बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सीटीईभीटीबाट तालिम लिनेले पाउँदैनन् कर्जा, दलितलाई पनि ऋण लिनै मुस्किल

मङ्गलबार, ०८ कात्तिक २०७९, ११ : १५
मङ्गलबार, ०८ कात्तिक २०७९

उद्यमशीलता विकास गर्नका लागि सरकारले गरेको कर्जा प्रवाह सम्बन्धी नीतिगत  व्यवस्थाको फाइदा लक्षित समुहले लिन नसकेको तथ्यांकले देखाएको छ । सरकारले दलित, महिला, कृषि, शिक्षित युवा जस्ता क्षेत्रमा कर्जा प्रवाह बढाउनको लागि बेग्लै प्रकारको नीतिगत व्यवस्था गरेको छ ।

सरकारले गरेको व्यवस्था अनुसार कृषि क्षेत्रमा बढेको पाइए पनि अन्य क्षेत्रमा सहुलियतपूर्ण कर्जा अपेक्षित रुपमा प्रवाह हुन सकेको छैन । सरकारले विभिन्न १० क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिएर सो क्षेत्रका लक्षित व्यक्ति वा समुहको उद्यमशीलता विकास गर्ने लक्ष्य राखेको छ ।

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि नै बनाएर सस्तो ब्याजमा कर्जा उपलब्ध गराउने नीतिगत व्यवस्था सरकारले गरेको छ । राष्ट्र बैंकका अनुसार व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, बैदेशिक रोजगारीबाट फर्केका युवाको लागि परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, भूकम्प पीडितको लागि आवास निर्माण कर्जा, गार्मेन्ट उद्योगको लागि कर्जा, सीटीईभीटीबाट स्वीकृतिप्राप्त तालिम कर्जा र युवा स्वरोजगार कर्जा शिर्षकमा सहुलियतपूर्ण ब्याजमा कर्जा पाइने नीतिगत व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सीटीईभीटीबाट स्वीकृतिप्राप्त तालिमको लागि कर्जा करिब नगन्य छ । गत भदौ मसान्तसम्ममा यस्तो शिर्षकमा जम्मा ३ लाख रुपैयाँ मात्रै ऋण गएको छ । यस्तै, दलित समुदाय व्यवसाय विकास कर्जा पनि नगन्य परिमाणमा गएको छ । राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तसम्ममा यस्तो कर्जा जम्मा ५६ करोड २९ लाख रुपैयाँ गएको छ । युवा स्वरोजगार कर्जा जम्मा १ करोड १७ लाख रुपैयाँ गएको छ ।

गार्मेन्ट उद्योगको लागि भने अलि बढी कर्जा गएको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तसम्ममा २ अर्ब २२ करोड २० लाख रुपैयाँ गार्मेन्ट उद्योगका लागि कर्जा गएको छ । यस्तै, भूकम्प पीडितले घर बनाउनको लागि ३ करोड १० लाख रुपैयाँ कर्जा लिएका छन् । 

उच्च प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि पनि सामान्य रकम कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तसम्ममा यो शिर्षकमा ३ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । महिला उद्यमशीलताको लागि ७० अर्ब ९ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ भने वैदेशिक रोजगारीबाट फर्केका युवाको लागि स्वरोजगार बन्न ५४ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तै, शिक्षित युवा स्वरोजगार कर्जाको लागि ५ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार व्यवसायिक कृषि तथा पशुपक्षी कर्जामा उल्लेख्य मात्रामा कर्जा प्रवाह भएको छ । गत भदौ मसान्तसम्ममा १ खर्ब ३९ अर्ब ६७ करोड १८ लाख रुपैयाँ कर्जा व्यवसायिक कृषिमा गएको छ । यसमध्ये विनाधितो २ अर्ब २७ करोड रुपैयाँ तथा धितो राखेर १ खर्ब ३७ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाहरुले नै तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने हुन् । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेपछि सरकारले राष्ट्र बैंक मार्फत व्याज अनुसार दिएर सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप