख्न पाउँ भन्ने हो । 

तिहारमा सयपत्री फूलको माला लगाउने चलन छ ।  सय पत्र भएको अर्को फुल हुँदैन । अहिले वाह्रमासे सयपत्री फूल पाईन्छ । नेपालको रैथाने सयपत्री फूल कात्तिकसम्म मात्रै फूल्छ । ढिलोमा मंसिरको पहिलो हप्तासम्म रहन्छ । सयपत्री फूल लगाउनुका कारण भाइटीकाको त्यहीँ महत्व छ ।

अहिले झिलिमिली बत्ती आएको छ । बिजुलीको खपत बढी हुन्छ । झिलीमिली बिजुली बत्तीमा हेर्न सकिँदैन । यसले नेत्र ज्योति विगार्छ । त्यो फजुल खर्च हो । मैनबत्ती बाल्न थालिएको छ, त्यो पनि बोसोको बत्ती हो । वास्तवमा बिमिरोको खोचीमा तोरीको तेलको बत्ती बाल्ने हो । यस्तो बत्तीले नेत्र ज्योति बढाउँछ । आँखाको तागत बढाउँछ । 

तिहारमा खाने मुख्य परिकार सेल रोटी हो । पहिले सेल रोटी घ्यूमा पकाउने गर्थे । घ्यूमा सेल रोटी बनाएपछि यसको धुवाले कीरा फट्याङ्ग्रा मर्छन् । अहिले तोरीको तेल र भटमासको तेलबाट कहाँको कीरा मर्नु ? 

यस्तै  तिहारमा सेल रोटीसंगै कटुस, अमला, विमिरो, बयरलगायत ऋतु फल खाने गरिन्छ । ती फल तिहारको बेलामा तयार हुन्छन् । पछिल्लो समय ओखरको चलन आएको छ ।  

अर्को तिहारमा खेल्ने देउसी भैलोको प्रसंग आउँछ । अहिले विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र स्थानीय रुपमा दर्ता भएका क्लबहरुले देउसी भैलो खेल्छन् । देउसी भैलो माग्नेको चाड भएको छ । अर्कोतिर देउसीको भाका के हो ? भैलोको भाका के हो ? थाहा छैन । डेगमा मेमोरी कार्ड राखेर डिस्को नाच्न थाले । त्यसले तिहारको महत्व दर्शाउँदैन । 

अहिले पनि लुकीछिपी पश्चिम नेपालमा देवदास र देवदासीहरु छन् । मेरो छोरो जन्मेको छैन, जन्मेपछि देवतालाई चढाउँछु । छोरा नै छोरो जन्मियो, अब छोरी जन्मेपछि देवतालाई चढाउँछु भनेर भाकल गर्ने गर्थे । त्यसपछि आफ्नै छोरी चढाउँथे । यसरी चढाएको केटालाई देवदास, केटीलाई देवदासी भनिन्छ । ती देवदास र देवदासीले मागेर खाने बृत्ति चाहियो । 

हामी त्यसै आएका होइन, बलिराजाले पठाएका हुन् । बलिराजा पौराणिक बलि जसलाई भगवा्न विष्णुले ब्राह्मण अवतार गरेर पातलमा पठाएका थिए । हामी त्यसै आएका होइनौ, बलिराजाले पठाएको भन्छौ, त्यो पौराणिक बलि होइन ।  बाईसे राजाहरुमध्ये जुम्लाको पहिलो राजा बलिराजा हुन् । उनले देवदास देवदासीहरुलाई मागेर खान जाउ भनेर आज्ञा दिए । राजाको आज्ञानुसार हामी माग्न आएका हौ भनियो । 

भैलो कसको, देउसी रे कसको हो त ? भैले देवदास र देवदासीहरुको हो । भट्याउँदा भैलिनी आइन् आँगन, गुन्यू चोलो मागन, ए औंसी बार, गाई तिहार भैलो भनिन्छ । 

भैलो माग्ने देवदासीहरु आंैसीको दिनसम्म हो । अरुले देउसी रे माग्ने हो । देउसी रे भन्ने शब्द पुलिंग हो । भन भन भाइ हो भनेपछि देउसी रे भनिन्छ । देउसी रे भन्ने शब्द हिमवत संस्कृति हो । देउसी रे खेल्दा बूढो मान्छे, चिप्लो बाटो, कैलाशबाट लड्दै पड्दै देउसी खेल्न आएका छौ भन्ने गरिन्छ । कैलाशबाट आएको बूढो महादेव हुन् । योे शिव संस्कृति हो ।

तिहारको सामाजिक, ऐतिहासिक महत्व 

तिहार कहिलेदेखि मनाउन थालियो, यकिन तथ्य तथ्याङ्क छैन । अनादिकालदेखि नै मनाइदै छ । देउसी भैलो आजभन्दा १२÷१३ सय वर्ष पहिलेदेखि नै मनाउन थालिएको हो । बलिराजाको पालादेखि देउसी भैलो खेल्न थालिएको हो । त्यो पश्चिम नेपालबाट सर्दै सर्दै पूर्वी नेपालसम्म आयो । 

दाजुभाइको हातबाट दिदीबहिनीले टीका लगाउने होइन । दिदीबहिनीहरुले दाजुभाइलाई टीका लगाई दिने त्यसपछि दाजुभाइले पनि टीका लगाएर दक्षिणा दिने हो । 

पछिल्लो समय तिहारको ऐतिहासिक पक्ष नै बिर्सिसकेका छन् । देउसीको भाका नै विर्सिसकेका छन् । दक्षिणा कम दियो भने ढोका फोर्ने, गाली गर्ने गर्छन् । यस्ता विकृतिलाई सरकारले नियन्त्रण गर्नुपर्छ । दक्षिणा आफ्नो खुसीले दिने हो । 

नेपाल संवत् सुरु  

तिहारकै बेला कात्तिक शुक्ल प्रतिपदाको दिनमा नेपाल संवतको प्रवद्र्धन भयो । त्यसमा अर्को महत्वपूर्ण विशेषता थपियो । नेपाल देशबाट रहेको संवत् नेपाल संवत् हो । अहिले विक्रम संवत्, शख संवत् चलेको छ । नेपालले अंगालेपनि यसको विकास भारतमा भयो । इस्वी संवतको विकास यूरोपमा भयो । 

नेपाल संवत् भने नेपाल देशबाटै भयो । नेपाल संवत राष्ट्रिय संवत हो । एउटा भ्रम नेपाल संवत् नेपाल मण्डलमा मात्रै छ भन्ने छ । गुजरातमा पनि कार्तिक शुक्ल प्रतिपदाका दिनमा संवत् प्रवद्र्धन गरिएको छ । त्यहाँ गुजराती संवत् भनिदैन । कार्तिकादी संवत् भनिन्छ । गुजरातमा पनि कार्तिकादी संवत चल्छ । नेपाल संवतमा पनि कार्तिकादी संवत् चल्छ । नेपालमा कार्तिकादी संवतलाई नेपाल संवत् राखिएको छ । 

कथा पनि गुजरात र नेपालको एउटै छ । गुजरातका एक जना राजाले सबै जनताको ऋण तिरिदिए । त्यो उपलक्ष्यमा कार्तिकादी संवत् चलाइयो भनिन्छ । नेपालमा शंखधर भन्नेले कान्तिपुरका जनतालाई ऋणबाट मुक्त गराए, त्यसपछि नेपाल संवत् चलाए भनिन्छ । गुजरातमा राजाले तर नेपालमा राजाले होइन, एउटा व्यक्ति शंखधरले संवत् चलाए । 

पूर्व मध्यकालमा राघवदेव नाम गरेको राजाको समयमा पशुपतिको नामबाट नेपाल संवतको प्रवद्र्धन गरे । केशर पुस्तकालयमा संक्षिप्त गोपाल वंशावलीको बारेमा उल्लेख गरेको पुस्तकमा राघवदेवको चर्चा गर्ने क्रममा पशुपतिको नामबाट संवत् प्रवद्र्धन गरेको उल्लेख छ । नेपाल संवत् नेपाल देशको नामबाट राखे । यो नेपालको विशेषता हो ।

गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका कार्यबाहक कुलपति हुन्

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।